• त्रासदीमा हङकङ–नेपालका ती दिन

  •  

    कोभिड–१९ को महामारीका बेला नेपाल पुगेर लकडाउनमा परेकी बेथल हाई स्कूल युनलङकी १७ वर्षीया छात्रा सत्या गुरुङ को हङकङ–नेपाल अनुभव ।

    हङकङमा जन्मिए पनि नेपालको पोखराबाट प्राथमिक शिक्षा पूरा गरी ४ वर्ष अघि हङकङ आएकी हुँ । नेपालमा छँदा मामाघरमा हुर्किएँ । बाबाआमा हङकङमा भएकोले सबैले माया गरेर राख्नुभएको थियो ताकि मलाई आमाबाबाको अभाव महशुस नहोस् ।

    म यहाँ जतिसुकै सुखी, खुशी भए पनि नेपाललाई धेरै मिस गर्छु । त्यसैले नेपाल जान एकदम मन लागिरहेको थियो । माथि घर (बाबाको घर)को पनि याद आउँछ । पुरानो विद्यालयका साथीहरुलाई पनि धेरै मिस गर्छु । साथीहरुसँग छुटेर हङकङ आएदेखि भेट्न पाएकी थिइनँ । कहिलेकाहिं फेसबूकमा देख्दा कहिले भेटौं जस्तो लाग्थ्यो तर नेपाल जाने समय मिलिरहेको थिएन । सँगै पढेको खेलेको साथीहरुलाई छोडेर आउँदा साह्रै नरमाइलो लागेको थियो । नेपाल जाने मौका कहिले आउला भनेर सोचिरहेकी थिएँ । कोही साथीहरु नेपाल जाँदा म पनि जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

    हङकङको सकस
    कहिलेकाहिं सपनामा नेपाल पुगेको देख्थें । सपनामा नेपाल देखेपछि मलाई नेपालको यादले सताउन थाल्थ्यो । तर, भविष्य राम्रो बनाउन स्कूल र पढाइलाई ध्यान दिनुपर्छ, समय आएपछि गइहालिन्छ नि भनेर मन बुझाउँथे । मेरो जीवन यता शुरु भैसकेको छ, अब यतै आफ्नो करिअर अघि बढाउनुपर्छ । जिन्दगीमा सधैं एउटै सिधा बाटो गइराख्दैन रहेछ कहिलेकाहिं हिंडिरहेको बाटो बीचमै छोडेर अर्काे बाटो समात्नुपर्ने रहेछ । अनि, जिन्दगीको बाटोमा धेरै साथीहरु भेट्दै–छुट्टिंदै गर्दा रहेछन्, यो कुरा मैले बुझें ।

    १० कक्षामा पुगेको ३ महिना मात्र भएको थियो, क्रिसमस नजिकै आउँदै थियो । एक दिन अचानक समाचारमा चाइनाको वुहान प्रान्तमा कोरोनाभाइरसले मानिसहरु संक्रमित भएको कुरा सुनें । यो भाइरस जनावरबाट मानिसहरुमा फैलिएको हो भनिएको थियो । त्यसबेला १/२ वटा केस मात्र थियो । तर, फैलिने सम्भावना रहेको भनिएको थियो । त्यतिखेर यो समाचारलाई धेरैले गम्भीर रुपमा लिएनन् । वुहानमा फैलिएको भाइरसले हङकङमा खासै असर नगर्ला किनकि वुहानबाट हङकङ टाढै छ भन्ने लाग्यो मलाई पनि ।

    हामी क्रिसमस सेलिब्रेसन गर्न उत्साहित थियौं । डिसेम्बर २० को दिन स्कूलमा सिङगिङ कन्टेस्ट र क्रिसमस सेलिब्रेसनको कार्यक्रम थियो । हामीले स्कूलको ठूलो हलमा नृत्य प्रस्तुत गर्‍यौं । खुब रमाइलो भयो । दुई हप्ताको लागि क्रिसमस र नयाँ वर्षको बिदा भयो । बिदापछि तुरुन्तै हुने परीक्षाको तयारी गर्नु थियो ।

