• पत्रिका किन्न ज्याला मजदूरी गर्दा

  •  

    युवा साँस्कृतिक अन्वेषक गोविन्द न्यौपानेले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को हालसम्म प्रकाशित सम्पूर्ण अङ्क (पूर्णाङ्क १ देखि १४३ सम्म) किन्दै गरेको जानकारी दिनुभयो मलाई । भन्नुभयो, “अहिलेलाई चाहिँ तीमध्ये आधा किन्न सफल भएँ, बाँकी विस्तारै किन्ने योजनामा छु ।”

    मलाई यस योजनामा सहकारी हुन मन लाग्यो । भनेँ, “बाँकी अङ्क किन्नका लागि मलाई तपाईँसँग सहकार्य गर्न दिनुहोस् ।” त्यसपछि मैले आफ्ना केही लेखरचनाहरुको पारिश्रमिक जम्मा गरेर छोरी युन्छोमीमार्फत गोविन्दजीलाई ‘पूर्णिमा’का बाँकी अङ्कहरुको मूल्य भुक्तान गर्न आग्रह गरेँ ।

    गोविन्दजीले जब संशोधन मण्डलको मुख्यालय रहेको ताहाचलस्थित डा. महेशराज पन्तको घरबाट ‘पूर्णिमा’का सम्पूर्ण अङ्क किनेर ल्याएको जानकारी दिनुभयो, तब मेरो मन उत्सवमय भयो । मनमनै हर्षोल्लासपूर्वक भनेँ, “आहा, विद्याबुद्धिबाट कमाएको धन विद्याबुद्धिकै क्षेत्रमा खर्च गर्न पाइयो ! यस्ता अवसरहरु आइरहुन् ।”
    यस्तो सुखद क्षणमा म एउटा अतितलाई पनि सम्झना गरिरहेको थिएँ ।

     

    पत्रिका किन्न नपाउँदा त्यो छटपटी

    घरमा दाइ पुस्ताले जम्मा गरिदिएको पत्रपत्रिका त दिलचस्पीपूर्वक पढ्थेँ नै । नयाँ स्वादका पत्रपत्रिका पढ्ने उत्साह पनि थपिदै थियो ।

    त्यो बेला म गोकुण्डेश्वर माध्यमिक विद्यालयमा कक्षा ८ मा पढिरहेको थिएँ । यस विद्यालयमा विभिन्न निम्न माध्यमिक विद्यालयका विद्यार्थी कक्षा ७ उत्तीर्ण गरी ८ मा भर्ना हुन आएका थिए ।

    म लगायत रामप्रसाद वाग्ले (हालः नेपाल सरकारका उपसचिव)भाषा निमाविबाट त्यहाँ पुगेका थियौँ । त्यहाँ सानबहादुर भुजेल, दामोदर मिश्र (हालः गोकुण्डेश्वर बालमन्दिर माविका प्रधानाध्यापक) लगायतका ताङ्खुवाको दामोदर निमाविबाट आएका थिए । पशुपतिबाबु पुरी (नेकपा नेतृ रामकुमारी झाँक्रीका जीवनसाथी तथा हालः नेपाल सरकारका उपसचिव), पुष्पराज मिश्र (हालः राष्ट्रिय अनुसन्धान विभागका डीएसपी), रामबाबु पुरी (हालः नेपाल सरकारका उपसचिव)हरु लेगुवाबाट आएका थिए भने हरिभगत डङ्गोल, सुन्दरमान डङ्गोल, रोशनराज अमात्यहरु धनकुटा नगरकै त्रिवेणी निमाविबाट आएका थिए ।

    र, त्यहीँ अर्थात् हामी कक्षा ८ मा पढ्न चारैतिरबाट जम्मा भएका गोकुण्डेश्वर माविमै पढी त्यहाँ कक्षा प्रथम भएका शिशिरराज चापागाईँ (हालः अमेरिका)सँग हामी कक्षा साथी भइहाल्यौँ । त्यो बेला त्यहीँका मनमाया लुङ्गेली मगर कक्षाका दोस्रो र बन्दना न्यौपाने तेस्रो स्थानमा थिइन् ।

