• गीतको शक्ति : हिजो र आज

  • गाउँमा मेरो उमेरकाहरु वयस्क हुँदैगर्दा पञ्चायती व्यवस्थाको उत्तरार्ध थियो । पञ्चायत इतर विचारलाई हाम्रो गाउँमा भित्त्राउने सौभाग्य म र मेरा समकालिनहरुलाई जुर्यो । प्रतिबन्धित पार्टिको विद्यार्थी संगठनको गाउँ कमिटी गठन गर्दा पुरातन सोच भएको गाउँलेहरुबाट ‘राजालाई सिरक भित्रबाट लोप्पा खुवायौं, यत्रो शक्तिशाली राजा छ तिमीहरुलाई एकएक गरेर पक्रेर सबलाई तह लगाउँछ अनि सब सामसुम भैहाल्छ’ भनेर त्रासदीको भाकामा सम्झाउनु हुन्थ्यो ।

    गाउँ कमिटी गठन भएपछि हामीले तिहारको बेला पहिलो पटक साँस्कृतिक कार्यक्रम गर्यौ । समाजलाई परिवर्तन गर्नुपर्छ र न्याय र समानतामा आधारित समाजको निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले रचना भएका गीत संगीतलाई त्यस बेलादेखि नै प्रगतिशील जनवादी गीत भनिन्थ्यो । अन्य तत्कालिन रेडियो नेपालमा बज्ने लगायतका मायाप्रीतिका गीतहरुलाई बुर्जुवा गीत भनिन्थ्यो । हाम्रो समूहमा यस्तै समाजलाई बदलने क्रान्तिकारी गीतहरु मात्र गाउँनु पर्छ भन्ने छाप परिसकेको थियो । यस्तैमा पहिलो पटक हामीले गाउँमा प्रदर्शन गरेको साँस्कृतिक कार्यक्रमको गीत सुनेपछि राजालाई सिरकभित्रबाट लोप्पा खुवाउने भन्ने अभिभावकहरुले नै भन्नु भएको थियो, ‘नानी हो तिमीहरुको गीतले सारै राम्रो कुरा पो भन्यो त ।

    ‘बसाई हिड्नेको ताँतिले बस्नेको मन रुवाउछ,

    लाखौंको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ ।’

     

    ‘उठउठ नारी हो अब डर छैन

    एउटै मात्र हातले ताली बज्दैन

    एउटा हात पुरुष हो अर्कोे हात नारी हो

    केही फरक छैन बराबरी हो ।’

    यस्ता अनेकौं नौलो चेतना र सोचको गीत गाएर गाउँले बुढापाकादेखि सर्वसाधरण आमाबुबा दाजुभाइहरुको मन जित्दै गयौं ।

    हाम्रो गाविसको वडा नम्बर ६ मा पर्ने पिपलबोटे भन्ने ठाउँमा एकादशी मेला लाग्ने गर्दथ्यो । रातमा लाग्ने भएकोले डाइस, रिङ खेलाउने, जाडरक्सी खाने र तरुनातरुनी भेट्ने मेलाको मूल ध्येय हुन्थ्यो । गाउँ कमिटी गठन भएको त्यो साल, हामीमा छुट्टै जोश र उत्साह थियो । कमिटिमा आवद्दलगायत हामी मेला भर्न गएका थियौं । दिक्तेल सदरमुकाम नजिक भएकोले केही कर्मचारी लगायत अन्य पनि मेला भर्न आएका थिए । हाउभाउ हेर्दा लाग्थ्यो उनीहरु मोजमस्ती र रंग–रमाइलो गर्न मात्र त्यहाँ आएका थिए । दिदीबहिनीहरुलाई कटाक्षको भावमा हेर्दै हँसीमजाक गरिरहेका थिए । त्यस्तैमा एउटा कर्मचारीले खुब फुर्तीफार्तीसँग बजारलाई परम्परागत हिसाबले रमाइलोमा बदल्न थालेः
    ‘रेलै घुमेर गयो दाजुको आधी उमेर 
रेलै घुमेर गयो बैनीको आधी उमेर’

    यो गीत भर्खर रिलिज भएको बेला थिए छ । मैले पहिलो पटक त्यहीँ उसैले गाएको सुनेको हो । मान्छे निकै रौसे रहेछ । गीत पनि राम्रै गाउने । ऊ गीत गाउँदै नाँच्दै पनि थियो । अरुले थपडी मार्दै साथ दिइरहेका थिए । एक किसिम उसले मेलालाई आफ्नो तर्फबाट निकै कभर गरिरहेको थियो । तर यो देखेर हामिलाई भने भित्रभित्रै जलन भइरहेको थियो । कहाँ–कहाँको मान्छे आएर हाम्रो ठाउँमा बुर्जुवा गीतले प्रभुत्व जमाउने ! कमिटिका अध्यक्ष साइनोले भतिजिनी शिवकला र मैले प्रगतिशील गीत गाएर देखाइ दिने सल्लाह गर्यौ । सहयोग गर्ने दाइहरु र साथ दिने भाइबहिनीहरु थिए । उनीहरु डोमिनेट हुनेगरी हाम्रो गीत घन्कियो मेलाभरी । पहिलो गीतको शुरुवात आफ्नै संगठनको गीतबाट गरियो–
    ‘बिहानीको घाम जस्तो रातो

