हङकङलाई क्रान्ति सुब्बाले दिएको नासो
‘हङकङभित्र’का ३ सय २९ पृष्ठमा डेढ दर्जन नियात्राहरूलाई ३ खण्डमा लिपिबद्ध गरेका छन्, क्रान्ति सुब्बाले । पुस्तक पढिसकेपछि यसको आवरणमा लेखकले अन्याय गरेका रहेछन् भन्ने निक्र्योलमा पुगें मचाहिँ । जे हो त्यो देखिन्न, जे देखिन्छ त्यो हैन । हुन त हङकङलाई चिन्ने संसारका सबै मानिसको मानसपटलमा हङकङ भन्नेबित्तिकै आँखामा आउने र बुझ्ने आकृतिको चित्र हो, त्यो । तर लेखक जुन हङकङको भूगोलमा उभिन्छन्, यात्रा गर्छन्, पैतालामुनि पृथ्वीको गर्भसम्म खोतल्छन्, आकाशतिर हेरेर सौर्यमण्डलसम्म पुग्छन्, दायाँबायाँ पहाड चहार्दै प्रशान्त महासागरको गहिराइसम्म बाँकटे हान्छन् । त्यसैले पुस्तकजत्तिकै फराकिलो आवरण पृष्ठ भए सुनमा सुगन्ध हुने थियो । यद्यपि यो कभर पेज हुँदै नहुने भन्नेचाहिँ हैन । ‘अस्तित्वका रचनाकार यदि छन् भने उनैप्रति समर्पित’ गरेका छन्, लेखकले ।
‘हङकङको चिम्टे माटोमा पलाएको नेपाली मुना’ पढिसकेर म आफ्नै देशको माटोको अतितमा हराएँ केहीबेर । नेपाल भन्ने नाम कसरी रहन गयो ? मन्जुश्रीले कसरी चोभारको डाँडो काटेर काठमाडौं उपत्यकाको पानी बाहिर पठाए र बस्ती बसाए ? काष्ठमण्डपबाट कसरी काठमाडौं नाम रह्यो ? आदि इत्यादि । लेखकले हङकङको इतिहासलाई बडो सरल ढंगले पस्केका छन् । हङकङ आदिमकालका तांका र होक्लोहरूजस्ता ढुंगे आदिवासीदेखि किसानी जीवन बिताउनेहरूको आश्रयस्थल त छँदै थियो । हङकङ नामांकन कसरी रहन गयो भन्ने ठेट नेपालीमा उल्था गरेर ‘सुगन्धित’ अथवा ‘खुस्बुदार नौकाश्रय’ अथवा बन्दरगाह भनेर इतिहासमा चाख राख्नेहररूको तिर्खा मेटाइदिएका छन् ।
ओसियन पार्क जाँदा सबै एबर्डिन भएर जान्छन्, तर त्यही एबर्डिन बन्दरगाहको नामले हङकङ नाम रहन गएको धेरैलाई थाहा नहुन सक्छ । अफिम युद्धदेखिको इतिहास खोतलेर सन् १८४१ तिर हङकङमा बेलायती झन्डा गाड्दै हङकङ ठूलो व्यापारिक केन्द्र बन्न सक्ने बेलायती व्यापारी ‘चार्ल्स इलियट’को दूरदर्शितालाई इतिहासले बिर्से पनि लेखकले बिर्सेका छैनन् । यस्ता दूरदर्शी व्यापारी एलिटका नाममा हङकङका कुनै पनि ठाउँको नामकरण नहुनुमा गुनासो पोखेका छन्, लेखकले ।
बाह्रौं शताब्दीका चिनियाँ कवि पाइ यु सानले हङकङ देखेर भनेका थिए रे– ताराहरूको आतिथ्यले सजिएको कुनै एउटा गाढा रातमा १०औं हजार जहाजहरू नौकाश्रयभित्र आवतजावत गरिरहेका हुन्छन् । कालद्रष्टा कविको यो भनाइ १९८० को उत्तराद्र्धमा हुबहु चरितार्थ भनेर लेखकले भने पनि अहिलेको प्रदूषणले सौर्यमण्डलका तारा छोपिइसके, बिर्सिसके हङकङेलीहरूले । बरु हिजोआज ताराहरूका सट्टा हरेक बेलुका भिक्टोरिया हार्बरमा देखाइने सिम्फोनी अफ लाइट र विशेष दिनमा गरिने मिलियन डलरको फायर वर्क (आतसबाजी)मा वा वा गर्दै रमाइरहेछ, आजको पुस्ता भन्ने लाग्छ मलाईचाहिँ ।
