• ध्यान सरलाई सम्झदै

  •  

    उहाँको आत्मविश्वासपूर्ण अभिव्यक्तिहरु पढ्न पाउँदा चेतना र ज्ञानमात्रै पाइन्नथ्यो, उहाँले मृत्युलाई जितेर फर्कनुहोला भन्ने आशा पनि जाग्थ्यो । उहाँबाट प्राप्त चेतना र ज्ञानको संगालो त हामीसँग छँदैछ, तर उहाँ मृत्युलाई जितेर आउनुहोला भन्ने आशाको दियो चाहिँ झ्याप्प निभेको छ ।
    भौतिक रुपमा यो संसारमा अब उहाँ रहनु भएन । तर उहाँ हाम्रो मनबाट टाढा जान सक्नु हुन्न । अब उहाँ हाम्रो मनमा अभौतिक सम्पत्तिका रुपमा अझ बलियो गरी स्थापित हुन पुग्नुभएको छ ।
    उहाँको यो असामयिक निधन नेपाली राजनीतिमा सामान्य क्षति होइन । आफ्नो जीवनको उर्वर समय नेपाली जनताको मुक्तिका लागि समर्पण गरेर उहाँ जानुभयो । हुन त एक दिन यो धर्ती छाडेर हामी सबैले जानैपर्छ । तर तत्कालिन धरान नगरपालिकाका प्रमुख ध्यानबहादुर राई यसरी यति चाडै जानुहुँदैथ्यो । उहाँको आवश्यकता खट्किरहने छ । उहाँको जनप्रतिनिधित्वको औचित्य समाप्त भइसकेको थिएन ।
    अक्टोबर १७ मा म नयाँ दिल्लीमा थिएँ । त्यहाँ जानुअघि सोचेको थिएँ, समय मिलेछ भने ध्यान सरसँग भेट्नेछु । उहाँलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्नेछु । सोचेको अर्को कुरा के हो भने स्वास्थ्य लाभको कामनासँगै एउटा प्रस्ताव पनि गर्नेछु,“तपाईंले आत्मसंस्मरणहरु लेख्न पर्यो ।”
    हुन त यस अघि पनि भ्वाइस मेलबाटै उहाँलाई यो आग्रह गरेको थिएँ । उहाँले ‘प्रयास गर्छु’ भन्नुभएको थियो ।
    उहाँजस्ता व्यक्तित्वहरुको आत्म संस्मरण पढ्न पाइयो भने, नेपाली राजनीतिको अनेकौं पाटाहरु जान्ने बुझ्ने मौका पाइने थियो । यदि उहाँले लेखेर राख्नु भएको छ भने त्यो चाडै छापिएर आए असाध्यै राम्रो हुनेछ ।
    हुन त राजनीतिकर्मी ध्यान सर खासमा लेखक चाहिँ हुनुहुन्नथ्यो । जब धरानको नगरप्रमुखबाट उहाँ विदा हुनुभयो, त्यसपछि धरानका स्थानीय अखबारहरुमा केही समय जमेरै लेख्नुभएको पढ्न पाइन्थ्यो । त्यसबेला उहाँले लेख्नुभएको फुटकर रचनाहरुको सङ्ग्रह मात्र पनि पढ्न पाइयो भने पनि त्यसले ठूलो लाभ दिनेछ ।
    म आफू नयाँ दिल्लीमा रहँदा गरिएको संवाद छोटो थियो, उहाँ भास्कुलर सर्जनसँग परामर्श गर्न राजीव गान्धीबाट मेदान्त गुडगाउँ पुग्नुभएको रहेछ । भन्नुभएको थियो, “म डाक्टरकोमा छिरेँ, भरै बोल्छु ।”
    म काठमाडौं फर्केपछि चार मिनेट ४२ सकेन्डको संवादमा मैले फेरि दोह¥याएँ, “आत्मसंस्मरण चाहिँ लेख्नुपर्छ है दाजु ।”
    अक्टोबर २० मा भएको हामी दुईबीचको यस्तो संवाद अब कहिल्यै हुनेछैन ।

