पत्रकारिता यात्रा र एभरेष्ट
हङकङको एक मात्र अग्रणी नेपाली मिडिया एभरेष्ट खबर मासिकको कार्यकारी सम्पादकको नयाँ जिम्मेवारी थपियो । २५ वर्षको मेरो पत्रकारितामा मैले लामो समय काम गरेको नेपालको हिमाल मिडिया र यो एभरेष्ट मिडिया नै हो । करिब डेढ दशक नेपाल संयोजक रहेको एभरेष्ट मिडियामा पुनः नयाँ जिम्मेवारी सहित आवद्ध हुँदा मेरो पत्रकारिता र एभरेष्ट सँगको लामो यात्रा सम्झिरहेको छु ।
सन् २००४ मा एभरेष्टकै निमन्त्रणामा पहिलोपटक तेस्रो मुलुक यात्राको शुरूवात भएको थियो, हङकङबाट । सन् २००० मा एभरेष्ट दैनिक पत्रिकाको रुपमा शुरू हुँदा म धरानमा रहेर पत्रकारिता गरिरहेको थिएँ । त्यसबेला राजकुमार दिक्पाल, आनन्द राई सहित ठूलो टीम रहेको एभरेष्टको कार्यालय काठमाडौंमा थियो । धरानमा रहे पनि एभरेष्ट सँगको सामिप्यता त्यहिबेलादेखि नै थियो । त्यसो त हङकङबाट एभरेष्ट प्रकाशन गर्नुभन्दा ४ वर्षअघि नै किसन राई धरानमा ज्ञानोदय पुस्तक पसल, ज्ञानोदय बोर्डिङ स्कूल चलाउँथे । पुस्तक पसलको नियमित पाठकमा दिक्पाल दाई र म नियमित पुग्थ्यौं । किसन दाईसँगको धरानको चिनजान र संगत पनि एभरेष्ट सँगको सामिप्यताको कारण थियो । त्यसैले पनि साप्ताहिक भएपछि १२ वर्षसम्म लगातार नेपाल संयोजकको रुपमा रहेर एभरेष्टको यात्राको सहयात्री रहें । पटक–पटक हङकङ आएर नेपाली मुलधारका मिडिया हिमाल खबरपत्रिका र नेपाली टाइम्स मा नेपाली समुदायको नेपाली पहिचान, सफलता, जीवनशैलीबारे रिपोर्टिंङ मात्र होइन हङकङेली नेपालीको जीवनशैली, काम र नेपाल प्रेमलाई दृश्यमा कैद गरेर १० वर्ष अघि वृत्तचित्र पनि बनाएँ । जुन एभरेष्ट र यहाँको नेपाली समुदायको सहयोगविना सम्भव थिएन ।
संवत् २०५२ मा धरानबाट पत्रकारिता थाल्दादेखि नै धरानेको हङकङ प्रवासन देखेको थिएँ । सन् १९८३ भन्दा अघि हङकङमा जन्मिएका पूर्व ब्रिटिश गोर्खा सैनिकका सन्तानहरुले स्थायी बसोबासको अधिकार (राइट अफ अबोर्ड) पाउने कानून बेलायती शासनको उत्तराद्र्ध (सन् १९९४) मा बनेपछि हङकङमा नेपालीको बाक्लो उपस्थिति हुन थालेको हो । सन् २००४ तिर धरानमै रहेर हङकङको रिपोर्टिङ गरेको केही समयपछि म ललितपुरको पुल्चोकमा रहेको हिमाल को कार्यालयमा पुगेको थिएँ । हिमाल खबरपत्रिका का तत्कालीन सम्पादक राजेन्द्र दाहालसँग हङकङको एउटा रिपोर्टको प्रस्ताव गर्दा उहाँबाट आएको जवाफले नै मेरो पत्रकारिताले रिपोर्टिङका लागि विदेश यात्राको बाटो तय गरेको थियो । “धरानमा बसेर के हङकङको रिपोर्ट लेख्छौ ? आफैं हङकङ गएर लेख्नु अनि मज्जाले छापौंला”, त्यसबेला दाहालले भनेका थिए । एभरेष्ट पत्रिका र हङकङमा भएका धरानेसँग राम्रो सम्पर्क भएकाले यो असम्भव जस्तो लागेन । प्रकाशक/सम्पादक किसन दाईलाई प्रस्ताव