• मुस्ताङ: एक अविष्मरणीय यात्रा

    हिन्दू र बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र मुक्तिनाथ धाम।
  •  

    यात्रा आफैमा नयाँ ठाउँ हेर्ने र घुम्ने मात्र होइन, नयाँ कुरा सिक्ने अवसर पनि हो। नयाँ ठाउँ, नयाँ मान्छे र नयाँ संस्कार-संस्कृतिसँग घुलमिल हुने एक सुवर्ण अवसर पनि हुनसक्छ। चिकित्सा-शास्त्रको अध्ययनको बेला दक्षिण अमेरिकी क्रान्तिकारी चे ग्वेभाराको बारे जान्ने मौका मिल्यो। उनको क्रान्तिको रोमाञ्चकारी कहानी मात्र होइन, उनले आफू चिकित्सक बन्नको लागि पढ्दै गर्दा दक्षिण अमेरिकी महादेशको शिरदेखि पुच्छरसम्म मोटरसाईकलमा भ्रमण गरेर लेखेको “दि मोटरसाईकल डायरिज्” पढ्ने र यसको आधारमा बनेको सिनेमा पनि हेर्ने मौका जुर्यो। त्यो हेरिसके पछि सके जति घुम्नुपर्छ, संसार हेर्नुपर्छ भन्ने प्रेरणा मिल्यो।

    नेपालको मुस्ताङ जिल्लामा अवस्थित जोमसोमको सुन्दरताको बारे धेरै पहिलेबाट सुनेको हो। घुमन्तेहरुको फोटोहरु हेरेर पनि थाहा भएकै थियो। घुम्न जाने सोच बनाउँदा-बनाउँदै वर्षौं भएछ, आफ्नै ब्यस्तताले भनौं वा अवस्थाको कैदी (प्रिजनर अफ सर्कम्सट्यान्सेस) भएर, त्यो कुरा कतै मस्तिष्कमा हराएछ। धेरै पछि नेपाल जाने मौका मिल्यो। सल्टाउनु पर्ने व्यवहारिक कामहरु धेरै भएता पनि कम्तिमा पाँच दिन समय निकालेर जोमसोम पुग्ने आँट गरेँ। यो कुरा मलेसिया बस्नु हुने राजिफ दाजु, मेरो बडाबुवाको छोरा, लाई पनि भनेँ। पहिलेदेखि नै सँगै घुम्ने सल्लाह गरेको हुनाले दाजु पनि नेपाल आउनु हुने भयो। मेरो प्रिय मध्ये एक, मास्तुम दाजु (खास नाम प्रेमजित राई भएता पनि बोलाउन सबैले “मास्तुम” भन्छन्। हुनसक्छ धेरै समय कोलकता बस्नुभएको फुपाजुले त्यहाँको बामपन्थी ज्योती बसूको प्रभावमा आफ्नो छोराको नाम चिनियाँ क्रान्तिका नायक माउत्सेतुङको नाम अनुसार राखे पनि पछि अपभ्रंश भएर त्यसो हुन गयो। यथार्थ के हो आजसम्म सोधेको छैन।) पनि सँगै हुनुहुने भयो। राजेश चेमजोङ दाइ पनि जोडिनुभयो। राजिफ दाजुको चार पाङ्ग्रे हाम्रो यात्रा साधन हुने भयो, र चालक राजिफ दाजु आफै।

    मार्च १६, २०१९
    हप्ता-दश दिन अघि नै घुम्न निस्किने भनेर सर-सल्लाह गर्दागर्दै मार्च १६ तारिक मात्र निस्किने जोग जुर्यो। म भोजपुर जानुपर्ने हुनाले र मास्तुम दाजुको आफ्नो व्यवसायिक कामले ढिला हुन गयो।
    १६ मार्चको दिन बिहान सवा ६ बजे बाटो लागि सकेका थियौं। राजेश दाइलाई उठाएर  चिया पिउँदा ७ बजे बेलबारीबाट पश्चिम हान्नियौं। सङ्गीत हाम्रो साथी भयो, जुन यात्राभरी साथै रह्यो।

