हङकङको अस्पतालमा नेपाली डाक्टर
हङकङमा रहेका अधिकांश नेपालीहरु विशेषगरी निर्माण क्षेत्र, रेष्टुरेण्ट, सेक्युरिटी कम्पनीहरुमा कार्यरत छन् । केहीले व्यापार व्यवसाय पनि गरिरहेका छन् । डा. सुप्रभा महरा भने यहाँको कोङ्ह्वा अस्पतालमा डाक्टरका रुपमा कार्यरत छिन् ।
सानैमा कसैले ‘भविष्यमा के बन्ने ?’ भनेर सोध्दा सुप्रभा जवाफ दिन्थिन्- ‘डाक्टर’ । पढाईमा राम्रो गर्दै गएपछि आफन्तको अपेक्षा पनि डाक्टर बनोस् भन्ने नै थियो । अन्ततः उनी डक्टर बनिन् ।
कोङ्ह्वा हस्पिटलको आईसीयूमा कार्यरत सुप्रभाको दैनिकी निकै व्यस्त छ । कोरोना महामारीका कारण अहिलेको समयमा उनको व्यस्तता झनै धेरै छ । उनी काममा यतिसम्म व्यस्त छिन् कि, हालसम्म उनले फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु समेत प्रयोग गरेकी छैनन् । उनीसँग यो कुराकानी गर्न पनि तीन हप्ता पर्खिनु परेको थियो । हङकङमा औंलामा गन्न सकिने नेपालीले मात्र अंगालेको चिकित्सा पेशामा डा. सुप्रभा सक्रिय छिन् ।
काठमाडौं, कलंकीको एलआरआईबाट हाईस्कूल पढेकी उनले भारत पुगेर साइन्समा प्लस टु सकिन् । त्यसपछि चाइना गएर मेडिसिन पढिन् । चाइनाबाट फर्किएर नेपालमा इन्टर्नसीप गरिन् पाटन अस्पतालमा । नेपाल मेडिकल काउन्सिलको परीक्षा पास गरेर २ वर्ष काम पनि गरिन् ।
विशेषज्ञताका लागि अमेरिका जाने कि हङकङ भनेर उनी अलमलमा परिन् । दुवैतिर परिवार भएकोले उनी शुरुमा अमेरिका गएर लाइसेन्सको परीक्षा दिइन् । त्यहीबेला हङकङबाट आमाले यता पनि राम्रो छ भनेर बोलाएपछि यहाँ आएर परीक्षा दिइन् । अमेरिकाभन्दा हङकङमै पहिला रिजल्ट आयो । त्यसपछि यतै काम गर्न थालिन् ।
तीन वर्षदेखि हङकङ बस्दै आएकी उनी २ वर्षदेखि अस्पतालमा काम गरिरहेकी छिन् । उनकी आमालाई हङकङ साह्रै मन पर्छ । यहाँ बसेकै २० वर्ष भयो । आमाकै कारण उनले पनि अमेरिकाभन्दा हङकङ रोजिन् ।
भाषा नजान्दा समस्या
विशेषगरी बाहिरबाट पढेर आउनेहरुलाई भाषाका कारण यहाँ चिकित्सा पेशामा निकै गाह्रो छ । हङकङबाटै पढेकाहरुले आफ्नै स्कूलको इन्टरनल परीक्षा दिन्छन्, लाइसेन्सका लागि छुट्टै परीक्षा दिनु पर्दैन । बाहिरबाट आउनेलाई कडा लाइसेन्स परीक्षा हुन्छ । राम्रै पढेर आउनेलाई पनि ट्रान्सलेटर चाहिन्छ ।
ट्रान्सलेट गर्नु पर्ने वा नपर्ने दुवैलाई एउटै समय दिइएको हुन्छ । ट्रान्सलेटमा आधा समय जाने हुँदा उनीहरुले जम्मा आधा मात्र समय पाउँछन् । यस्ता कडा प्रतिष्पर्धामा पास भएपछि पनि बाहिरबाट आउनेलाई बिरामीको उपचार गर्दा उत्तिकै गाह्रो हुन्छ । क्यान्टोनिज भाषा राम्रोसँग नजान्दा बिरामीसँग कुरा गर्न गाह्रो हुन्छ । डा. सुप्रभा यस्ता सबै अप्ठ्यारा पार गर्दै चिकित्सा क्षेत्रमा सक्रिय छिन् । उनी भन्छिन्, “बाहिरबाट आउनेहरुलाई भाषा, संस्कृति फरक भएका कारणले यस्तो क्षेत्रमा काम गर्न गाह्रो हुन्छ । पहिला अरु कसैले यो क्षेत्रमा बाटो बनाएको भए हामीलाई सजिलो हुन्थ्यो होला ।”