    त्यसयता वुहानमा देखिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिन थालिसकेको थियो । दिनदिनै समाचार सुन्थ्यौं, पढ्थ्यौं । विश्वभर नै फैलिइरहेको थियो । हङकङका मानिसहरु पनि यो भाइरसबाट संक्रमित हुन थाले । सबैजना कोरोनाभाइरसबाट डराउन थाले । सबै मिडिया र स्वास्थ्य विभागबाट कोरोनाभाइरसबाट बच्न र यसलाई छिटो फैलिन नदिन मास्क लगाउने, बारम्बार साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्ने प्रचारहरु हुन थाल्यो । बजारमा महंगीसँगै बेरोजगारी पनि बढ्न थाल्यो । संक्रमण बढेपछि सरकारले बोर्डर समेत बन्द गर्‍यो  ।

    हाम्रो अर्धवार्षिक परीक्षा हुन १ हप्ता बाँकी थियो । सबैको मनमा कोरोनाभाइरसको त्रास थियो । तर पनि म परीक्षाको तयारीमा लागें । हामीलाई हरेक दिन स्कूलको मेन गेटमा थर्मोगनले शरीरको तापक्रम नापिन्थ्यो । ज–जसको शरीरको तापक्रम ३७ डिग्रीभन्दा कम छ उनीहरु मात्र विद्यालयभित्र जान पाउँथे । त्यसैले बिहान शरीरको तापक्रम नाप्ने बेला एकदम डर लाग्थ्यो । स्कूलमा कसैलाई पनि कोरोनाभाइरसले छोएन । कोरोनाको डर मनमा राखेरै भए पनि मैले अर्धवार्षिक परीक्षामा राम्रै गरें । परीक्षा सकिएपछि जनवरी २२ बाट लुनार नयाँ वर्षको लागि २ हप्ता स्कूल बिदा थियो भने कोभिड–१९ विश्वभर तीव्र रुपमा फैलिइरहेको थियो । २ हप्ताको बिदापछि हङकङ सरकारले फेरि अरु २ हप्ता स्कूल सस्पेन्ड ग¥यो । त्यो २ हप्ता सकिंदानसकिंदै एजुकेसन ब्युरोले फेरि १ महिनाको लागि स्कूल बन्द गर्ने सूचना निकाल्यो । स्कूल बन्द भए पनि म ट्युसन क्लास लिन भने गइरहेकी थिएँ । बिदाभरी जताततै कोरोनाकै मात्र चर्चा, समाचार सुनिन्थ्यो । सबै मानिसहरु आत्तिएका थिए । त्यसबेलासम्म हङकङमा ६०० जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका थिए भने ४ जनाको यसैका कारण मृत्यु भइसकेको थियो । हङकङ सरकारले कोरोना महामारीको कारण अभिभावकहरुलाई आर्थिक भार कम होस् भनेर सबै विद्यार्थीलाई ३५०० डलरको लागि फर्म भर्न लगायो । कोरोनाभाइरस अझै बढ्न थालेपछि ३० मार्चदेखि चारजना भन्दा बढी जमघट नहुने, पार्टी गर्न नपाइने नियम लागू भयो । त्यसपछि सरकारले विद्यार्थीको सुरक्षाको लागि अझै २ महिना स्कूल बन्द गर्ने सूचना निकाल्यो । डीएसई परीक्षा पनि स्थगित भयो ।

    नेपालतिर लाग्दा
    धेरै नेपालीहरु स्कूल बन्दको समयमा नानीहरु लिएर नेपाल जान थाले । म पनि नेपाल जान नपाएको ४ वर्ष भइसकेको थियो । मेरो नेपाली नागरिकता पनि बनाउने समय भएको थियो त्यसैले मेरो आमाबाबाले पनि स्कूल बन्दको समयमा मलाई नेपाल पठाउने निर्णय गर्नुभयो । नेपाल जान पाउने कुरा सुनेर मेरो मन खुशीले रमायो । म यही चाहन्थें । तर, नागरिकता बनाउन र आफन्तसँग भेटघाट गर्न भनेर जम्मा १२ दिन मात्र नेपाल बसेर फर्किने टिकट बनाइदिनुभएछ बाबाले । १२ दिन मात्र भनेर मन अलि खिन्न भयो तर जेहोस् नेपाल त जान पाएँ भनेर खुशी नै थिएँ ।

