• नवौं राष्ट्रिय कला प्रदर्शनी वैशाखमा हुने

  • काठमाडौं, चैत ६ : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले वैशाख २ गते नवौं राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा गर्ने भएको छ । उक्त प्रदर्शनीमा देशभरका कलाकारले सिर्जना गरेका आधुनिक तथा परम्परागत चित्रकला र मूर्तिकला, लोककला, हस्तकला र अन्य सिर्जनात्मक कला समावेश गरिने छ ।

    प्रदर्शनी सम्पन्न गर्न कुलपति केके कर्माचार्यको अध्यक्षतामा ६७ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रदर्शनीमा सहभागी हुने कलाकृति दुई वर्षभित्र रचना गरिएको र राष्ट्रिस्तरको प्रदर्शनीमा सहभागी नभएको हुनुपर्ने व्यवस्था गरिएको कुलपति कर्माचार्यले जानकारी दिए ।

    प्रदर्शनीमा सहभागी हुने कलाकारले यही चैत १५ गतेभित्र प्रतिष्ठानमा सिर्जना पठाइसक्नुपर्ने छ । प्रत्येक विधामा एक जनालाई राष्ट्रिय ललितकला पुरस्कार तथा नगद ६० हजार रूपैयाँ र दुई जनालाई विशेष पुरस्कार वापत नगद २५ हजार रूपैयाँ व्यवस्था गरिएको छ ।

    प्रत्येक प्रदेशबाट एक-एक जनालाई नगद २५ हजार रूपैयाँको प्रदेश विशेष पुरस्कार प्रदान गरिने छ । साथै ललितकला लेखन पुरस्कार र नगद २५ हजार रूपैयाँ तथा सोही राशिको ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

  • कमेन्ट गर्नुहोस्