• धमिलो आकाश – २

  •  

    ‘दाइ, दुई जना नेपाली पनि पक्राउ परेछन् हिजको झडपमा ।’

    ‘हँ…………!   को परेछन् फेरि ?’

    ‘न्यूज हेर्नु भा’छैन ?.. .. भाइरल भइसकेछ ।’

    एकाएक झस्काई दिन्छ टीबी भाइको मोवाईल न्यूजले । बिहान बिहानै अर्को कल तत्कालै जोडिन आउँछ  बिसाउन नपाउँदै । त्यहि न्यूजलाई पुष्टि गर्छन् दीप सर मेरो विश्वास धरमराइरहेको बेला । ‘कतै तपाईंको विद्यार्थी त परेनन् दीप सर ?’ ठाडो प्रश्न तेर्स्याइदिन्छु उनको सोझोपन माथि । स्वीकारोक्ती दिदैनन् हाँसी हाँसी । एउटा राम्रा कलाकार अर्थात चित्रकार । विद्यार्थी भाइ बहिनीहरूलाई चित्रकारिता सिकाउनु हुन्छ बडो इमान्दारीको साथ । यहि इमान्दारिताले तानिरहन्छ मलाई सधैं सधैं ।

    फेरि आन्दोलन कै कुरा । ह्वात्तै असहमति बढाइदिन्छ मनमा । शुरूका दिनहरूमा जति उत्सुकता र सहजता देखिएको थियो जनमानसमा त्यो घटेर रसतालमा पुगिरहेछ जसरी उत्सुक्ता पीडामा रुपान्तित  भइरहेछ म भित्र । यसै यसै असहजता बढ्छ यो प्रसंग कोट्याई दिँदा । हरेक हप्ता आन्दोलनले असहजता थपिरहेको बेला । यो एउटा तालिका जस्तै भईसकेकोछ हरेक हप्ताको । यस्तै यस्तै असहमतासँग प्रतिस्पर्धा गर्दै चलाउनु परेको छ  दैनिकी । यदि यो दैनिकी चलेन भने चल्दैन जीवन खोज्ने दैनिकी यो शहरमा । किन किन हिज आज भोलिका  उत्सुकताहरू निरन्तर खस्तै खस्तै गईरहेछन् एउटा अदृष्य भावी सन्त्रासमा ।

    पक्राउ पर्ने र पक्रने क्रम जारी छ आन्दोलनले असहज बाटो समात्न थालेदेखि । हरेक हप्ता आन्दोलनको रुवरुप बदलिएसँगै पक्राउ पर्नेको संख्या ह्वात्त बढेको छ अपत्यारिलो तवरले । मास एरेष्ट जस्तो । जम्मा दुई हजार तीन सय उनानअसी पुगिसकेको छ केही हप्ता अगाडिको सरकारी आँकडामा । बढ्दो छ पक्राउ पर्ने क्रम, कहिले घरैबाट कहिले रोडबाट ।

    करिब पाँच महिनादेखि निरन्तरता पाइरहेछ एण्टी एक्ट्राडीसन विल आन्दोलनले । शुरूमा सभ्य र भव्य देखिने आन्दोलनले एकाएक स्वरुप बदलेको छ विवादास्पद एक्काइस जुलाइको हिंसात्मक घटनादेखि । हरेक दिन बिउभ्mयाउन थालेको छ एक्काइस जुलाईले । पछिल्ला घटनाहरूमा आन्दोलनको बाटो झन विवादास्पद बन्दै गइरहेको अड्कल काट्न थालेका छन् नजिकबाट हेर्नेहरूले । मिडियाको लागि तातो खबर बन्दैछ केवल हिंसा र विध्वंसका कति कति घटनाहरू । सबै पक्षहरूलाई तरंगित बनाई छाड्यो २१ जुलाईको युनलङ एमटिआर स्टेसनको हिंसात्मक घटनाले । आन्दोलनसँग कम सरोकार राख्न पक्ष समेत  तानिए यो घट्नामा । विशेषत साउथ एसियन मूलका अप्रवासीहरूलाई मुछेर विभिन्न अफवाहहरू फैलाइए आतंकित बनाउने गरी । निक्कै सकस पुर्‍यायो यो घटनाले अल्पसंख्यक  समुदायको दैनिकीमा । अहिले पनि मन चसक्कै हुन छाडेको छैन त्यो क्षण सम्झदा ।

