पूर्व–पश्चिम जोड्ने सेतू
हङकङमा रहेका नयाँ पुस्ताका नेपाली बालबालिका र युवायुवतीले आफ्नो भाषा र संस्कृति बिर्संदै गएकोमा यहाँको नेपाली समुदाय चिन्तित छ । तर यही हङकङमा पूर्व र पश्चिम नेपालका केही युवायुवती मिलेर ‘हङकङ नेपाली डान्स ग्रुप’ खोलेर नेपाली संस्कृतिको प्रदर्शन र संरक्षण गरिरहेका छन् ।
प्रिती गुरुङ ८ वर्षको उमेरमै नेपालको पोखराबाट हङकङ आइन् । त्यसबेला उनलाई नेपाली संस्कृति त के नेपालकै बारेमा खासै थाहा थिएन । उनलाई आफू पोखराकी हुँ भन्नेसम्म थाहा थियो ।
हङकङ आएर प्राईमरी लेभलसम्म पढ्दा पनि नेपाली संस्कृति बुझेकै थिइनन् । हाईस्कूल पढ्दा भने उनी डान्स ग्रुपमा आबद्ध भइन् । नृत्यमा उनको रुची थियो । स्कूलकै सिनियरहरुले पनि नेपाली नृत्य सिकाउँथे । प्रितीले पनि त्यहीं सिक्ने मौका पाइन् । नृत्यमा रुची बढ्दै गएपछि उनी तमु सांस्कृतिक परिवारमा आबद्ध भएर नाच्न थालिन् । अहिले ‘हङकङ नेपाली डान्स ग्रुप’मा आबद्ध भएर आफ्नो नृत्यकला मार्फत् नेपाली संस्कृतिको प्रबद्र्धन गरिरहेकी छिन् । उनी भन्छिन्, “सानैमा यहाँ आएकोले मलाई नेपाली कल्चरबारे कम थाहा छ तर यो ग्रुपमा आएपछि धेरै कुरा सिकेकी छु । नयाँ पुस्तालाई पनि सिकाउन चाहन्छु ।”
पोखराकै सजना गुरुङ पनि ९ वर्षको उमेरमा २००३ तिर हङकङ आएकी थिइन् । उनलाई अहिले पनि नेपाली भाषा राम्रोसँग बोल्न आउँदैन तर नेपाली गीतहरुमा छमछमी नाचेर रमाउँछिन् अनि अरुलाई पनि रमाइलो बाँड्छिन् । हङकङमै पढेकी, बढेकी सजनालाई पहिला मामाहरुले पार्कमा नृत्य सिकाउँथे । विस्तारै नृत्य उनको प्यासन बन्न थाल्यो । उनी तमू सांस्कृतिक परिवारमा आबद्ध भएर नाच्दानाच्दै हङकङ नेपाली डान्स ग्रुपमा आइपुगिन् । भन्छिन्, “आफ्नो संस्कृति बुझ्न र अरुलाई देखाउन पाउँदा खुसी लाग्छ । नयाँपुस्तालाई पनि सिकाउन चाहन्छु ।”
हङकङ नेपाली डान्स ग्रुपका १४ सदस्य ।
यो ग्रुपमा प्रिती, सजनासँगै श्रीप्रसाद गुरुङ, सुनिता गुरुङ, सन्ध्या गुरुङ, प्रिन्सिका गुरुङ, धनुष गुरुङ, शुकु लिम्बू, थमिर गुरुङ, गणेश गुरुङ, विपिन गुरुङ, जोन गुरुङ, किशोर गुरुङ र धीरज लिम्बू गरी १४ जना तथा एलिना गुरुङ (हाल बेलायत) सदस्य छन् । पहिला उनीहरु विभिन्न समूह र व्यक्तिगत रुपमा नृत्य गर्थे । सन् २००९ मा हङकङमा ‘फियोना डान्स आइडल’ आयोजना भएको थियो । त्यसबेला भेट भएका पूर्व र पश्चिमका नृत्यकारहरुले छुट्टाछुट्टै भन्दा एउटै समूहमा रहेर नेपाली सांस्कृतिक नृत्यलाई चिनाउने सल्लाह गरे । त्यसपछि सन् २०१४ मा स्थापना भयो ‘हङकङ नेपाली डान्स ग्रुप’ । सन् २०१७ मा औपचारिक रुपमा दर्ता भएको यो समूहले हङकङमा भएका ठूला नेपाली अवार्डहरु नेफ्टा र इन्फामा नेपाली संस्कृति प्रदर्शन गरे । त्यससँगै नेपथ्यका कार्यक्रम, पूर्व र पश्चिमका संघ–संस्थाहरुले गर्ने विभिन्न कार्यक्रमहरुमा आफ्नो कला प्रदर्शन गरिरहेका छन् ।