    पूर्व-पश्चिम महेन्द्र राजमार्गमा गाडी सत्तरी-अस्सीको गतिमा कुदिरह्यो। पूर्वको केन्द्र इटहरी हुँदै कोशी ब्यारेज तरियो। केही वर्ष अघि सप्तकोशीमा आएको ठूलो बाढीले आफ्नो सधैं बग्ने बाटो छोडेर एउटा अर्कै भङ्गालो पनि खोलेको रहेछ। त्यता पनि पानी जम्ने रहेछ। वर्षै पछि आउने बाढीबाट आफ्नो भूमि बिहार राज्यलाई बचाउन सन् ६२ मा भारत सरकारले बनाईदिएको पुल र ब्यारेजको मिति सकिएको हुनाले भवितव्य परि जाँदा उपयोग गर्न नेपाल आफैले बराज भन्दा धेरै माथि आफ्नै भूमिमा पुल र बाटो बनाउँदैछ भन्ने सुनियो। अहिले पनि कोशी ब्यारेजको पुलङमाथि आवागमन निरन्तर छ। सुनसरी र सप्तरी जिल्लाको सिमानामा अवस्थित सप्तकोशी नदी तरेर हामी सप्तरी जिल्ला प्रवेश गर्यौं।

     यात्रामा मास्तुम दाजु, राजिफ दाजु, राजेश दाइ अनि म।

    सप्तरी जिल्लाको लाहान कटेर रुपनी पुग्यौं र बिहानको खाजा खाँदा एघाह्र बजेर कटेको थियो। चिया-चमेना गरेर अघि बढियो। त्यसपछि सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाहरु हुँदै चितवन जिल्ला आइपुग्यौं। मिर्चैया, ढल्केबर, लाल्बन्दी, हरिऔन, निजगढ, पथ्लैया हुँदै भरतपुर आइपुगियो। भरतपुर कटेर रामनगर नजिकै मीठो खाना खाइयो। नारायणी नदीलाई देब्रे बनाएर अगाडि बढ्दै मुग्लिन कटेर केही अघि गएर चिया ब्रेक लियौं। अन्तत: तनहुँ, लम्जुङ जिल्ला कटेर कास्कीको पोखरा पुग्दा झमक्कै साँझ परेको थियो। हाम्रो पहिलो दिनको यात्रा पोखरा लेकसाईडको आरामदायी होटलमा गएर टुङ्गियो। बेलुका खाना खाई नुहाएर ओछ्यान पस्दा रातिको ११ बजेको थियो। लगभग ५५० किमी बाटो नाप्नु लगभग ११ घण्टा लाग्यो।

    मार्च १७, २०१९
    बिहानै ५ बजे उठेर नित्य कर्म सकेर बाटो लाग्दा घडीमा पाँच बजेर आधा घण्टा बितेको थियो। पोखराबाट केही समथल भू-भाग हुँदै अघि बढेपछि खोला बगर आइपुग्छ र त्यो बगर तरेपछि उकालो भेटियो। घट्टेखोलामा कफी ब्रेकको लागि रोकियौं।

    मनास्लु हिमाललाई देब्रे पारेर अघि बढ्दै गरेपछि, पर्वत जिल्ला आइपुग्ने रहेछ। पर्वत जिल्लाका विभिन्न ठाउँ र पुल पुलेसाहरु तर्दै हामी अघि बढ्यौं। बीचमा सानो खाजा ब्रेक भयो। मटरको झोल र उसिनेको अण्डा खाने भयौं। दुर्भाग्य मेरो मटरको झोलमा झिंगा परेछ ! त्यसपछि मटरको झोललाई मैले त्यसै छोडिदिएँ। पर्वत जिल्ला तरेर म्याग्दी जिल्ला आयो। म्याग्दीको सदरमुकाम बेनी तर्यौं। माओवादी युद्धकालमा यहाँ ठूलो भिडन्त भएको हामीले सम्झना गर्यौं। भिडन्तमा सुरक्षाफौज र तत्कालिन विद्रोही माओवादीहरुको भिडन्त हुँदा दुवै तर्फ गरी धेरै हताहती भएको थियो। बेनी कटे पछि भने सडक यात्रा कष्टकर रह्यो। बाटो निक्कै साँघुरो र उबडखाबड युक्त थियो। बेनी कटेर केही समयमा नयाँ बैशरी भन्ने स्थानमा दिउँसोको खाना खायौं। रातो चामलको भात(सायद “मार्सी” चामल होला) थियो। राजिफ दाजुले रुचाउनु भएन, राजेश दाइले मज्जाले खानुभयो। सुख्खा रोटीको पारखी मास्तुम दाजु सुख्खा रोटीमा नै रमाउनुभयो ! म चाहीँ रोटी र भात दुवै !

