• एकादेशको कथा

  •  

    हङकङ छोडेको पनि एक दशक भइसकेछ । हङकङमा व्यतित गरेका ती दिनहरु (करिब १७ वर्ष) अब त एकादेशको कथा भइसके । तथापि, यौवनका उर्वर समय हङकङमा बिताएकोले होला एकादेशको कथाभित्रको यो पात्रले त्यो शहरलाई सायदै भुल्न सक्ला !

    नोभेम्बर १९९४, काईताक एयरपोर्ट, कौलुनमा ओर्लिएकी थिएँ पहिलोपटक । चेकलापकक एयरपोर्ट निर्माणपश्चात् काईताक एयरपोर्ट पनि अब एकादेशको कथा भइसक्यो । ऊ बेला, नेपालीलाई हङकङ आगमनका लागि भिसा खुला भएकोले एकाध आईडी बनाउन आउने बाहेक हङकङ—नेपाल व्यापार गर्ने नेपाली व्यापारीहरुको आगमन पनि प्रशस्तै हुन्थ्यो । वास्तवमा भन्ने हो भने आईडी बनाउनेहरुको उस्तो लर्को लागिसकेको थिएन, न त यो नक्कली आईडीको बिगबिगी शुरु भएको थियो । ऊ बेला सोझै अस्थायी आईडी पेपर दिने हुँदा हङकङ सरकारले नेपालीहरुलाई एकप्रकारले स्वागत नै गरेको थियो ।

    लर्को शुुरु भयो बिस्तारै, १९९५ पश्चात् आईडी बनाउन आउनेहरुको । केही चिनेका आफन्त त केही अपरिचित नेपालीहरुको भिड क्रमशः बढ्दै गयो । चुङकिङ मेन्सन, पारि हङकङको वान्चाइ (काम्कोक बिल्डिङ, चौकीबारी बिल्डिङ पनि भनेर चिनिन्थ्यो) काम्तिन, युनलोङ थोरबहुत याउ मा तेई, मंकक, सामसुई पो हुँदै चुनवानसम्म बसोबास बढ्दै गएको थियो । पछिल्लो समयमा ह्वात्तै जोर्डन र याउ मा तेईमा नेपालीहरुको बसोबास बढे पनि कौलुनको हुङ्गहोम, तुक्वावानमा भने अरू इलाकामा बसोबास गर्नेको तुलनामा नेपालीहरु यता कमै बसोबास गर्दथे ।

    तुक्वावानमा अधिकांश वर्षहरु बिताएपछि, पछिल्लो समय जोर्डन सरियो । त्यतिबेला अधिकांशले फ्लाट शेयर गरेर बस्थे । आईडी प्रोसेसमा अल्झिएर, कतिपय एकल युवाहरु बाध्यतावश खर्चको कमी या बचतका लागि, उनीहरु आफन्त या साथीहरुसँग कोचिएर बस्न बाध्य थिए । उता, नेपालमा आईडी धन्धा र दलालको चलखेल, यता हङकङमा अध्यागमनको रबैयामा परिवर्तन हुँदै गयो । काम पाउन भने उति गाह्रो थिएन ।

    शुरु, शुरुमा अल्लारे भएर होला हामीहरु फुर्सदको समयमा सामुन्द्रिक किनारमा कतै टहलिएका हुन्थ्यौं । कहिले कतै बिबिक्यूको धुँवामा रुमल्लिएका । त्यतिबेला गोर्खा क्याम्पहरु नउठिसकेकोले पारि हङकङको ‘पुसी क्याट’ डिस्कोथेकमा मामा भर्सेस भाञ्जा बार नै चल्थ्यो । शहर त्यही हो तर यतिबेला ‘पुसी क्याट’ को अस्तित्व त्यहाँ छैन । आइतबार बिदाको दिन सेन्ट्रल, चिम सा चुई, कौलुन पार्क अनि भिक्टोरिया पार्क जस्ता सार्वजनिक स्थलमा मस्त रमाइरहेका युवतीहरुको माझमा हाम्रा कर्मठ नेपाली मामा, दाजुभाइहरुको रसिक प्रसंगहरु सुन्नु अभ्यस्त बन्दै गइरहेका थियौं ।