    सण्डेको दिन एक विरोध र्‍यालीमा भाग लिएर बेलुकी घर फर्किरहेको बेला निहत्था आन्दोलाकारीहरू माथि बाटो छेकेर हतियारधारी समूहले आक्रमण गरेको थियो युनलङ एमटीआर स्टेशनमा । निक्कै जना घाइते भए सो घटनामा । पुलिस प्रशासन पनि निक्कै आलोचित भयो घटनामा ढिलो उपस्थिति देखाउँदा । प्रत्यक्ष संलग्नताको समेत आरोप लगाए प्रतिपक्ष समूहले । यता अस्वीकार गरिरहेछ सरकार घटनमा संलग्नताको आरोपलाई ।

    एक जना आन्दोलन विरोधी ‘ताईलो’को नेतृत्वमा आक्रमण गरिएको र धेरै साउथ एसियन लडाकुहरू उक्त समूहमा रहेको हल्ला चल्यो जंगलमा डढेलो लागे झैं । स्थानीय सञ्चार र टीभी च्यानलहरूले पनि दोहो¥याई रह्यो निक्कै हप्तासम्म । नेपाली मुलका मानिसहरू संलग्नताको ठूलो प्रचार गरिए समुदायको छविलाई नै असर पुग्ने गरी । कतै जोडिन पनि सक्छन् गलत मान्छे र संगठनहरू  विभिन्न प्रलोभनमा परेर । तर गलत हुन्छ सम्पुर्ण समुदायलाई जोड्नु । यस्ता गलत सन्देशको प्रचार प्रसारले  निक्कै चासो र ससंकित बनाउँन सक्दछ असहज परिस्थितिलाई । गम्भिर आशंका र सन्त्रास भित्र एउटा सानो भेला नै गरायो स्थानिय नेपाली महावाणिज्यदुतावासले । कतिपय फेक न्युजहरूले नेपालीहरूको गलत संलग्नता र प्रयोगको खिल्ली उडाए मजाक बनाएर । यस्ता  खिल्ली मजाकले घरी घरी झापा मोरङ पुर्‍याइरह्यो भुटानी शरणार्थी बसेको शिविरसम्म ।

    २१ जुलाई घट्नाले शहरभित्र एउटा चर्चालाई सतहमा ल्याएको छ ब्ल्याक एण्ड ह्वाइट टि–सर्टको । स्वभाविक हो विरोध स्वरुप कालो पहिरन । त्यस पछिका दिनहरूमा आन्दोलनकारीको पहिचान ब्ल्याक टि– सर्ट बनेको छ भने र ह्वाइट टी–सर्ट विरुद्धको पहिरन । युनलङ एमटीआर घटनामा ह्वाइर्ट टी–सर्टवालाले ब्ल्याक टी सर्टधारीलाई सांघातिक हमला गरेका थिए बाटो ढुकेर । एउटा असहज स्थिति खडा भएको छ तेश्रो पक्षका सामान्य मानिसहरूमा ।

