• जसले ठाउँका ठाउँ ‘बाघ’लाई हराए

  •  

    सुस्तरी चलेको हावाजस्तै मेरो कानमा पनि केही वाक्यहरु ठोक्किन पुगे । टोलका एक जना दाइको जिब्रोबाट फुत्केका वाक्यहरु थिए ती । वाक्यहरु थिए,“त्यस्तो स्कूलमा पनि के पढ्नु अब ! जुन चाहिँ राम्रो मास्टर छ, उसैलाई निकालिदिन्छ !”

    यस्तो वाक्य कानमा ठोक्किएको बेला गणेश प्राथमिक विद्यालयमा म कक्षा २ मा पढ्दै थिएँ । सन्तोष दाइ तत्कालिन भाषा निमावि (हालः भाषा क्याम्पस)को विद्यार्थी हुनुहुन्थ्यो ।

    सन्तोष दाइको असन्तुष्टिको प्रकरण रहेछ, २०३७ साल फागुन ५ गतेको । तत्कालित भाषा निमावि, धनकुटा–२ पात्लेका प्रधानाध्यापक गोपाल गुरागाईँको बर्खास्ती। यता सन्तोष दाइबाट फुस्फुसिएको कुरा अर्कोतर्फ म आफू पढिरहेको विद्यालयमा भाषा निमाविबाट स्थानान्तरित विद्यार्थीहरुको राम्रो संख्या । त्यस विद्यालयबाट प्रावि तहमा पढिरहेका स्याउलेका पुरै गुरागाईं खलक, अलि परको घिमिरे टोलतिरका प्रावि तहमा पढ्न मिल्ने घिमिरेहरु, त्यहाँभन्दा अलि परका केही आठपहरिया राईहरु मात्रै होइनन्, वारिपात्लेकी मेनुका कार्की पनि गणेश प्राविमा पढ्न आइपुगिन् ।

    गोपाल सरकै बुवा दिनानाथ गुरु पनि हाम्रै विद्यालयमा पढाउन आइपुग्नु भयो । गोपाल सरकी छोरी भारती र छोरा राजु त्रिवेणी निमाविमा स्थानान्तरित भए ।

    दिनानाथ गुरु आफ्नो छोराको बर्खास्तीले सहनशीलसून्य भएर हामी पढिरहेको स्कूलमा सरुवा माग गरेर आउनु भएको होला भन्ठान्छु म ।

    यी मेरा बालसखा सखीका अभिभावकहरुले गोपाल सरलाई शिक्षक आन्दोलनमै लागेका कारण बर्खास्ती गरिएको प्रति व्यक्त असन्तुष्टि थियो ।

    हाम्रो घरमा रहेको तत्कालिन भूमिगत मालेको आश्रय स्थलमा एउटा काठको बाकस थियो । त्यहाँ कतिपय गोप्य कागजहरु रहेका थिए । ती सबै एकाएक पढेको थिएँ । तर तिनका सबै विवरण मलाई अहिले कण्ठस्थ छैन । यद्यपि केही कागजको अँशको सम्झना छ । तीमध्ये एउटा तत्कालिन नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष रामसुन्दर यादव, उपाध्यक्ष कृष्ण ब्लोन र कोषाध्यक्ष चाहिँ गोपाल गुरागाईं हुनुहुन्थ्यो भन्नेमा म ढुक्क छु । गोपाल सरसँगै तत्कालिन भारती मावि, चुङमाङका प्रधानाध्यापक रामसुन्दर यादव पनि बर्खास्तीमा पर्नुभयो ।

