विगत सम्झाइदिने तीन पुस्तक
पुस्तकप्रतिको लगाव नजानिंदो तवरले बसेको रहेछ । आजभोलि सम्झन्छु त्यो कमला खोलाको तीरमा सुसेल्दै बिताएका समयमा समेत कुनै न कुनै किताब मेरो हातमा हुन्थ्यो । कहिले नेपाली साहित्यका गहन पुस्तकहरू, कहिले यौन उत्तेजनाले भरिपूर्ण उपन्यास र पत्रिका, कहिले हिन्दी भाषाका कमिक संग्रह त कहिले हिन्दीकै जासुस उपन्यासहरू । मैले त्यहीबेला नै हो पारिजातको शिरीषको फूल, वीपीको सुम्निमा र आत्मवृतान्त जस्ता पुस्तकहरू पढेको । त्यसैबखत हो कोही उरन्ठेउलाले ल्याइपुर्याएका युथिर थापाका उपन्यासहरू र रसरंग पत्रिकासँगै हिन्दी कमिकहरू पनि पढेको । त्यही उमेरतिर नै पढेझैं गर्दै मर्डरर सस्पेन्सले भरिपूर्ण मेरा दिग्गज दाइहरूले ल्याउनुभएको हिन्दी उपन्यासहरू पनि च्यापेर हिंडेको । यी उपन्यासका त केही सीमित शब्दहरूको मात्र अर्थ बुझ्दथें तर ती पुस्तकको मोटाइ र कागजको गुणस्तरले गर्दा सहपाठीहरूलाई देखाउनकै लागि भने पनि सधैं साथमै राखिराख्न मन लाग्दथ्यो ।
साहित्य पढ्ने विद्यार्थी भएपछि भने आफ्नो कोर्सका साथै विभिन्न किसिमका अन्य ‘फिक्सन’ पढ्ने क्रम निरन्तर रह्यो । उक्त समयमा विभिन्न दर्शनका ठेलीदेखि सके जति ‘फिक्सन’ पढ्ने बानी भने जागिर खाने क्रमसँगै घट्यो तर प्रशासन, राजनीति, विश्व परिवेश र अर्थ राजनीति जस्ता ‘नन–फिक्सन’ का पुस्तकहरूतिर समय गइरहेको छ ।
यसै मेसोमा हङकङ आउँदा पनि नयाँ ठाउँ के हो भन्ने मनमा गुन्दै नयाँ दिल्लीमा नै किनेको तर पढ्न नभ्याएका दुई थान किताब आफूसँगै लिएर आएँ । सहकर्मी मित्रले छाड्नुभएका एक/दुई थान नेपाली पुस्तक पनि निवासमै पाएँ भने दुई/तीन थान नेपालबाट पनि मगाएँ । ती सकिएपछि चिम शा चुईको पब्लिक पुस्तकालयबाट र केही चिम शा चुईकै पसलबाट किनेर पढें भने हाल अनलाइनमार्फत किताब खरिद गरी आफ्नो चाहाना पूरा गर्दै आइरहेको छु । तर, यहाँ मैले चर्चा गर्न लागेका पुस्तक किनेका नभइ स्नेह र आभारका साथ प्राप्त भएका हुन् ।
लस्ट इन ट्रान्जिसन
गत सालको मध्यतिर एक सिनियर दाइको काम रहेछ के कस्तो छ सहयोग गरिदिनुहोला भन्ने आग्रह आयो । कार्यालयमा आइपुगेर देख्दा एक पाको झैं लाग्ने व्यक्ति हुनुहुँदोरहेछ । उहाँका सबै कागजात मागेर हेर्दै गर्दा नाम मैले कतै सुनेको/पढेको जस्तो लाग्यो र सोधखोज गरें । उहाँको भावभङ्गी र पढाउने कला अनि गीत संगीतका बारेमा धेरै अनुग्रहित भएर साहित्यकार कुमार नगरकोटीले एउटा लामो संस्मरणात्मक लेख कान्तिपुरमा छाप्नुभएको मैले पढेको थिएँ । उहाँसँगको त्यो छोटो गफगाफपछि कामको लागि निश्चित मिति दिएर पठाएँ । तोकिएको दिनमा आउँदा उहाँले मेरो लागि एउटा पुस्तक उपहार ल्याइदिनुभएछ (कुलचन्द्र गौतमको ‘लस्ट इन ट्रान्जिसन’ । यो हङकङमा मेरा लागि कसैले उपहार दिएको पहिलो पुस्तक थियो र दिने व्यक्तित्व हुनुहुन्थ्यो गीतकार तथा संगीतकार र शालीन व्यक्तित्व विक्रम गुरुङ ।
मलाई उक्त पुस्तकको बारेमा छापिएकै बखत कतैबाट जानकारी थियो तर पढ्न भने पाएको थिइनँ । शक्ति, शासन, माओवादी द्वन्द्व र शान्ति प्रकृयाको वरिपरि रहेर लेखिएको पुस्तकमा उक्त द्वन्द्वका कैयन् घटना र परिघटनालाई उजागार गरिएको छ । यद्यपि उक्त सबै विषयमा स्थानीय अनुभवभन्दा पनि उक्त समयलाई इलिट भ्यूबाट कस्तो देखिएको रहेछ भन्ने भेउँ पाएँ । पुस्तक पढिरहँदा द्वन्द्वको अवस्थामा देखेको नेपाल र आफूले नै भोगेको द्वन्द्वको त्यो नमिठो पाटाहरू आँखा वरिपरि घुमिरहे । कैयन् पटक ती क्षण र वर्तमान दाँजेर हेरें । तात्विक भिन्नता नआएको नेपालको विकास, राजनीति र जीवन पनि सम्झें । पुस्तक पढिरहँदा लेखकको अत्यधिक आत्मरति भएर हो या विषयवस्तु समयानुकूल नभएर हो मलाई निरन्तर तानिरहन भने सकेन ।
