• हङकङले जातिवादीमा बदलेको ‘म’

  •  

    झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर हङकङका लागि नेपाली कन्सुल जनरल भएर आउने पक्का भएको छ । यो ठूलो कुरा होइन र हो पनि । होइन, यस मानेमा कि हङकङमा नेपाली कन्सुल जनरल यो भन्दा पहिला सात जना आइसकेका छन् र यो नियमित प्रक्रिया हो । रानामगर पहिलो आदिवासी जनजाति मूलका नेपाली कन्सुल जनरल भएर आउँदैछन् त्यसकारण यो ठूलो कुरा हो । उनको नियुक्तिसँगै क्रम भंग हुँदैछ । २३ वर्षसम्म बाहुन समुदायबाट मात्रै कन्सुल जनरल भएर आए, नेपालको निजामति कर्मचारीमा सहसचिव अरु जातका नभएजस्तै एउटै जातिका मात्र !

    यी हरफहरु लेखिरहँदा म नोस्टाल्जिक भइरहेछु । २० वर्ष अघिको किसन राई म नै हुँ ? आफैंलाई प्रश्न गर्छु । सावित्री प्रावि सतिसालेका धनबहादुर कार्की र यज्ञ शर्मा, सार्वजनिक निमावि डाँगीका शंकर घिमिरे र पुष्प खड्का, शिक्षा सदन मावि धरानका गोकुल दाहाल र राजेन्द्र न्यौपाने अनि महेन्द्र बहुमुखी क्याम्पस धरानका तुलसी गौतम र चित्रबहादुर कार्कीलगायतका हितैषीहरुको सम्झना झलझली आइरहेछ ।

    २०४८ सालमा धरानको सैनिक भवनमा सम्पन्न किरात राई यायोक्खाको एक कार्यक्रममा तत्कालीन आवासमन्त्री बलबहादुर राईबाट आजीवन सदस्यता प्रदान गर्ने भएपछि साथीहरुले लिनुपर्छ भन्दा जातीय संस्थाको सदस्यता लिन संकोच लागेको थियो । त्यही ठाउँमा अर्को कुनै दिन हङकङ राना सरले जनजाति उत्थान मञ्चको सदस्यता कटाउनु हुँदा पनि उस्तै अप्ठ्यारो लागेको थियो ।

    त्यसैताका नेपाल कम्युनिष्ट पार्टी (एमाले) धरान १५ वडा कमिटीको आयोजनामा खोरिया बस्तीमा राति सम्पन्न कार्यक्रममा दिएको प्रशिक्षणको झझल्को आइरहेको छ । उक्त सुकुमबासी बस्तीमा सल्लाहकार कृष्ण अधिकारी सर र सहसचिव म प्रशिक्षक रहेका थियौं । २४ को उमेरमा मैले भनेको थिएँ, “गरीब जातले हुँदैन, यहाँ हेर्नुस् बस्नेत दाइ पनि दाउरा बेच्नुहुन्छ र लिम्बू दाइ पनि दाउरै बेच्नुहुन्छ । … … … ।” कार्यक्रमबाट फर्कंदा बाटोमा कृष्ण सरले मेरो प्रस्तुति र उदाहरण दमदार र प्रभावकारी रहेको भन्नु हुँदै प्रशंसा गर्नुभएको थियो ।

    समकालीन साथीहरुका बच्चाबच्ची भइसक्दा मेरो बिहे भएको थिएन । कुटुम्बहरुको कुरा नआएको पनि होइन, ज्वाइँ बनाउन चाहनेका घरमा मेजमान पनि खाइएकै हो । तर मेरो मन सहजातीय बिहेमा जाँदै गएन । राईनी नै बिहे गरियो भने त प्रगतिशील भइएन नि ! मानिसको अन्तर्राष्ट्रिय जाति बनाउन हिंडिएको छ । त्यही भएर मगर्नी बिहे गरियो ।

