• चोङवाङ अर्थात् लिम्बू राजा

  •  

    लिम्बूहरु विभिन्न समूह–उपसमूहमा रहेका छन् । तीमध्ये चोङवाङहरु मात्रै नौ थरी छन् । उनीहरुको माङ्गेन्ना यक (गढी) पनि नौ ठाउँमै रहेको छ ।

    तीमध्ये हुक्पा चोङवाङको यक पोक्लावाङ, खेवा चोङवाङको ताक्लुङ यक, सेरेङ चोङवाङको म्हसेरेङ यक, तिलिङ चोङवाङको पिप्लेगढी र चोङवाङ क्याकको चिवा यक रहेको छ । यस्तै खजुम चोङवाङको योमई चम्खासिंह यक, फागो चोङवाङको पिरिङ्गे यक, थलङ चोङवाङको साप्तोक नम्वा यक र साँवा चोङवाङको माङ्गेन्ना लिङयाङ यक रहेको छ ।

    चोङवाङहरुको भूगोल पनि फरक–फरक रहेको छ । सांस्कृतिक परम्परा हेर्ने हो भने खेवा चोङवाङहरु पंक्षीको मासु चलाउँदैनन् । यस्तै खेवा, खजुम र तिलिङ चोङवाङको भूगोल छथर हो भने उनीहरु छथरे लिम्बू मातृभाषी हुन् । चोङवाङहरुको गढी पनि कसैको ताप्लेजुङ र कसैको तेह«थुममा रहेको छ ।

    यी चोङवाङहरु एकै वंशका पनि होइनन् ।

    चोङवाङभित्रका यी विविधताहरु देख्दा ‘चोङवाङ’ कुनै जातथर विशेष नभएर पद विशेष हो भन्ने अनुमान हुन्छ ।

    चोङवाङको राजनीतिक विरासत

    चोङवाङहरुमध्ये कतिपयको सेनहरुसँग उच्चस्तरको राजनीतिक निकटता देखिन्छ । विजयनारायण रायको विजयपुरमा रहेको राजनीतिक विरासतको अन्त्य गरी त्यहाँका दिवान मुरेहाङका छोरा बाजहाङले मकवानी राजा लोहाङ सेनलाई बोलाई विजयपुरको राजा थापे । उनले वि.सं. १६१० सम्म कोशी नदीदेखि पूर्व टिस्टासम्मको शासक भई मकवानपुरबाट शासन गरे । इमानसिंह चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०३२:३९–४०)लाई उद्धृत गर्दै इतिहासकार डा. राजाराम सुवेदीले पुरातङ्खव विभागको मुुखपत्र ‘प्राचीन नेपाल’को सङ्ख्या १४७ (२०५८ असारः४३)मा प्रकाशित आफ्नो लेख ‘मकवानपुर राज्य’मा चोङवाङहरुले लोहाङ सेनबाट महत्वपूर्ण जिम्मेवारी पाएको उल्लेख गरेका छन् ।

    डा. सुवेदीका अनुसार लोहाङ सेनले फेदापका लिम्बू चौतारा वाजहाङसँग विजयपुरमा वंशानुगत चौतारा हुने परम्परा कायम गरिदिएका थिए । उनीपछिका सेन राजाहरुले आफ्नो प्रशासनको मद्दतका लागि मन्त्री, दिवान, चौतारिया र सुब्बाजस्ता पदमा किरात (लिम्बू)हरुलाई राखी त्यहाँका अन्य जातिबीच पनि घनिष्ट समझदारी बढाएका थिए । किरातहरुमा मोरङमा विद्याचन्द्र राय (वाजहाङ), सप्तरीमा चोङवाङहाङ राय, महोत्तरीमा लिवाङहाङ राय र मकवानपुरमा सेरिङहाङ रायलाई इज्जतसाथ जिम्मेवारी दिएर सेन राजाहरुले राखेको डा. सुवेदीले उल्लेख गरेका छन् ।
    यताबाट हेर्दा चोङवाङहरुको राजनीतिक इतिहासको लहरो लामै रहेको देखिन्छ ।

    चोङवाङहरूको आ–आफ्नै राज्य

    लिम्बूहरुको माङ्गेन्ना यक भन्नाले आधुनिक बुझाईमा विगतमा उनीहरुको शासन प्रशासन चल्ने ठाउँ भन्ने बुझिन्छ । त्यसैले त्यस ठाउँका यकका अधिपतिका रुपमा जिम्मेवार व्यक्तिलाई ‘हाङ’ अथवा लिम्बू भाषा वा बुझाईमा राजा नै भन्ने चलन थियो ।