अन्त्यमा ‘कुनै पनि बिरानो स्थलमा नेपाली बाँच्नु भनेको नेपाली कला, साहित्य, संस्कृति जीवित रहनु हो । नेपाली कला, साहित्य र संस्कृतिको खास्टो नओढी हिँडेको मानिसलाई सायदै नेपाली भन्न सकिएला’ भन्दै हङकङ र संसारभर रहेका सबै नेपालीलाई गहिरो दायित्व बोध गराउँदै कलमको बिर्को लगाएका छन्, लेखकले यो अध्यायमा ।
दोस्रो नियात्रामा यौटा ऐतिहासिक दिवस २००१ मार्च २५ आइतबार स्मरण गरेका छन् । हङकङमा हामीले नयाँ पुस्तालाई हस्तान्तरण गर्ने के त ? भौतिक सम्पत्ति, फ्ल्याट, गाडी, बैंक ब्यालेन्स, सुन, ज्वहारत जो सबै नासवान् छन् । लेखकको बुझाइमा हामी पृथ्वीवासी हौं, यो ग्रहप्रति पनि हाम्रो जिम्मेवारी रहन्छ । वृक्षारोपण गरेर बनाइएको एउटा जंगल जुन युगयुगसम्म हरेक नेपालीले हेर्दै गर्वले भन्न सक्छ– हाम्रा पुर्खाले रोपेका अरे । अथवा यहाँका स्थानीयलाई पनि हामी यहाँका कन्ट्रीपार्कमा गएर हाम्रा कार्यक्रम गर्ने मात्र हैन, हङकङलाई हराभरा बनाउन मद्दत गरेका छौं भन्ने आँट आउँछ । अझ मंकीहिलमा हामीले थुपारेका फोहोरबारे चिनियाँ मिडियाहरूले समाचार बनाइरहँदा हामी सबैको मन कसरी दुख्छ ? यद्यपि हङकङका केही संघसंस्थाले वृक्षारोपणलाई निरन्तरता दिँदै यहाँको सामुद्रिक किनारामा सरसफाइ अभियान चलाएका थिए । तर अचेल यो अभियान त्यति सुनिन्न । यस्तो सामाजिक कार्यलाई निरन्तरता दिन सबैले सोच्नुपर्ने बेला आएको छ भनेर झकझक्याउँछ, यो आलेखले ।
खण्ड १ को ‘सांग्रिलामा हराउँदा’ मा लेखकीय शैलीले पाठक पनि हराउँछन्, लेखकसँगै नियात्रामा । ‘जीवन यौटा यात्रा हो । अन्य यात्राजस्तै यसको सुरुवात, मध्यान्तर अनि अन्त्य छ । जन्म र मृत्युबीचको यात्राचाहिँ वास्तविक यात्रा हो भन्ने बिल्ली गाहमको ‘दि जोर्नी’ पुस्तकको वाक्यांशबाट नियात्रा उठान गरेका छन् लेखकले नित्से, गोपाल पराजुली, चार्ल्स डार्बिन सम्झिँदै । कहिले शून्यता भंग गर्दै चिच्याउँछन् उनी पहाडका कन्दरामा। फेरि आफैं भन्छन्– सहर–बजारमा करायो भने खुस्क्यो भन्छन्, घरमा कराउँदा उजुरबाजुर गर्छन्, छिमेकीले कुरो बुझ्न पुलिस आइहाल्छ । स्वास्नीसँग सन्किँदा मुस्किलले फ्ल्याट थर्काइएला । पदयात्राको म्याक्लेहोस् ट्रेललाई नेपालको पूर्वाञ्चलसँग तुलना गरेका छन् । हुन त हजारौं धावकले यी गोरेटाहरू नापेर कैयौंले पुरस्कार र नगद हात पारेका छन् । तर ती सबै धावकलाई यो ट्रेलको जन्मकुण्डली थाहा नहुन पनि सक्छ । हरेक वर्ष अक्सफाम हङकङले आयोजना गर्ने यो रेसमा धेरै पटक नेपाली सेनाको टिमले पुरस्कार पोल्टामा पारिसकेको छ । लेखकले हङकङका ब्रिटिश शासनकालीन पूर्वगभर्नर (सन् १९७१–८२) म्याक्लेहोसको प्रकृति प्रेम र उनकै अगुवाइमा हङकङको राष्ट्रिय निकुञ्ज संरक्षण ऐनको नालीबेली पस्केका छन् ।