    म भाषा निमाविबाट सेकेण्ड ब्वाईका रुपमा त्यो विद्यालयमा स्थानान्तरित हुन पुगेको थिएँ । शिशिरसँग घनिष्टता बढ्ने नै भयो ।

    उनी हामीलाई सानोसानो स्टीकरहरु दिन्थे, कहिलेकाहिँ। आफ्नो घर विराटनगरतिर गएको बेला वाटरकलरको बट्टा ल्याएर दिन्थे । यसको मूल्य भने भुक्तान गर्न पथ्र्यो । पेन्टिङमा पनि हामी दुईको रुची मिल्थ्यो ।

    भर्खरै निर्माण सम्पन्न भई प्रदर्शनार्थ तयारी भइरहेको फिल्म ‘कुसुमे रुमाल’को स्टीकर थिए ती । हामी त्यो स्टीकर बडो जतनले किताबको बीचमा सुरक्षित राख्थ्यौँ । अनि बेलाबेलामा हेथ्र्यौ पुलुक्क पुलुक्क ।

    एक त आफ्नै गृहनगर धनकुटामा अधिकाँश छायाँङ्कन भएको यस फिल्मले हामीलाई आकर्षित गर्ने नै भयो । अर्कातिर घनिष्ट मित्र शिशिर । उनका बुवा त्यसबेला जिल्ला प्रशासन कार्यालय, धनकुटाका नायव सुब्बा थिए, त्यहीँ भएर उनी विराटनगरबाट धनकुटा पढ्न आएका थिए । हामीसँगको करिव ५ महिनाको सहपाठपछि उनको बुवाको सरुवासँग शिशिर सुनसरीको इनरुवातिर लागे ।

    शिशिर नेपालमा पहिलोपटक रजत जयन्ती मनाउन सफल ‘कुसुमे रुमाल’का निर्माता उद्धव पौडेल (हालः गोपीकृष्ण हलका मालिक)का सहोदर भाञ्जा हुन् ।

    शिशिरसँगको सङ्गतका कारण पनि मेरो चलचित्रप्रति केही आकर्षण बढ्न पुगेको थियो ।

    एक दिन स्कूल गइरहेको बेला मभन्दा केही अगुवा टोलबासी साथी सुनिल पाख्रिन हामीसँग कुरा गरिरहेका थिए, एउटा पत्रिकाको गाइजात्रे अङ्कका सन्दर्भमा । उनले पढेका रहेछन्, त्यो पत्रिका । ममा पनि त्यस पत्रिकाबारे जिज्ञासा उत्पन्न भइहाल्यो । तर त्यो अङ्क मैले पढ्न पाइनँ ।

     

    त्यो पत्रिकाको नाम थियो, ‘कामना’

    म क्रमशः ‘कामना’को नियमित पाठक बनेँ । एकातिर शिशिरले फिल्म जगतप्रति जगाइदिएको रुची, अर्कोतिर धनकुटामा फिल्म हेर्ने खासै सुविधा नभएको हुँदा पनि फिल्म सम्बन्धी जिज्ञासाहरु मेट्न ‘कामना’ मासिक मेरो लागि ठूलो साथी बनेको थियो । धनकुटामा त्यो समय फिल्म हल व्यवस्थित थिएन । त्यसैले ‘कामना’ पत्रिका हेर्दा विभिन्न फिल्म हेरेजस्तो लाग्थ्यो ।
    २०४६ सालको नयाँ वर्ष । नयाँ वर्षको अङ्क बजारमा आइपुग्यो । आफूसँग पत्रिका किन्ने ८ रुपैयाँ त के खल्तीमा सुको छैन । अझ पत्रिका विशेषाङ्कका रुपमा आएको छ ।

    छटपटि भयो । एसएलसीको नतिजाको पर्खाईमा थिएँ । भर्खरै एसएलसी दिएर बसेको बेरोजगार किशोरलाई सापट पत्याउने कसले ?

