• माटोको बास्ना र कीराहरूको सङ्गीत

  •  

    यसो बुझ्दा त तिनै डोरीको सहायताले त्यो भीरबाट तल ओर्लिने रे ! म जस्तो उचाईदेखि सातो जानेहरुको लागि त अकल्पनीय नै थियो त्यो । सहयात्रीमध्ये सबैभन्दा बलिया–बाङ्गा प्रकाश केसी हेर्न गए । दुई कदम अगाडि बढेका केसी चार कदम पछि हटेर हात उठाउँदै लौ यो चाहिं सकिन्न भन्दै आए । बाँकी सबैले हो मा हो मिलाए ।

     

    जन्मदर्ताको आधारमा हङकङ प्रवेश गरेको नेपाली समुदायको इतिहास साढे दुई दशक पार गर्दैछ । विभिन्न पेशा र तहका कामदारबाट प्रगति गर्दै अहिले एउटा हिस्सा व्यापार–व्यवसाय उन्मुख छ । विगत एक वर्षको सडक आन्दोलनले तहस–नहस पारेको हङकङले अब विश्वकै आर्थिक केन्द्रको पगरी गुमाउने चर्चा–परिचर्चा मत्थर भएको छ– कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण पछि ।

    युरोप, अमेरिका र दक्षिण अमेरिकाको भयावह स्थिति, अपर्याप्त चिकित्सकीय उपकरणले हजारौं जनाको अकालमै मृत्यु र संक्रमणको महामारी राज्यले थेग्न नसक्दा मानिसको सोचाइमा परिवर्तन आएको छ । अझ अमेरिका र बेलायतमा अफ्रिकी तथा अन्य आप्रवासीमुलका मानिसको मृत्यु धेरै संख्यामा हुनुको कारणबारे सञ्चार माध्यममा अड्कलबाजी आउँदै छन् । मुखले मानवअधिकार काममा गोरा मात्रको अधिकार त हैन ? भन्ने प्रश्न गर्न थालिएको छ ।

    हङकङमा एकदमै न्यून मृत्युदर, चुस्त व्यवस्थापन र सरकारले जनतालाई दिएको विभिन्न राहत र सहुलियतले ठूलो उचाइ लिएको छ फेरी । भनिन्छ; लगानीकर्ताहरुको सोचाइमा परिवर्तन आएको छ । हङकङको प्रपर्टी बजार खस्किन्छ कि भन्ने अड्कलबाजी चिर्दै एउटा चिनियाँ कम्पनीले कोलुन्तोङको प्रपर्टी ३५० मिलियन हङकङ डलरमा किन्यो पछिल्लो महिना । जसको स्ट्याम्प ड्यूटी (सरकारी कर) मात्रै १५० मिलियन थियो ।

    चीन सरकारले हालै लागू गरेको सुरक्षा कानूनले यहाँको उच्च तहको व्यापार–व्यवसाय अन्त सर्छ वा नयाँ लगानी आउँदैन भन्ने अड्कलबाजीको पक्ष–विपक्षमा बजार तात्यो । सोही बेला हङकङका चर्चित दुई ठूला व्यवसायी घराना स्वायर समूहको क्याथे प्यासिफिक वायुसेवा र लण्डन मुख्यालय भएको हङकङ एण्ड सांघाई बैंकिङ कर्पोरेसन (एचएसबीसी) ले कानूनको पक्षमा विज्ञप्ति जारी गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो पटक हङकङकै एकजना चर्चित गायक तथा अभिनेताले सुरक्षा कानूनको बहालीपछि हतारमा एउटा बिलासी घर खरिद मूल्यभन्दा चौध मिलियन सस्तोमा बेचेपछि अर्काे तहल्का छायो ।

    विगत ४० वर्षदेखि हङकङको आर्थिक उतार–चढावलाई नजिकैबाट नियालिरहेका एकजना चर्चित अमेरिकी अर्थविद् सन् ९७ अगाडि अहिलेभन्दा धेरै हल्ला भएको र त्यो हल्लामै सीमित भएको बताउँछन् । उनी भन्छन्, “हङकङभन्दा कडा कानून भएको मुलभूमि चीनमा हजारौं विदेशी कम्पनी निर्बाध रूपमा चलिरहेका छन् ।”यति ठूलो चर्चा–परिचर्चा पाउने व्यापारिक केन्द्रमा नेपाली समुदायको उल्लेख्य उपस्थिति हुनु खुशी र गर्वको कुरा हो । एकलभन्दा सामुहिक लगानीको जोश बढ्दैछ नेपाली समुदायमा ।