यसरी प्रकृतिमा सहयात्रीसँग भौतारिँदै गर्दा उनी यो पृथ्वीमा विपद् निम्तिन सक्ने जोखिमप्रति चिन्तित देखिन्छन् । यति सुन्दर संसारलाई मानिसले किन दोहन गर्दै छ दिनानुदिन ? ‘अर्को शताब्दी हुन नपाई हङकङ चुर्लुम्म डुब्ने छ । विश्व मानचित्रमा यसको नामोनिसान रहने छैन’, वातावरणविद् तथा ध्रुवीय अन्वेषक रोबर्ट स्वानको चेतावनी लेखकले स्मरण गरेका छन् । अहिलेको रफ्तारमा पृथ्वी तात्दै गएमा हुन सक्ने विपत्ति रोकथामका लागि यथेष्ट चेतना छ, लेखकसँग । पदयात्राका पाइलैपिच्छे यो गम्भीर विश्वव्यापी चिन्ताप्रति चासो राख्दै उनी लेख्छन्– सहज जीवनको नाममा कोइला बालेर यातायातको साधन चलाएर, न्युक्लियर प्लान्ट, कलकारखाना खोलेर, रासायनिक मल प्रयोग गरेर अर्थात् पर्यावरण ल्याकतभन्दा बढ्ता कार्बनडाई अक्साइड उत्सर्जन गरेर लहरा तान्दा पहरा गर्जिएझैं यहाँ घटित वायुप्रदूषण विध्वंशकारी असर हजारौं माइल दूर अन्टार्क्टिकामा पर्छ ।’
अझ हङकङका ७ प्रतिशत मानिस मात्र जलवायु परिवर्तनले ल्याउन सक्ने नकारात्मक असरबारे सचेत रहनु क्यानेडियन च्याम्बर अफ कमर्सका भविष्यवाणीको इत्तिवृतान्त खोलेका छन् । हिंड्दै गर्दा हङकङमा भियतनामी शरणार्थी कसरी किन के कारणले आए भन्ने पुरानो इतिहास सम्झेका छन्, लेखकले । हुन त अचेल थुप्रै नेपालीले यो ट्रेलमा पदयात्रा गरेका तस्वीरहरू सामाजिक सञ्जालमा हेर्न पाइन्छ । लेखकले सन् ७० को दशकमा निर्माण गरिएको २ अर्ब ७० करोड क्युबिक मिटर पानी सञ्चय हुने हाइल्यान्ड पोखरीको इन्जिनियरिङ इतिहास पनि जराजरासम्म खोतलेर पाठकसामु पस्केका छन् । यिनै भूगोलको उकाली–ओरालीमा पाइला बढाउँदै लेखक मिङ वंशीय शासनकालको सम्झना ‘एटम’ मा हराउँछन्, एकैछिन् । ४ अर्ब वर्षअघिको जीवहीन पृथ्वीको कल्पनामा रमाउँदै १४ करोड २० लाख वर्षअगाडि कसरी ज्वालामुखी विस्फोट भएर आजको साइकुङको बनेको भौगर्भिक इतिहास सरसर्ती बताउन भ्याएका छन्, उनले ।
कहिले दिनेश अधिकारीको शब्दमा तारादेवीले गाएको ‘सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखेजस्तो हुन्न जीवन’ गुनगुनाउँदै कहिले अप्ठेरो गोरेटोमा ‘कन्ट्री रोड टेक मि होम’ भन्दै नक्सा हेरेर बाटो पहिल्याउँछन्, लेखक । उनकी सहयात्री रविनाले विष्णु पादुकाबाट हिँडेर धनकुटा गएको सम्झना गर्दै धेरै बेरको अलमलमा र साँझ पर्दै गर्दाको पीरले अजय युद्ध जितेजस्तै बाटो पहिल्याएर ट्याक्सी भेट्दाखेरिको क्षण रमाइलो छ । आजभन्दा करिब २ दशकअगाडि आफ्नै सम्पादनमा अविराम त्रैमासिक (मे–जुन २००१) मा प्रकाशन भइसकेको यो नियात्रालाई कालजयीभन्दा फरक नपर्ला भन्ने लाग्यो मलाई ।