    निक्कै प्राथमिकता पायो र पाईरहेछ स्थानीय मिडियाहरूमा । टीभी च्यानलदेखि अनलाइनहरूले निक्कै लामो समयसम्म प्रसारण गरिरहे एउटा गैह्रजिम्मेवारी एवम् अराजनीतिक चरित्रको निन्दा । छानविनको मापग उठिरहेछ अहिले । केहि शारीरिक क्षति भए पनि राजनीतिक वा चर्चालाई नगद गर्न निक्कै फाइदा पुग्न गए झैं लाग्छ आन्दोलनकारीहरूका लागि । घटनामा अलपसंख्यक समुदायका केहि मानिसहरू मुछिएको चर्चा छ प्रलोभन वस । एउटा नसोचेको संत्रास फैलिएको छ एकाएक ती समुदायमाझ । धेरै टिका टिप्पणीहरू आउन थालेका छन् सामाजिक सञ्जालहरूमा । अहिले पनि रोकिएको छैन  खबरदारीताको संकेत बनेर । बाटा घाटातिर हिँड्न पनि निक्कै सोच्नु पर्ने स्थिति जन्माई दिन्छ बनको बाघले नखाए पनि मनको बाघले तर्साइ रहँदा ।

    दिनदिनै आफ्नैसँग आतंकित बन्दै गइरहेछ शहर । सडक तताउँदै निस्कने मानव सागर स्वागत गर्न धेरै मनहरू आतुर भएझैं देखिन्थ्यो शुरू शुरूमा । त्यो उत्साह एकाएक बोझिलो बनिरहेछ धान्नै नसक्ने गरी । निराशाको चिसो श्वास फेर्न थालेको छ शहर । ऐठन नै पर्छ शनिबार–आइतबारको  चक्र घुम्न थालेपछि । विश्वासिला सुरक्षा पात्रहरू सडकमा छोडेर उपस्थितिको नाटक मञ्चन गरिरहन्छ घरका सबै झ्याल–ढोका थुनेर । बेला बेला चिहाउने गर्छ आँखीझ्यालबाट चुस्स चुस्स । थाहा हुन्न उ सुतिरहेछ या लुकिरहेछ संत्रासमा बाचेकाहरूलाई ।

    संत्रासभित्र रुमलिरहँदा एउटा बेग्लै मज्जा आउँछ बिहान बिहान साथीहरूसँग गफिदै चियाको चुस्की लिनु । त्यो पनि सण्डेको दिन । पौड्यालजीले बिहानै  चिया कलको निम्ता दिए पनि यतै भेट्न अनुरोध गर्छु म्याक डोनाल्ड क्याफेमा । दुई वटा डोनाल्ड निक्कै चर्चामा छ हिज आज यो शहरमा । एउटा जङ्क फुड खानको लागि म्याक डोनाल्ड अर्को आन्दोलनकारीहरूको लागि डोनाल्ड ट्रम्प । खुबै चर्चामा आउँछन् यी दुवै सण्डे आएपछि । गफाडीलाई एक कप चिया खाएर घण्टौ गफ जोत्न छुट भए जसरी आन्दोलनकारीले डोनाल्ड ट्रम्प नाम भजाएर ब्यानर  फोटो र झण्डा बोकेर हिँड्ने गर्छन् बडो गर्वका साथ । हुँदा हुँदा ट्रम्प छाप क्याप, मास्क नकापसम्म चलेका छन् बजारमा । आन्दोलनको ब्रह्मास्त्र भएकोछ डोनाल्ड ट्रुम्प अनि रक्षा कवच अमेरिकी झण्डा  । थाहा छैन के कति टिकाउ विकाउ वा बचाउ हो यो अस्त्र र वस्त्र ? तर आफ्नै मातृभूमिमा विदेशी झण्डा उचालेर रमाउने क्रान्तिकारी पहिलो पल्ट देखिरहेछु यो शहरमा । हरेक हप्ताको आन्दोलनमा अगाडि अगाडि फहराइएका हुन्छ रक्षा कवजको रूपमा । कति सान्दर्भिक ? कति असान्दर्भिक ? उनै जानुन प्रभु ।