    अहिले वित्तीय संस्था, निर्माण व्यवसाय, क्याटरिङ, बार तथा रेष्टुरेण्ट, ट्राभल एजेन्सी सबैतिर नेपाली समुदाय निकै अग्रणी देखिए पनि शुरुका दिनमा भने यस्तो थिएन । विदेशी र नेपालीबीचको साझेदारी त पहिला पनि थियो र अहिले पनि छ । तर नेपाली–नेपाली बीचमा चाहिं कहिलेदेखि शुरु भयो त ? यसबारे सामान्य चर्चा गरौं ।

    चिमसाचुइ मिडिल रोडको भुइँतलामा सन् १९९६ मा ‘लेडी डायना’ (पछि नाम परिवर्तन ‘सङ्गीत’) पूर्व बृटिश गोर्खाहरु क्रमशः पलसिंह गुरुङ, श्याम गुरुङ, राजेश गुरुङ र भान्जा खेम गुरुङद्वारा खोलिएको पहिलो नेपाली सामुहिक लगानीको रेष्टुरेण्ट थियो । त्यसपछि उतिबेलाका अग्रणी नेपाली रेष्टुरेण्ट व्यवसायी त्रिलोक विश्वकर्माको अगुवाईमा कुलप्रसाद गुरुङ, अरुणा गुरुङ र कृष्ण पाण्डेद्वारा सन् २००१ मा जोर्डनको पर्ल ओरिएन्टल टावरको तेस्रो तलामा खोलिएको ‘एशियन भिलेज’ नेपाली सामुहिक लगानीको दोस्रो रेष्टुरेण्ट थियो । दुवै रेष्टुरेण्ट अहिले अस्तित्वमा भने छैनन् । चिमसाचुइको मिडिल रोडमा आफ्नै स्वामित्वको कार्यालयसहितको ‘सनराइज ट्राभल्स’ नेपालीहरुको सामुहिक लगानीमा खोलिएको पहिलो ट्राभल एजेन्सी हो । जुन अहिले पनि फरक स्थानमा राजेन्द्र श्रेष्ठको एकल स्वामित्वमा सञ्चालित छ । जे होस्, हङकङे नेपालीको सामुहिक लगानीको व्यावसायिक इतिहास र वर्तमान पछि लेखौंला अहिले भने लागौं संस्मरणतर्फ ।

    सन् २००८ तिर सामुहिक लगानीमा खोलिएको अल्फा ट्राभल्सले एउटा नौलो व्यावसायिक प्रयोग गरेको थियो । जोर्डनको रोयल कमर्सियल भवनमा कार्यालय भएको यस ट्राभल्सले गणेश इजम (हाल बेलायत), हेम राई र ललित आङबुहाङद्वारा अल्फा एडभेन्चर भन्ने छुट्टै विभाग बनाई हङकङकै लान्ताउ टापुको छेउमा सशुल्क खानपान, पदयात्रा, विभिन्न साहसी खेल सहित आधुनिक गोठमा एकराते बसाईंको शुरूवात गरेको थियो ।