    छटपटि चल्दै थियो, जुटाउनुछ जसरी भए पनि पत्रिका किन्ने रुपैयाँ । हात पसार्ने ठाउँ छैन, चोरी गर्नु भएन ।

    आँखा पर्यो एक ठाउँमा । मैले पढाई सुरुआत गरेको हाम्रो घरैछेउको गणेश प्राथमिक विद्यालय २०४५ साल भदौ ५ गतेको भूकम्पले क्षतिग्रस्त भएको थियो । संयोग पनि कस्तो भूकम्प गएको अघिल्लो दिन सम्पन्न जिल्ला शिक्षा कार्यालयबाट आयोजित जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगितामा गोकुण्डेश्वर माविका तर्फबाट रामप्रसाद वाग्ले र अरुण पौडेलसहित म सम्मिलित टोली पहिलो भएको थियो ।

    भोलिपल्टै भूकम्प आइदियो । यो भूकम्पले गरेको विभिन्न क्षतिमध्ये एउटा मैले पढाई सुरुआत गरेको गणेश प्राविमा पनि पर्यो ।

    माथि उल्लेख गरिएको मेरो छटपटाहटको समयमा यस विद्यालयको पुननिर्माण हुँदै थियो । त्यहाँ गएर मजदूरी गर्ने निर्णय गरेँ, पत्रिका किन्नैका लागि ।

    मैले काम मागेँ । सुरुमा पत्याएनन् । खासगरी मेरा टोलका अगुवा मजदुर पूर्णबहादुर योञ्जन (जसकी छोरी सञ्जु हाम्रै टोलकी प्रथम एसएलसी पास चेली हुन्, जो अहिले शिक्षिका छिन्)ले मलाई भन्नुभयो,“ल हेर, यो पढेलेखेको मान्छे पनि हामीसँगै काम गर्न आयो । ओइ, भोलिपर्सी तलाईँ हामीसँगै कुल्ली काम गरेको भन्दिम् भने लाज लाग्दैन तलाईँ ?”
    “काम गर्नलाई केको लाज ?”, मैले बेल्चा उठाउँदै भनेँ । अनि गरेँ, खुरुखुरु दुई साताजति मजदुरी ।

     

    कोशेढुङ्गा भयो त्यो मजदूरी

    बिहीबार हाट लाग्छ, धनकुटामा । त्यो बेला प्रायः मजदूरहरुलाई उनीहरुको पारिश्रमिक भुक्तान गरिँदा बिहीबार नै गरिन्थ्यो, त्यो समय । पहिलो साताको पारिश्रमिक पाउनासाथ हुर्रिएर म बजार झरेँ र किनेँ ‘कामना’ । त्यो अङ्कमा नेपालका नायकहरुलाई उनीहरुको लोकप्रियताको कसीमा पहिलो दोस्रो गरिएको थियो । र सबैभन्दा लोकप्रिय भनी पहिलो स्थानमा सरोज खनाललाई चयन गरिएको थियो ।

    मैले यो पत्रिका किन्नासाथ बाटैमा अध्योपान्त पढेँ । र एउटा पाठक प्रतिक्रिया लेखेँ । त्यो सानो प्रतिक्रिया २०४६ सालको भदौको अङ्कमा छापिएको छ । यसको आवरणमा चर्चित पत्रकार विजयकुमारको फोटो छापिएको छ । उहाँ त्यो समय नेपाल टेलिभिजनमा ‘आठ बजे’ कार्यक्रम चलाउनुहुन्थ्यो । र, कहिलेकाहिँ चलचित्र समीक्षा पनि गर्नु हुन्थ्यो । उहाँको चलचित्र समीक्षामध्ये एउटा चर्चित छ । त्यो हो, चलचित्र ‘आदर्शनारी’मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी नायिका अँशुमाला शाही सम्बन्धी उहाँको टिप्पणी । उहाँले लेख्नुभएको थियो,“सबैभन्दा पढेलेखेकी तर सबैभन्दा चिसी नायिका को भन्ने हो भने उनै अँशुमाला शाही नै हुन् ।”

    पछि उनै नायिका अँशुमालासँग उहाँको विवाह भयो । विजयकुमार अँशुमालालाई ‘शुष्मा’ सम्बोधन गर्नुहुन्छ ।