    एउटा नियमित भेटघाट थलो भएको छ पुलिस चौकी नजिकको म्याक डोनाल्ड क्याफे । यता जोर्डन युमा–ताई र उता मोङ–कोकबासीका लागि । विशेषत: अलिकति खुल्ला परिवेशका लागि आकाश खोज्दै हिँड्नुपर्ने बस्तीमा । जोडिएको सानो पार्क उपयोग गर्न सकिने । चिया खानको लागि भित्रै बस्नुपर्ने जरूरी छैन पार्क क्षेत्रको सुविधाले । फेरि मज्जाले घाम ताप्न पाइने खुल्ला ठाउँ । खुशी लाग्छ बेलाबेला राम्रा राम्रा साथीहरूसँग चिया गफ चलिरहँदा । एउटा बहस नै चल्छ हप्ताभरिको दृश्य परिदृश्यमा ।

    चार पाँच जना जम्मा भइसकेछन् पुग्नु अगावै । केही बाटामा छन् आउने क्रममा । राम्रा समालोचक तथा छन्द कवि पनि हुन् पौडेलजी । हतारिदै आउदै गरेको देख्छु उता तिरवाट । नयाँ दुई जोडिएका रहेछन् आज यो चिया गफमा । अहिले निक्कै चर्चामा छन् यी दुई सेलिबे्रटीहरू । बजारमा हालै दुई नयाँ कृतिहरू थपएिकाछन् एउटा कविता र अर्को नियात्रा । बेला बखत जिस्काउने गर्छु क्रान्तिजीलाई नियात्रा लेखनमा हङकङ आन्दोलन यात्रालाई जोड्न नबिर्सनु है अर्को संस्करणमा ।

    दुई चरण रित्तिन्छन् चियाका कपहरू बिहानको बसाईमा । चिया गफले देशदेखि घरदेशसम्मको लामो फन्को मारे पनि अन्तत जोडिन आइपुग्छ चलिरहेको एण्टी एक्ट्राडिसन विल मुभमेण्टको सेरोफेरोमा । सबैजना कतै न कतैबाट पिरोली रहे झैं लाग्छ चलिरहेको दैनिकीमा । हरेक दिन घर बाहिर निस्कदा खोई गर्नै पर्छ आन्दोलन कहाँ कता हुँदैछ भनेर । काममा वा कतै जान मुख्य साधन हो एमटीआर । कुन स्टेसनको के हालत छ बुझ्न मोबाइल कोट्याउनै पर्छ एप्स पढ्नका लागि । थाहा हुँदैन चलिरहेको ट्रेन सेवा कहाँ कति बेला ठप्प हुन्छ, एउटा भोगिरहेको तितो सत्य । अन्दोलनको पहिलो निसानामा छ ट्रेन सेवा । शान्त सालिन र अनुशासित गति कहि कतै देखिदैन शुरूका दिनहरूमा  झैं । एउटा फरक पहिरन र पहिचान बनाउने जमात हिंडिरहेछन् कुनै तेश्रो प्लानेटबाट आएका एलियन जस्ता । छाता बोकेका हुन्छ्न् कवचको रूपमा । अनि भिरिएको हुन्छ अनिवार्य जस्तै एउटा व्याग एउटै रङ्गको । आगो ओकल्छन् आवाजमा । ज्वाला फुक्छन् युवा आक्रोश र जोशमा । लाग्छ कुनै पनि बेला शहर दनदन बल्ने छ लंका जले जसरी । यस्तो रौद्र नृत्यमा मौन हुन थालेको छ शहर । अनि दिउँसै सटर लगाएर बस्छ एउटा संत्रासको कम्मलभित्र लुकेर । स्वास फेर्न बिर्सन्छन् घरीघरी । विधि विधान हराउँछन् र एउटा पुरानो आदिम युगको प्रेतले तर्साउन थाल्छ शहर निशव्दतामा मुर्छित भएको बेला । वर्तमानसँग भविष्यको विश्वास हराए झै थरथर कापिरहेको हुन्छ ब्ल्याक एण्ड ह्वाइट आतंकभित्र । निरवस्त्र आत्मा समर्पणमा उभिन बाध्य छन् सडकहरू । नाङ्गो सडकको तमासा हेर्छन् तमासेहरू । आगो ताप्छन् सडक समय बालेर । बारुदका धुँवा हावामा मिसाएर श्वास फेर्छ शहर टियर ग्यासले आँखाभरि आँशु काँडेर । प्रत्येक श्वास प्रश्वासमा कुरूप बन्दै गइरहेछ भित्र भित्र यो एक्काइसौं शताब्दीको आधुनिक शहर ।