    लेकाली गुराँस जस्तो रातो

    …. … ….. ….. ….. ….

    संघर्षमै जन्म्यो हुक्र्यो संघर्षमै बढ्यो

    देश र जनताको लागि यसले सँधै लड्यो ।’

     

    आफ्नै अगाडि प्रतिबन्धित राजनीतिक पार्टिको विद्यार्थी संगठनको गीत गाउँदा राजा र व्यवस्थाको लागि धावा बोलेको र त्यसलाई रोक्नु कर्तव्य ठानेछ उसले । गाउन छोडेर हामी गाइरहेको ठाउँमा आएर भन्न थाल्यो, ‘भाइ बहिनी हो, तपाईहरु गाइरहनु भएको यो रातो झण्डाको गीत प्रतिबन्धित पार्टिको विद्यार्थीको गीत हो यसरी सार्वजनिक ठाउँमा त गाउनु हुन्न ।’

    पार्टी प्रतिबन्धित भए पनि विद्यार्थी संगठनमा प्रतिबन्ध छैन भन्ने तर्क दिंदादिदै दाइहरु आइपुग्नु भो । को हो यहाँ आएर यो गीत गाउनुहुन्छ, त्यो गीत गाउनु हुन्न भनेर सिकाउँने भन्दै त्यो कर्मचारीलाई हप्काउन थाल्नु भो । सोच्दै नसोचेको प्रतिकार देखेर ऊ हतास भयो । भीडभाडमा सानो झिल्कोले ठूलो रुप लिइहाल्यो, त्यसपछि एकैचोटी खेदाखेदको स्थिति आयो । विचरा त्यो कर्मचारी भाग्दै दिक्तेलतर्फको बाटो लाग्यो । १०–१२ जनाको हुलले उसलाई भ्याकुरा खेदाई गर्न थालियो । करिब १५–२० मिनेटको खेदाई पछि दिक्तेल नजिक एक्ले पिपलको धानबारीबाट समाएर ल्याइयो । मरेको स्याल जस्तै भएर माफी मागेर उसले ज्यान बचायो । त्यो दिन कुटाइ नखाए पनि बाम्राङ भन्ने ठाउँ एकदम खतरा र’छ भनेर उसको ढुक्ढुकी पछिसम्म डरले कामीरहेको छ रे ! भन्ने सुनिन्थ्यो ।

    सिन्धुपाल्चोक जिल्लाको पिस्कर भन्ने ठाउँमा पनि कम्युनिस्टहरुले पञ्चायती व्यवस्थाको खिलापमा साँस्कृतिक कार्यक्रम गर्दा ठूलो संख्यामा पुलिसको गोली खाएर कलाकार र पार्टी कार्यकर्ता मारिएको सुनेका थियौं । त्यसै काण्डलाई समेटेर बनेको गीत त्यसबेलाको प्रगतिशील गीतहरुको उर्वर गाउँ, ओख्रे, च्यानडाँडा यस्तै कतैबाट ल्याएका थियौं ।
    ‘संक्रान्ती मानी डाँडा है पारी जुन पनि लुकेछ
अँध्यारोबीच महादेवथानमा बन्दुक भुकेछ ।
सुन्यौ कि साथी पिस्करमा मान्छे गोलीले ठोकियो’

    नौलो र भिन्नै शैलीको यस्ता गीतहरुले के पञ्च, के शिक्षक के बुढा के युवा सबको मन जितेको थियो । हेमराज राई, श्याम तमोट, रामेश, मन्जुल, जेबी टुहुरे, विजय सुब्बा आदि नाम गरेका गीतकार संगीतकारहरुको गीतका संकलनहरु हाम्रो घरघरमा आइपुग्यो । उता नेकपा (चौम)का साथीहरुको सांगीतिक संरचना अझै राम्रो थियो । इन्द्रेणी सांस्कृतिक समाज अन्तर्गत ‘सिम्मा’ भन्ने गीति नाटकले देशै हल्लाएको थियो । पारिजात, रायन लगायतको पहल र प्रभाव कम थिएन ।