राख्दै कसरी हङकङ पुगेर त्यहाँका नेपालीबारे रिपोर्टिङ गर्न सकिएला भनेर छलफल भयो । केही समयपछि एभरेष्ट मिडियाले कार्यक्रमको आयोजना ग¥यो । २०६१ मंसीरमा जनगायक रामेशको सांगीतिक कार्यक्रम र हाम्रो नेपाली फोटो प्रदर्शनी सहितको कार्यक्रम भएको थियो । त्यहिबेला एभरेष्टले आयोजना गरेको आधारभूत पत्रकारिता, लेखन, रेडियो उद्घोषण र फोटोग्राफी प्रशिक्षणमा आप्mनो अनुभव बाँढ्ने मौका मिलेको थियो ।
पहिलो पटक हङकङ आएको १४ वर्षपछि अहिले आफैं हङकङ प्रवासनमा छु । ४ वर्षदेखि हङकङको जीवनशैलीमा अभ्यस्त हुँदैछु । पहिले आफैंले लगातार रिपोर्टिङ गरेको नेपालीहरुको समाजमा घुल्दैछु । वैदेशिक रोजगारमा खाडी, मलेशियादेखि युरोप–अमेरिकासम्म पुगेर रिपोर्टिङ गरेको अनुभव सँगालेर हङकङबाट नेपाल र संसार हेरिरहेको छु । अहिले पनि दैनिक ८ देखि १२ घण्टासम्म काम र विभिन्न व्यवसाय गरेर बच्ने थोरै समयमा नेपालीहरु संघसंस्था र सामाजिक कार्यदेखि कला–साहित्य, खेलकुद लगायतमा सक्रिय छन् । नयाँ पुस्ताका नेपालीहरुले उच्च शिक्षा अध्ययनसँगै सरकारी जागिरमा समेत पहुँच पु¥याउन थालेका छन् । हङकङको कमाइले नेपालको आफ्नो गाउँ–ठाउँमा उदाहरणीय कामसमेत गर्दै आएका छन् ।
२० वर्षभन्दा बढी समय पत्रकारिता गरेर आइपुगेको मेरा लागि हङकङ नयाँ थिएन । यहाँको नेपाली समुदाय पनि नयाँ थिएन । तर, बितेको ४ वर्ष मैले गरेको काम र संगत नयाँ रह्यो । किनकि यो बीचमा यहाँका बहुसंख्यक नेपालीसरह दैनिक १२ घण्टे निर्माण क्षेत्रको काममा लागें । मिडियाको कामलाई ‘पार्ट टाइम’ बनाएर ‘फुल टाइम’ कन्स्ट्रक्सन क्षेत्रमा लाग्दा नयाँ अनुभव संगाल्ने अवसर मिल्यो । यो बीचमा केही संघ–संस्था र चेम्बर अफ कमर्शको स्मारिका मेरो विशेष भूमिकामा प्रकाशित भए । अझ, आफ्नै पुस्तक ‘नेपाली प्रवासन: नियति र रहर’ पनि प्रकाशन भयो जसको ६ महिनाअघि एभरेष्ट ले नै हङकङमा विमोचन गरेको थियो । यही कारण पनि एभरेष्ट ले २०औं सथापनाको वर्षगाँठ मनाइरहँदा म पनि सँगै छु । सन् २००० अघि र पछि नेपाली समुदायको लागि भनेर अन्य पत्रपत्रिका निस्किए पनि दुई दशक लामो इतिहास बनाउने एभरेष्ट मात्र हो ।
हिमाल खबरपत्रिका मा डेढ दशकमा रिपोर्टरबाट समाचार संयोजक रहेर काम गर्दा मेरो मुख्य चासो नेपाली प्रवासन, युवा पुस्ता, अपराध, कला–साहित्य रह्यो । हङकङमा अबको मेरो पत्रकारिता नेपाली लाइफ यूट्यूब च्यानलसँगै एभरेष्ट मिडियामा हुनेछ । प्रवासी नेपाली माझ मौलाउँदो विभाजित मानसिकता चिर्दै र नेपाली एकताको पक्षमा विकृति र विसंगति विरूद्ध लाग्दै सामाजिक, सांस्कृतिक, भाषा एवं मौलिक पहिचानको संरक्षण र प्रवद्र्धनमा केन्द्रित हुनेछु । हङकङेली नेपाली समाजले सधैंझैं साथ दिनेछ भन्ने आशा छ ।