• आरए आउने भो, हिमालय भन्न सकिएन

    नेपाल एयरलायन्सका क्षेत्रीय प्रबन्धक नवराज उपाध्याय (बायाँ) र हङकङ नेपाली ट्राभल एजेन्ट्स कम्युनिटिका प्रतिनिधिहरु । तस्बिर: एभरेष्ट ।
  •  

    मे १८ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीलाई चार्टर फ्लाइटमार्फत ल्याउने प्रतिस्पर्धामा रहेका दुई समूहमध्ये नेपाल एयरलायन्स (आरए) मे २४ का दिन आउने पक्का भएको छ ।

    आरएका क्षेत्रीय प्रबन्ध निर्देशक नवराज उपाध्याय र हङकङ नेपाली ट्राभल एजेन्ट कम्युनिटिकोतर्फबाट सनराइज ट्राभलका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठबीच आज एक सम्झौता(एमओयू)मा हस्ताक्षर भएको छ ।

    “चार्टर फ्लाइटका लागि सम्झौता अनुसारको रकम जम्मा भएकोले अब चाहिँ उडान हुने पक्का भयो” प्रबन्ध निर्देशक उपाध्यायले भने, “हाम्रो स्टाण्डर्ड रेट अनुसार २४ मेका लागि लगभग १० घण्टा बुक भएको छ ।”

    उपाध्यायका अनुसार चार्टर फ्लाइट भएकोले यात्रुसंग के कति भाडा लिने हो त्यसमा नेपाल एयरलायन्सको भूमिका रहन्न । रिटर्न टिकट लिएर गएकाहरुलाई नियमानुसार रिफण्ड गरिने छ ।

    आरएको सेड्युल फ्लाइट भइरहेकोले हङकङको सिभिल एभियसन डिपार्टमेन्टबाट अनुमति प्राप्त हुन कुनै समस्या नरहेको र २४ मेकै दिन उडान हुने उनले ठोकुवा गरेका छन् ।

    कम्युनिटि अन्तर्गत अल्फा ट्राभलका कार्यकारी प्रमुख इन्दर पुनले एमओयू धेरै अगाडि नै गर्न खोजिएको भए पनि आवश्यकीय तयारी पूरा हुन नसक्दा ढिलो भएको बताएका छन् । तयारीकै क्रममा विभिन्न मिति तय गरिएको र त्यही अनुसार सार्वजनिक गर्दा भ्रम सिर्जना भएकोमा उनले खेद प्रकट गरे ।

    “आरएको स्टाण्डर्ड रेटमा ट्याक्स र सर्भिस चार्जसहित सकेसम्म हामीले सहुलियत भाडा तय गरेका छौं”, उनले भने, “हाम्रै रेगुलर कस्टमरहरु नै लकडाउनमा परेका छन् र उहाँहरुकै अनुरोधमा हामीले यो व्यवस्था गरेका हौं ।

    उनका अनुसार वन वे टिकट रेट इकोनोमी ६,५८० र बिजिनेस ८,००० हङकङ डलर तोकिएको छ । काखे नानीलाई १,००० डलर लाग्ने छ । २७५ सिट रहेकोमा सबै टिकट विक्री भइसकेका छन् ।

    हिमालय एयरलायन्सको चार्टर फ्लाइटको विषयले भने हङकङमा एक प्रकारको हलचल नै ल्याएको छ । गैर–आवासीय नेपाली संघ (एनआरएनए)की अध्यक्ष राधिका (टीका) गुरुङले २२–२८ मेका दिन ४ फ्लाइट हार्बेस्ट मुन ट्राभलमार्फत हुने भनेर सूचना सार्वजनिक गरेपछि नेपाल कन्सुलेट, इमिग्रेसन डिपार्टमेन्ट, सेक्युरिटी ब्युरो, राजनैतिक दललगायतमा हलचल पैदा भएको हो ।

    गुरुङले संकलन गरेको नामावलीबीच बनाइएको भाइबर ग्रुपमा चार्टर फ्लाइटका लागि नेपाल सरकारले हङकङ सरकारसंग कुटनीतिक पत्राचार गरिसकेको उल्लेख गरेकी छन् । उक्त विषयमा कन्सुल किरणकुमार गुरुङले अनभिज्ञता प्रकट गरेका छन् ।

    “नेपाल सरकारले हङकङ सरकारसंग कुनै पनि पत्राचार गर्न परे कन्सुलेटमार्फत गर्ने गर्छ वा सिधै भएको हो भने कन्सुलेटलाई बोधार्थ गर्ने गर्छ”, कन्सुल गुरुङले भने, “अहिलेसम्म यी दुवै काम भएको कन्सुलेटमा जानकारी आएको छैन ।”

    यस विषयमा एभरेष्टले सेक्युरिटि ब्युरो र इमिग्रेसन डिपार्टमेन्टलाई सोधनी गर्दा अनभिज्ञता प्रकट गरिएको छ । हङकङ एयरपोर्टले पनि हिमालय एयरलायन्सको उडान हुने भनिएका मितिमा काठमाडौंबाट कुनै उडान हुने जनाएको छैन ।

    हिमालयको उडानको विषय नेपाली समुदायमामात्र सिमित रहेको छैन । डेमोक्रेटिक पार्टीकी नेता सिन्डी लिलाई यस विषयमा इमिग्रेसन डिपार्टमेन्टले इमेल नै गरेको छ । डिपार्टमेन्टको इमेलमा चीनको परराष्ट्र मन्त्रालय, नेपालस्थित चीनियाँ दूतावास, सिभिल एभियसन डिपार्टमेन्ट र सम्बन्धित एयरलायन्ससंग सम्पर्क गर्दा नेपालबाट हङकङका लागि कुनै उडानको  सेड्युल नरहेको उल्लेख गरिएको छ ।

    सिन्डी लिले २२ मेका दिन नेपालबाट हङकङ हुने फ्लाइटको विषयमा धेरै सोधपुछ गरिएको र इमिग्रेसनलगायत विभिन्न डिपार्टमेन्टसंग यस विषयमा कुनै जानकारी नभएको उल्लेख गर्दै होशियार रहन आग्रह गरेकी छन् । फेसबुकमार्फत गरिएको आग्रहसंगै टुरिजममेल डटकममा प्रकाशित हिमालय एयरलायन्सको चार्टर फ्लाइटसम्बन्धी समाचारको लिंक राखिएको छ ।

    हिमालय एयरलायन्सको फ्लाइटको बारेमा हार्बेस्ट मुन ट्राभलले फेसबुक पेजमा कुनै मिति उल्लेख नगरी काठमाडौं–हङकङ चार्टर फ्लाइटको टिकटको पैसा जम्मा गर्न र डिपोजिट स्लिप सुरक्षित राख्न भनिएको छ । टिकट मोबाइलमा पठाइने भनिए पनि बैंक एकाउण्ट नं. राखिएको छैन ।

  • कमेन्ट गर्नुहोस्