    यात्राको दौरान अप्ठ्यारो बाटो।

    बाटो साँघुरो मात्र होइन, खतरायुक्त पनि थियो। सानो गल्तिले पनि चार-पाङ्ग्रे हुत्तिएर दाहिनेतिर बगिरहेको कालीगण्डकी नदीमा खस्न सक्थ्यो। यही कालीगण्डकीको बगरमा हो “सालिग्राम” भेटिने। विज्ञानले यसलाई करोडौं वर्ष पहिले मरेको जिवहरुको जिवाशेष (फोसिल) मान्दछ, धार्मिकहरुले यसलाई भगवान बिष्णुको स्वरुप मानेर पूजा गर्दछन्। बेनीबाट २० किलोमिटरको यात्रा पछि नै सुन्दर र मनमोहक हिमालहरुले हामीलाई स्वागत गर्न थालिसकेको थियो। पहाडतिर झार-जङ्गलमा आगो लगाउने चलन अझै पनि रहेछ। नदीको अर्कोतर्फको डाँडामा त्यहाँ भएको बाक्लो साल्मेको झाडीहरुमा कसैले आगो लगाई दिनाले धुँवाले कुईरीमण्डल थियो। हामी पिशाब गर्न ओर्लियौं। एक हुल नेपाली सेनाका जवानहरु गाउँलेहरुसँग हाम्रो यात्राकै बाटो तर्फ हिंड्दै आउँदै थिए। उनीहरुले त्यो डढेलो रोक्न नसकेकोमा निन्याउरो अनुहार प्रष्टै देखिन्थ्यो।

    प्राकृतिक तातोपानीमा स्नान गर्ने सुविधा भएको कुण्ड भएको तातोपानी कटेर हामी संसारकै सबैभन्दा गहिरो खोंच दाना भन्ने स्थान पुग्यौं। हतारो भएको हुनाले फर्कंदा तातोपानी कुण्डको मज्जा लिने सल्लाह त भयो, तर फर्कंदा यता रोकिएनौ। यो खोंच लाखौं वर्षको कालीगण्डकी नदीको बहावको कारण बनेको हो। संयुक्त राज्य अमेरिका अवस्थित ग्राण्ड क्यानोन अफ कोलोराडोलाई पनि संसार कै गहिरो खोंच भनिन्छ!

    लेतेमा एक्सक्याभेटरले बाटो बनाउँदै। 

    हामी केही प्रहरी चेक-पोष्ट पार गर्दै अगाडि बढ्यौं। हाम्रो अघि अब मुस्ताङ जिल्ला आयो। सायद संवेदनशील जिल्ला भएर हुनसक्छ, प्रहरीहरुले गाडीको रेकर्ड राख्ने मात्र होईन यात्रीको संख्या र राष्ट्रियताबारे पनि सोधपुछ गर्दा रहेछन्। चीनले तिब्बतलाई आफ्नो मातहतमा राखेपछि तिब्बती धर्मगुरु दलाई लामा र उनका अनुयायीहरु भारतको धर्मशालामा निर्वासित तिब्बती सरकार चलाएर शरणार्थीको रुपमा बसेका छन्। पछि पश्चिमाहरुको सहयोगमा “खाम्पा” नामक तिब्बती विद्रोहीहरुले नेपाली भूमि विशेष गरी मनाङ र मुस्ताङलाई प्रयोग गरी चिनियाँ सेना विरुद्ध गुरिल्ला युद्ध गरेको इतिहास छ। पछि चिनियाँ सेनाको आक्रमणमा नेपाली भूमिभित्र एक नेपाली सेनाको मृत्‍यु हुँदा कुटनीतिक समस्या आयो। यसको विरोध गर्दै प्रम बीपी कोईरालाले चीनका प्रमलाई चिठ्ठी लेखेर विरोध जनाएका थिए। त्यसपछि चिनियाँ सरकारबाट क्षतिपूर्ति दिइएको थियो। आफ्नो उत्तरी छिमेकीको दबावमा नेपालले आफ्नो सेना लगाएर नेपालमा खम्पा विद्रोह दबाएको भनिन्छ।