    त्यसपछि मैले नेपालका साथीहरुको लागि भनेर चकलेट किनें, सबै सामानहरु प्याक गरें । जम्मा १२ दिन त हो भनेर २/४ जोर लुगा मात्र सुटकेसमा राखेर ५ मार्च २०२० को दिन हङकङ विमानस्थल पुगें । मलाई एयरपोर्टसम्म पुर्‍याउन आमा जानुभएको थियो भने नेपालसम्मको यात्राको लागि ठूलोफुपू साथमा हुनुहुन्थ्यो । मलाई कहिले नेपाल पुगौं भनेर हतार लागिरहेको थियो । ४ घण्टापछि हामी काठमाडौं पुग्यौं । भोलिपल्ट बिहानैको फ्लाइटमा पोखरा उड्न तयार भयौं । उडेको २५ मिनेटमा पोखरा पुग्यौं । ४ वर्षपछि नेपाल अनि पोखरा टेक्न पाउँदा एकछिन त सपनामा छु कि झैं भयो, खुशीको सीमा थिएन । विमानस्थलबाहिर मेरो ममीबजैसहित आफन्तहरु लिन आउनुभएको थियो । धेरै समयपछि भेट हुँदा हामी सबै खुशी भयौं ।

    मामाघर पुग्नेबित्तिकै दलानमाथि गएर ठूलो–ठूलो पहाड हेरें र यति खुशी भएँ कि शब्दमा व्यक्त गर्नै सक्दिनँ । त्यसपछि साथीहरुलाई भेट्न गएँ । हामीहरु एकअर्कालाई देखेर मख्ख पर्‍र्यौं । साथीहरु त अहिले स्कुटर, बाइक चलाउने भइसकेका रहेछन् । मलाई चढाएर पोखरा घुमाए जहाँ हामी पहिला घुम्थ्यौं । खानेकुरा खायौं र घर फर्कियौं । घर पुगेपछि मामा र बजैसँग सँगै खाना खाएर रमाइलो कुराकानी गर्‍यौं ।

    त्यसपछिको समयमा आफन्त र छिमेकीहरुसँग भेटघाट गरें । त्यसपछि पुरानो स्कूलको साथीहरुसँग भेट्ने ठूलो इच्छा थियो कोही साथीहरुसँग भेट भयो कोही भएनन् । बाबाको गाउँ–घर पनि पहिलोपटक गएँ । परिवारका सबैले माया गर्नुभयो, आर्शीवाद दिनुभयो । हङकङबाट नेपाल आउनुको मुख्य काम त नागरिकता बनाउनु थियो । वडा, जिल्ला, फेरी वडा गर्दै बल्लतल्ल मेरो नेपाली नागरिकता हङकङ फर्किने १२ दिने टिकटको अघिल्लो दिन मात्र बन्यो । त्यसैले टिकट थोरै दिनको लागि बढाएँ ।

    यो १२ दिनभित्रमा त कोरोनाभाइरस दुनियाँभर फैलिसकेछ, हजारौं मानिसको मृत्यु भइसकेछ ! नेपालमा पनि कोरोनाभाइरसको दोस्रो केस भेटिएपछि नेपाल सरकारले ११ चैत २०७६ (२४ मार्च २०२०) देखि १० दिनको लागि पूरै देश लकडाउन गर्‍यो । विमानस्थल त अझ त्यसको केही दिन अघिबाट नै लक्ड गरिसकेको थियो । १० दिनपछि लकडाउन खुल्छ होला भन्ने आशा गरेकी थिएँ । तर, नेपालमा दिनदिनै कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि लकडाउन खुल्ने कुनै संकेत थिएन । मानिसहरुलाई घरायसी सरसामान किनमेल गर्न समेत समस्या हुन थाल्यो । कुनै दोकान एकछिनको लागि खोल्यो भने मान्छेहरु एकझुत्तै भएर किन्न पुग्थे र दोकान एकैछिनमा खाली गराइदिन्थे । पहिला हङकङमा मास्क सर्टेज हुँदा हङकङका मानिसहरु नेपालबाट मगाउँथे अब त नेपालमै मास्कको भाउ बढाएर एकदम महँगो त्यो पनि किन्न नपाउने ∕ मानिसहरुलाई बाहिर हिंडडुल गर्न बन्देज भयो । बाइक, स्कुटर आदि चलाएको भेटेमा प्रहरीले गाडी नै लैजान्थ्यो ।