    आयोजकले दिएको समय तालिका अनुसार हामी करिब १२-१५ जना स्टारफेरीबाट सेन्ट्रल हुँदै मुई ओ जाने पानीजहाज चढ्यौं बिहानै । धुँवाको मुस्लो फाल्दै केनेडी टाउनको छेउ हुँदै सन् नब्बेको दशकमा भियतनामी शरणार्थी क्याम्प भएको सानो टापुको छेडो पार गर्दै जहाज अगाडि बढ्यो । हङकङका धनाढ्यहरूको बासस्थान पोकफूलाम र माउन्ट डेभिड पहाडलाई देव्रे पारेर हङकङलाई बिजुली बत्ती र प्रदुषण दुवै बराबर दिने लामा आइल्याण्डको पावर हाउस पार गर्दा १० बजिसकेको थियो । बिहान सधैं ढिलो उठ्ने भएकोले मेरो लागि नितान्त नौलो अनुभव र कौतुहलता थियो त्यो दिन । समुन्द्रमा बिस्कुनझैं छरिएका सूर्यको किरण अनुभव गर्दै चाङचाओ आइल्यान्ड पार गर्दैगर्दा ज्वारभाटाको उतारचढावले जहाज निकै हल्लिंदा बेन्जु अलि डराइन् । मलाई भने गाउँमा बाल्यकालमा तेर्सिएको बहरको रूखको हाँगामा सोइसाला खेलेको याद आयो ।

     

    करिब ४५ मिनेटमै मुइओ ओर्लियौं । बाहिरपट्टि गणेश, ललित र हेम हामीलाई पर्खिरहेका थिए । त्यहाँबाट करिब ३० मिनेट पैदल लाग्यौं मुइओको छहरातर्फ । हामीलाई प्याकेट खाना र पेय पदार्थ दिएर उनीहरु लागे डोरी बाँध्न । ठूलो छाँगोमाथिको एउटा ठूलो रुखको फेदमा डोरी बाँधेर पल्लो छेउसम्म पुर्याएर सबै उपकरणहरुको सुरक्षा जाँचपछि हामीलाई तयार हुनु भने हेम राईले । अक्सर उचाईदेखि डर लाग्ने भएकोले म चाहिं गरौं या नगरौं भन्ने दुविधामा सबैभन्दा पछाडि उभिएँ । बेन्जु र अन्य सहयात्रीले रमाई–रमाई पार गरेको देख्दा आँट आयो । ठ्याक्कै नेपालको तुइन जस्तो तर सुरक्षित —सहयात्री हेम लिम्बूले हौसला दिए । उहिल्यै ४० सालतिर भृकुटीमण्डपको ‘दशैंको रमाइलो मेला’मा नेपाली सेनाले राखेको यस्तैखाले तर सानो खेल खेलेको याद आयो पार गरिसकेपछि । अंग्रेजी भाषामा यसलाई जीपलाइन भनिंदो रहेछ । सबैले रहर नपुगुञ्जेल खेलिसकेपछि तीनजना आयोजक पथ–प्रदर्शकको पछि लाग्यौं ।

    मुई ओको बस्तीलाई छोडेर छोटो जङ्गलको बाटो हुँदै ‘पुइ ओ’ भन्ने सामुन्द्रिक किनारमा पुगियो । मलाई भने पाकेको रुखकटहरको मीठो बास्ना आयो । नभन्दै नजिकै एउटी चिनियाँ गाउँले आमा रुखकटहर र बारीमा फलेको काँक्रो बेच्न बसेकी रहिछन् दोबाटोमा । “हैन के गरेको कमलजी ? अब ऊ त्यो पहाड चढ्ने हो । कसरी बोक्न सक्नुहुन्छ ?” मैले किन्दै गरेको देखेर गणेशले अचम्मित हुँदै अगाडिको विशाल ‘चिमा वान’ पहाड देखाए । म पनि के कम ! भनिदिएँ, “मसँग उपाय छ । पहाडको फेदीमा पुगेपछि सम्झाउनुहोला ।”
    चिमा वान पहाडको फेदीमा हेम राईले उकालो चढ्नु अगाडि सामुहिक वार्मअप कसरत गराए सबैलाई । मैले रुखको पत्करहरू जम्मा गरेर कटहर र काँक्रो लुकाउँदै गर्दा सबै हाँसे । उकालो लाग्यौं । भदौको महिना, दिउँसोको चर्काे घाम । सल्लाघारीको बीचको बाटो हावाको फिर्काे थिएन । एउटा चुचुरो पुग्यो अर्काे देखिन्छ, त्यहाँ पुग्यो झन् अर्काे देखिन्छ, फेरी अर्को, झन् अर्काे । पसिनाले सबै निथ्रुक्क भए । उमेरले पाका भए पनि वेद खड्का दाई सबैभन्दा अगाडि थिए भने किरण पन्त (नेपाल एयरलाइन्सका तत्कालीन कन्ट्री मेनेजर)ले मलाई सबैभन्दा पछाडि हुनबाट जोगाइदिए । करिब डेढ घण्टाको नागबेली उकालो सकेपछि चिमा वान पहाडको टुप्पोमा पुगियो ।