    धनकुटामा रहेर मैले पत्रकारितालाई पेशा बनाएर हिडेको वर्ष दिन पुग्नै के लागेको थियो, शत्रु लागिहाल्यो । काठमाडौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकको ज्यालादारी समाचारदाताबाट मेरो पत्रकारिताको सुरुआतीको श्रमजीवनबाट सम्भवतः सदाका लागि विदा दिने प्रपञ्चमा मेरा केही अशुभचिन्तकहरुले यो कार्य गर्न खोजे । तर त्यो राष्ट्रिय दैनिकको ज्यालादारी जीवनबाट मुक्त हुनु परे पनि मेरा निमित्त पत्रकारितामै अरु वैकल्पिक मार्गहरु प्रशस्त थिए । त्यो राष्ट्रिय दैनिकबाट प्राप्त भएको मुक्तिले नै मलाई यहाँनेर उभ्याएको छ, आज । ती मेरा अशुभचिन्तकको म आफू भने शुभचिन्तक भएरै यो जुनी कटाउन पाऊँ ।
    जागिर गएपछि सबैभन्दा पहिले सोचेँ, अब काठमाडौं जान्छु र जमेर पत्रकारितामा रमाउँछु । न टेक्ने अखटो न समाउने हाँगो भनेजस्तै भइरहेको थियो, काठमाडौं मेरो लागि । यो २०५१ सालको कुरा हो । एउटा राष्ट्रिय साप्ताहिकमा ज्यालादारी समाचारदाता त म थिएँ नै । तर त्यो पनि केही समयका लागि बन्द गरिएको थियो ।
    उमेरमा केही वर्ष जेठा भए पनि सम्वन्धले मेरो आत्मीय मित्र जीवन भट्टराईले भन्नुभयो, “अब धरान आउनुस्, यहाँ बसेर एउटा पत्रिका निकाल्नुपर्छ । यसको नेतृत्व तपाईंले गर्नुहोस्, लगानीकर्ता खोजौंला ।”
    जीवनजीले लगानीकर्ता खोज्ने क्रममा त्यतिबेला निर्माण व्यवसाय सम्हाल्दै एमालेको राजनीति गरिरहनु भएका नेता तारा सुब्बासँग मसँग भेट गराउनुभयो । उहाँका दाजु घनेन्द्र त्यतिबेला एउटा बोर्डिङ स्कूलको सञ्चालक हुनुहुन्थ्यो । उहाँको घरमा एक पटक पत्रिका चलाउने विषयमा छलफल भयो । घनेन्द्र दाइले एक सय रुपैयाँको नोट दिदै भन्नुभयो,“भाइ, एउटा रजिस्टर बुक किन्नू, पछि हाम्रो बैठकको माइन्यूट त्यसमा लेख्नुपर्छ ।”
    मैले सय रुपैयाँ बुझेर माइन्यूट बुक पनि किनेँ, तर फेरि बैठक बसेन, पत्रिका निस्केन । यस बारेमा लगानीकर्ताका रुपमा उपस्थित तारा सुब्बाले पनि केही भन्नु भएन, मैले पनि कुरा कोट्याइनँ । एउटा पत्रिका निकाल्ने सपना विपनामा परिणत हुनसकेन । तारा सुब्बा धरान नगर प्रमुख हुँदै बितिजानुभयो ।
    तर धरानमा रहेर एउटा पत्रिकाको सम्पादन गर्ने सपना लिएर जीवनजीको सल्लाह अनुसार धनकुटाबाट काठमाडौं पुगेर गोता खाएको र धरान आएको मैले ध्यानबहादुर राईजस्ता असल मानिसको सानोतिनो सानिध्य भने पाएँ ।
    धरानका नगरप्रमुखहरुमध्ये तारा सुब्बासँग मेरो सम्बन्ध न नजिकको भयो, न टाढाको । मनोजकुमार मेन्याङ्बोसँग मेरो आत्मीयता प्रगाढ छ । ध्यान सरसँगको सम्बन्धका सम्झनाहरु अविस्मरणीय छन् ।

    सबैभन्दा पहिले मैले धरानमा बसोबास सुरु गर्दा जीवनजीले मलाई सर्दुको बगरतिर डुलाउन लैजानुभयो । वडा नम्बर १७ को एउटा बगरमा डोजरले बगर सम्याउँदै थियो । जीवनजीले भन्नुभयो,“यहाँ वृक्षारोपण गर्ने रे, यसको नाम सप्तरङ्गी पार्क राख्ने रे !”
    यस्तो बगरमा के रुखविरुवा हुर्केलान् ? मेरो मनले प्रश्न ग¥यो ।
    तर धरानमा रहँदा बस्दा मेरो मनमा उब्जिएको त्यो बेलाको प्रश्नले उत्तर पायो,“चट्टानमा पनि फूल फुल्छ ।”
    एक दिन ध्यान सर नगरपालिकाको आफ्नो कार्यकक्षमा रहेर आफ्ना साथीहरुसँग भन्दै हुनुहुन्थ्यो, “चट्टानमा पनि फूल फुलाउन सकिनेछ ।”
    उहाँको मुखबाट सुनेर मैले जीवनमा यो वाक्यलाई मन्त्र बनाएको पनि २५ वर्ष भइसकेछ ।
    हो, सर्दुको बगरमा सप्तरंगी पार्क स्थापना भएजस्तै चट्टानमा पनि फूल फुलाउन सकिन्छ ।