    ‘गल्ला आयो रेलीमै बल्लामा बल्ल
उडिजाउँ कि गुडि जाउँ परें म अलमल्ल, 
हिड ठूले काटी जाउँला घुमेको दुधकोशी
खानु छैन लाउनु छैन, के गरुँ यहाँ बसी’

    अहो ! अति मीठो भाका, दर्दनाक कथा बोकेको सिम्मा नाटकको हरेक पंतिहरु प्रगतिशील युवाहको मुखमुखमा झुण्डिएको थियो ।

    त्यसपछि माले पक्षका कलाकारहरुले पनि केन्द्रीय स्तरमा त्यस्तै गीति नाटकको रचना गरे र प्रज्ञाभवनमा प्रदर्शन गरे । मुकुन्द न्यौपानेको लेखन र राजन राई लगायतले गाउनु भएको त्यो गीतले पनि सामाजिक चेतनाको फाटमा राम्रै बीउ छर्न सफल भएको थियो । आहा ! ‘फूलबारीको कथा हवाईको व्याथा’ अझै आउँछ यसको हरफहरू ।
    ‘आयो हो दशै, भयो हो हल्ला आयो हो फुलपाती
नपाई ऋण, भोकले झुप्रा रुँदा हुन् त्यै राती ।”

    दर्शन शास्त्रको भाषाले बुझाउन नसकिने चेतना बुझाउन एउटा गीत आँखी झ्याल सरह साबित भएसँगै जनताको चेतनाको लहर ह्वात्तै बढेको थियो । जेबी टुहुरेको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भै सुखको सधैँ प्यासी बनेर’ भन्ने गीत अझै पनि उत्तिकै पृय लाग्छ भने श्याम तमोटको ‘गाउँगाउँबाट उठ बस्तिबस्तीबाट उठ, यो देशको मुहार फेर्न उठ’ त अहिले कम्युनिष्ट बाहेक सबैले उत्तिकै प्रियकासाथ गाइरहेका छन् ।

    यता धनकुटामा १९ जना कम्युनिष्टहरु मारिएको खोकुछिन्ताङ काण्डको गीत ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, मन सबको रुन्छ कि दुःख बिसाउँदा’ अझै लोकप्रिय छ । भनिन्छ यही गीतले गर्दा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा संसदीय निर्वाचनमा हार्नुप¥यो । धरान आधारभूमि भएको पूर्वको हिमायती सांगीतिक समूहको यो बाहेक अर्को गीत ‘कान थापेर सुनी देउ दाजु, रितिथिति बिग्रेर गइसक्यो’ पनि हालसम्म उतिक्कै चर्चित र लोकप्रिय छ ।

    गीतैले हराइएको पात्रको मिथक मात्र छैन हामीमा । तेह्रथुमका विजय सुब्बा सांसदमा उठ्दा प्रगतिशील र क्रान्तिकारी गीत गाएरै जिते भन्ने भनाई पनि छ । यो कुरा कतिसम्म सत्य हो– पहिलो संसदीय निर्वाचनमा जितेर काठमाण्डु पुगेर पार्टिको सांसदहरुको पहिलो बैठकमा भने उनैले अन्तराष्ट्रिय कम्युनिष्ट गीत ‘उठ जाग ए भोका नाङ्गा….’ गाएका थिए रे !
    संविधानसभाको बैठकमा प्रगतिशील क्रान्तिकारी गीतबाटै चिनिएका सभासद जेबी टुहुरेले मैले जानेको यही हो भनेर गीतै गाएका थिए । ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ, सुखको सधै प्यासी बनेर’

    जनतालाई जगाउन गीतलाई पनि मुख्य हतियार बनाउँदै आएको पार्टी मध्ये एमाले र माओवादीहरु पटक–पटक सत्तामा पुग्न सफल पनि भएकाछन् । आफ्नो दर्शन अनुसार जनचेतना फैलाउने यस्ता साँस्कृतिक कमिटिहरु एउटा मुख्य भातृ संगठनको रुपमै खडा गरेका पनि छन् । एमालेको नौ महिने शासनकालमा जागरण गीत भनेर रेडियो टेलिभिजनमा पनि बजाइन्थ्यो । उता सत्तामा नपुगे पनि मोहनविक्रम सिंहको पार्टिको पनि छुट्टै र सशक्त सांस्कृतिक समूह सकृय छ । जीवन शर्माले नेतृत्व गरेको उक्त साँस्कृतिक समूहले पनि अत्यन्तै लोकप्रिय र सशक्त जनवादी गीतहरु पस्किरहेकै छ–
    सुकेर जाँदैन, रोकेर रोकिदैन
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी
    झरनाको चिसो पानी….

