• कोभिड—१९ पछिको पुस्ता र हाम्रो दायित्व

  •  

    कोभिड—१९ को महामारीले विश्वलाई नै आतंकित पारेको छ । दशौं लाख मानिसहरु यसबाट संक्रमित बनेका छन् भने लाखौंले ज्यान गुमाएका छन् । अहिलेसम्म यसको विरुद्धमा कुनै खोप बनिसकेको छैन र कुनै औषधि पनि बनिसकेको छैन । विश्वका विकसित राष्ट्रहरु जस्तै; चीन, अमेरिका र ब्रिटेनले अहिले कोभिड—१९ विरुद्धको खोप मानिसमा परीक्षण गरिरहेका छन् । चिनियाँ वैज्ञानिकहरुले यो वर्षको अन्त्यसम्म वा आगामी वर्षको शुरुमै कोभिड—१९ विरुद्धको खोप बजारमा आउने बताइरहेका छन् । चीन लगायतका देशमा यो रोगको उपचारको लागि औषधि पनि परीक्षण भइरहेको भन्ने समाचारहरु आइरहेका छन् ।

    त्यसकारण कोभिड—१९ को संक्रमण रोक्ने एक मात्र उपाय मानिस–मानिस बीचको सम्पर्कको दुरी, जसलाई मानिसहरु सामाजिक दुरी पनि भन्ने गरेका छन्, बढाउनु हो । यही सिद्धान्तको अवलम्बन गर्ने भनेर अहिले संसारका धेरै देशहरुमा लकडाउन नीति अख्तियार गरिएको छ । नेपालमा त सर्वसाधारण मानिसहरुलाई घरबाट बाहिर निस्कन समेत दिइएको छैन । यसबाट गरीब तथा मजदुरहरुको बिचल्ली भएको छ । धनी र पहुँचवालाहरुको लागि पासको व्यवस्था गरिएको छ जसबाट उनीहरु निर्वाध हिंडडुल गरिरहेका छन्, तर गरीबहरु भोकभोकै बस्नुपरेको छ । त्यसैले मानिसहरु हप्तौं हिंडेर भए पनि आफ्नो गाउँ गएका छन् । किनकि व्यापार–व्यवसाय ठप्प हुनाले मानिसहरुले शहरमा रोजगारी गुमाएका छन् । हङकङमा नेपालमा जस्तो अव्यवस्थित लकडाउन नभए पनि धेरैजसो व्यापार–व्यवसायहरु ठप्प छन् । लाखौं मानिसहरु बेरोजगार बनेका छन् । हजारौं व्यापार–व्यवसायहरु डुब्ने र बन्द हुने अवस्थामा पुगेका छन् । यसर्थ कोभिड—१९ ले विश्व अर्थतन्त्रमा मानव इतिहासकै सबैभन्दा भयानक असर गर्ने सम्भावना भएको कुरा अर्थशास्त्रीहरुले औंल्याएका छन् । तर, भावी युवाहरु कस्ता स्वभावका होलान् ? उनीहरुको सामाजिक तथा मानसिक सन्तुलनमा यस महामारीको कस्तो असर होला ? उनीहरुको शिक्षा र रोजगारीमा कस्तो असर होला ? यो विषयतर्फ कमैले ध्यान दिएका छन् ।

    अहिले हङकङका सबै विद्यालयहरु बन्द छन् । विद्यार्थीहरु आफ्नो घरमा बसेको करीब ३ महिनाभन्दा बढी भयो । शिक्षकहरुले विद्यार्थीलाई अनलाइनमा पढाउँछन् भनिएको छ । तर, सबै विषयका सबै शिक्षकहरु अनलाइनमा पढाउँछन् भन्नेमा शंकै छ किनकि हङकङका अधिकांश शिक्षकहरु ४० वर्ष वा सोभन्दा बढी उमेरका छन् जसले माध्यमिक र विश्वविद्यालय शिक्षा हासिल गर्दैगर्दा डिजिटल टेक्नोलोजी भर्खर वामे सर्दै थियो । त्यसको अर्थ धेरैजसो शिक्षकहरु अनलाइन कक्षा सञ्चालन गर्नका लागि पछिल्लो पटक बनेका विभिन्न प्रविधिसँग त्यति परिचित र पोख्त पनि देखिंदैनन् । त्यसमाथि अहिलेसम्म विद्यालयमा प्रशासन र प्रविधि पुरानै तरिकाको आमने–सामने शिक्षाको लागि मात्र निर्माण गरिएको थियो, अनलाइन शिक्षाको लागि होइन । जसका कारण धेरै विद्यार्थीहरुले यसबीचमा अनलाइनको माध्यमबाट पनि आफ्ना शिक्षकहरु वा आफ्ना सहपाठीहरुसँग भेटेका छैनन् । उनीहरु अहिले घरमै वा आफ्नो कोठामा खुम्चिएर बसेका छन् । यसबाट उनीहरुमा विभिन्न प्रकारका मानसिक समस्याहरु देखापर्न सक्नेछन् । धेरै युवाहरु यसपछि एकलकाँटे स्वभावका देखिन सक्नेछन् । जसका कारण उनीहरुको साथीसंगी र परिवारका अन्य सदस्यसँगको सम्बन्धमा पनि फरकपन आउन सक्नेछ । उनीहरु कोहीसँग पनि एकप्रकारको विश्वासिलो सम्बन्ध विकासको लागि तत्पर नहुन सक्नछन् । जसका कारण विभिन्न प्रकारका लागूपदार्थको दुव्र्यसन र आपराधिक गतिविधिमा उनीहरुको संलग्नता बढ्न सक्नेछ ।