    एकिकरणका वार्ताकार
    टुक्रा टुक्रामा विभाजित थियो नेपाल कम्युनिष्ट पार्टी । गोपाल सर चाहिँ त्यहीँ टुक्रामध्येको पूर्वको रातो झण्डा समूहमा आवद्ध हुनुहुन्थ्यो । टुक्रिएका समूह एकिकृत हुँदै जाँदा बन्यो कोअर्डिनेसन कमिटी अर्थात कोके । कोकेका तर्फबाट धनकुटा छिन्ताङको अखुवाटारमा मदन भण्डारी एक्लै एकता वार्ता गर्न आउँदा रातो झण्डाका नेता आनन्दसन्तोषी राई हुनुहुन्थ्यो । उहाँको साथ लागेर धेरै कमरेडहरु त्यहाँ पुगेका थिए । त्यो एकता वार्तामा आनन्दसन्तोषी खासै सन्तुष्ट नरहेको प्रमाण केबाट मिल्छ भने उहाँ कोकेसँग मिल्नै चाहनु भएन । उहाँ पूर्व कोशी प्रान्तीयतिर लाग्नुभयो भने गोपाल, चित्र निरौला, वासु शाक्य, चन्द्र पुरी, जीवप्रसाद पोखरेलहरु चाहिँ पार्टी एकताको पक्षधर हुनुभयो ।

    अहिले आएर माले बन्नु भन्दा अघिको एकता वार्ताको अवस्था हेर्दा र मनमोहन समूह हुँदै आनन्दसन्तोषी राईको नेपाली काँग्रेसमा प्रवेश र सक्रियता देख्दा स्पष्ट हुन्छ, त्यो एकता वार्ताको निर्णायक त गोपाल सर, लगायतकाहरु नै हुनुहुँदो रहेछ । चित्र निरौलाले पञ्चायतकालमै पार्टी छाडी हाल्नुभयो । चित्र त एनजीओ आइएनजीओ इत्यादिमा लाग्नुभयो, पञ्चायतकालकै समाज कल्याण परिषद्मार्फत् ।

    कमरेडहरुको पलायनको यो शिलशिलामा पनि गोपाल सर अविचलित हुनुभयो ।

    सूर्यबहादुर थापाले पञ्चायत पक्षधरतामा धनकुटा जिल्लाको जग समाल्दा गोपाल सर यस्तो एउटा बागी जसले धनकुटाका वामपक्षधरलाई समेट्दै समेट्दै लानुभएको एउटा बालसाक्षीको बकपत्र पनि हो यो लेख ।

    त्यो देउसी भैलो
    निक्कै ठूलो जमघट थियो हाम्रो घरमा त्यो रात । म कक्षा २ मा पढि रहेको बालक चाहिँ फुक्रुक्क फुक्रुक्क पुगिरहन्थे, यस्ता बैठकहरुमा । गोपाल सरको प्रवेश भयो । करप्प करप्प हात मिलाउनुभयो । मेरो कलिलो हात पनि उहाँले करप्प पार्नुभयो ।

    उहाँको प्रवेशपछि सबै चुपचाप छन् । मौनता उहाँले नै तोड्नुभयो । मुसुक्क हाँसेर भन्नुभयो,“देउसी भैलो खेलिने भैयो होइन त ?”

    त्यसपछि रिहर्सल सुरु भयो, उहाँ हिडिहाल्नुभयो । मलाई पनि निद्राले छोप्यो, मूलघरतिर सुत्न हिँडिहालेँ ।

    त्यो सालको तिहारमा एउटा भव्य टोली देउसी भैलोमा निस्क्यो, गीत पनि क्रान्तिकारी, आशिष पनि क्रान्तिकारी । पुरुष महिला सबै सरोबर गाउने बाजागाजासहित । लौरोटेकुवा देउसी भैलो टोली छायाँमा परे ।

    त्यो बेला प्रगतिशील लेखक कलाकार संघका नाममा खेलिएको देउसी भैलोको प्रारम्भ थियो त्यो ।

    हाम्रो घरमा दिइएको सेल्टरमा कहिलेकाहिँ गानाबजाना रोकिन्थ्यो । त्यस्तो बेला गोपाल सरलगायतका पाहुनाहरु हाम्रो मूल घरमा खाना खाइरहेको देख्थेँ । अहिलेको मेरो अनुमान अनुसार त्यो बेला जिल्ला पार्टीको हाइकमाण्डको बैठक हुँदो हो ।