    कम्युनिष्टको सरकार हुँदा रेडियो नेपालमा सर्वाधिक बज्ने गीत मध्ये यो गीत पनि एक हो । त्यसो त ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’ पनि सर्वाधिक लोकप्रिय गीत हो । जीवन शर्मा अहिले पनि समाज रुपान्तरणको लागि भनेर यस्तै गीतहरु गाउँदै हिडिरहेका छन् ।

    त्यसो त गीत भनेको चाहे जस्तोसुकै होस्, त्यो सबैको साझा नै हुन्छ र गायक तथा गीतकार जो सुकै होस् उ पनि साझा नै हुन्छ तर नेपालको हालसम्मको अवस्थासम्म हेर्दा दुःखी गरिवका, शोषण र भ्रष्ट्राचारको विरुद्धका, समाज परिवर्तन गर्ने उद्घघोष भएका, रुढिवादी र अन्ध विश्वासको भण्डाफोर गर्ने किसिमका गीतहरु कम्युनिष्ट आस्था राख्ने कलाकारहरुले नै प्रवर्धन गर्दै आए । माथि नै भनियो कि पार्टिमा यस्ता क्रान्तिकारी र प्रगतिशील गीत र कलाको लागि छुट्टै भातृ संगठन नै खडा गरेको पाइन्छ ।

    अहिले सत्तामा यिनै जनताका प्रगतिशील क्रान्तिकारी गीत गाएर भोट माग्दै हिडेको पार्टी नै सत्तामा पुगेको छ । फेरि आउदो चुनावमा पनि पुनः त्यही गीत गाउने नै छन् । व्यवस्था फेरिए पनि संस्कार फेरिएको छैन । सत्तामा पुगे पनि व्यवस्थामा पार्टिको मूल दर्शन अनुसारको आमूल परिवर्तन भएको छैन र अब यतिकै लोकतान्त्रिक गणतन्त्र व्यवस्थामा चित्त बुझाउने गरि संसदीय प्रतिस्पर्धामा थामिएका छन । आफ्नो गीतमा गाए जस्तो दर्शनले भने जस्तो संस्कार र व्यवहारमा आफूलाई ढाल्न कठिनाइ भए पनि मूल आदर्शलाई भूलेका छैनन् भन्ने कुराको आशा गर्नु स्वभाविक हुन्छ ।

    दुई तिहाईको शक्तिशाली र स्थिर भनिएको सरकारसँग जनताले अन्य बेला भन्दा केही बढी आशा गर्नु स्वभाविक पष्न हो । नोकरशाही कर्मचारीतन्त्रको जालोमा जेलिएको एक वर्षे सरकारको सामु अनेकौं चुनौतिहरु पनि छन् नै ।

    यसैको सेरोफेरोमा यथावत रहेको भ्रष्टाचारको जालो, ढिलासुस्ती र न्यायिक अकर्मण्यतालाई उजागर गर्दै एक लोकगायक पशुपति शर्माले व्यंग्यात्मक शैलीमा ‘लुट्न सके लुट कान्छा’ भन्ने गीत रिलिज गरेपछि सामाजिक संजालमा अनेकौं आयमबाट यसको चर्चा चलिरहेको छ । सरकार पक्षको युवा संघले यसको शब्द चयनमा आपत्ति जनाएको कारण गायक स्वयंले युट्युब च्यानलबाट हटाए पछि सामाजिक संजालमा यसले झनै चर्चा पाएको छ ।

    रामेश श्रेष्ठहरुले गाएको ‘गाउँ गाउँबाट उठ’ सदाबहार र युगान्तकारी गीत हो भने यो ‘लुट्न सके लुट’ भन्ने गीत तत्कालमा देखिने जनअसन्तोषको प्रतिबिम्ब हो । तर हाल देखिएको बेथिति र लुटतन्त्र रातारात एउटै सरकारको पालामा सिर्जिएको होइन र कसैले चाहँदैमा रातारात निर्मूल भै हाल्ने पनि होइन । तथापि क्रान्तिकारी वा प्रगतिशील, जनवादी वा जागरण गीतलाई आफ्नो सांगीतिक हतियार बनाउँदै आएको सत्ता पक्षले यस गीत मार्फत हालसम्मको सत्ता सम्हाल्ने पार्टिहरुको कारण भएको देशको बेथिति प्रति गरिएको व्यङ्ग र आरोपलाई चिर्न व्यवहारको कसीमा उत्रने बेला आएको छ । हालका जिम्मेवार पक्षले गीतलाई आक्षेपको रुपमा हेर्ने र भद्दा मजाक गर्ने मात्र होइन, बेथितिलाई  निर्मूल गर्ने अग्रसरता पनि देखाउने बेला आएको छ ।

    २३ फेब्रुअरी २०१९

  • कमेन्ट गर्नुहोस्