• इतिहास किन बोल्दैनस् ?

  • ए इतिहास किन बोल्दैनस् ?
    कालो पोतेर कुरुप बनाएको तेरो अनुहार
    चिम्से आँखाले फुटेको ऐनामा हेरिरहन्छस् कहिलेसम्म ?

    हात, खुट्टा, आँखामा पट्टि बाँधेर
    अध्यारो कुनामा फालिएको
    आनन्द कहिलेसम्म लिइरहन्छस् ?

    कहिलेसम्म सुनिरहन्छस्
    पढिरहन्छस् र दोहोर्याइ रहन्छस्
    मज्जा मानी–मानी
    उसले लेखिदिएको कथा ?

    कहिलेसम्म हेरिहन्छस्
    गिडिएको टाउकोले आफै रित्तिएको महाभारत ?
    कहिलेसम्म शरीर, बुढी औला दान दिइरहन्छस्
    गुरुदक्षिणाको नाममा एकलब्य भएर ?

    लिगलिगकोटको राजा हुने दौड
    तेरै आँखाले हेरेको थिइस्
    कुदेर प्रथम भएको घले युवालाई बाटैमा सिध्याएको
    घटना हिजै जस्तो लाग्दैन ?
    त्यसपछि राज्यमा कहिले दौड नभएको
    षडयन्त्र पनि त आफैले भोगेको होइन ?

    किन बोल्दैनस् इतिहास ?
    बोल इतिहास
    खुलेर बोल
    यो शून्य समय हो
    देखेको कुरा
    सुनेको कुरा
    भोगेको कुरा
    खुलेर बोल ।

    कीर्तिपुरमा
    आईमाई केटाकेटीका १७ धार्नी
    नाक, कान काटेर खुशियाली मनाएको
    तेरै आँखाले देखेको थिइस् ।

    राजा मानसिं घले
    षडयन्त्रपूर्वक काटिदा
    देखि जान्ने साक्षी त नै होइन र ?

    ईन्द्रजात्राको उत्सवमा रमेको बेला
    सुटुक्क कुखुराको खोरमा छिर्ने स्यालहरु
    ससुरा र मित बालाई
    तरवार हान्ने धोकेबाजहरु

    संस्कार मासेर
    भाषा र धर्म मेटाएर
    असली हिन्दुस्थान बनाउन खोज्ने
    बिस्तारवादी खलनायकहरु
    राष्ट्र निर्माताको पद भिरेर तेरो आँगनमा
    चोर औला उठाएर ठिङ्ग उभिंदा
    तँलाई काउकुती लागेको छैन ?

    खलनायकको जन्मदिन
    जुन दिन, तेरो राष्ट्रियता
    धुजाधुजा भएर फुटेको थियो
    जुन दिन, तेरोे राज्य
    सधैलाई टुटेको थियो
    जुन दिन, तेरो मन
    कहिले नजोडिने गरि फुटेको थियो
    जुन दिन, तेरोे भाषा र संस्कार
    कहिले नउठ्ने गरी ढलेको थियो
    जुन दिन तँ मालिकबाट
    दास भएको थिइस्

    त्यही दिन
    राष्ट्रिय एकता दिवस ?
    बेजोडले हासो लाग्दैन इतिहास ?

    बोल् इतिहास बोल्
    करा बेस्सरी करा
    रिसा बेस्सरी रिसा
    हान् ढुङ्गा हान्
    सराप बेस्सरी सराप
    आज बोल्ने दिवस हो
    आज कराउने दिवस हो
    आज रिसाउने दिवस हो
    आज ढुङ्गा हान्ने दिवस हो
    आज सराप्ने दिवस हो ।

    (सन्दर्भ पृथ्वी जयन्ती–पुस २७ गते)

  • कमेन्ट गर्नुहोस्