दोश्रो नियात्रा ‘पृथ्वीको छेउतिर बरालिँदा’ शीर्षक नै काफी छ, नियात्राकारको सोचाइको परिधि तौलिन । टुटेफुटेको क्यान्टोनिजमा हङकङका आजीवन प्रतिपक्षी अभियन्ता लङ हेयरजस्तै देखिनेसँगको संवादबाट ट्याक्सी यात्रा सुरु हुन्छ । विदेशमा नेपालबारे जानकारी राख्नेहरूसँग यस्ता हरिया डाँडाकाँडा हिँड्दा नेपाल पुगेको अनुभव हुन्छ भन्दै मजस्ता हङकङभित्र नेपाल खोज्दै हिँड्नेहरूको प्रतिनिधित्व गरेका छन्, लेखकले । अक्करे भीरमुनिको नीलो जलकुण्ड हेर्दै हङकङका मनोरञ्जन तथा सांस्कृतिक विभागले व्यवस्थापन गरेका कति ठाउँ पौडी खेल्न सुरक्षित र असुरक्षित भन्ने ज्ञान बाँडेका छन्, लेखकले यसमा । ताइ लोङ वान (महातरंगयुक्त खाडी) को यात्राको आकर्षक वर्णनले पाठक पनि उहीं पुगेको अनुभूति गर्छन् । समुद्रको कोलाहलमाथि हिंड्दै गर्दा लेखकले राम्ररी डुबेर मर्न पाइयोस् भनेर ओभरकोटको गोजीमा ढुंगा हानेर आत्महत्या गर्ने विश्व प्रसिद्ध लेखिका भर्जिनिया उल्फलाई सम्झन्छन्, उनी। सात समुद्रपारिको यो यात्राक्रममा लेखकमा देश दुखेको छ । पल्पसा क्याफेदेखि शाही सेना र जनसेनाको इतिहासम्म सम्झिँदै उनी झल्याँस्स हुन्छन् ।
हिँड्दाहिँड्दै सत्रौं शताब्दीतिर कसरी हाक्का भनिने कृषक समुदायले खोरिया फाँडेर साइकुङ सेरोफेरोमा बसाएको बस्तीदेखि ६६ वटा ससाना गाउँसम्मको वर्णन गरेका छन्, अनि हङकङको धान खेतीको इतिहासदेखि औद्योगिकीकरणसम्मको संक्षिप्त जानकारी दिएका छन् । जुन कुरा हिजोआज साइकुङमा मिलियन डलरको गाडी चढेर सयौं मिलियनका याट हाउस (अत्याधुनिक ढुंगे घर) र बंगलामा बस्नेहरूलाई पनि यति सारो नालीबेली थाहा नहुन सक्छ ।
पदयात्राको थकानपछि कहिले जनसभामा जान लागेका माओवादी श्रमशिविरका कैदीहरूसँग आफूलाई तुलना गर्दै त कहिले जोमसोमदेखि मुक्ति नाथसम्मको बाटो सम्झिँदै नियात्राको बिट मारेका छन् ।
‘क्रान्ति भनेको आमूल परिवर्तन हो, कायापलट हो । प्रचलित सत्य, प्रचलित मान्यता, सत्यानाश भएर नयाँ सत्य, नयाँ मान्यता, नयाँ युगको स्थापना एउटा क्रान्ति हो । प्रत्येक बिहान नयाँ जन्मनु, प्रत्येक घडी नवीकरण हुनु, प्रत्येक उषामा नयाँ पालुवा उम्रिनुजस्तो कुरा हो यो । झुसिल्किराबाट पुतली बन्ने कुरो हो यो ।’
यसरी विचारक दीपक चोपराको करिब एक पृष्ठको दर्शन व्याख्याबाट ‘एकलासमा रूमलिएका मनहरू’को उठान गरेका छन्, लेखकले । बाइबल, कार्ल युङ, विश्वात्मा, कार्ल माक्र्सको भनाइ राख्दै लामो दर्शनको व्याख्यामा ध्यानमग्न देखिन्छन् । फेरि कति बेला सौर्य मण्डलको असीमित परिधिमा छलाङ मार्छन् । १४ करोड १० लाख वर्षअघि ज्वालामुखीका कारण बनेको क्लियर वाटरबेल हाई आइल्यान्डको भौगर्भिक इतिहासमा हराउँछन्, उनी । हिँड्दाहिँड्दै गाईको गोबरको गन्ध आएपछि गोबरले घरआँगन लिप्तै गरेको नुमाफुङको हात सम्झिन्छन् । पढ्दै जाँदा यो आलेख साधारण नियात्रा होइन र कताकता लेखक जंगलको बीचमा हिँडिरहेका होइनन्, बरु प्रवचन दिइरहेका छन् भन्ने आभास हुन्छ । जुन सबै पाठकलाई चाखलाग्दो नहुन पनि सक्छ ।