    सकेसम्म धरानको विकासलाई टेवा पुगोस् भनेर म विकासमूलक फिचर सम्प्रेषणमा अलि जोड दिन्थेँ । त्यसमा ध्यान सर मेरो नियमित समाचार स्रोत हुनुहुन्थ्यो ।
    धरान नगर यस्तो ठाउँ, जहाँ मैले पत्रपत्रिका खोज्न कतै धाउन परेन । ‘श्रीसगरमाथा’ दैनिक मलाई खोज्दै आयो । ‘जनआस्था’ साप्ताहिकका लागि काम गरि दिनप¥यो भन्दै सन्तोष पोखरेलजी छाताचोकमा मलाई खोज्दै आउनुभयो । फोटो पत्रकारिताका लागि त्यतिखेर जुर्मराइरहनु भएका मित्र यात्रा थुलुङलाई सन्तोषजीसँग सम्पर्क गराइदिएँ । यही संगातीका कारण जनआस्था साप्ताहिकमा आफ्नो फोटोमा पहिलोपटक आएको उहाँको बाइलाइन सम्भवतः यात्राजीले बिर्सनुभएको छैन होला ।
    २०५४ साल ध्यान सरको जनप्रतिनिधित्वको अन्तिम वर्ष रह्यो । पार्टीबाट उहाँले त्यो सालको टिकट पाउनु भएन । मैले केही विज्ञापन धरान नगरपालिकाबाट लिएको थिएँ, त्यसको भुक्तानी भइरहेको थिएन । ध्यान सरको सहजिकरणबाट त्यो विज्ञापनको भुक्तानी बडो मुस्किलले बुझेँ । कर्मचारी न परे, टिकट नपाएर काम चलाऊ बनेका नगरप्रमुखको तोक आदेशलाई कहाँ शीघ्रातिशीघ्र कार्यान्वयन गर्दारहेछन् र ?

    पत्रकारिता एउटा सोझासिधा श्रमजीविका लागि कति कठीन ? अनेकौ तरहले समाचार सङ्कलन ग¥यो, प्रकाशित हुने हो होइन थाहा पत्तो छैन । छापिएका समाचारको पारिश्रमिक बुझ्न पनि आफ्नै खर्चबाट काठमाडौं धाउनुपर्ने । काठमाडौं पुग्दा पनि झुलाएर हैरान ! श्रीसगरमाथा दैनिकले त मेरो सात आठ महिनाको पारिश्रमिक नै दिएन । त्यतिखेर यो दैनिकको व्यवस्थापनमा अधिवक्ता कुमार इङ्नाम हुनुहुन्थ्यो । सबैको भाग लगाएर उहाँले एउटा चेक दिनुभएछ । चेक बुझ्ने सहकर्मी चोट्टा निस्के, उनी चेक बुझेर सम्पर्कविहीन बने । म भने हेरेको हे¥यै ।
    तर मैले पत्रकारिता जीवनमा यो पटकको काठमाडौं यात्राबाट बिना पारिश्रमिक रित्तो हात फर्कनु परेको थियो । तर काठमाडौं जाँदै गर्दा मेरो झोलामा एउटा महत्वपूर्ण सामग्री पनि थियो ।
    धरान फर्कदा पारिश्रमिकविहीन मेरो हात रित्तो अवश्यै थियो, तर मन रित्तो थिएन । कारण थियो, ध्यान सरले अर्थशास्त्रमा स्नातकोत्तर तहका लागि लेख्नुभएको शोधग्रन्थ त्रिभुवन विश्वविद्यालयमा बुझाइदिने व्यक्ति म थिएँ । यस अर्थमा काठमाडौं पुगेर कम्तिमा एउटा राम्रो काम त गरेर धरान फर्किएँ भन्ने लाग्यो । चित्त बुझाएँ ।
    आज म सकेसम्म अनुसन्धानमूलक काम गर्न खोज्छु । ध्यान सरको थेसिसले पनि सम्भवतः मलाई यस्तो प्रेरणा दिएको हुँदो हो ।