    ‘कामना’मा प्रकाशित मेरो यो पाठक प्रतिक्रियापछि मलाई पत्रिकामा नाम छाप्ने रहरले छपक्कै छोप्यो । त्यसपछि म केही न केही नलेखी र नछापिकन बस्नै नसक्ने अवस्थामा पुगेँ ।
    त्यसपछि भयो, मेरो अक्षरयात्राको शुभारम्भ ।
    पत्रिका पढ्ने तृष्णा, पत्रिका किन्ने दामको अभावले सिर्जना गरेको ज्याला मजदुरी गर्नुपर्ने अवस्था । मजदूरीबाट प्राप्त दामबाट किनिएका पत्रिकाका साथै कलम, कापी, खाम र हुलाक टिकट अनि लेखिएका त्यहीँ पाठक प्रतिक्रियाबाट शुभारम्भ भएको सार्वजनिक रुपमा पोखिने मेरो अभिव्यक्तिको अक्षर यात्राको कोशेढुङ्गा त त्यहीँ मजदुरी नै हो ।

    यस्तो कुरा भन्न पाउँदा गर्वले छातिमा बिस्कुनै सुकाउन सकिएला झैँ लाग्छ ।

    पढ्दै आनन्द लिँदै
    आफूले लेखेको त्यो पाठक प्रतिक्रियाले कम्ति आनन्द दिएन । धेरैलाई देखाएँ पनि । छोटो थियो त्यो । आफ्नै नाम कति पढेँ, कति !

    यसरी आफ्नो नाम छापिएको १२ वर्षपछि त्यहीँ प्रकाशन गृहमा म ‘साधना’ मासिकको विशेष संवाददाताको रुपमा छिरेँ । ‘राष्ट्रिय स्तर’को अर्थात् राजधानी सहर काठमाडौंमा रही मेरो अक्षर यात्रा यहीँबाट सुरु भयो ।

    यहीँ कोशेढुङ्गालाई साक्षी राखेर हिँड्दा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, प्रेस चौतारी, नेपालको दुई पटक केन्द्रीय सचिवालय सदस्य, नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)को केन्द्रीय उपाध्यक्ष र सल्लाहकार अनि शिक्षा पत्रकार समूहको साधारण सदस्य हुने अवसर प्राप्त भयो, मलाई ।

    यहीँ मजदुरीबाट सुरु भएको मेरो अक्षर यात्राबाटै आमसञ्चार तथा पत्रकारिता अध्ययन र उपप्राध्यापन गर्ने योग्यता पनि हासिल गरेँ ।

    यो मेरो जीवनको तीतो यथार्थ र मीठो अनभूति हो ।
    कतिसम्म भने म ‘साधना’ म हरेक महिना एउटा इन्डेप्थ रिपोर्टिङ गर्थेँ । बेला बेलामा कामना प्रकाशनको पुस्तकालयमा गएर त्यहीँ मैले लेखेको पाठक प्रतिक्रिया पढ्थेँ । ‘साधना’मा छापिएका मेरो त्यो इन्डेप्थ स्टोरीभन्दा त्यहीँ पाठक प्रतिक्रिया मलाई प्यारो लाग्थ्यो ।

     

    कोशेढुङ्गाप्रतिको प्यार अपार हुँदो रहेछ !

    यस्तै कोशेढुङ्गाप्रतिको प्रेमले पुलकित हुनुको मीठो अनुभूति हो, आफ्नै विद्या र बुद्धिले आर्जन गरेको केही धन यसै क्षेत्रमा लगानी गर्नु । अर्थात्, ‘कामना’को एउटा अङ्क किन्न नसक्दा छटपटिदै ज्याला मजदुरी गर्न जान बाध्य मैले आफ्नो विद्या र बुद्धिकै भरमा आर्जन गरेको धनले इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’को हालसम्म प्रकाशितमध्ये आधा अङ्कको दाम भुक्तानमा गरेर एक आत्मीय मित्रसँग सहकारी बन्नसकेँ ।

    विद्या भनेको त सबैभन्दा ठूलो साँच्चिकै नमासिने र नचोरिने धन रहेछ । विद्या धनम्, सर्वधनम् प्रधानम् ।

  • कमेन्ट गर्नुहोस्