अर्को अध्याय ‘अनुपम दृश्य र दुर्भल अनुभूति’मा लेखकले भरपुर बौद्धिक शक्ति लगाएका छन् । जुन कुरा बुझ्न बौद्धिक ताकत नै चाहिन्छ । म्याक्लेहोस् ट्रेलको यो चौथो खण्डमा चिनियाँ हितोपदेश, गोथे, बुद्ध, जोन हाइड्रन, जेम्स आलेख, एरिस्टोटलका महावाणी उद्धृत गरेका छन्, नियात्राकारले । कृष्णको घोषणा पत्र, जिससको रोडम्याप, मिचन ओनफ्रेको नास्तिक घोषणापत्र, कार्ल माक्र्सको ‘धर्म अफिम हो’ भन्नेदेखि शंकराचार्य, दीपक चोपरा, एकहर्ट तोले, केनोपनिसद र सुपर नास्तिक क्रिस्टोफर र हिचन्सको विचारधारा मथ्दै करिब १३ किलोमिटरको पदयात्रामा लम्किरहेका छन् । एटम र क्वान्टामा घोत्लिएर अल्बर्ट आइन्स्टाइन स्मरण गर्दै एउटा स्नायु विशेषज्ञभन्दा बढी मानव मस्तिष्कलाई नाङ्लोमा बिस्कुन लाएर केस्राकेस्रा केलाउँदै मानसिक र शारीरिक रोगका कारण र निदानमा सोचमग्न लाग्छन् । फेरि देशकै चिन्ता ‘लिम्बूवानहरू थिए इतिहासमा त्यसैले गोर्खाली राजाले लिम्बूवानहरू कब्जा गरेर नेपाल राष्ट्रको जग हाल्न सके’ भन्दै उतै केहीबेर हराउँछन्, लेखक । पत्रेय, आग्नेय चट्टान बाटो हिँड्दै हङकङको फलाम खानीको व्यापारिक इतिहास चाखलाग्दो छ ।
कतिपय पाठकलाई यो पुस्तकको सुरुवातको सबैभन्दा गाह्रो बाटो या अक्करे भीर (लेखककै शब्द सापट लिँदा) हो यो अध्याय । करिब ४० पृष्ठको यो अध्याय नियात्रा कम, केही भाग पौराणिक स्वस्थानी कथाको परिवर्तित आधुनिक विज्ञान, दर्शन, ऐतिहासिक खोजमूलक जीवन जगतको विश्लेषणात्मक दस्तावेजजस्तो अनुभूति गरें मैले, तीन पटक पढिसकेपछि । यसलाई दुई वा तीन खण्डमा बाँडेर उनले यात्रा गरेको भूगोलबारे पनि अलि धेरै सविस्तार वर्णन गरिएको भए सबैखाले पाठकलाई किताबको बाटो पहिल्याउन सजिलो हुने थियो ।
केइ लिङ हाको बास–१ मा हङकङको म्याक्लेहोस् ट्रेलमा अक्सफामले आयोजना गर्ने भीमकाय दौड पर्व र सुरक्षाकर्मीका हिसाबले जिम्मेवारीबाट नियात्रा उप्काएका छन् । हङकङ डायस्पोरामा नेपाली भाषा, साहित्य र पत्रपत्रिकाको संक्षिप्त इतिहास चाखलाग्दो छ । पल्पसा क्याफे पढ्दै हेलिकप्टरको आवाज सुनेपछि उही देशको चिन्ता– ‘शाही सेना, जनसेना लासको बिस्कुन सम्झेर दुःखी हुँदै हराउँछन् । यो अध्यायको पछिल्लो पातामा उनको घटना संस्मरणले मेरो मन छोयो । डेढ दशकअगाडि उनले मेरो मातहतमा सुरक्षाको जिम्मा थियो भनेर बढाइचढाइ लेखेको भए पनि, को गलफती गर्न आउँथ्यो र ? यौटा प्रसंगमा उनी लेख्छन्– दिउँसो ३ बजेतिर एम. बी. साब र तीर्थ कारमा आइपुग्नु भो । गर्मीका कारण टोपी खोलेर, बाहुला फर्काएर बसेको थिएँ ।
‘गुड आफ्टरनून साब !’