    मलाई धरानका केही पत्रकारले नै ‘आप्रवासी’ भन्थे । पुख्र्यौली थलो ताप्लेजुङको हाङपाङ रहेको, पछि धनकुटामा जन्म भएको मलाई धरान आई पत्रकारिता गर्दा ‘आप्रवासी’को विल्ला भिराइयो । समाचार सापेक्षतामा आधारित हुँदैन, जे हुन्छ त्यही समाचार हो । केही नकारात्मक समाचार मेरो बाइलाइनबाट आएको बेला मलाई ‘धरान विरोधी पत्रकार’ भन्नेहरु पनि पाइयो । ती पनि पत्रकार नै थिए । अचम्म छ, मलाई यस्तो बिल्ला भिराउनेको सुनाम कमै सुन्न पाएको छु ।
    तर यस्ता लाञ्छनाहरुले कतै पनि नछोएको मलाई त्यहीँ धरानकै भूमीमा जसकुमार राई, डम्बरकृष्ण श्रेष्ठ, जनकऋषि राई, प्रदिप मेन्याङ्वो, देवराज राईजस्ता साथी भाइहरुसँगको गरिएको सङ्गत अहिले पनि प्यारो लाग्छ । रविन गिरी, ओमआस्था राई, भैरव आङ्ला र सीता मादेम्बाहरु पनि हाम्रै सङ्गतका उत्पादन हुन् ।
    धरानका यी गौरवपूर्ण सञ्चारकर्मीहरु निर्माणका लागि मैले केही पसिना चुहाएँ, अरु त उनीहरुकै मेहनत र सिर्जना हुन् । यसमा ध्यान सरबाट सिकेको सकारात्मक सोचको योगदानलाई यो प्रसङ्गमा सम्झना गरिरहेको छु ।
    बरु साढे चार वर्षको बसाईपछि धरान छाड्दा एउटा कविता लेखेको थिएँ, धरानलाई सम्बोधन गर्दै,
    मलाई बारम्बार तिम्रो नुन खाएको सम्झना आउँछ
    मलाई सम्झना आउँछ, तिम्रो पानी पिएको
    बुढा सुब्बाको कसम धरान,
    म अलिकति तिम्रो माया बोकेर हिडेको छु
    म अलिकति तिम्रो छाया बोकेर हिडेको छु ।