    किशोरावस्थाको जेल यात्रा
    गोपाल सरले ७३ औं जन्मोत्सव यसै साता मनाउनुभयो । फेसबुकमार्फत उहाँले आफ्नो जन्मोत्सवको अवसरमा बधाई र शुभकामना दिनेहरुलाई धन्यवाद प्रकट गर्नुभयो । एउटा सादगी जीवन बाँच्नेका लागि शुभजन्मोत्सव खासै हर्षाेल्लासको सन्दर्भ हुँदैन, तर गोपाल सरले औपचारिकताका लागि धन्यवाद दिनुभएको हो भन्ठान्छु म ।

    उहाँ ७३ वर्षमा प्रवेश गर्नुभयो भने पछि उहाँले पहिलो पटक तत्कालिन व्यवस्थाविरुद्धको आन्दोलनमा १९ वर्ष अर्थात् किशोरावस्थामै जेलयात्रा सुरु गर्नुभयो ।

    २०२२ सालमा विद्यार्थी आन्दोलन भयो, स्ववियूको माग गर्दै । उहाँलाई थुनियो । कैद भुक्तानपछि फेरि आन्दोलन चर्कियो डीआईजी नारायण सिंह काण्डको नाममा । हालको राष्ट्रिय नाचघरमा कलाकारहरुको प्रस्तुति रहेछ, त्यहाँ धतुरिएर पुगेका डीआईजी नारायण सिंहले महिला कलाकारलाई दूव्र्यवहार गरेछन् । यस विरुद्ध आन्दोलन मच्चियो । यसमा पनि पिण्डेश्वर विद्यापीठ धरानका विद्यार्थी नेता गोपाल गुरागाईं गिरफ्तारीमा परिहाल्नुभयो ।

    धनकुटा कागतेको घर बेचेर पात्लेखोलाको बेँसीमा झुपडी हालेर बसेको बेला पनि प्रशासनले निहुँ खोज्दै दुःख दिन छाडेन उहाँलाई । उहाँलाई समातेर विराटनगरतिर चलान गरिहाले । त्यहीबेला पाख्रिबासमा एउटा काण्ड भयो । त्यहाँ टिचिङ प्राक्टिसमा गएका गोपाल शिवाकोटी (हालः मानवअधिकारकर्मी डा. गोपाल शिवाकोटी)हरुले विद्याथीहरुमा प्रगतिशील चेतना ल्याउन खोज्दा मण्डलेहरुले आक्रमण गरे । गोपाल शिवाकोटीहरुलाई साथ दिने धनकुटेलीहरु चन्द्र बस्नेत र अर्जुन राई (धनकटाका सभासद राजेन्द्र राईका सहोदर दाजु) पनि जेल परे । उहाँहरुलाई पनि विराटनगर जेल चलान गर्दा गोपाल सरको ती कमरेडहरुसँग भेट भयो ।

    सङ्घर्षका चरणहरु त कहाँ सकिँदा रहेछन् । राष्ट्रिय पञ्चायतलाई सक्दो प्रयोग गर्ने नीति त पार्टीको छँदै थियो । सर्कूृलर धनकुटाबाट तेह«थुम पनि पठाउनुपर्ने भयो । पार्टीका एक विश्वसनीय भेटिए तत्कालिन धनकुटा साझामा काम गर्ने दयाराम भट्टराई । उनलाई सर्कुलर लिएर उनको मावली जिल्ला तेह«थुम खटाइयो । चेकजाँच कडा थियो । उनी जिरिखिम्तिमा समातिए । दयारामलाई बोकाएर पठाइको सर्कूलरमा अँग्रेजीमा सीटीएम टीआरटी लेखिएको थियो । सानो चिर्कटोमा ओख्रेमा पढाइरहेका भोला गुरागाईँको नाम लेखिएको थियो ।