‘ल हेर टोपी खोलेर, बाहुला सुर्केर बसेको !’
‘पूरा गर्मी भएर नि साब ।’ मैले टालटुल गर्न खोजें ।
‘मैले अहिले नाम र नम्बर टिपेर लगें भने फाइन तिर्नुपर्छ बुझ्यौ ?’ साबले चेतावनी दिनु भो ।
‘सरी, सरी साब ।’ मैले नकचरो हुँदै भनें ।’
कामलाई सानोठूलो भन्ने, सानो काममा आत्मग्लानी महसुस गर्ने, ठूलो काम भए मलाई सबैले सलाम गर्छन् भन्दै फलाक्दै हिँड्ने, खासगरी हामी नेपाली र अझ दक्षिण एसियाली मूलकाहरूको आदतभन्दा कतिकति माथि सगरमाथाको टुप्पोमा उभिएको पाएँ मैले, क्रान्ति सुब्बालाई । उनको स्पष्टवादितालाई मेरो हृदयको अन्तःस्करणदेखि नै हार्दिक नमन गर्छु । उनी कति इमान्दर लेखक नियात्राकार भन्ने कुरा जो कोहीले पनि यो अध्याय पढिसकेपछि छर्लंग हुन्छ ।
यसको दोस्रो खण्डमा सपनाको दार्शनिक शैलीको परिभाषा, आफ्नो सपनाको वर्णन र आफ्ना सुरक्षा सहकर्मीको वार्तालापको सेरोफेरोमा घुमेको छ । सामहाङ भाइको फोन र उनका समस्याबारे उनका सल्लाह, सुझाव सुन्दा उनी चिकित्सक नभए पनि मानव स्वास्थ्य विज्ञानमा गहिरो दक्खल राख्ने स्वास्थ्यकर्मी लाग्छन्, लेखक । लरेन्सजीको शैक्षिक योग्यता, हङकङ आउनाका कारण परिवेश, योग्यताअनुसारका काम नपाउने धेरै नेपालीको कथासँग मिल्दोजुल्दो छ । अरू त अरू कति एमबीबीएस गरेका नेपाली डाक्टरहरू पनि हङकङमा साधारण स्वास्थ्यकर्मीको काम गर्न बाध्य छन् ।
अन्तिम अनुच्छेदमा ‘संवाद सकियो । चिन्तन बाँकी छ । अब चिन्तनको त्यो गोधुलीमा एउटा काँच र त्यसभित्र दीपक छ । हावाको झोक्काले त्यसलाई निभाउन खोज्छ । सपनाको तयारीमा रहेछु । कतिखेर आफ्नै आँखाको ढकनी बन्द भएछ । भौतिक संसारलाई केही समयका लागि त्यागेर अब अघि माथि वर्णन गरिएको सपनाको संसारमा मेरो प्रवेश हुन्छ’ यति लेख्दै उनले पहिलो खण्ड बिट मारेका छन् ।
पुस्तकबारे आयोजित कार्यक्रममा मेरो मौखिक विचार एचडी स्टुडियोले सामाजिक सञ्जालमा राखेपछि केही अध्ययनशील मित्रले अरू किताब नपढी क्रान्ति सुब्बालाई ‘हाइलाइट’ गर्यो भन्ने आरोप पनि देखें । हो, हङकङमा अन्य योग्य लेखक कवि साहित्यकार पनि अवश्य हुनुहुन्छ । तर मैले पढेका पुस्तकमध्ये मलाई मन परेको र सबैभन्दा बढी अंक ल्याउन सफल यही पुस्तक हो भन्ने मेरो बुझाइलाई सबैले मान्नैपर्छ भन्ने छैन । सबैलाई त्यस्तो नलाग्ला पनि । पाठकका आ-आफ्ना रुचि र स्वादको कुरा हो ।