    यो लेखमा सबै चोङवाङहरुको आ–आफ्नो थातथलोको राज्यबारे विस्तारमा उल्लेख गर्न नसके पनि नमूनाका लागि हुक्पा चोङवाङ र सेरेङ चोङवाङको थातथलोलाई नमूनाको रुपमा लिएर केही तथ्यहरु प्रकाशमा ल्याइन्छ ।

    हुक्पा चोङवाङहरुले आफ्ना विभिन्न प्रतापी पुरुषहरुमध्ये चन्जङहाङलाई महङ्खवपूर्ण व्यक्तिका रुपमा लिने गरेका छन् । हुक्पा चोङवाङहरुको मूल यक पोक्लावाङ हो । तर ‘हुक्पा चोङवाङ वंशावली’ (२०७५:७९–८०)मा उल्लेख भएअनुसार चन्जङहाङ सेरजङ तुम्वा यकका अधिपति थिए । आवश्यक पर्दा उनी छिमेकी राजाहरुलाई सामरिक सहयोग गर्ने तथा एकापसमा मेलमिलाप पनि गराउने गर्थे । उनले ठूलठूला लडाईंहरु लडे । विजयपुरलाई आपतविपत परेको बेला विजयपुरका देवान विचित्र राय र रानी इन्दु राजराजेश्वरीले गुहार माग्दा उनी मुसलमान शासकविरुद्धको युद्धमा पनि सहभागी भएका थिए । उनको युद्धकुशलता र वीरता सम्झेर विजयपुरकी रानीले उनलाई ‘राय’ पद दिइन् । पछि आफ्नै थातथलो सेरजङ्ग तुम्वायक फर्की उनले पुरानै कार्यभार सम्हाले । युद्धबाट फर्केपछि चन्जङहाङ ‘राज राय’ कहलाए । ‘राय’ पदवी लिने उनी पहिलो हुक्पा चोङवाङ हुन् ।

    यता सेरेङ चोङवाङको आफ्नै थातथलोको राजपाटका बारेमा मावोहाङ यक्सोहरुमा प्रचलित एक लोकआख्यानअनुसार चर्चा गरिन्छ ।

    यक्सो वंशमा प्रचलित एक लोकआख्यानअनुसार उनीहरुका पुर्खाहरु उड्न सक्नेसम्मको वीर थिए । उनीहरुले सरेङहाङलाई आवश्यक पर्दा ठूलो सहयोग गरेका थिए । सेरेङका शत्रुहरुले बारम्बार उनलाई दुःख दिएपछि पोमुहाङको सल्लाहमा उनी यक्सोसँग सहयोग माग्न पुगे । यक्सोले उनलाई आफ्ना दुई जना सुरवीर छोरालाई युद्धमा भाग लिन पठाइदिए ।

    शत्रुलाई जित्न सकिने वा नसकिने भनेर जोखाना हेर्न दुवै लडाकु दाजुभाईले ओडारको ढुङ्गामा एक–एक लात्ती हाने, उनीहरुको पाइला गाडियो । उनीहरुले बुझे, शत्रु सेनालाई जितिनेछ । त्यही अनुसार सरेङहाङलाई उनको शत्रु चिनाई मागे । यी दुई शत्रुलाई खोज्दै गए । खोज्दै जाँदा शत्रुपक्षको राजा दिउँसो भात खाएर सुतिरहेको रहेछ । त्यही मौका पारेर उनीहरुले आफ्नो धनुकाँड चलाई ती राजालाई मारिदिए । मारिएका राजाका बफादार सेनाले यो कुरा थाहा पाएपछि उनीहरु प्रत्याक्रमणमा निस्के । दुई यक्सो दाजुभाई भाग्दै जाँदा बीचमा एउटा ठूलो चिरा परेको पहरानेर आइपुगे । त्यसलाई पनि नाघेर उनीहरु पारी जान समथ्र्य भए । तर उनीहरुका शत्रुसेना त्यो चिरा नाघ्न नसक्दा पहरामा लडी मरे ।

    यसरी यक्सो राजाका दुई छोराले सेरेङहाङका शत्रु नाश गराए । यी दुई वीर यक्सो थाक्मिया र मुरेगन थिए ।

    यसबाट सेरेङ चोङवाङहरु आ–आफ्नो थातथलोका शासक थिए भन्ने स्पष्ट हुन्छ । अझ सेरेङहरुको राजनीतिक विरासत हेर्दा उनीहरुको इतिहास प्रकाश पार्ने विभिन्न सामग्रीहरु उपलब्ध छन् ।