    हङकङ आएपछि पनि शुरुवातमा त्यस्तै–त्यस्तै भएको थियो । सन् २००० मा यायोक्खाको अधिवेशन युनलङमै भयो म गइनँ, सदस्यता नै लिएको थिइनँ । त्यसैताका नेपाल आदिवासी जनजाति महासंघका तत्कालीन महासचिव बालकृष्ण माबोहाङ हङकङ आएका थिए, त्यही बेला भूपेन्द्र चेम्जोङलाई सचिव बनाउँदै अन्य जातीय संस्थाबाट पछि सदस्य थप्ने गरी हङकङ समिति गठन गरियो । मलाई उदेक लाग्यो, प्रवासको ठाउँमा को आदिवासी, को जनजाति ? हामी सबै नेपाली होइनौ र ! अझ आदिवासी जनजातिमूलको नेपाली महावाणिज्यदूत भन्दा त आफैंलाई काउकुती लाग्थ्यो ।

    समयसँगै हङकङमा शर्मा, भट्टराई, थापा, अधिकारी, खड्का, कार्की, ज्ञवाली, पौड्याल, पाण्डे, दाहालसँग चिनजान हुँदै गयो । उनीहरु मेरा नेपालका सखा धनबहादुर, यज्ञ, शंकर, पुष्प, गोकुल, राजेन्द्र, तुलसी र चित्रबहादुरजस्ता लाग्दै लागेनन् । बाहिर सबै मजस्ता नेपाली मात्रै छन्, महावाणिज्यदूतावासमा हुने कार्यक्रममा गयो अर्कै नेपाली मात्र देखिन्छन् । इण्डिया क्लबमा नेपाली एकता र संस्कार–संस्कृतिको जगेर्ना गर्न भनी आयोजित कार्यक्रममा ‘आचमनी’ गर्नै पाइएन हाम्रा सन्ततिले भुल्ने भए, त्यसका लागि मन्दिर बनाउन आवश्यक छ भनेर जोडदार कुरा उठाइन्छ ।

    यसै क्रममा लामो समय कार्यवाहक महावाणिज्यदूत भएर हेमलाल भट्टराई रहे । उनीसँग मलगायतको केमेस्ट्री राम्रै मिलेको थियो । उनीसँग लोकहार्ट रोड, सोहो, लङक्वाइफोङ निकै रात लठारिएर हिंडियो । उनको सरकारी निवासमा पनि त्यो बेला ‘सोसियल ग्यादरेसन’ निकै जम्थ्यो । उनले दशैंको आयोजना गरें । सँगै गएका उत्तरमान लिम्बू र गणेश इजमले टीका लगाएनन् तर मैले सोचें– मान गरेर बो’लाको छ, अपमान किन गर्ने ? टीका मात्र होइन, जमरा पनि लगाइयो ।

    संगत गर्दै गएको कावाज्यू त तीजको पनि आयोजना गर्न लागे । त्यो सम्म त ठिकै थियो, उनको दशैं र तीजमा गएपछि त अरुको उधौली, उभौली, ल्होछार–ल्होसार, चासोक, माघीमा आउनु पर्छ नि ! प्रमुखअतिथि बोलायो पटक्कै नआउने । महावाणिज्यदूतावासको कार्यक्रममा भीड लाग्नेहरुले ‘हिन्स’ भन्ने संस्था खोलेपछि त अरु सबै संस्था बन्द गर्नु पर्छ पो भन्छन् !

    त्यसपछि यायोक्खाको सदस्यता लिएर सक्रिय हुन थालें । सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष नै भएँ । आदिवासी जनजातिमूलको नेपाली महावाणिज्यदूत चाहियो भन्ने अभियानमा पनि लागें । ऐतिहासिक विरोध प्रदर्शनको संयोजन गर्ने काम नै गरें । त्यो मात्र होइन महासंघको अध्यक्ष भएर आन्दोलनको नेतृत्व नै गर्न लागें ।

    आन्दोलन परम्परागत ढंगले मात्र अघि बढाउँदा माग पूरा हुने नदेखेपछि नयाँ उपायको खोजीमा पनि लागें । आन्दोलन शुरु भएको १० वर्षपछि नेपालको सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने कामको अगुवाई पनि गरें । त्यसपछि पनि कहाँ–कहाँ राँटा रहे भन्ने अध्ययनमा लागें । यो पटक दोहोर्याएर जोत्ने क्रममा राँटा बिराइएन । त्यही भएर बाली सप्रिने छाँटकाँट देखिएको छ । यसो भन्दै गर्दा आन्दोलनका अग्रज र सहयात्रीहरुको योगदानको अवमूल्यन गर्न खोजेको पटक्कै होइन । उहाँहरुको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

  • कमेन्ट गर्नुहोस्