    दक्षिणतिर आँखाले भ्याउञ्जेल देखिने समुन्द्र, समुन्द्रमाथि पौडिरहेका साना, मझौला, ठूला र अजङ्गका पानीजहाज; उत्तर–पश्चिममा हरिया पहाडहरू, समुन्द्रको स्पर्शमा लमतन्न कोल्टे परेका पुई ओ, अपर चङ्सा र लवर चङ्सा सागर किनारा आँखा अघाउञ्जेल हेरियो । केहीबेरको विश्राम र फोटो सेसनपछि आयोजक साथीहरु पसिना चुहाउँदै डोरी र फलामका हुकहरू लिएर चट्टान खोप्न थाले । यसो बुझ्दा त तिनै डोरीको सहायताले त्यो भीरबाट तल ओर्लिने रे ! म जस्तो उचाईदेखि सातो जानेहरुको लागि त अकल्पनीय नै थियो त्यो । सहयात्रीमध्ये सबैभन्दा बलिया–बाङ्गा प्रकाश केसी हेर्न गए । दुई कदम अगाडि बढेका केसी चार कदम पछि हटेर हात उठाउँदै लौ यो चाहिं सकिन्न भन्दै आए । बाँकी सबैले हो मा हो मिलाए ।

    आयोजकहरुले मलिनो मुख लगाए । ललितले ‘तपाईंहरुलाई खासमा यही अनुभवको लागि यहाँसम्म ल्याएको’ भने पनि कसैले आँट गरेनन् । हेम राईले उपाय निकाले, “लु त्यसो भए यहि पहाडको तल एउटा सानो पहरो छ, जहाँ म अक्सर स्कूलका साना बच्चाहरुलाई प्रशिक्षण दिन्छु, त्यहाँ त सकिन्छ ।” ल गएर हेरेपछि सोचौंला भन्दै सबै पछि लाग्यौं ।

    फेरी उही अघिको उकालोलाई ओरालो पार्दै ओर्लियौं । पहाडको फेदीमा लुकाएको कटहर र काँक्रो बेलुका खानुपर्छ भन्दै बाँडेर बोक्यौं । करिब ४५ मिनेटको तेर्साे बाटोपछि थोरै जङ्गलको झाडी हुँदै पुगियो त्यहाँ । उचाइ पनि कम भएको र तल समुन्द्र किनार भएकोले सबैले आँट गरेपछि फलामका किलामा डोरी बाँधेर तयार गरे आयोजकहरूले । करिब साँझ पर्नै लाग्दा पालैपालो र दोहोर्याई तल झर्दै गोरेटो बाटोबाट माथि उक्लियौं । अंग्रेजी भाषामा यसलाई ‘एफ सेलिङ’ भनिंदो रहेछ ।

    त्यसपछि सबैजना त्यो रातको बासस्थान तयार गरिएको ठाउँ पुइ ओ बीचको माथिपट्टिको समथलमा आइपुग्यौं ।

    आयोजक साथीहरुले सबैको लागि अलग–अलग प्लास्टिकका छाप्रा तयार गर्दा नेपालको दुर्गम सानो गाउँकै याद आयो । खानपानको बन्दोबस्त आयोजकको अर्काे समूहले गर्दै थियो, जो हामीसँग पदयात्रामा थिएनन् । सबैले नुहाइधुवाइ सकेपछि आ–आफ्नो टेन्ट देखाइदिए आयोजकले । अल्फा एडभेन्चरको यो पहिलो कार्यक्रम भएकोले सानो औपचारिक कार्यक्रम पनि रहेछ । दिउँसो कार्यव्यस्तताले पदयात्रामा सामेल हुन नसकेका तत्कालीन महावाणिज्यदुत केशवप्रसाद भट्टराई श्रीमती गीता भट्टराईसहित आइपुगे । हङकङकै पहिलो नेपाली कफी व्यवसायी वाई बी राई र केही अन्य साथीहरु पनि सामेल भए । उक्त कार्यक्रममा महावाणिज्यदुत भट्टराईलगायत सबैले अल्फा एडभेन्चरको व्यावसायिक सफलताको अग्रिम शुभेच्छा राखे । न्यूनतम शुल्क राखिए पनि व्यवस्थापन र सुविधा हेर्दा यो कार्यक्रम साथीहरुले नाफामुखी नभएर विज्ञापन अर्थात् प्रचार–प्रसारमुखी उद्देश्यले राखेका रहेछन् ।