    मुस्ताङको लेते भन्दा आधा घण्टाको दुरिमा हामी चिया पिउन रोकिनाले त्यो दिनको यात्रा केही खल्लो भयो। चिया पिउँदा-पिउँदै थाहा भयो कि लेतेमा गएको पहिरोको कारण बाटो निर्माण कार्य भरहेको हुनाले बिहान ७:३० देखि ११:३० र दिउँसो २:३० देखि ६:३० सम्म बाटो बन्द गरिने रहेछ। हामी हतारियौं। बाटो निर्माण हुँदै गरेको ठाउँ पुग्न एउटा पन्टुन ब्रिज रहेछ, र त्यो कटेर अघि बढेपछि त्यो सय मिटर जतिको ठाउँ कटिने रहेछ। पुल नजिक के पुगेका थियौं, हेर्दा-हेर्दै एक्सक्याभेटरले गाडी कुद्ने बाटोमा ढुङ्गा खसायो र अवागमन बन्द भयो।

     

    मुस्ताङको लेतेमा अल्झिंदा। 

    हाम्रो अगाडि एउटा टाटा सुमो पनि भारतीय मूलका सिङ्गापुरे तिर्थयात्रीहरु लिएर मुक्तिनाथ जाँदै थिएछ, उनीहरु पनि अल्झिए ! अब चार घण्टा पर्खिनु बाहेक कुनै अरु उपाय रहेन। जिन्दगी र यात्रा एउटै रहेछ जस्तो लाग्यो ! कहिलेकाही जीवनमा पनि रोकावट आउने रहेछ, तर धैर्य गर्नाले जिन्दगीले कुनै न कुनै बाटो लिने रहेछ। हामी फोटो खिच्दै त्यतै टहलिन थाल्यौं। हामी पछि पनि अरु बस र सुमोहरु आइपुगे। अब भीड राम्रै रह्यो। गफ गर्यो, वरि-परि घुम्यो, एक्सक्याभेटरले हनेको रमिता हेर्यो अनि समय कटायो। पहाडहरुको बीचको खोंचमा हेर्न मिल्ने त्यही पुल, एउटा खोला, वरिपरि केही जङ्गल-केही उजाड पहाड र टाढा-टाढा चाहिँ सुन्दर हिमालहरु! लघुशङ्काले च्याप्दा नजिकै गयो, ठूला ढुङ्गाहरुको पछाडी लुक्यो अनि तुर्क्यायो!

    कतै अङ्गुर बोक्ने पिक-अप गाडी आइपुगेछ। राजिफ दाजुले ‘लोकल अङ्गुर’ किनेर ल्याउनुभयो। राजिफ दाजुको चुरोटको स्टक पनि अब सकिने बेला भयो। त्यो चार घण्टा भरी घरी सिमसिम पानी पर्ने त घरी हावा चल्ने भइरह्यो।जाडो छल्न हामी घरी गाडीभित्र, घरी गाडी बाहिर गर्दै रहयौं। पिउने पानी पनि सकिने बेला भयो, मास्तुम दाजुले अरु गाडीको एक यात्रीसँग पानी मागेर पीउन भ्याउनु भएछ !

    एक्सक्याभेटर चलाउने ड्राईभरहरुको हाउ-भाउ अचम्मको थियो। आफू नचलाउने र आफ्नो सहयोगी भर्खर १८-१९ वर्षेहरुलाई चलाउन दिने रहेछन्। छिचिमिरे चालकको सान नै अर्कै। कानमा मोबाईल जोडिएको एयरफोन लगायो अनि गीत सुन्दै चलायो। क्या काईदा! सवा छमा बाटो खोलिदिए। लाईनमा रहेको गाडी हतारिए। अँध्यारोले बिस्तारै छोप्दै थियो। हिंड्ने बेला मास्तुम दाजु भेटिनुभएन। पर्यो आपत ! जे त होला भनेर हिंडेको, बाटो निर्माण भएको अर्को तर्फ पर्खिरहनु भएको रहेछ।

    यात्रा केही अघि बढे पछि, भीरको बाटो सकियो र कालीगण्डकीको बगर भेटियो। झमक्क साँझ पर्यो ! हामी अघि र पछि आउने गाडीहरु छुटे। सधैं त्यही बाटो चलाइरहने ड्राइभरहरु बाटो जान्ने भएर हतारिए, रह्यौं काठमाण्डौबाट आएको एउटा जिप र हाम्रो। बगर भरी गाडी चलेर बाटै-बाटो बनेको छ। हामी अल्मलियौं। गाडीको हेडलाईटको प्रकाशले बाटो ठम्याउनै सकेन ! सिमसिम पानी त्यति नै खेर पर्न थाल्यो। केही छिन पर्खिने सल्लाह भयो, केही पछि निक्कै पछाडी छुटेका गाडी र बाईकहरु आए। त्यसपछि तिनैलाई पछ्याउँदै अघि बढ्यौं। बगरमा निक्कै समय अल्मलिने भयो। त्यो बगरमा राजिफ दाजुलाई चार पाङ्ग्रे चलाउन हम्मे-हम्मे नै परेको थियो।