    विरोध मात्र होइन घृणा रोपिरहेछ आन्दोलन । थुक्न सिकाउँछ आकाश हेरेर । हिजोको मूल्य मान्यता अनि संस्कार चटक्कै बिर्सिएर । प्रायः आन्दोलनको यस्तै रूप देखिन्छन् फर्केर हेर्दा । पहिले तत्कालीन पद्धतिलाई शिष्टतापूर्वक प्रहार गर्ने । बिस्तारै शिष्टतालाई आक्रोशमा परिणत गर्ने अनि आक्रोशलाई हिंसामा । चरम रूप सकेसम्म हिंसा फैलाउने नत्र घृणा । हिंसाको पछाडि कमै हिँड्छन् मान्छे लामो समयसम्म । परिणाम साँगुरिदै जान्छ विद्रोहहरू । तब नयाँ बाटा वा तरिका खोज्छन् आन्दोलनका । यो रोजाई र खोजाईमा ठूलो क्षति हुन्छ मानवीय र भौतिक संरचनाहरूको । कता कता यस्तै यस्तै प्रतिगन्ध आइरहेछ अराजक स्वरूपको । स्वरूप बदलिएको छ आन्दोलनको । घृणा र वितृष्णा फैलाउन उद्दत देखिन्छ उपस्थिति दह्रो देखाउनका लागि । आवत जावतमा अवरोध पुर्‍याउन विशेषत ट्रेन र स्टेसनमा आक्रमण गर्ने । एयरपोर्टमा धर्ना दिने । यात्रीहरूलाई अनावश्यक दुःख दिएर निरुत्साही बनाउने । दैनिकी बन्दैछ यस्ता गतिविधिहरू । विशेषत यात्रीहरूलाई निरुत्साही र आतंकित बनाएर भाच्न तल्लिन छन् आफ्नै शहरको आर्थिक मेरुदण्ड । नाङ्गो हुन लागिरहेछ शहर व्यापार र आगमनको बाटो थुनेर । बाध्य पारिएका छन् व्यापार व्यावसायीहरूलाई पसलको ढोका थुनेर हिँड्न । ठूलो जीतको रूपमा हौसिएका छन् आन्दोलनकारीहरू । यो क्रम नरोकिए केही समयपछि घुँडा टेक्न दिन पक्कै आउनेछ आर्थिक संरचनाले । त्यो समय टाढा छैन होला बढ्दै गइएको विश्व आर्थिक मन्दीको आँधीले लपेट्न । अर्को पाटो द्वन्द्वमा दिन प्रति दिन निरीह बन्दै गइरहेछ एक देश दुई प्रणालीको विज्ञापन । त्यही भ्वाङबाट भित्र पसेर अझै विचित्र खेल खेल्न खोजिरहेछन् आन्दोलनमा रोटी सेक्नेहरू । यस्तै यस्तै असन्तोष र आक्रोश पोख्छन् साथीहरू यो बिहानीको चियाको घुट्कोसँगै ।