यो समूहले नेपाली कला, संस्कृति नयाँ पुस्तामा पुर्याउन र स्थानीय कलाकारहरूको प्रतिभा प्रस्फुटनका लागि वर्षेनी गर्दै आएको ‘स्वप्न’ नामक कार्यक्रम उदाहरणीय रहेको छ ।
यही समूहकी शुकु लिम्बू हङकङको नेपाली समाजका लागि नेपाली नृत्य एकदमै महत्वपूर्ण रहेको बताउँछिन् । भन्छिन्, “हङकङमा बसेपछि चाइनिज वा अंग्रेजी बोल्छन् नानीहरु । आफ्नो समुदायसँग सम्पर्कमा रहन पनि अभिभावकहरु नेपाली डान्समा नानीहरुलाई ल्याउनुहुन्छ ।”
हङकङमा कन्स्ट्रक्सनको काम गर्ने पोखराका धनुष गुरुङ पनि यही समूहबाट नृत्य गरिरहेका छन् । आइतबार र अरु दिन कामबाट आएपछि बेलुकाको समयमा नृत्यलाई समय दिने उनी आफ्नो सानैदेखिको रुचीले पनि यहाँसम्म ल्याएको बताउँछन् ।
धरानका धीरज लिम्बू हङकङ आएको १० वर्ष भयो । बाल्यकालदेखि नै नाचगानमा हिंड्ने उनी धरानमा ‘अनाम नाट्य जमात’सँग आबद्ध भएर नृत्य गर्थे । सबै कुरा एकैपटक चटक्क छाडेर यहाँ आउँदा शुरुमा एकदमै गाह्रो भयो उनलाई । “जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै एकजना दाईलाई नाच्छ भन्ने थाहा थियो, यहाँ आएलगत्तै उहाँले एप्रोच गर्नुभयो,” उनी भन्छन्, “पहिलो स्टेज शो एउटा राम्रै सांस्कृतिक कार्यक्रममा गर्न पाएँ । त्यसपछि मेरो नृत्य मन पराउनेहरुले एप्रोच गर्न थाले । त्यहाँदेखि मेरो नृत्यकला यात्रा शुरु भयो ।”
यो डान्स ग्रुपले जात या क्षेत्रका हिसाबले होइन भाषा र संस्कृतिलाई प्राथमिकता दिएर काम गर्छ । शुरुमा नेपाली समाजमै पनि उनीहरुलाई ‘पुरानै तरिकाले नाची हिंड्छ’ भन्नेहरु अहिले उनीहरुले आफ्नो संस्कृति जोगाउने काम गरेकोमा खुशी छन् । यहाँका आउँदा पिंढीहरुले पनि सिक्ने अवसर पाइरहेका छन् । धीरज भन्छन्, “हामीलाई पहिला जसरी हेर्दैनन् नेपालीहरुले । चाइनिजहरुले पनि राम्रो रेस्पोन्स गरिरहेका छन् ।”
समूहका श्रीप्रसाद गुरुङ अरुका कार्यक्रमका लागि नाच्दा आयोजकको अनुरोधमा नेपाली, हिन्दी र अंग्रेजी गीतमा समेत नृत्य गर्ने गरे पनि ‘सांस्कृतिक नृत्य’ समूहको प्राथमिकता भएको बताउँछन् । पोखराको हिमाली सांस्कृतिक परिवारमा रहँदा चेतन कार्की, मिनबहादुर गुरुङ लगायतका गुरुहरुबाट सिकेको कला हङकङमा प्रदर्शन गरिरहेका उनी भन्छन्, “हङकङमा सांस्कृतिक रुपमा पूर्व–पश्चिम जोड्ने काम गर्न पाउँदा खुशी लागेको छ । धेरै मिहिनेत गरेर यहाँसम्म आएका छौं । अभिभावकहरुको साथ पाइरहे अझै अगाडि बढ्नेछौं ।”