    नेपालमा दिनदिनै कोरोना संक्रमित बिरामीको संख्या बढ्न थालेपछि त लकडाउन खोल्ने कुरा नै हरायो । दिनदिनै कोरोना पोजेटिभ केसहरु बढेको समाचारले मानिसहरु सबै डराएका थिए । कोरोना परीक्षण गर्ने टेष्ट किट, व्यक्तिगत सुरक्षाको लागि लगाउने पीपीई सेट आदि जस्ता सामानको अभावले बिरामीले उपचार नपाएको समाचार आइरहेको थियो । नेपाल सरकारले भने कोरोना नियन्त्रण र उपचारमा अर्ब–अर्ब खर्च गरेको कुरा गथ्र्यो । लकडाउनले मानिसहरुलाई धेरै अप्ठ्यारो परिरहेको थियो । मानिसहरु काठमाडौंबाट हप्तौं पैदल हिंडेर भोकभोकै घर फर्किंदै थिए । नेपालका सबै जनता लकडाउनले आजित भइसकेका थिए । जनताहरु सरकारसँग रिसाएर त्यो अर्बौं पैसा खोई ? भन्दै सडकमा आएका थिए ।

    हङकङ फर्कने छटपटी
    मेरो बिहानभरी क्लास र दिउँसोभरी गृहकार्य गर्दै दिन जान्थ्यो । अलिकति समय मिलाएर एकछिन साथीहरु भेट्थें कहिलेकाहिं । त्यसरी नै एक महिना बित्यो । त्यसपछि कान्छा बाबाले मामाघर पुर्‍याइदिनुभयो । त्यसपछि त मैले साथीहरुलाई भेट्न पनि पाइनँ । कोही गाउँ पुगेका थिए, कसैको घर टाढा थियो ।

    मुख्य सडकहरुमा साँझ पर्नासाथ प्रहरीको गाडी आउँथ्यो । गल्ली र चोकहरु सबैतिर चेक गर्थे । घरभित्र बस्दा–बस्दा दिकदारी लाग्थ्यो एकछिन चोकसम्म निस्के पनि प्रहरीहरु नै बसेका हुन्थे । अनि तुरुन्तै घर फर्किहाल्थें । बजारमा सबै सामानहरु कमी भइसकेको थियो । कोरोना संक्रमित बिरामीहरुको संख्या दिनप्रतिदिन बढेको बढ्यै थियो । मलाई त एकदम सकस लागिसकेको थियो । जाडो बेलामा १२ दिनको लागि भनेर नेपाल आएकी थिएँ । लकडाउनमा फँसेर गर्मी मौसम शुरु भइसकेको थियो । भएका २/४ जोर लुगाहरु पनि जाडोमा लगाउने बाक्ला थिए ।

    २ महिनाभरि मेरो दिनचर्या यसरी नै बित्यो । त्यसपछि त एकदम दिक्क लाग्न थाल्यो, थकाइ पनि लाग्यो । त्यसैले, शनिबार–आइतबार नजिकका साथीहरुसँग भेट्ने र घरैमा विभिन्न परिकारहरु बनाएर खाने गथ्र्यौं । बाहिर जाउँ भने लकडाउन थियो, प्रहरीले रोकिहाल्थ्यो । अत्यन्तै महत्वपूर्ण काम परे मात्र जान दिने नत्र नदिने गथ्र्यो ।

    हङकङमा कोरोना संक्रमण संख्या कन्ट्रोल हुँदै थियो । हरेक दिन पोजेटिभ केस शून्य–शून्य हुँदै गएपछि २७ मे बाट सिनिअर सेकेन्ड्रीको हाफ डे स्कूल शुरु हुने भयो । पहिला त सबै साथीहरु अनलाइनमै पढिन्थ्यो । विद्यालय शुरु भएपछि पनि केही विद्यार्थीहरु हङकङ बाहिर भएकोले अनलाइन क्लास जारी नै रह्यो । कोही नेपालबाट, कोही इण्डिया, कोही पाकिस्तानबाट । हङकङ बाहिर रहेकाहरु अनलाइनमा हुन्थ्यौं भने बाँकी साथीहरु कक्षामा हुन्थे । जेहोस्, पढाइ ठिकै भइरह्यो ।