    वि.सं. १८३१ साउनमा केही लिम्बू सुब्बाहरुले गोरखालीसँग सम्झौता गरे । सेरेङ लिम्बूहरुलाई पनि आफूसँग मिलाउने प्रयास गोरखालीहरुले गरे ।

    पृथ्वीनारायण शाहले लिम्बूवान हात लिन त्यहाँ पुगेका सेनानायक अभिमानसिंह बस्न्यात लगायतलाई असोज वदी ३० रोज ४ (वि.सं. १८३१)मा लेखेको पत्रमा ‘…चौदंड महा गढि तुल्याउनको विस्तार औ. कुर्हिल्याबाट. फौज हिड्याको. तिनै मुषले गन्र्या काजको चांजो लिम्बू श्रृंग्याका सुवा. सुवाले मान्या आयाको सवै विस्तार विंति पठायाछौ. विधि विस्तार सुन्यौ…’ भन्ने उल्लेख छ । यसबाट श्रृंग्या (सेरेङ) लिम्बू गोरखालीसँग मिल्न आएको कुरा अभिमानसिंह बस्न्यातहरुले पृथ्वीनारायण शाहलाई जाहेर गरेको भन्ने इतिहास शिरोमणि बाबुराम आचार्यको ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ (२०६१:४३१–४३२) पढ्दा थाहा हुन्छ ।

    तर त्यसबेला सेरेङहरु गोरखालीहरुसँग पूर्ण रुपमा मिलिसकेका थिएनन् ।

    यसबारे थाहा पाउन इतिहासकार दिनेशराज पन्तले ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (२०४० चैतः३०–४४)मा प्रकाशमा ल्याएको रणबहादुर शाहले विजयपुरका सुब्बा योगनारायण मल्ल (कतै जोगनारायण मल्ल)लाई लेखेका नौवटा पत्रहरुमध्येका केही पढ्न सकिन्छ । तीमध्ये एक (पृ.३९–४०)मा ‘…उप्रान्त लिंवु श्रृंग्याहरु मिल्न आउँदैछन् भन्ने कुरो तिमीले लेखेछौ. हिजो मकवानीका पालामा पनि ती किरातले बहुतै गर्‍यो । हाम्रा पालामा पनि तन्ले २-४ बेर मिल्न आउँदै फट्टाउँदै गर्‍या जस्तो गरी बीरभद्र राई जस्तो आयथ्यो त्यस्तै गरी निख्रिकन आया पिछा लेऊ …’ भन्ने उल्लेख छ ।

    यस्तै अर्को पत्र (पृ.४१)मा ‘सांभा र सिरिंले फेदावबाट पनि गुहार मागि पठायो. सुवा २-३ हामीतिर भयाका छन्. प्रजा भोट्यातिर छन् भनी लेखेछौ योग्यै हो’ भन्ने उल्लेख छ ।

    अर्को पत्र (पृ. ४३–४४)मा ‘…मकवानी साहेव पनि यहाँबाट भागेर मुगलानमा हांगामा गर्न लागि रहेछ पूर्वतिर पनि उत्तर भन्या लिंवु श्रृंग्या दषिन नी सरुप छदैछन्…’ भन्ने उल्लेख छ ।

    यी पत्रहरु अपूर्ण भएका हुँदा तिथिमिति खुल्दैन । यीभन्दा अघिका पत्रहरु वि.सं. १८३७-३८मा देखिएका हुँदा यी पत्रहरु पनि यी सालभन्दा पछाडि अर्थात् वि.सं. १८३८-३९ सालतिर लेखिएको हुनुपर्छ ।

    यी पत्रहरुअनुसार सेरेङ चोङवाङ कहिले गोरखालीसँग मिल्न खोजेको, कहिले टाढिएको देखिन्छ भने साँवाहरुले एकपटक सेरेङहरुसँगै गोरखालीसँग गुहार मागेको देखिन्छ ।

    यी पत्रहरुबाट पृथ्वीनारायण शाहलाई अभिमानसिंह बस्नेतहरुले सेरेङहरु मिल्न आउँदैछन् भन्ने जुन सन्देश पठाए, त्यसअनुसार उनीहरु गोरखालीसँग तत्कालै मिल्न गएको देखिंदैन ।

    १८३९ तिर मात्र सेरेङहरु गोरखालीहरुसँग पूर्ण रुपमा मिलेको देखिन्छ । यसको अगुवाई सेरेङका सुब्बा रैनसिंह रायले गरे । रणबहादुर शाहले उनलाई सम्बोधन गरेको लालमोहर शिवकुमार श्रेष्ठको ‘लिम्बुवानको ऐतिहासिक अध्ययन’ (२०६८:११७)मा पढ्न पाइन्छ । यो पत्रमा रैनसिंहलाई हतियार लिन आउन राजधानी बोलाइएको छ । श्रेष्ठ (२०६८:११८) अनुसार रैनसिंह सेरेङले राजधानी पुगेर १८४० जेष्ठ सुदी १२ रोज १ मा ३०० खुँडा, ३२ नाल बन्दुक र २२८ थान धनुकाँड रणबहादुर शाहबाट बुझे ।

    चोङवाङहरू ‘नीति’ कि ‘स्मृति’?