    सर्कूलर लिएर जाने दयाराम त समातिए नै भोला गुरागाईँ पनि समातिए । सीटीएम अर्थात् कमरेड तोयानाथ शंकाको घेराबन्दीमा पर्नुभयो । उहाँ समातिनुभयो । चरम यातनापछि उहाँले पोल खोल्नुभयो र त्यो सर्कूलर काण्डमा गोपाल सरको प्रमुख हात छ भन्ने भइहाल्यो र गोपाल सरलाई रातारात गरी पात्लेखोलाको झुपडीबाट जिल्ला कारगार धनकुटामा ल्याइयो ।

    चप्पलमा त्यो हिउँघारीको यात्रा
    जुत्ता पनि लगाउन दिएनन्, दुष्टहरुले । दुई घण्टा जति राखे जिल्ला प्रहरी कार्यालयमा । त्यहाँ एकजना इन्स्पेक्टर प्रस्तुत भए, विनयी । अन्य प्रहरीहरुले ‘तँ’ सम्बोधन गरिएको बेला ती इन्स्पेक्टरले गोपाल सरलाई सौर्हादता प्रस्तुत गर्दै ‘तपाईँ’ भने । पटकपटक जेलनेल भोग गरिसकेका गोपाल सर छक्क पर्नुभयो, यस्तो पनि प्रहरी अधिकृत हुँदारहेछन् भनेर ।

    धनकुटाका तत्कालिन इन्स्पेटक्र लक्ष्मी वादे श्रेष्ठ हाल बनेपा नगरपालिकाका साविकको एमालेबाट निर्वाचित मेयर हुनुहुन्छ । यसबाट उहाँ उसबेलैदेखि बाम रुझानमा हुनुहुन्थ्यो भन्न सकिन्छ ।

    गोपाल सरले गिरफ्तारीको बेला जुत्ता पनि लगाउन पाउनुभएन, चप्पलमा हुनुहुन्थ्यो । पैदल यात्रा तेह«थुम चलान गराए । चित्रेपछि उता हिँउ परेको थियो । त्यो हिँउघारीको यात्रामा गोपाल सर चप्पलको यात्रामा हनुहुन्थ्यो ।

    पछि जेलबाट छुटेर गोपाल सरले साविकको बेल्हारा गाउँ पञ्चायतको प्रधानपञ्च पदमा जनपक्षीय उम्मेदवारी दिनुभयो । विगत २५ वर्षदेखि एकलौटी प्रधानपञ्च खाइरहेका गंगाबहादुर जोशीलाई हराउनुभयो ।

    पञ्चायतलाई अविछिन्न राख्न छिन्ताङका क्रान्तिकारीहरुको हुर्मत लिने सूर्यबहादुर थापालाई पनि उहाँले २०४८ सालको आम निवार्चनमा भारी मतले धनकुटा क्षेत्र नम्बर २ बाट हराउनुभयो । दुई पटक उहाँले झिनो मत भोगेको पराजय त अन्तरघातकै कारण हो ।

    २०४८ सालको निर्वाचनमा गोपाल सरबाट पराजित भएपछि सूर्यबहादुर थापाले आफ्नो ‘भारदारी सभा’मा सामन्त स्वरमा कड्केर भनेछन्, “तिमीहरु मेरो जीत स्योर स्योर भन्थ्यौ।, आज एक जना गोठालोले मलाई हरायो ।”

    थापाकाजीले भनेको एउटा कुरामा चाहिँ सही थाप्न मन लाग्यो, गोपाल सर गोठालो नै हो, नेपाली आन्दोलनको गोठालो, त्यसमा पनि नेपाली वाम आन्दोलनको गोठालो ।

    यही गोठालोको निरन्तर योगदानका कारण आज नेपाली वामपन्थीहरुले धनकुटालाई क्लीन स्वीप गरेका छन् ।

    यसै लेखमार्फत् एउटा प्रस्ताव राख्न चाहन्छु, उहाँ, धनकुटाको सर्वोच्च वाम नेता हुनुहुन्छ । अब लेख्नुपर्छ, उहाँले आत्मवृत्तान्त । उक्त वृत्तान्त पढेपछि उजागर हुनेछ, लेख्न बाँकी इतिहासका तथ्यहरु ।

  • कमेन्ट गर्नुहोस्

  • Skip this ad