    आगजनी तोडफोड सामान्य बन्दै गइरहेछ पछिल्ला दिनहरूमा । सडकका रेलिङ मात्र तोडिएर शुरू भएको विरोध पेट्रोल बम फ्याँक्ने ढुंगा ईटा हान्ने एउटा रमाइलो खेल जस्तै लाग्छ हरेक हप्ताका आन्दोलनहरू । चोर पुलिस खेलिरहेछन् खुल्ला सडकमा । आन्दोलनकारी आगो लगाउँदै भत्काउँदै जान्छ, सरकार बनाउँदै जान्छ पछि पछि । भोलि फेरि तोडिन्छ बनाइहाल्छ सरकार । प्रतिस्पर्धा अचम्मको बाध्यता हो वा आवश्यकता । ट्राफिक लाइटमा तारो हानिन्छ ग्याटिसले । पब्लिक सुरक्षाको लागि राखिएको रेलिङ काटिन्छन्,  स्मार्ट लाइट पोलहरूमा ग्राण्डर चलाएर ढालिन्छ अनि आगो तापिन्छ लापसाप ढ्वाङहरू जम्मा पारेर आन्दोलनको नाममा । पेट्रेल बम र आगोको ज्वालामा आन्दोलन सेकिरहँदा प्रतिउत्तरमा पानीको फोहोरा र टियर ग्यास उडाउँदै पछि पछि दौडिन्छन् पुलिस प्रशासन लखेटेको बहनामा पीरो असहमतिको अलाप गाउँदै । निरीह सरकारको भाषामा पुलिस डण्डा वा कुटाई खाने भन्दा डण्डा चलाउनेको पीडा हावी हुन्छ रे भुङ्ग्रामा हात हालेझैं ।

    यहाँ पनि धेरै बोल्न भन्दा सुन्नमा खर्चिन्छु समय । अझै भित्र भित्र पस्न सकेको छैन किन कि स्थानिय भाषामा पद्धतिलाई पढ्ने बुझ्ने क्षमताको अभावमा । चिया गफमा साथीहरू जो सुनाईहेछन् आ–आफ्ना असन्तुष्टि र अनुभवहरू पुराना राजनीतिक धरातल र चेतनामा टेकेर । अझै पुर्वाग्रहबाट उठ्न नसकिरहेझैं लाग्छ कताकता । मेरो पनि राय खोज्छन् बीचबीचमा । तर स्पष्ट भनि दिन्छु  न आन्दोलनलाई पढ्न सकेकोछु न पद्धति भित्र पसेर बुझ्न सक्छु । कसरी दिनु समयको परिभाषा ? किन कि स्थानिय भाषा एउटा विशाल पर्खाल भएर उभिरहेछ सधै म र पद्धतिबीच । केवल सुन्न र हेर्न मात्र सक्छु न कि बुझ्न । वास्तविता पनि यही हो म र म जस्ता सामान्य केही मानिसहरूका लागि ।

    गएको हप्ता सरकारले एण्टी माक्स एक्ट नयाँ अध्यादेश जारी गरेको छ, चलिरहेको आन्दोलनलाई मध्यनजर बनाएर । निक्कै कठिनाई भोग्नु परेको चर्चा परिचर्चा गरेका थिए मिडियाहरू यो एक्ट घोषणामा । प्रतिपक्षको अवरोधले सरकारी नीति तथा कार्यक्रम समेत चल्न नदिएर अन्य उपाय अपनाउन बाध्य परेको सरकार । समय प्रतिकूल चलिरहेको कि असक्षमताको भासमा फसेर हो निरीह बन्दै गइरहेछ सरकार र यसका गतिविधिहरू । केवल बाध्यात्मक परिस्थितिमा गरिएका दायित्व वा फरमानहरू जो हतासमा गरिए झैं । यति हतार उन्मुक्ति खोजिरहेको झैं लाग्छ अलमल देख्दा । सरकार अध्यादेश प्रति न त गम्भीर देखिन्छ न त पूर्ण दायित्व बोधको अनुभूति । यस्तै यस्तै प्रस्तुति र परिणाम स्वरूप न अध्यादेशको सफल कार्यान्वयन हुन सक्यो न जनताले पत्याई दिए सरकारलाई । लत्याई रहेछन् नयाँ कानूनलाई खुल्ला चुनौति दिदै । खुल्ला सडकमा छाति खोलेर स्वतन्त्रताको उद्घोष गरिहेछन् खुल्ला आकाशको खोजीमा निस्केकाहरू । एलियनहरू झन् छ्याप छ्याप्ती भइरहेछन् नयाँ नयाँ मास्क र नकाव पहिरिएर । कति धज्जी उडाउनु यो भन्दा बढी एण्टी मास्क ल र सरकारको ? पुनः असफल बनिरहेछ सरकार घोषित कानून कार्यान्वयनको सवालमा । क्रम टुट्न सकेन संरचनाहरू ध्वस्त गर्ने खेल । मुकदर्शक बन्दैछ फेरि पुलिस प्रशासन र सरकार आफ्नै आँगनमा अनि खिइँदै गइरहेछ जनताको नजरमा ।