नेपाली प्रवासनः नियति र रहर
२०७७ सालको राष्ट्रिय दिवस पुस्तकको उपहारसँगै मेरा लागि अझ रमाइलो हुन पुग्यो । पत्रकार मित्र जगत अम्बुजीले कार्यक्रम सम्पन्न भएपश्चात् कुनै समय नेपालमा रही पत्रकारितामा सक्रिय र हाल हङकङमै रमाइरहनुभएका पत्रकार डम्बरकृष्ण श्रेष्ठले लेख्नुभएको पुस्तक ‘नेपाली प्रवासनः नियति र रहर’ लेखकले पठाउनुभएको भन्दै प्रमाणस्वरुप फोटो समेत खिच्दै मलाई हातमा थमाइदिनुभयो ।
विभिन्न समयमा गरिएको रिपोटिङलाई एक पुस्तकका रुपमा प्रकाशन गर्नुभएकोले कतिपय परिघटनाहरू समय सान्दर्भिक लाग्दैनन् तर एकछिन घोत्लिँदै गइयो भने फेरि उत्तिकै सान्दर्भिक देखिन्छन् पनि । दलालको बिगबिगी, व्यवसायी आफैंले गर्ने ठगी, विदेशमा अलपत्र नेपाली, बेचबिखन अनि कैयन् मृत्युका दैनिक खबरहरू आजभोलि पनि उत्तिकै मात्रामा छाइरहेकै छन् ।
विदेशको काम र सम्बन्ध, वैदेशिक रोजगारी र सोसँग सम्बन्धित क्षेत्रसँग स्वयं विभिन्न कालखण्डमा आबद्ध भएर होला, पुस्तक पढिरहँदा कैयन् दृश्यहरूमा आफैंलाई राखी मूल्यांकन गरें । जसमध्ये ‘हरेक दिन तीन लास’को रिपोर्टले एक घटनाको याद झलझली दिलाइदियो ।
कन्सुलर सेवा विभागको कानूनी शाखामा रहँदा आफ्नो एक मात्र छोरोको साउदीमा मृत्यु भएको खबर लिई नुवाकोटका एक पाको व्यक्ति चुनावको समयमा कुनै अमुक पार्टीले दिएको टिसर्ट लगाएर छोराको लास झिकाउने यत्न गरिरहेको सम्झेर एकछिन द्रवीभूत भएँ । त्यो शाखालाई म हरल, परल र मरल शाखा भनेर भन्दथें । यस शाखाले विदेशमा हराएका, आपतमा रहेका, अलपत्र परेका र मृत्यु भएकाहरूको उद्धार र अन्य सहयोगका लागि विदेशमा रहेका नियोगमा सम्पर्क गर्ने र सूचना उपलब्ध गराउने गर्दछ । सन् २०१८ मा करिब छ महिना म त्यहाँ रहँदा दैनिक औषत पाँच जनाको लास झिकाउन निवेदन पर्ने गरेको लेखाजोखा गरेको थिएँ ।
राम्रा/नराम्रा दुवै पक्षबाट प्रवासनको फेहरिस्त प्रस्तुत गरिएकोले पुस्तक रोचक हुनुका साथै सूचनामूलक समेत रहेको पाएँ ।
माइत जाने बाटो
तेस्रो पुस्तक पनि २०७७ सालको राष्ट्रिय दिवसको सन्दर्भमा नै प्राप्त भयो । प्रवासमा रहेर लेखिएको अनि प्रवासमा नै प्राप्त गरेको पुस्तक थियो कवि सुनिता गिरीको कविता संग्रह ‘माइत जाने बाटो’ । उसो त साहित्यकै विद्यार्थी भएर पनि कविता मेरा लागि उति प्रियकर थिएन । नाटकमा मज्जाले डुब्ने म, कविता भने रहरभन्दा पनि करले नै पढें । यद्यपि कुनै कविता संग्रह धेरैपछि प्राप्त गरेकोले पनि होला मैले निकै आनन्द र जोशका साथ पढें । जीवनका अनुभव र तृष्णाले भरिपूर्ण कविताले विश्वविद्यालय पढ्दाताका कीर्तिपुरको चिसो मौसमको याद दिलाइरह्यो ।
यी तीन पुस्तकका परिवेश तीनतिरका छन् । उसो त यी पुस्तकहरू आफैंमा खास नलाग्न पनि सक्छन् तर परिवेश र सन्दर्भले कसैका लागि विशेष बनाइदिने खालका छन् । हङकङ आएपछिका दिनमा मेरा विगतका दिनहरूलाई सम्झाइदिने पुस्तकहरू क्रमशः प्राप्त गरेकोले पनि होला केही शब्द नकोरी रहन सकिनँ । द्वन्द्वका परिघटनाहरू, वैदेशिक रोजगारका ‘मोजाइक’ पाटाहरू र विद्यार्थी कालका ती ऊर्जावान समय सम्झाइदिने यी तीन पुस्तकले मन उसै पुलकित बनाइदिए भने कहिले तीतो विगतले च्वास्स घोच्यो । जे भएता पनि विगतलाई वर्तमानमा तानेर आँखासम्म ल्याइदिएकोमा उपहारदातालाई पुनः सप्रेम धन्यवाद ।