हङकङमा सबैभन्दा लामो समय बस्ने को छ भनेर समारोहहरूमा सोधिँदा म हात उठाउने गर्छु । तर बसाइका हिसाबले लेखकभन्दा जेठो तर अध्ययन र बुझाइको हिसाबमा चाहिँ निकै कान्छो रहेको मैले महसुस गरें, यो पुस्तक पढिसकेपछि । यति भन्न म हिचकिचाएँ भने म आफैंलाई अन्याय हुन्छ । उनले ‘हङकङ भित्र’बारे धेरै हल्लीखल्ली गरिरहँदा मैले मेरो पुस्तकालयमा उनको सम्पादनमा निक्लिने अविरामका झन्डै दुई दशक पुराना अंकहरूको पाना पल्टाएर हेरेपछि करिब ६ महिनाअघि मात्रै सामाजिक सञ्जालमा जोडिए । मलाई लाग्यो– यो पुस्तकबाट क्रान्ति सुब्बाको पुनर्जन्म भएको छ । ‘अचम्मको संयोग ! उनको पुस्तक पढ्दै गर्दा एकजना आत्मीय मित्रको सदासयताले सबै परिवारसहित उनले घुमेको भूगोलमा पहिलो पटक हङकङ टेकेको ३० वर्षपछि पाइला टेकें । दक्षिण चीन सागरमाथि हाइआइल्यान्ड पोखरीको डिलमा उभिएर चट्टानका पहाडहरू र भूगोलको सेरोफेरोमा आँखा लगाएँ । र त्यतिबेलै यो पुस्तकको समीक्षा गर्ने हुटहुटी जाग्यो ।
लेखकले नियात्राको हरेक खण्डमा अगाडि १ पृष्ठ खर्च गरेर हिँडेको भूगोलको नक्सा राखिदिएको भए राम्रो हुन्थ्यो । तस्वीरहरू ऐतिहासिक सान्दर्भिक हुँदाहुँदै पनि केही तस्वीरचाहिँ पृष्ठ पूरा गर्न राखेजस्तो लाग्छ । सहयात्रीसँगका तस्वीर वर्णन गरिएको भूगोलका डिल, डाँडाकाँडाको सेरोफेरोमा बसेर खिचिएको भए राम्रो हुन्थ्यो ।
भाषिक रूपमा र अर्थको अनर्थ लाग्ने बग्रेल्ती गल्ती पुस्तकभरि गरेका छन्, प्रकाशकले । यद्यपि मलाई चाहिँ हातले सच्याएर उपलब्ध गराएका थिए, लेखकले । ३ हजार कपि कसरी सच्याउने र ? पुस्तक पढि सकेर पहिलो खण्डको समीक्षाको बिट मार्दै गर्दा मलाई के लाग्यो भने नेपाली वा गोर्खालीले हङकङको इतिहासमा र आधुनिक विसकाशमा रगत–पसिना बगाएर योगदान गरेका थिए÷छन् । अब भने योगदानको परिभाषा फेरिएको छ । हामी र हाम्रा सन्ततीले गर्वले भन्न सक्छन्– हामीले हङकङबाट लिएका मात्र छैनौं, हङकङलाई दिएका पनि छौं ।
यौटा पुस्तक, जसबाट हामी नेपाली मात्रै हैन, हङकङेलीहरूले समेत मनग्गे बुझ्न सक्छन्, आफ्नो माटोबारे । यिनै केही कमजोरी सच्याएर यो पुस्तक कम्तीमा अंग्रेजी भाषामा र सकिन्छ भने क्यान्टोनिजमा उल्था गरेर प्रकाशन गर्ने सुझाव दिन्छु लेखकलाई । अनि यो पुस्तक हङकङका पुस्तकालयहरूमा नेपाली या गोर्खालीले दिएको बौद्धिक नासोका रूपमा युगयुगसम्म बाँचिरहोस् । यस्तै–यस्तै स्तरीय पुस्तक रचना निरन्तरताको शुभकामना, क्रान्ति सुब्बालाई !
नेपालखबरमा प्रकाशित सामग्रीको सम्पादित अंश ।