    बारम्बार दोहोर्‍याइ रहेछ सरकार सुपर्दगी कानून अवसानको कथा । तर आन्दोलनकारी टसमस गर्दैनन् असनको गल्लीमा सुतेको साँढेझैं । डुक्रिरहेछन् सिंगौरी खेल्न नयाँ नयाँ मागका पुच्छरहरू गाँसेर । हिजो आन्दोलनको क्रममा केवल रोड कब्जा र अवरोध मात्र गर्नेहरू निशाना सोझ्याउन थालेका छन् सत्ता सञ्चालनका मतियारहरू प्रति । अनि बुझिने भाषामा आन्दोलनको नाल सोझिन थालेको छ मुख्यभूमितिर । पसल, होटल रेष्टुरेण्ट र ससाना संरचना मात्र तोड्नेहरू राष्ट्रिय झण्डा च्यात्ने जलाउने देखि मुख्य भूमिसँग जोडिएका संरचनाहरूलाई ध्वस्त गर्न तल्लीन छन् तितो आक्रोश देखाउँदै । कतै  घृणा बढाउने खेल गरिरहे झैं लाग्छ चाइनिज बैंक र वित्तिय संस्थाहरू तोडफोड गरेर लाग्छ कुनै आवश्यकता नै छैन भोलिका दिनहरूमा ।

    ‘आन्दोलनको स्वरूप हेर्दा भस्मसुरले बरदान परीक्षण गर्न खोजे झै लाग्छ दाजु दाइ ।’

    बुझिन भाइ ?’

    ‘लौ न आजको साउथ चाइना पोष्ट हेर्नुस् त ।’ हङकङ ह्युम्यान राइटस एण्ड डेमोक्रेसी एक्ट अनि युवा नेताको यूरोप अमेरिका भ्रमण ….. ।’

    बिहान–बिहान मोबाइलबाट जिस्काउँछन् टिवी भाइ । कुरो आन्दोलनकै । घर काम बाटो जताततै । काममा पनि स्थानीय साथीहरू दुई कित्तामा  विभाजित छन् ब्ल्याक र ह्वाइट टी सर्टमा । चर्को बहस छँदैछ अनि आ–आफ्नो फरक–फरक मत सुनाउन आउँछन् हामी कहाँ । रोचक कुरा त लञ्च ब्रेक मा अलग अलग रेष्टुरेण्ट रोज्छन् काला र सेता टीसर्टहरू एकले अर्कासित उन्मुक्ति खुजिरहे झैं । लञ्च पछि अफिस पछाडिको सानो पार्कमा भेला हुने गर्छन् केही समयको लागि । वरिपरिका पनि थपिन्छन् उपयुक्तताको खोजीमा । अनि पूर्व क्षितिजलाई हेरेर एउटै स्वरमा नारा लगाउँछन्– ‘चि हाउ हङकङ  (स्वतन्त्र हङकङ) !’ सि दोइ एक मिङ  (इनक्लब जिन्दावाद) !’  क्वोङ फाक होङकोङ  (याद राख हङकङ हाम्रो हो) !’

    यता सेता टीसर्टधारी स्थानीयहरू औल्याउँदै भन्ने गर्छन्–‘छि सिना । लाप् साफ ! !’