    लिम्बूहरुमा आफ्नो सांस्कृतिक परम्परा र मौलिक धर्म मुन्धुम मान्ने र शाह राजाको अधिनस्थ भएपछि उनीहरुले मानिआएको धर्म र संस्कृतिलाई पनि अनुशरण गर्ने भन्नेमा दुई सांस्कृतिक समूहका लिम्बूहरु विभक्त भए । तीमध्ये पहिलो प्रकारका समूहका लिम्बूहरुलाई ‘नीति’ भनियो भने दोस्रो प्रकारको समूहका लिम्बूहरुलाई ‘स्मृति’ (संपृति) भनियो ।

    ब्राइन हड्सनले सङ्कलन गरी ब्रिटिश लाइब्रेरीमा पु¥याएको हस्तलिखित पाण्डुलिपीहरुको अध्ययन गर्ने अवसर पाएका डा. रमेश ढुङ्गेलले लिम्बूहरुको नीति र स्मृति समूहका बारेमा लेख लेखेपछि यो विषय चर्चामा आयो । त्यसो त डा. ढुङ्गेलले यसको चर्चा गरेको सात वर्षअघि नै लिम्बूको नीति र स्मृति समूह विषयमा थोरबहुत चर्चा इतिहासकार ज्ञानमणि नेपालले गरिसकेका थिए । यसबारे तल उल्लेख गरिनेछ ।

    हड्सन पाण्डुलिपिको अध्ययनपछि डा. ढुङ्गेलले ‘हिमाल’ खबरपत्रिका (१६–२९ फागुन २०६२:६०–६२)मा नीति र स्मृति समूह अन्तरगत रहने लिम्बूहरुमध्ये ‘स्मृति’ समूहमा तीन थर वा उपसमूह फागु (फागो वा चोङवाङहाङ वा चोङवाङ), युङयाङहाङ (योङयाहाङ वा योङयाङहाङ) र सिरिङ वा सेरेङ्गी (सेरेङ) रहेका उल्लेख गरेका छन् । यसैगरी ‘नीति’ समूहअन्तर्गत लिम्बूका दुई थर वा उपसमूह रहेका छन् । उनीहरुमा आङ्वोहाङ र साँवाहाङ वा साँवा रहेका छन् ।

    सामान्यतः सेनकालदेखि नै विजयपुरसँग निकट र त्यसपछि शाह राजासँग सम्झौता गरी आफ्नो थातथलोको खायनपायनलाई सेनकालीन अवस्थाजस्तै निरन्तरता दिनेहरु स्मृति समूहमा रहेको हो कि भन्ने देखिन्छ । पृथ्वीनारायण शाहसँग केही लिम्बू सुब्बाहरुले सम्झौता गरेको समय वि.सं. १८३१ लाई मध्यनजर राख्ने हो भने सेरेङ र योङहाङहरु त्यसैबेला गोरखालीहरुसँग मिलेको भने देखिंदैन ।

    इमानसिंह चेम्जोङले, “ ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९:४५–४६)अनुसार– लिम्बू र गोरखालीबीच चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँका लिम्बू सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे । तर हातहतियारको अभावले उनीहरुले हार स्वीकार गर्नुप¥यो । आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरुले छाडेनन् ।” भनी उल्लेख गरेका छन् ।

    लिम्बूहरुमा नीति र स्मृति समूह भएको खुल्ने ऐतिहासिक पत्र इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुपण’ (२०५५:२६९–२७०)मा प्रकाशित गरेका छन् । वि.सं. १८७५ फागुन वदी ६ रोज ३ मा यो पत्र जारी गरिएको हो । यस पत्रमा नीति र स्मृति जुन–जुन समूहमा छन्, सोहीअनुसार लालमोहर जारी गरिंदै आएको पनि उल्लेख छ । यहाँ फागो चोङवाङ र सेरेङ चोङवाङको सन्दर्भ पनि खुलेको छ ।