    सन् १९९५ मा हङकङको मावन—चिङ्मा ब्रिजमा कार्यरत एक्स इञ्जिनियर्सका मामाहरूले आयोजना गरेको भव्य सांस्कृतिक कार्यक्रममा नेपालदेखि आमन्त्रित सहभागी कलाकारहरूका साथमा आयोजक । गोर्खा ब्यारेकमा हुने नेपाली कार्यक्रम बाहेक सम्भवतः यो नै पहिलो भव्य कार्यक्रम हो । दायाँदेखि हुम थापा (आयोजक), पवित्र सुब्बा (गायिका), लेखक (उद्घोषण), स्व. प्रवीण गुरुङ (संगीतकार), सारङ्गा श्रेष्ठ (नृत्याङ्गना), स्व. कृष्ण लिंखा (आयोजक), शम्भु राई (गायक), सुशील विश्वकर्मा (संगीतकार), राजेश पायल राई (गायक ) आदि ।

    ब्युँझाइदिन्छन् हङकङका प्रसंगहरुले अनेकन अध्याय । ‘चुङकिङ मेन्सन एक्लै नजानु, त्यो बदनाम ठाउँ हो’ सजग गराउँथे आफन्तहरुले, जो पहिल्यैदेखि हङकङ बस्दै आएका थिए । तर नेपालीहरुलाई चाहिने मसला, नेपालदेखि हुण्डीमार्फत् आएको पार्सल, कागजात आदि लिनु वा पठाउनु अथवा पैसा पठाउनु परे एक मात्र गन्तव्य यही चुङकिङ मेन्सन नै थियो । चुङकिङ मेन्सनको हाताभित्र आप्रवासीहरुमा भारतीयमूलका व्यापारीहरुको बाहुल्यता देखिए पनि सबै देशका व्यापारीहरु मिश्रित देखिन्थे । काला-जातिका अफ्रिकनहरुसँग प्रत्यक्ष साक्षात्कार पहिलोपटक यही चुङकिङमा भएको थियो । अफ्रिकन महिलाहरु प्रायः बडेमा साइजका बुट्टेदार पारम्परिक पहिरनमा चम्किला गहना लगाएका देखिन्थे । चुङकिङ मेन्सनमा सबै प्रकारका अनुहारहरु देखिन्थे । अहिले बुझ्दा; सांस्कृतिक विविधता त यो चुङकिङ मेन्सनभित्र पो रहेछ !

    नेपालीहरु अन्य आप्रवासी समुदायभन्दा भाषिक, आर्थिक एवं व्यापारिक प्रतिस्पर्धामा धेरै पछाडि थिए । अहिलेको जस्तो न त बगे्रल्ती नेपाली सामाजिक संस्थाहरु थिए । ‘केवल नेपालीका लागि’ नभनेर जिल्ला, थर, धर्म हुँदै राजनीतिक भातृसंस्थाहरुको सञ्जालमा दरिंदै गए विस्तारै हङकङेली नेपाली समाजभित्र । होला, आफ्नै धार्मिक-सांस्कृतिक मान्यताहरु, प्रवासमा आफ्नो जात—संस्कार अनुरुपको विधि गर्नका लागि आफ्नै समाज चाहिने होला ।

    सोही मानेमा, मानिसले आफूसँग न केवल आफैंलाई मात्रै लिएर जान्छन् अपितु अलिकति देशको माटो तर धेरै आफ्नो जात, थर, संस्कृति पनि लिएर जान्छन् क्यार !  जिल्लावासी, गाउँ-टोलको बिबिक्यू हुँदै ताईमोसनमा साकेला घन्किनु पनि यसरी नै शुरु भएको थियो । मंकी हिल सांस्कृतिक जमघटका लागि पयार्य बन्दै गयो । याउ मा तेईको हेनरी जी ल्योङ नेपालीहरुका लागि पायक र सुलभ पर्ने स्थान, करिब २० वर्षअघि नेपाली कार्यक्रमका लागि सोयिलक वर्कर शेर्ली यिपको सहयोगमा प्रथमपटक यो पात्रले बुक गर्दा यो हलको बारे नेपलाीहरु विरलैलाई थाहा थियो होला । चुनवान टाउन हल र युनलङको पुरानो हलमा कार्यक्रम हुने गर्दथे ऊ बेला ।

    हङकङ छोडेको दशक पुगेछ, एक मुक जिज्ञासा अझै मनभित्र अड्किएको छ, “सबै नेपाली मनहरु अटाउने नेपालीहरुको साझा सामुदायिक कार्यक्रम स्थल कौलुन सेरोफेरो बनिसक्यो कि, बनेको छैन होला ? प्रकृति—पूजक जनजाति, के हामी अहिले पनि ताई मो शान डाँडा र मंकी हिलमा नै सांस्कृतिक पर्व मनाउँदैछौं ?”
    हङकङ कहिल्यै ननिदाउने तर सपना देख्नेहरुको शहर ।