    कालीगण्डकी नदीको विशाल बगर।

    आठ बजेतिर जोमसोम एयरपोर्ट नजिकै रहेको होटलमा बास बस्न पुगियो। भोकाएको ज्यानमा निक्कै नै खाना खायौं। खाना पछि आराम गर्न कोठातर्फ लागियो। जाडो भएको हुनाले नुहाउने हिम्मत भएन। बिहानै ६ बजेतिर उठेर मास्तुम दाजु गनगन गरेको सुनियो। कुरो रहेछ, रातभरी घुरेर राजेश दाइले सुत्नमा डिस्टर्ब गर्नुभएको! आफू त थाकेको हुनाले थाहै भएन। तर, त्यसपछिको रातहरुमा चेमजोङ दाइको घुराईले निद्रा चाहिँ नलागेकै हो!

    मार्च १८, २०१९

    ९ बजेतिर हामी प्रशिद्ध मुक्तिनाथ दर्शन गर्न बाटो लाग्यौं। मुक्तिनाथतर्फको बाटो राम्रै रहेछ। केही पिच पनि भएको छ। बाटोमा देखेको ठाउँहरु यति मनमोहक थिए कि हामी कयौंपटक गाडीबाट ओर्लंदै फोटो खिच्न मग्न भयौं। यतिको सुन्दर दृष्य फेरि नआउला भन्ने सोच्दै फोटो खिच्थ्यौं, एकै छिनमा अझ सम्मोहक दृष्य आउँथ्यो। सडकको दुईतर्फ नै हिउँले ढाकिएको ठाउँहरु देख्दा त झन मनै लोभिए। हिउँको डल्लो बनाएर खेल्यौं। हिउँले सेताम्मे डाँडाहरुलाई पृष्ठभूमि पार्दै मोबाईलबाट कति फोटो र भिडियो खिचियो। हिउँमाथि लडेर पनि खिचियो ! यो त धर्तीमा नै स्वर्गको एक टुक्रा झरेको जस्तो थियो। यति सुन्दर कि हेरिरहुँ, सायद यतिको सुन्दर ठाउँ त्यतिन्जेल पुगिएकै थिएन, मनै नअघाउने सुन्दरता ! कति फोटो मोबाईलमा कैद भए, त्यसको हिसाब नै भएन। यतै फर्कियो खिच्यो, उतै फर्कियो खिच्यो।

    बाटोमा देखिएको र मोबाईलमा कैद भएको सुन्दर दृष्य। 

    ती सुन्दर ठाउँहरुको दृष्यावलोकन गर्दै गाडी रोकेर मुक्तिनाथतर्फ तीस मिनेट पैदल हिंड्नुपर्ने रहेछ। बाटैभरी भारतीय तिर्थयात्रीहरु देखिए। कोही त निक्कै प्रौढ उमेरका, भाकल पूरा गर्न आएका जस्ता ! हिंड्न नसकेर घोडा चढ्ने सुविधाको उपयोग गरेर जाँदै गरेका। यो आस्था भन्ने कुरा पनि ठूलै हो ! नभए हिंड्नै नसक्नेहरु पनि यस्तो अप्ठ्यारो ठाउँमा किन आउथे र ? मास्तुम दाजु पनि सास फेर्न गार्हो भएर मन्दिरसम्म नपुग्ने कि भन्नेमा पो झण्डै पुग्नुभयो। राजिफ दाजु र राजेश दाइ शान्त भएर सुमुसुमु हिंड्नुभयो। हिंड्दा-हिंड्दै मोबाईलमा फोटो कैद गर्न पनि भ्याईयो। त्यही नै हिउँ माथी लडेर एउटा ‘आईकोनिक’ फोटो खिच्न भ्याइयो।

