बहुभाषिक ‘मेडिकल फ्रेज बुक’ प्रयोगविहीन
सामाजिक समस्याहरू समाधान गर्न सरकारी विभागहरूले सहकार्य नगर्दा जातिय अल्पसंख्यक बिरामी सहयोगी ‘फ्रेज बुक’ प्रयोगविहीन भएको छ ।
“हामीले अस्पताल, चिकित्सकबाट प्रतिक्रिया पाउने आशा गरेका थियौं…र सोही अनुसार फ्रेजबुक पनि विकास गर्ने सोंच थियो । तर त्यसो भएन,” होम अफेयर्सका लागि पूर्व मुख्य सहायक सचिव जोन डिनले भने ।
“कर्मचारीहरूले हेल्थ एन्ड वेलफेयर ब्युरोबाट कुनै सहयोग नपाएको बताए,” उनले भने ।
हङकङको जातिय अल्पसंख्यक समुदायले सरकारी अस्पतालहरूमा भाषिक समस्या झेल्नुपरेको गुनासो बढ्न थालेको छ । अस्पताल धाउन थालेको दशकौं बिते पनि स्वास्थ्य समस्याबारे थाहा नभएको उनीहरू बताउँछन् ।
सन् २००५ मा आफु मातहतको रेस रिलेसन्स युनिटले ‘मल्टिलिङ्गुअल फ्रेजबुक फर इमरजेन्सिज’ प्रकाशन गर्दा परिस्थिती अझ गम्भिर रहेको डिनले बताए । अनुवाद सेवाका लागि समय मिलाउँदै गर्दा आकस्मिक सेवाबारे सोधपुछ गर्ने प्रारम्भिक चरणमा चिकित्सक र नर्सहरूले उक्त पुस्तिका प्रयोग गर्ने अपेक्षा गरिएको थियो ।
तर प्रकाशन भएपछि पुस्तिका अद्यावधिक गरिएको छैन । पुस्तिकामा बिरामीको व्यक्तिगत जानकारी, मेडिकल रेकर्ड, उपचारको पृष्ठभुमि र हालको लक्षणजस्ता स्वास्थ्य सम्बन्धि महत्वपूर्ण प्रश्न र निर्देशन विभिन्न २१ भाषामा समावेश गरिएका छन् । केही प्रश्नहरू कुनै व्यक्ति बिरामी परेको वा पीडामा भए–नभएको निर्क्यौल गर्ने सम्बन्धमा केन्द्रित थिए भने केही निर्देशन बिरामीलाई एक्सरे गर्न पठाउनेबारे थिए ।
तत्कालीन हेल्थ, वेलफेयर एन्ड फुड ब्युरोले अस्पताल र क्लिनिकहरूलाई वितरण गर्ला भन्ने आशामा रेस युनिटले “सयौंको संख्या” मा पुस्तिका छापेर पठाएको डिनले बताए ।
“मलाई थाहा भएसम्म हामीले पठाएका सबै पुस्तिकाहरू नपढी नै कुनै कुनामा थन्किएका छन् ।”
विशेष गरी माथिल्लो तहका विभागबीच सञ्चारसम्पर्कको अभाव भएको उनको विश्वास छ । पुस्तिकालाई कसरी प्रभावकारी रूपमा प्रयोग गर्नेबारे होम अफेयर्सका सचिवले अन्य विभागसँग छलफल गर्नुपर्ने उनी बताउँछन् । कुनै विवाद भए, शहरका मुख्य सचिवले हेर्नुपर्ने उनले बताए ।
हस्पिटल अथोरिटीका अधिकारीले ती पुस्तिकाहरू पाए–नपाएको वा कसरी व्यवस्थापन गरेकोबारे कुनै प्रतिक्रिया दिएनन् । तर सन् २००८ यता सामान्य रोग, उपचार विधि र शुल्क सम्बन्धमा क्यु कार्ड, जानकारी र मञ्जुरीनामा फारमलाई विभिन्न १८ गैर–स्थानीय भाषामा विकास गरिएको उनले बताए ।
होम अफेयर्स ब्युरो मातहतको होम अफेयर्स डिपार्टमेन्टका एक अधिकारीले पुस्तिका प्रकाशन भएपछि जातिय अल्पसंख्यलाई दिईने सहयोगलाई सशक्त बनाईएको बताए । पहिलो संस्करणपछि थप प्रति छाप्नेबारे कुनै अनुरोध नपाएकोले “फ्रेज बुक” सबै प्रयोग भएको मानिएको उनले बताए । पुस्तिका अद्यावधिक गर्ने विभागको कुनै योजना नभएको र “लामो समय बितेकाले” कति प्रति छापियो, त्यसको लागत वा वितरणबारे केही बताउन नसकिने उनी बताउँछन् ।
काउलुन डायोसिसन पास्टोरल सेन्टर फर वर्कर्सका कर्मचारी शोहेब हुसैनले पुस्तिकाबारे आफु तथा सेन्टरका कसैले पनि नसुनेको वा नदेखेको बताए । सेन्टरले बिरामीका लागि अनुवाद सेवा उपलब्ध गराउने सम्बन्धमा सरकारी अस्पतालसँग सहजीकरण गर्ने गर्दछ ।
“हामीलाई यसबारे थाहा नपाएकोमा म छक्क परें,” हुसैनले भने ।
कर्मचारीतन्त्रको प्रणालीका कारण सरकारी अस्पतालमा अनुवाद सेवाको ‘बुकिङ’मा कठिनाइ भएको र केही कर्मचारीले सहयोग गर्न नचाहेको उनले बताए । अस्पतालमा अनुवाद सेवा पाउन कहिलेकाही केही घण्टा वा केही दिन पनि लाग्ने गरेको उनी बताउँछन् ।
अनुवादकको प्रबन्ध नभएसम्म सो पुस्तिका आपतकालीन अवस्थाहरूमा नर्स र डाक्टरसँग महत्वपूर्ण सञ्चारसम्पर्क गर्नलाई “अत्यन्तै उपयोगी” हुनसक्ने हुसैनले बताए । सेन्टरका सेवाग्राहीले अथोरिटीको क्यु कार्ड पनि नदेखेको उनले बताए ।
हङकङ नर्सेस जेनरल युनियनकी अध्यक्ष सेसिलिया सो चुई–क्वेनले सन् २००८ मा सेवानिवृत्त हुनुअघि अस्पतालहरूले त्यस्तो पुस्तिका वितरण गरेको कहिले नदेखेको बताईन् । अस्पतालले ती पुस्तक पाए–नपाएकोबारे पनि थाहा नभएको उनले सुनाईन् ।
“पाएकै भए पनि, राखेको ठाउँ सबैले बिर्सिसके होलान्,” सोले भनिन् ।
ती पुस्तिकाहरू इमर्जेन्सी वार्डमा गम्भिर परिस्थितीहरूमा विशेष कामलाग्ने बताउँदै पुस्तिका अद्यावधिक गरेर वितरण गर्न सोले हस्पिटल अथोरिटीसँग आग्रह गरेकी छिन् ।