    जिजिविसाको ढाकर, गगनचुम्बी बिल्डिङजस्तै अग्लो सपना बोकेर हामी हङकङ आयौं ।

    एउटै फ्ल्याटमा बस्ने भाइले साधारण प्रसंगलाई पनि रोचक ढंगले सुनाउँथे, “कहिल्यै धरान नझरेकाहरु पनि यो आईडीकै कारणले काखीमा रातो भाले च्यापेर माथि पहाडदेखि बसमा बान्ता गर्दै ओरालो झरे । काठमाडौं हुँदै त्यसपछि हङकङ आइपुगे । त्यही रातोभाले बोकेर पहाडदेखि झरेकाहरुले अहिले, हङकङ डलर सोहोरेर नेपालमा बिल्डिङ खडा गरिसके । खै ! हामी शहर बसेर, बोर्डिङ स्कूल पढेर अनि इङ्गलिस पड्काएर केही नापिएन ।”

    शुरुताका, अधिकांशले भन्थे, “केही वर्ष कमाउने हो, अनि स्वदेश नै फर्किने हो ।” कवि आशा भुटिया लेख्थिन्, “टिफिनक्यारीमा खाँदिएको बासी भात जस्तै सपनाले खाँदिएको शहर” । उनको कविता जस्तै खाँदिएका सपनाहरु लिएर हङकङ आएका नेपालीहरु कति फिरे होलान् त मुलुक? कति मासिए पनि । केहीको मलामी गइयो ।
    परिवारसँगै आएका धेरै किशोर—किशोरीहरु मिश्रित-संस्कारमा हुर्किन बाध्य भए ।

    भन्नलाई हामी ‘छ फुट जमिन चाहिन्छ’ भन्छौं । ‘डिपेण्डेन्टको सिपेण्डेन्ट’ भन्थे कारोबारी केही चिनारूहरु । यो सिपेण्डेन्टको कारोबारले कति कित्ता जमिन किने कुन्नि ! कसरी बुझ्ने हो मान्छेका सपना र यो शहरलाई ? एउटा फलामको चिम्टा नउचालेकाहरुले आफ्नो वजनभन्दा गह्रौं प्यानल उचाले ।

    चिङ्मा पुलको लिफ्ट ।

    कवि देवेन्द्र खेरेश लेख्थे— ‘रुङ्गरी विनाको शहर’ अर्थात् सातो हराएको शहर । कंक्रिटको जंगलमा आकांक्षाहरुलाई आकार दिनु कहिलेकाहीं मुढेबल भएर मात्रै नहुने रहेछ । समय-परिस्थितिले निकै अहम् भूमिका निर्वाह गर्दो रहेछ । यस्तै यस्तै परिस्थितिहरुसँग जुझ्दै गर्दा, १९९७ पछि हङकङ चीनलाई हस्तान्तरण गरेपछि हाम्रो भविष्य अब के हुन्छ ? केही मनुवाहरु यस्तै अड्कलबाजीमा सातो हराएजस्तै अलमलिरहे । चनाखोहरु फाइल च्यापेर त्यही इमिग्रेसनको बिल्डिङ धाउँदाधाउँदै धनाढ्य भए ।

    समयान्तरमा; एक हुल नेपालीहरु बेलायती पासपोर्ट बोकेर बेलायत स्थानान्तरण गरे । कसैको प्रस्थानले, आगमन रोकिन्छ र ? मुख्य भूमि चीनको नाका हुँदै मछुवाराहरुको हिलाम्य डुंगाको कम्पार्टमेण्ट मुनि लुकेर दलाललाई रकम पोस्याउँदै नेपालीहरु यदाकदा हङकङमा भित्रि नै रहे ।

    यो पात्रले जीवनको अविस्मरणीय एउटा कालखण्ड हङकङमा नजिकदेखि देख्यो/भोग्यो । आफैंभित्र थन्किएका संस्मरणहरु बन्द अध्याय हुन् । पात्रहरु क्रमशः बन्द अध्यायदेखि बाहिर निस्किनुपर्छ शायद ।

    नत्र त, एकादेशको कथा बन्दोरहेछ ।

  • कमेन्ट गर्नुहोस्