    हङकङभन्दा पनि नेपालमा कोरोनाको खतरा बढ्दैथियो । लकडाउनमा फँसेको २ महिना भइसकेको थियो । मेरो बाबाआमा साह्रै चिन्तित हुनुहुन्थ्यो । नेपालमा लकडाउन खुलेको थिएन र अन्तर्राष्ट्रिय हवाइ उडान हुने पनि सम्भावना नै थिएन । म जस्तै सयौं मानिसहरु लकडाउनमा फँसेका थियौं । पहिला रहरले अहिले करले नेपालमा बस्नुपरेको थियो ।

    मामाघरको ठूलोबारीमा बजै दिनभरी के–के रोप्न, खन्न जानुहुन्थ्यो । बारीमा गोलभेंडा, प्याज, अदुवा, बन्दा, खुर्सानी, मकै, साग, लसुन, धनियाँ, बेलाउती, मेवा र अरु पनि के–के फलेका थिए । हामीले १ महिना जति त बारीकै अर्गानिक सब्जी खायौं । बेलुकी कहिलेकाहिं बजैलाई खाना पकाउन सघाउँथे । बिहान चाहिं मेरो अनलाइन क्लास हुने हुनाले बजैले नै खाना पकाउनुहुन्थ्यो । मामाले घरमा कुखुरा पाल्नुभएको छ । कुखुराको दाना लिन चाहिं बजै नै जानुहुन्थ्यो ।

    लकडाउनमा फँसेका र हङकङ फर्किन चाहने मानिसहरु नेपालमा धेरै रहेछन् । फ्लाइट नखुलेपछि चार्टर प्लेनमा मात्र हङकङ फर्किन सकिने भएकोले हङकङ जाने मानिसहरुको जति धेरै नाम जम्मा गरेर हङकङ इमिग्रेसनमा पठायो, त्यति नै छिटो जानसक्ने सम्भावना छ भन्ने सुनेपछि एनआरएनए, हङकङको अध्यक्षलाई सबैले आ–आफ्नो आईडी, फोन नम्बर, पासपोर्टको फोटोकपी सक्दो चाँडो पठायौं । उहाँहरुले नेपाल सरकारसँग अनुमतिको लागि प्रयास गर्दै हुनुहुन्थ्यो ।

    टिकट पनि महंगो थियो । एकजनाको वान वे को टिकटको ६३ हजार रुपैयाँ भनिएको थियो । ९ मे मा उड्छ भनेको प्लेन १२ मे लाई सारिएको थियो । फेरि सारेर २२ मे मा उड्ने भनिएको प्लेनको टिकट त २१ मे सम्म पनि आउँदैन ∕ सबै रिसाएर पैसा फिर्ता माग्न थाले । त्यसपछि फेरि १ जुनलाई स¥यो । टिकटको रकम पहिलाभन्दा २२ हजार रुपैयाँ बढी थप्नुप¥यो । त्यसपछि भने हङकङ उड्ने पक्का भयो ।

    साथीहरुसँग बिदा माग्नको लागि भेट्न गएँ । नरमाइलो लाग्यो । यता विद्यालय शुरु भैसकेको थियो । हङकङ फर्किन टिकट लिनेहरुमध्ये १ जुनमा ३०० जना मात्र जान पाए । बाँकी मानिसहरु धेरै रिसाए । हामी भने भोलिपल्ट काठमाडौं जाँदै थियौं र त्यही दिन बेलुका उडान थियो । बिहान बजै र मामासँग बिदा हुँदा असाध्यै नरमाइलो लाग्यो । काठमाडौंतिर लाग्दा लकडाउनको कारण बाटो खुल्ला थियो । हामी ४ बजेतिर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्यौं । मानिसहरुको एकदम हुल थियो । १ जुनको राती ३ वटा उडान थिए । म पहिलो उडानमा परें । हङकङ आइपुग्नासाथ सबैजनालाई छुट्टाछुट्टै ठाउँमा टेष्ट गराइयो र विमानस्थलबाट नै गाडीमा राखेर १४ दिनको लागि साटिन क्वारेन्टाइन सेन्टरमा पुर्‍याइयो ।

  • कमेन्ट गर्नुहोस्