    यसपछि भने लागियो खानपानतिर । थरीथरीका पोलेको मासु, टिमुरको छोप हालेको पीरो चटनी, बरफ पानीमा डुबुल्की मार्दै रहेका बियर र अन्य पेय पदार्थ । उता पुलाउ र आलुदममा तातो बाफ आउँदै थियो । दिनभरीको थकाइपछि बस् के चाहियो ! अन्त्यमा जङ्गलै बास्ना आउने पाकेको रुखकटहर ।

    दिनभरि त गज्जब रमाइलो तर त्यसरी टेन्टमा सुत्ने भने पहिलो अनुभव । ढोका बन्द गर्यो गर्मी; खोल्यो लामखुट्टेको टोकाइ, घाँस र माटोको बास्ना अनि कीराहरूको सङ्गीत । अझ नढाँटी भन्दा, टाउकोमा तकिया पर्यो कि घुर्न शुरु भइहाल्ने एक–दुई छिमेकी भएपछि त अलि गाह्रै भयो निदाउन । तर, जीवनमा पहिलो पटक जमिनमाथि र खुला आकाशमुनि सुतेको पहिलो अनुभव अनौठोमिश्रित आनन्दित नै रह्यो । बिहानी पख निदाइएछ । उठेर तयार हुँदा चियादानीमा उम्लदै गरेको चिया, पाउरोटी, अण्डा, ससेज र अन्य परिकारहरु तयार थिए । बिहानीको खाजापछि आयोजक उद्यमी साथीहरुलाई विशेष धन्यवाद दिंदै रमाइलो अनुभव सङ्गालेर मुई ओ को पानीजहाजतिर लाग्यौं ।

    अहिलेको महामारीमा अन्तरदेशीय पर्यटकको सम्भावना न्यून देखिन्छ अझै लामै समयसम्म । हङकङमा वैध रूपमा दर्ता गरेर चलाएका अनुभवी ट्राभल एजेन्सीका उद्यमी मित्रहरुले कतै यस्तैखाले र अन्य परियोजना शुरु गर्नतिर सोच्ने समय आएको पो हो कि ! अझ व्यवसाय शुरु गरेदेखि नै राष्ट्रिय ध्वजावाहकप्रति इमान्दार हङकङका पर्यटन उद्यमीहरुलाई अहिलेको आपतकालमा पनि काठको भुरूङ घुमाएझैं घुमाएको सबै हङकङे नेपालीहरूले सुनेको, बुझेको र अनुभव गरेको कुरा हो । यसबारेमा एउटा खोजमुलक स्टोरी लेखौंला पछि ।

    १२ वर्ष बितेछ । त्यतिबेलाका आयोजकमध्ये गणेश इजम बेलायतबासी भएको धेरै भयो, सामाजिक सञ्जालमा कुरा हुन्छ । हेम राई हिमालयन एक्सप्लोरमै दौडधुपमा व्यस्त देखिन्छन् । आक्कल–झुक्कल तुङचुङ जाने बसमा भेट हुन्छ । जोर्डन सबवेको मुखैमा अल्फा मनि एक्सचेन्जमा ललित आङबुहाङसँग भने अक्सर ‘सेवारो’ आदान–प्रदान हुन्छ, मेरो दैनिकीको बाटो पर्ने भएकोले । म भने यिनै पुराना तस्वीरहरु खोज्दै यात्रा–संस्मरणको कथा बुन्नमा रमाइरहेछु आजकल ।

    -तस्बिर: प्रकाश केसी ।

  • कमेन्ट गर्नुहोस्