    हिउँमा लडेर खिचेको आफ्नै आईकोनिक तस्विर। 

    मुक्तिनाथ मन्दिर एउटा कलात्मक मन्दिर लाग्यो। मन्दिरको वरिपरि धाराहरुमा पानी झरिरहेको, श्रद्धालुहरु जाडोको पर्वाह नगरी त्यही झरेको हरेक धारामा आफ्नो जिउ भिजाउँदै कुद्थे, केही उरन्ठेउला केटाहरु मन्दिरको अघिल्लो पट्टिको सानो पोखरीमा बाँकटे हान्दै थिए। हामीले पनि मन्दिर दर्शन गर्यौं। त्यसपछि मन्दिरको एक छेउको ठूलो बुद्धको मुर्ति पनि अवलोकन गर्यौं। फर्कंदा बाटोमा याकको मासुसँग खाना खायौं। याकको सुकुटी राजिफ दाजु र मैले मात्र खायौं। हात पखाल्ने धाराको पानी यति चिसो थियो कि हात ठिर्ह्याएर खपिनसक्नु भयो ! खाना खाएर याकको सुकाएको छाला माथि बस्न पाईयो। त्यतिको ठण्डीमा पनि त्यो न्यानो हुनेरहेछ। उहिले ट्रेकिङमा काम गर्दा पुगेको र हामी रहेको भन्दा पनि झण्डै हजार मिटर माथि ५४१६ मिटरमा अवस्थित ‘थोरङ-ला पास’ देखाउनुभयो। त्यो अन्नपूर्ण सर्किटमा सबैभन्दा उच्च ठाउँ हो। सायद दाजुलाई ट्रेकिङमा काम गर्दा ताकाको दिनहरु याद आए ।

    हिउँले ढाकेको पहाडको बाटोमा। 

    फर्कंदा त्यही जाँदाको सुन्दर हिउँले ढाकिएको पहाडहरु हेर्दै अझ मन भर्यौं। धर्तीमा स्वर्ग झैं ठाउँ फेरि कहिले पुगिएला भन्ने मनमा थियो। होटल फर्किएर त्यसै टहलिन थाल्यौं। बेलुकीपख मुस्ताङको कोसेली स्याउ र एप्रिकोटको ब्राण्डी, स्याउको सुकुटी, टिम्मुरको छोप आदि किनेर झोलामा राख्यौं। एयरपोर्ट वरिपरि घुम्दै, चिया-खाजा खाँदै घुम्यौं। बेलुकाको खाना खाइयो र सुस्ताईयो।

     तान बुन्दै स्थानीय महिला। 

    मार्च १९, २० २०१९

    भोलिपल्ट लेतेको पहिरो साढे ११ बजेपछि कट्ने हिसाबले बाटो लागियो। जाँदाको ठाउँहरु बाटोमा आउँदै गए।  मन नोस्ट्याल्जिक भइरह्यो।

    त्यो दिन पोखराको त्यही होटलमा बास बसियो जहाँ पहिले जाँदा बसेका थियौं। अर्को दिन बेलुका घर पुगियो। पहाडमा मनाईने होलीको दिन परेको हुनाले होली खेल्नेहरु बाटोभरी देखिए।

    जोमसोम र मुक्तिनाथ दुवै एक पटक घुम्नको लागि पुग्नु पर्ने ठाउँ हो। सडक यात्रा गर्न रुचाउनेहरुको लागि पोखराबाट सार्वजनिक गाडी भेटिन्छ। आफ्नै चार पाङ्ग्रे लिएर गए पनि भयो। दुई पाङ्ग्रेमा यात्रा गर्न रुचाउनेहरुलाई पनि ठीकै छ, तर कुदाउने अनुभवी हुनुपर्छ। सडक यात्राको झमेलाहरुमा पर्न नरुचाउनेहरुको लागि पोखराबाट दैनिक रुपमा हवाईजहाज जोमसोम उड्छ। तिर्थ यात्रा गर्नेहरुले जोमसोमबाट मुक्तिनाथसम्म गाडी पाउँछन्।

    कालीगण्डकी बगरमा निर्माण भईरहेको पुल। सुन्दर हिमालहरु देखिन्छन्। 

    यात्रा गर्न रुचाउने, नयाँ ठाउँहरु हेर्न आनन्द मान्नेहरुको लागि घुमफिर एउटा अविष्मरणीय क्षण हुन जान्छ। जीवन रहेसम्म यात्रा जारी रहन्छ, सहयात्रीहरु फेरिन सक्छन् ! घुम्ने मौका मिल्दा घुम्नुपर्छ । संसारमा देख्न र सिक्न धेरै कुराहरु छन् ! उमेर र समय छँदा नै घुमौं !

  • कमेन्ट गर्नुहोस्