• पाँच सेकेन्ड प्रेम

  •  

    पहिलो पटक

    ती स्वप्निल आँखासँग

    पुग–नपुग पाँच सेकेन्ड

    एकै झलक

    आँखा जुझ्दाको

    एउटा लामो प्रेम कहानी

    आज प्रेम दिवसको दिन

    हजुरलाई सुनाउँदैछु ।

     

    हो !

    उनै पारुहाङ

    सुम्निमालाई खोज्दै आएको

    अब लजाउँदै

    हर्ष–विभोर भएर भन्नेछ

    वर्षौंदेखि खोजिरहेको

    बल्ल आज भेटें, ‘तिमीलाई’

    भन्दै हातमा समाएर लानेछ

    ढकमक्क प्रेमफूल फुलेको

    लिम्चिमबुङको बोटनेर

    राख्नेछ प्रेम प्रस्ताव

    स्वीकारोक्तिमा नयनहरूले

    मोहको तगारो खोल्नेछन्

    र शुरू हुनेछ

    दोहोरो प्रेमलाप !

     

    लेख्नेछौ

    मायाको मसीले प्रेमपत्र

    आदान–प्रदान हुनेछ

    मुटुको शब्दकोशबाट झिकेर शब्दहरू

    मार्मिक शायरीले बुट्टा भर्दै

    फक्रिनेछन्– आत्मीयताका पुष्पदलहरू

    यति हृदयस्पर्शी कि

    पढ्दा–पढ्दै खस्नेछन् खुशीका शीतबिन्दु

    तप्प, तप्प

    भरिनेछ– प्रेमले हृदय

    शायद यस्तो हुनेछ

    उहिले, अहिले र पछि–पछिसम्म पनि

    अझ भनौँ अनन्तसम्म

    संसारको सबैभन्दा उत्कृष्ट प्रेम

    इतिहास जस्तै एक ‘प्रेमिल इतिहास’

     

    भेटिनेछौ

    यस्तो ठाउँमा कि

    जहाँ बिहानी उषा हेर्दै हिमाल हाँसिरहेको

    निलिमा हेर्दै तलाउ शान्तले बसिरहेको

    शालीन भएर नदी अनन्त बगिरहेको

    झरनाले सोइ ढोले सोइ गाइरहेको

    सुस्तरी हावाले शिली नाचिरहेको

    त्यै हावामा तितेपाती र बुकी फूलहरूले

    नायूमाको चुल्ठोतिर इशारा गरिरहेको

    जहाँ एकजोर प्रेमी–प्रेमिका

    निर्लिप्त भई आफूले आफैंलाई बिर्सिरहेको

    हो त्यै वेला हुनेछ

    सबैभन्दा खुशी र युगान्तकारी समय !

     

    बिहे गर्नेछौ

    यति धुमधाम कि

    बेहुलाको घरदेखि मङ्गेटरको घरसम्म

    मानौँ नटुट्ने जन्तीको लस्कर

    हर निम्तालुहरूको मुखरबिन्दुबाट

    प्रस्फुटन हुनेछ

    बेहुला–बेहुलीको तारिफ

    कि भन्नेछन्

    फक्ताङलुङ र खेम्पालुङको शिर जस्तै

    सृष्टिका एक जोडी,

    मिलनको उपमा

    दुई नदीको दोभान जस्तो

    सुन्दरताको उपमा

    लिङ्दे नाना र खुशेको जोवन जस्तै

    सौभाग्यको उपमा

    तालभित्र हिमालको छायाँ परेजस्तो

    प्रेमले मात्रै यो मिलन हुँदै होइन

    यसो भनौँ,

    दुवैको छैटी एकै पटक

    लेखेको हो भावीले

     

    पलकमा आँखा हटाएँ ।

     

    पहिलो पटक जुधेका थिए आँखाहरू

    एकै झलक

    लगभग पुग–नपुग पाँच सेकेन्ड

    यति छोटो समयमा

    ओहो ! शताब्दी सभ्यता पो सोचिपठाएछु कि

    आजसम्म अमिट प्रेमिल बनाइदिन्छ

    हो ती सुन्दर एकजोर आँखा हजुरकै थियो !!!

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad