• भष्मेश्वर घाटमा हल्याण्डका दम्पत्तिसँग

  •  

    एक महिनाअघिको एक मध्यान्ह भष्मेश्वर घाटको किनारमा फलामको बेन्चमा बसेर जलिरहेका शवहरु हेरिरहेको थिएँ । ’म को हुँ, किन आएँ, कहाँ जाने, कहिले, कसरी ? मृत्युपछि मानिसको अस्तित्व रहन्छ/रहन्न ?’ यस्तै मनोवाद गर्दैगर्दा ’पशुपतिप्रसाद’ चलचित्रका एकसे एक जीवन्त पात्रहरु आँखा अगाडि आए ।

    अहिलेसम्म मैले हेरेका चलचित्रमध्ये ’पशुपतिप्रसाद’ पनि एउटा उत्कृष्ट चलचित्र हो । आम जनताले यही सेरोफेरोमा दैनिक भोगेका/देखेका सुक्ष्मभन्दा सुक्ष्म विषयवस्तुलाई सिनेमाको कथामा कथेर पस्किन यसका परिकल्पनाकार, निर्देशक र सबै कलाकार टीम अत्यन्त सफल देखिन्छन् । अझ दुई सय पचास वर्षको एकात्मक जातीय, राजनीतिक, प्रशासनिक, धार्मिक सम्प्रभुता भनिएको राज्यव्यवस्था वा समाजभित्र ‘मितबा’ जस्ता प्रतिनिधि पात्र पस्किनु यो सिनेमाको अब्बल पाटो हो । आजकल म यसका चारित्रिक मूल पात्रहरु पशुपतिप्रसाद, भष्मे डन, मितबा, हनुमानजी भएको कुनै पनि सिनेमा छुटाउदिनँ । नामै तोकेर भन्दा लामो हुन सक्छ छुट्न सक्छ । बलिउड सिनेमाकै ओम पुरी, परेश रावल, नाना पाटेकर, मनोज वाजपेयी, इरफान खान, राजपाल यादव वा जोनी लिभरकै हाराहारीमा अभिनय क्षमता भएका चरित्र, हास्यअभिनेताहरूको अभिनय बिरलै भए पनि हेर्न पाइन्छ नेपाली सिनेमामा अब चाहिँ । चलचित्रको नायक, खलनायक वा अन्य पात्रहरुको भूमिका निभाउन उचाइ, गोराक, वर्ण, शारीरिक सुगठन वा बनावटी द्वन्द्व वा कहानी चाहिन्छ भन्ने मान्यता अब बिस्थापित हुँदै गएको छ ।

    यस्तै कुरा खेलाउँदै, चिताबाट निक्लेको धुवाँमा हराउँदै गर्दा एउटी विदेशी महिलाले मेरो ध्यान आकृष्ट गरिन् । उनी अँध्यारो मुख लाएर जलिरहेका शव र मलामीहरु हेर्दै दुई–तीन पटक ओहोर–दोहोर गरिरहेकी थिइन् । ईशाराले बोलाँए । ’हाई’ भन्दै नजिकै आइन् ।

    “ह्याब अ सिट मेडम” भनें । “थ्याङ्क यू” भन्दै बसिन् ।

    “आई एम पाउलिन फ्रम हल्याण्ड

    “योर सेल्फ ?”

    “आई एम कमल फ्रम नेपाल बट लीभ इन हङकङ”

    अगाडि बल्दै गरेको शव देखाएर सोधिन् ।

    “योर रिलेटिभ ?”

    “नो ।”

    “देन ह्वाट यू डुइङ ह्यर ?”

    “जस्ट वाकिङ अराउण्ड लाइक यू ।”

    “ट्राई टू अण्डरस्ट्याण्ड एण्ड फिल माइसेल्फ भेरी ट्रू पार्ट अफ ह्यूमन लाइफ ।”

    “अल्सो थिङ्किङ एबाउट पोलुटेड रिभर एण्ड अराउण्ड ।”

    अगाडि बलिरहेको शवको दाहिने खुट्टो चाहिं चिता बाहिर झुण्डिएको थियो निकै बेर । पोल्ने मान्छे फोनमा कुरा गर्दै थिए । फोन सकिएपछि बाँसको लट्ठीले पल्टाइदिए । पछाडि सुक्क–सुक्क गरिरहेका आफन्तमध्ये दुईजनाले डाँको छोडेको आवाज आयो ।
    पाउलिन ‘सो स्याड’ भन्दै पछाडि फर्किएर ’सरी’ भनिन् ।

    “तपाईंहरुको त जमिनमुनि गाडिन्छ हैन त?” मैले सोधें ।

    “हो पहिला । तर, अब आउने पुस्ताको लागि पनि ठाउँ दिनुपर्छ हामीहरुले । विद्युतीय गृहमा जलाएर थोरै अर्थि मात्र सानो ठाउँमा राख्ने चलन बढ्दैछ ।”

    “हाम्रो पनि छ त विद्युतीय शवदाह घर । तर कम मान्छे प्रयोग गर्छन् । समय लाग्छ सबैले बुझ्न,” मैले भनें ।

    “अनि एक्लै घुम्न अएको ?” “हैन मेरा पति पनि छन् ।” “खै त?” “ऊ पारी ।”

    उनले हात उठाइन् । उनले पारीबाट हात हल्लाए ।

    “किन उनी चाहिं त्यहाँ ?”

    “उनी कवि हुन् कविता लेख्दै छन् । म चाहिं वातावरण, इतिहास र संस्कृतिविज्ञ हुँ ।”

    त्यसो भए मेरो लागि उनी चाखलाग्ने व्यक्ति हुन् र तपाईं पनि । के म तपाईंहरु दुवैसँग कुरा गर्न सक्छु सँगै ?

    “ह्वाई नट, स्योर । लेट्स गो ।”

    बाटामा जाँदाजाँदै उनले आफ्नो निजी जीवनी बारेमा बताइन् ।

    “मेरा पति ७० र म ६२ वर्षका भयौं । २२ वर्ष अघि हामी दुवैको दोस्रो बिहे भएको हो । उनको पूर्वपत्नीपट्टीबाट २ सन्तान ठूला भइसकेका छन् । म पट्टीबाट भने छैन । म पूर्वीय धर्म संस्कृति र इतिहासबारे चाख राख्छु । मेरा पति कवितामै रमाउँछन् । हामी ३ महिनादेखि भारतका विभिन्न स्थानमा थियौं । बाराणासी, हरिद्वार मेरो विशेष चाखलाग्दो एरिया हो । तीन महिनाको भिसा सकिएपछि हामीले एकपटक भारत छोड्नुपर्ने भयो । हामीले नेपाल रोज्यौं । तीन हप्ता सकियो । अबको केही समय भारत हुँदै हल्याण्ड फर्किन्छौं ।” उनका पति नजिकै पुगेपछि उनले सम्झाइन्,

    “उनी कान कम सुन्छन् । अलि विस्तारै ठूलो स्वरमा बोल्नुपर्छ ।”

    ‘हवस्’ भनें मैले ।

    लेख्दै गरेको कापीको बीचमा कलम राखेर मतिर हात बढाए । “आइ एम जोन“

    “आइ एम कमल सरी फर इन्टरप्सन ।”

    “इट्स ओके ।”

    “के को विषयमा कविता लेख्दै हुनुहुन्छ ?”

    “विश्व सम्पदा सूचीको मन्दिरमुनि प्रदुषित नदी र जलिरहेका मानव जीवन । नट एक्ज्याक्ट्ली । सिमीलार । यो ’डच’ भाषामा छ । मेरो अङ्ग्रेजी उल्था गल्ती पनि हुनसक्छ ।

    “बाइ द वे आर यू हिन्दू ?”

    “हो र हैन पनि । हिन्दू परिवारमा जन्मेको मेरो बाबा पनि कवि हुनुन्थ्यो । तर उहाँ कहिल्यै मन्दिर गएर टिका लगाउनुभएन । उहाँ कुनै पनि धर्मलाई अन्धविश्वास वा प्राचीनकालमा मानिसलाई कानूनमा बाँध्न ल्याइएको एउटा नियमको विकृतिको रूपमा औंल्याउनुहुन्थ्यो । मूर्ति पूजा, जातीय विभेद र बली प्रथा उहाँलाई पटक्कै मन पर्थेन । सायद ममा पनि पिताजीको प्रभाव छ ।”

    मेरो कुरा सुनेपछि उनीहरुले कुरा गर्न सजिलो महशुस गरेको मानें । पौलिनले थपिन्, “भारत र नेपाल पूर्वीय संस्कृतिका भ्याटिकन शहर जस्तै हुन् । भारतमा पनि नदीलाई भन्न चाहिं आमा भनिन्छ तर प्रदुषणले बेहाल छ । वारणसीको घाटमा मात्रै दैनिक करिब ३०० शवको दाहसंस्कार गरिन्छ ।” मैले भनें, “हो नेपालमा पनि यहि हाल छ । हाम्रा मान्छेले हाम्रो प्राचीन इतिहास, संस्कृति बुझेका छैनन् । धर्मको नाममा प्रदुषणको जालोले ढाक्दैछ हाम्रो देश र भारतभर । यस मानेमा युरोप अग्रपंक्तिमा सचेत छ ।

    भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ताजमहल घुम्न आएका थिए । त्यतिबेला यमुना नदीमा विशेष प्रविधि लगाएर पानी बगाइयो केही दिन । सिर्फ उनलाई देखाउनको लागि । हाम्रो देशमा पनि मन्त्री, नेता, प्रशासनिक, सेना, प्रहरीका उच्च ओहोदाकाहरुले बेला–बेलामा बाग्मती सफाई अभियान चलाएका छन् । तर काम कम प्रचार धेरै गरिन्छ ।”

    पाउलिनले भनिन्, “हरेक व्यक्तिको दाहसंस्कारको लागि वर्षेनी कति जङ्गल काटिन्छ ?” नेपाल भ्रमणमा अधिकांश काठमाडौं, पाटन र भक्तपुरका ऐतिहासिक सम्पदास्थलको भ्रमण र अध्ययनमा समय खर्चेकी उनले अहिले हामीले मनन नगर्ने हो भने आउने पुस्ताले यी कुराहरुलाई डाइनोसर युगको अवशेष खोजेजस्तो गरी खोज्नुपर्ने हुन्छ ।” जताततै हावाले उडाएका पानीका खाली बोतल र प्लास्टिक देखाउँदै जोनले थपे, “हामी हाम्रा सन्ततिहरुको आयु घटाउने काम गर्दैछौं ।”

    “यू इभर बिन टू इन्साइड ?”

    पशुपतिको गजुर देखाउँदै पौलिनले सोधिन् ।

    “यस मेनी टाइम बट नट दिस टाइम ।

    उमेर बढ्दै जाँदा मेरो सोचाइमा परिवर्तन आएको छ ।

    मन राम्रो हुनुपर्छ । दया करूणा मानवीय सम्वेदना नभएकाले पूजा गर्नु बेकार छ । दुध मूर्तिमा होइन, बाहिर माग्ने बालकहरूलाई दिनुपर्छ मेरो बुझाईमा ।

    “यू नो नरेन्द्र मोदी ?”

    “यस अफकोर्ष । इण्डियन प्राइामिनिष्टर ।” दुवैले एकै स्वरमा भने ।

    “उनी यो मन्दिरमा हरेक पटक नेपाल आउँदा पूजा गर्न आउँछन् । घण्टौं लगाएर पूजा गर्छन् । ठूला–ठूला रकम दान गर्छन् । जब हाम्रो देशमा महाभूकम्प आयो हामी ठूलो विपदमा थियौं । हाम्रो त्यतिबेलाको सरकारले चालेका राजनीतिक निर्णय उनलाई मन परेन । हामीमाथि नाकाबन्दी गरे । अत्यावश्यक औषधि, खाद्यान्नको हाहाकार भयो । खासगरी बालक, वृद्ध र गर्भवती महिलाको के हाल भएथ्यो त्यो समयमा । सरकारसँगको रिसले नेपाली जनतासँग नराम्रो बदला लिए मोदीले । मेरो मतलब यस्ताखाले मान्छेले मन्दिर, मस्जिद वा चर्च धाउनुको कुनै अर्थ छैन ।” हाम्रै देशभित्र पनि यस्ता चरित्रका मानिसहरु छन् ।

    “बट यू आर ईण्डीपेन्डेट कन्ट्री,” जोनले चासो राखे ।

    “हो, हेर्दाखेरी तर संसारमा कुनै पनि देश स्वतन्त्र छैनन् हाम्रो देश पनि । चीन, रूस र अमेरिका बाहेक सबै कहिं न कहिं कसैको छातामुनि छन् । डर्टी पोलिटिक्स एण्ड पोलिटीसियन ।”

    “एब्सुलेट्ली गुड लोजीक,” पाउलिनले भनिन् ।

    उनीहरु जाने तरखरमा लागे ।

    हाम्रो देश, हाम्रो संस्कृति र भविष्यबारे यति धेरै चिन्तन–मनन् र शुभेच्छा राखेकोमा मैले उनीहरुलाई धन्यवाद दिएँ । मैले भनें, “म पनि कविता र स्तम्भ लेख्छु तर चर्चित र ठूलो भने होइन । खाली आत्मसन्तुष्टिको लागि । हङकङ पुगेपछि एउटा नियात्रा लेख्नेछु तर नेपाली भाषामा ।”

    जोन खुशी भएर हात पड्काए, “म गुगलबाट उल्था गरेर पढ्नेछु ।”

    “एउटा फोटो लिऊँ है ?” मेरो अनुरोध दुवैले सहर्ष स्वीकार गरे ।

    “यस स्योर ।

    यू आर इन्ट्रेस्टिङ्स पर्सन ।”

    नजिकै मोटरसाइकलको हेल्मेटमा कुहिनो राखेर पारिपट्टी बलेका मानव शवहरू हेर्दै एक्लै सोचमग्न युवालाई अनुरोध गरें । उनले फोटो खिचिदिए । अनि फेसबूक ठेगाना साटासाटपछि जोन र पाउलिन बिदा भए ।

    फोटो खिचिदिने युवाले मलाई पर्यटक गाइड सम्झेका रहेछन् । परिचय आदान–प्रदान भयो । नवराज ’क्षितिज’ । पेशाले प्राध्यापक, सञ्चार सेवा, पत्रकारिता, साहित्य ।

    उनी मेरो जिज्ञासाका वा विचार–विमर्शका लागि उपयुक्त पात्र लाग्यो । मैले सोधें, “नवराजजी, खै त? त्यत्रो बाग्मती सफाई अभियान हप्तौंहप्ताको समाचार पढिन्थ्यो । २२ वर्ष अगाडि आमा बित्दा र ८ वर्ष अगाडि बाबा बित्दाको बाग्मतीको पानीमा केही फरक छैन त ?”
    उनले भने, “केहि चाहिं भएको छ तर खासै नतिजा देखिएको छैन । तपाईंले भने जस्तै समाचार प्रचार–प्रसार र बजेट धेरै, काम कम ।”

    “मूलतः यदि बाग्मती सफा गर्ने हो भने यहाँ दाउराको शवदाह भन्दा सबैले विद्युतीय शवदाह घर प्रयोग गर्नु पर्छ । सञ्चारमन्त्री भएको लगत्तै पशुपतिमा राष्ट्रिय धुन बजाउन लाउनुभन्दा मन्त्रीजूले यस्ता कुरामा आफैंबाट घोषणा गरेको भए राम्रो हुन्थ्यो । देशका राष्ट्रपति, प्रधानमन्त्री, उच्च ओहोदाका प्रशासक र राजनेताहरुले मृत्युपछि मलाई विद्युतीय शवदाहमा जलाइयोस् भनेर इच्छापत्र दिनुपर्छ । अनि पो जनताले फलो गर्छन् । राजकीय सम्मानपछि त्यहि गरे भयो त । क्रान्तिकारीहरूले त्यसो गर्दा सायद पशुपतिनाथ रिसाएर उनीहरु नर्कमा पर्ने डर हुन सक्छ । अझ यस्ता अग्रगामी कदमले भोट कम आउन सक्छ । मैले हाँसो गरें । बरु यसको लागि उपयुक्त अगुवा पात्रहरु महजोडी हुन सक्छन् । सिमेन्ट, छठ र बैंकको विज्ञापनमा मात्रै होइन ‘मृत्युपछि विद्युतीय शवदाह घर रोजौं बाग्मती स्वच्छ बनाऔं’ भनेर चेतनामूलक विज्ञापन बजाउँदा अझ प्रभावकारी हुनसक्छ आम जनतामाझ । मैले सुनें त्यहाँ भित्र पूजा गर्न जाने भक्तहरूले मालपोत कार्यलयकै जस्तो अनुभव गर्छन् । अर्थात् भेटी अनुसार अगाडि–पछाडि, चाँडो–ढिलो । त्यत्रो भेटी कहाँ जान्छ ? विदेशीहरु त्यति चिन्तित, हामीहरुमा यो भावना कहिले पलाउने? हिजो बेलुका मात्रै टेलिभिजनमा समाचार हेरेको थिएँ– पशुपतिनाथमा १४० किलो सुनको नयाँ जलहरी निर्माण गरिने । अहिले पशुपतिनाथलाई सुनको जलहरी होइन, बाग्मतीको पानी चढाउन लायक हुनुपर्यो । बाबा–आमा दुवैलाई अन्तिम बिदाइमा पण्डितले ‘लौ अब बाग्मतीको जल मुखमा हालिदिनुस्’ भन्दा मैले फोहोर लागेर मुखमा नहाली कुम नजिक छोडिदिएको थिएँ । कमसेकम मृत शरीरको मुखमा हाल्न लायक बाग्मतीको पानी बनाऔं न पहिला । सुनको जलहरी ? छोडौं यी सब कुरा माफ गर्नुस् । मैले उजुरी गर्ने तपाईं आधिकारिक निकाय पनि होइन । मैले धेरै बोलें अब तपाईंको पालो ।”

    उनी खिसिक्क हाँसे ।

    देशको राजनीति, साहित्य, वातावरण, पत्रकारिताबारे संक्षिप्त उनको विचार सुनें । उनको र मेरो बुझाई र सोचाइ समानान्तर पाएँ । हुँदा–हुँदा ’पारिजात स्मृति प्रतिष्ठान’मा पिताजी ’केवलपुरे किसान’ सँगै कुम जोडेका रहेछन् उनले कुनै जमानामा भन्ने सुन्दा अचम्म लाग्यो । उमेरले ३२ भए पनि अनुभव, शैक्षिक योग्यता, शालिनता र बौद्धिकतामा भने ६० नाघेको पाएँ मैले ’क्षितिज’जीको कुरा सुन्दा । पशुपतिनाथ परिसर र भष्मेश्वर घाटको किनारमा मेरो ५–६ घण्टा वितिसकेको थियो । नवराज भाईसँग पनि कार्ड आदान–प्रदान सँगै समाजिक सञ्जालमा भेटिने वाचा गर्दै बिदा भएँ ।

  • कमेन्ट गर्नुहोस्