    ध्यान सर नगर प्रमुख हुनुहुन्थ्यो । म कसैकोमा धाइरहने प्रवृत्तिको मानिस होइन । तर एक दिन ध्यान सरले बाटोमा भेट्दा भन्नुभयो,“भोलि नै धनकुटा जानुपर्ने भयो । तपाईंलाई लिएर जाने विचारमा थिएँ, ठ्याक्कै भेट भयो ।”
    हामी धनकुटा गयौं । सन्दर्भ रहेछ, उहाँको धनकुटास्थित क्षेत्रीय सङ्ग्रहालयको अवलोकन गर्ने । तीन जना थियौं, धनकुटा पुख्र्यौली घर भई धरान बसोबास गर्दै आउनुभएका पुराना बामपन्थी नेता इन्द्रबहादुर थापा, ध्यान सर र म । कुरा बुझ्दै जाँदा ध्यान सरको परिकल्पनामा पनि धरानमा सङ्ग्रहालयको स्थापना रहेछ ।
    सङ्ग्रहालयका तत्कालिन प्रमुख बलप्रसाद राईले धनकुटामा ठूलो सद्भावका साथ हाम्रो स्वागत गर्नुभयो ।
    बाटामा जाँदै गर्दा इन्द्रबहादुर थापाले मेरो बारेमा जिज्ञासा राख्नुभयो । मैले मेरो बुबाको नाम लिदै म फलानाको छोरा हो भनेँ । उहाँले मेरो बुबालाई राम्रोसँग चिन्नुुहुँदो रहेछ ।
    जब म दाइ बसन्त थापा (लेखक, फिल्म अभियन्ता) लाई भेट्छु अनि सगौरव भन्ने गर्छु, “दाइ, म त तपाईंको तीन पुस्ताको साथी हुँ नि ।”
    मैले इन्द्रबहादुर थापा र उहाँको छोरो बसन्त थापासँग सङ्गत गर्ने मौका पाएँ । संयोग पनि कस्तो भने बसन्त दाइकी छोरी भूमिकासँग आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा सँगै पढ्ने अवसर पनि मिल्यो । यो अवसरको गौरवगाथा गाउने अवसर दिनुहुने त ध्यान सर नै हो ।
    जे होस, धरानमा सङ्ग्रहालय स्थापना गर्ने ध्यान सरको सपना थियो, त्यो कहाँ पुग्यो ? मलाई थाहा छैन, सोधीखोजी पनि गरिएन ।
    मलाई आफ्नोतर्फबाट धरान नगरलाई साहित्यले पनि अलिकति सजाउने मन भयो । त्यसका लागि मनमा एउटा जुक्ति स्थापित भयो । त्यो जुक्ति थियो, धरानमाथि लेखिएका कविताहरुको सङ्कलन गर्ने र त्यसलाई प्रकाशमा ल्याउने । यहीँ उद्देश्यका साथ म धमाधम धरानमाथि लेखिएका कविताहरु सङ्कलन गर्दै थिएँ ।
    कविताहरु त सङ्कलन गरिएला, तर त्यो छापिदिने कसले ? यो प्रस्ताव लिएर म नगरप्रमुख ध्यान सरसमक्ष एक दिन प्रस्तुत भएँ । ध्यान सरले घुमाउरो भाषामा यसका लागि बजेट नभएको बताउनुभयो । आफै एउटा ज्यालादारी समाचारदाताका रुपमा काम गरिरहेको म आफैले त्यो पुस्तक प्रकाशन र वितरण गर्नु सम्भव थिएन । ध्यान सरको कार्यकक्षबाट त्यो दिन रित्तो हात फर्केँ । कविता सङ्ग्रहको नाम जुराएको थिएँ, “कविहरुको आँखामा धरान” ।
    ध्यान सरसँग यस्तो कुरा गरिरहेको बेला, सोही कार्यकक्षमा एक जना धरानका स्थानीय पनि बसिरहेका थिए । हामीबीचको संवाद उनले नसुन्ने कुरै भएन । उनी पुलकित देखिन्थे । पछि त उनले पो त्यहीँ शीर्षकमा कविता संग्रह छापेर भव्य विमोचन गराए । त्यो विमोचन समारोहमा म एक सञ्चारकर्मीको रुपमा आमन्त्रित थिएँ । आफूले सिर्जना गरेको जुक्ति कसैले चोरेकोमा म त्यति दुःखी भने भइनँ, किन कि जसले भए पनि, जसरी भए पनि कविता सङ्ग्रह छापिएरै छाड्यो, धरानको नाममा ।

    आज यस्ता सम्झनाहरु आँसुको मसीले लेख्नु परिरहेको छ ।
    ध्यान सर असमयमै अस्त हुनुभयो । मैले जान्दा र बुझ्दा उहाँ तत्कालिन बामपन्थी पार्टीको अन्तर सङ्घर्षमा पेलिएरै रहनुभयो । आफूभन्दा जुनियरलाई नेता मानेर बसेको पनि देखियो । तर उहाँले अन्तिम समयसम्म पनि रोगसँग लड्दै गर्दा निराशाको बीउ कतै पनि छर्नुभएन । आफ्नो शरीरलाई स्वास्थ्य परीक्षणको प्रयोगशाला बनाउँदा पनि उहाँ आशावादको सन्देश छर्न चुक्नुभएन ।
    म आफू नयाँ दिल्लीमा फर्केपछि पत्रकार दाइ आनन्द राईको मैतिदेवीस्थित निवासमा डम्बरकृष्ण श्रेष्ठको आयोजनामा साँझको खानपिन कार्यक्रम आयोजित थियो । त्यहाँ रविन गिरी, सिद्धराज राई र सन्त गाहा मगरजस्ता अहिलेका मूलधारका सञ्चारमाध्यमका विभागीय प्रमुखको हैसियतका साथीहरुको पनि सहभागिता थियो । त्यतिखेरै रविन भाइले भने,“ध्यान सर अलि जटील अवस्थामा पुग्नुभयो जस्तो छ । उहाँको स्टाटसले यसै भन्छ ।”
    हामी केही क्षण घोरियौं । तर ध्यान सरको स्वास्थ्यमा पक्कै सुधार होला, यो पनि कामना ग¥यौं । तर उहाँ अन्ततः मृत्युसँग हार्न विवश हुनुभयो ।
    ध्यान सर, यो संसारमा भौतिक रुपमा नभए पनि तपाईंलाई हामी सम्झिरहनेछौं ।

  • कमेन्ट गर्नुहोस्