    बेलायतमा युवाहरुलाई विभिन्न प्रकारका सेवाहरु दिने एनजीओहरुबीच हालै गरिएको एउटा सर्वेक्षणमा ८८ प्रतिशत एनजीओकर्मीहरुले युवाहरुलाई दिंदै आएका सेवाहरुमा कमी ल्याउने जनाइएको छ । जसको अर्थ हुन्छ कि युवाहरुको शारीरिक, मानिसक र मनोवैज्ञानिक स्वास्थ्यको लागि विभिन्न प्रकारका कार्यक्रमहरु चलाउने एनजीओहरुले अब आफ्नो सेवामा पहिले जसरी सुचारु गर्ने छैनन् । यसबाट युवाहरुको समग्र व्यक्तित्व विकासमा बाधा पुग्न सक्छ र उनीहरु भइपरी आउने विभिन्न प्रकारका चुनौतीहरु सामना गर्न असक्षम हुन सक्छन् । उनीहरुमा अन्य देश र संस्कृतिका मानिसहरुसँग सजिलै घुलमिल हुने, अन्तरक्रिया गर्ने र विभिन्न प्रकारका कामहरुमा सहकार्य गर्ने दक्षताको अभाव हुन सक्छ जसबाट अहिले विकास भइरहेको समग्र ध्रुवीकरणमा पनि असरहरु देखिन सक्छन् । अहिले जसरी मानिसहरु एकअर्कासँग मिलेर ठूलो संख्यामा विभिन्न कम्पनीहरुमा काम गर्दैछन्, त्यसमा समस्या आउन सक्छ ।

    मैले यसबीचमा केही युवाहरुसँग उनीहरुको दैनिकीको बारेमा फोनमार्फत् कुरा गरेको थिएँ ।

    करीब २५ जना युवाहरुसँग गरिएको कुराकानीमा के थाहा लाग्यो भने अधिकांश युवाहरु अहिले घरमा कोचिएर बसेका छन्, बाहिर कुनै पनि प्रकारका शारीरिक गतिविधिमा सहभागी छैनन् र बाह्य संसारमा के भइरहेछ भन्ने कुराको जानकारी विभिन्न प्रकारका डिजिटल प्रविधिमार्फत् मात्र लिइरहेका छन् । यसको अर्थ भावी युवाको दिमाग अभिभावक र शिक्षकहरुले भन्दा बढी प्रविधिले निर्देशित गर्ने सम्भावना छ । अबका युवाहरुमा अभिभावकका र शिक्षकका कुरा नसुन्ने, नपत्याउने र गम्भीर रुपमा नलिने सम्भावना छ । जसबाट उनीहरुले जुन प्रकारको शिक्षा लिनुपर्ने हो, त्यो लिन सक्ने छैनन् र आफूलाई भविष्यमा सामना गर्नुपर्ने विभिन्न प्रकारका सीपहरुबाट वञ्चित राख्नेछन् । कुराकानीका क्रममा कतिपय युवाहरु त नचिनेका मानिसहरुसँग अनलाइनमा विभिन्न प्रकारका गेमहरु खेलेको कुरा पनि थाहा लाग्यो । अर्थात् भावी युवाको लागि नजिकको आफन्तको महत्वभन्दा उसको चाहना र इच्छा मिल्नेहरुको महङ्खव बढी हुन सक्छ ।

    अभिभावकहरुले यसबीचमा आफ्ना नानीहरुसँग सम्वाद बढाउनु आवश्यक छ । उनीहरुलाई घरका विभिन्न कामहरु सिकाउनु जरुरी छ । समय–समयमा जोगिएर बाहिरतिर सँगै घुम्न निस्कने र विभिन्न खेलहरु परिवार मिलेर खेल्नाले पनि युवाहरुलाई सही मार्गमा डोर्याइरहन सहयोगी बन्न सक्छन् । त्यसबाहेक पढेका अभिभावकहरुले घरमै नानीहरुसँग विभिन्न विषयमा स्वच्छ छलफल गर्ने, मिलेर पुस्तकहरु अध्ययन गर्ने र वादविवाद तथा लेखनमा प्रतिस्पर्धा गर्ने गर्नाले नानीहरुमा पढ्ने बानी, लेख्ने बानी र अन्य प्रकारका शैक्षिक गतिविधिमा सहभागी भइरहने बानीमा निरन्तरता हुन सक्छ । यसबाहेक अभिभावकहरुले शिक्षकहरुसँग निरन्तर सम्वादमा बसेर विद्यालयले के–कस्ता प्रकारका होमवर्कहरु दिएका छन् भन्ने कुरामा पनि ध्यान दिनु जरुरी देखिन्छ । किनकि, कतिपय नानीहरुले यसबीचमा अध्ययनमा सम्पूर्ण रुपमा रुचि मारेर कुनै प्रकारका होमवर्क नगरेका पनि हुन सक्छन् ।

  • कमेन्ट गर्नुहोस्