    हङकङ ह्युम्यान राइट्स एण्ड डेमोक्रेसी याक्टलाई अहिले आन्दोलनकारीले एउटा गतिलो ब्रम्हास्त्र रूपमा उचालिरहेछन् सरकार पक्षसँग बार्गेनिङको मुद्दा बनाएर । शायद समर्थन वा प्रभावकारीताको लागि विदेशी मुलुकको झण्डा मोह । क्रान्तिको झण्डा जसरी  हल्लाइरहेछन् सडकको बीच–बीचमा ।

    अंग्रेज औपनिवेशिक कालमा एउटा स्वसाशित क्षेत्रको रूपमा मान्यता स्वीकारेर हङकङ अमेरिकीबीच एउटा व्यापारिक सन्धि भएको थियो १९९२ मा  । मुख्यभूमि चीनले नपाएका सुविधाहरू प्राप्त गर्दै आएको छ हङकङले यो सन्धिको आधारमा । २०१५ मा केही अमेरिकी संसादहरूले हङकङ ह्यूमन राइट्स एण्ड डेमोक्रेसी एक्ट प्रस्तावित गरेका थिए हङकङमा मानव अधिकार र प्रजातन्त्रमाथि प्रश्न उठाएर । तत्कालीन एक पुस्तक पसलेको अपहरणलाई गम्भीर मानवअधिकारको उल्लघंन मुद्दा बनाएर हङकङमाथि अंकुशको प्रयास गरिएको थियो जुन रोकिएको छ केही वर्ष यतादेखि । बारम्बार प्रस्तावित एक्ट पास गर्न राष्ट्रपति र सिनेटलाई अनुरोध गरिरहेछन् अहिले आन्दोलनकारीहरू अमेरिकन झण्डा उचालेर । नेतृत्व पंक्तिलाई यो पनि थाहा छ यदि यो एक्ट पारित भएमा हङकङको भविष्य र व्यापार व्यावसायमा गम्भीर असर पर्नेछ अनि गुमाउनेछ स्वतन्त्र व्यापारिक शहरको हैसियत । बन्न बेर लाग्दैन आन्तरिक द्वन्द्वले केवल चीनको एउटा पुरानो शहरभित्रको शहर । त्यो वेला हराउनेछ भइरहेको वैभव वा आकर्षण । यस्ता प्रयास कहिलेकाहीं हुनसक्छ जानाजानी आफ्नो घरमा आफैंले आगो लगाउनु । घरमा मुसो पस्यो भनेर आगो लगाएर मादल बजाउँदै सडकमा नाच्दै ‘कहाँ जाउली मुसी’ भन्दै हिंडे सरह । कुनैवेला अति मोहमा पाएको वरदान आफैंमाथि परीक्षण गर्दा आफैं जलेर भस्म भएका थिए रे भस्मासुर । थाहा छैन को हुने हुन् भष्मसुर ? को हुने हुन महेश्वर ? उचाल्ने की उचालिने !!

    आन्दोलन दिनदिनै भयाभय बन्दै गइरहेछ हिंसा उन्मुख बनेर । व्यक्ति हिंसाले प्रश्रय पाउन थालेका छन् पछिल्ला केही निर्वाचन क्षेत्रहरूको निर्वाचनको सवाललाई लिएर । कतै छुरी प्रहार  कतै बम प्रहार । अनि आन्दोलन स्थानीय सरकारभन्दा पर केन्द्र सरकारतिर सोझिदैंछ मागहरू बदलिंदै थपिंदै । अब पूर्ण माग हो स्वतन्त्र हङकङ । र आन्दोलनले  खोजिरहेछ स्वतन्त्र हङकङ वर्तमान हङकङभित्र ।

    आन्दोलन जारी छ पाचौं महिनाको यात्रामा ।

    ०६/११/२०१९­

  • कमेन्ट गर्नुहोस्