    पत्रमा ‘हाम्रो त अघि सेन राजाका पालमा पनी स्मृति हो, अमल भयापछि पनि हामीलाई स्मृतिमा रहनु भन्या हुकुम लालमोहर बक्स्याको छ राजी छौं भनी फागु सिरिंग्या गैरह दर्वारमा बिन्ती गर्न आइरहेका छन्. एकै मुलुकमा कोही निति कोही स्मृति मान्या दुई फ्याक भै रह्याका छन्…सबैको एक मतो निति स्मृति क्यामा हुन्छ सो विस्तार एक वाक्य भयेन भन्या पनि एति निति एति स्मृति राजी छन् भन्या लेषनु…’ भन्ने उल्लेख भएबाट चोङवाङमध्ये फागु र सेरेङ चाहिं स्मृति समूहमा रहेको स्पष्टै रुपमा थाहा हुन्छ ।

    सेनकालमा चोङवाङहाङ रायले सप्तरीमा जिम्मेवारी पाएको भन्ने माथि उल्लेख भइसकेको छ । यस्तो जिम्मेवारी पाउने चोङवाङ कुन चोङवाङ हो स्पष्ट भन्न नसकिए पनि स्मृति समूहमा फागो परेकोले उनीहरु फागो चोङवाङ हुन् कि भन्ने अनुमान गर्न सकिन्छ । माथि उल्लेख भएको वि.सं. १८७५ को पत्रमा पनि स्मृति समूह मोहरको निरन्तरता सेनकालदेखिकै थियो भन्ने परेकोले यस्तो अनुमान गर्ने ठाउँ रहेको छ ।

    चोङवाङ अर्थात् लिम्बू राजा

    चोङवाङहरुले आ–आफ्नो थातथलोमा स्थापना गरिएको यक (गढी)मा रहेर शासन प्रशासन चलाए । त्यसैले उनीहरुलाई गढीको अधिपति अर्थात् लिम्बू भाषामा ‘हाङ’ भनियो ।

    सामान्यतः कसैको नाम प्रायः आफैंले भन्दा पनि कसैले राखिदिएको वा भनिदिएको पाइन्छ । त्यो त्यही अनुसार प्रचलित र स्थापित हुनजान्छ । चोङवाङ पनि उनीहरु आफैंले नभई अरु कसैले राखिदिएको हो भन्ने बुझिन्छ ।

    सिक्किममा ल्हो–मेन–चोङलाई त्यहाँ मिलेर शासन वा राज्यव्यवस्था चलाउने जातिका रुपमा लिइन्छ । ‘ल्हो’ भनेको त्यहाँका भोटियाहरु, ‘मेन’ भनेको लेप्चा र ‘चोङ’ भनेको लिम्बू हो । भोटियाहरु आफ्नो भाषामा लिम्बूलाई ‘चोङ’ भन्छन् । भोटिया भाषामै ‘वाङ’ भनेको राजा हो । ‘चोङ’ र ‘वाङ’ मिलेर चोङवाङ बनेको देखिन्छ । यसबाट चोङवाङ अर्थ भोटिया भाषामा ‘लिम्बू राजा’ भन्ने लाग्छ ।

    चीन र भोटको युद्धपछि वि.सं. १८४९ मा भएको सन्धिअनुसार नेपाल र चीनबीच एकापसमा भएको सन्धिअनुसार द्विपक्षीय सद्भाव अभिवृद्धिका लागि सौगातसहित दूत मण्डल जाने चलन चल्यो । नेपालमा तत्कालीन राजनीतिक घटनाक्रमका कारण २४ वर्षका राजा रणबहादुर शाह आफ्ना डेढ वर्ष पनि नपुगेका नाबालक छोरा गिर्वाणयुद्धविक्रम शाहलाई राजगद्दी सुम्पेर कान्छी महारानी कान्तवतीका साथ जोगी भई पशुपति गएर बस्न लागेका थिए । त्यतिबेला चिनियाँ बादशाह च्याछिङले नयाँ राजा (गिवार्णयुद्धविक्रम)लाई स्वीकृति वा मान्यता दिंदै ‘वाङ’ उपाधि दिएका थिए भनी नेपालले (उहीः२५२–२५३)मा उल्लेख गरेका छन् । यसरी चिनियाँ बादशाहबाट नेपालका राजालाई दिएको उपाधिलाई दृष्टिगत गर्दै भोटिया भाषामा वाङ भनेको राजा हो भन्ने मान्यतालाई अथ्र्याउँदा चोङवाङको अर्थ लिम्बू राजा भन्ने बुझिन आउँछ ।

  • कमेन्ट गर्नुहोस्