उनलाई पनि सबैभन्दा ठूलो समस्या भाषाकै भयो । उनले शुरुमा इन्टरनल मेडिसिनमा ट्रेनिङ गर्ने सोच बनाएकी थिइन् । तर यसमा हरेक दिन बिरामीसँग बोल्नुपर्ने, बिरामीलाई जाँची राख्नुपर्ने हुँदा क्यान्टोनिज नजान्नेलाई समस्या हुने देखिन् । यस्तै कारणले आफूहरु जस्ताका लागि विशेषज्ञता पनि सीमित भएको उनको बुझाई छ । “भाषा नै आएन भने के जाँच्ने ? इथ्निक माइनोरिटिज बिरामी कति नै आउँछन् र !” भाषाकै समस्याले इन्टरनल मेडिसिन छाडेर आईसीयूमा लागेकी उनी भन्छिन्, “आईसीयूका बिरामी एकदमै सिकिस्त, कतिपय कोमामा हुन्छन् । उनीहरुसँग बोल्ने कुरै भएन । कसरी राम्रो व्यवस्थापन गर्ने भन्नेमा मात्र ध्यान हुन्छ ।”
आईसीयूमा काम गर्दा भने उनलाई भाषाका कारण खासै समस्या छैन । बिरामीसँग प्रायः बोल्नै पर्दैन, सहकर्मीहरु त अंग्रेजीबाटै बोलिहाल्छन् । सबै डकुमेन्टेसनहरु अंग्रेजीमै हुने भएकोले त्यसमा पनि समस्या भएन । उनी सुनाउँछिन्, “अहिले मेरो टीम अलि राम्रो छ त्यसैले सहज भएको छ । उनीहरुले ओपिडी पनि लैजान्छन्, कसरी गर्ने भनेर इन्करेज गर्छन् ।”
बिरामीको फरक व्यवहार
उनी नेपाली हो भन्ने थाहा पाए पनि सहकर्मीहरुले फरक व्यवहार देखाउँदैनन् तर कहिलेकाहीं बिरामीले चाहिं फरक व्यवहार गर्ने गरेको उनको अनुभव छ । अघिल्लो वर्ष इन्टर्नसीपमा काम गर्दा उनी हस्पिटल-हस्पिटल जानु पथ्र्यो । उनी बिरामीलाई ‘के भइरहेको छ ?’ भनेर सोध्थिन् । जसै गर्दा पनि उनको बोलीको लवज स्थानीय जस्तो मिलेको हुँदैन । बिरामीले थाहा पाइहाल्थे । त्यसपछि ‘कहाँको मान्छे हो ?’ भनेर सोध्ने । एकपटक यस्तै हुँदा उनले आफ्नो परिचय दिएपछि एकजना बिरामीले “मलाई चाइनिज डक्टर नै चाहिन्छ” भने । त्यतिखेर उनलाई साह्रै चित्त दुख्यो । तर उनका सहकर्मीले सहयोग गरे । उनी भन्छिन्, “दोस्रो पटक पनि ‘कहाँको मान्छे हो ?’ भनेर सोधे । त्यसबेला नर्सले आएर ‘जहाँको मान्छे भए पनि डक्टर हो’ भनेर भनेपछि मलाई साह्रै खुसी लाग्यो । एकदम सपोर्टिभ मान्छे रहेछ भन्ने लाग्यो ।”
नेपाली बिरामीहरु बिरलै भेटिन्छन् यो अस्पतालमा । उनी पहिला क्विन एलिजावेथ हस्पिटलमा गाइनोमा हुँदा भने नेपाली बिरामीहरु भेटिरहन्थिन् । उनीहरु नेपाली भाषा बोलेको सुनेर एकदमै खुसी हुन्थे । कतिले ‘नेपाली डाक्टर पो हुनुहुन्छ ?’ भनेर सोध्थे । डा. सुप्रभा भन्छिन्, “‘कहाँबाट हो, कहिलेदेखि गरिरहनु भएको छ ?’ जस्ता कुरा सोध्नु हुन्थ्यो । उहाँहरुले मलाई देख्दा एकदम गर्व गरे जस्तो फिल गरें ।”
हङकङको हेल्थकेयर सिष्टम एकदम राम्रो लाग्छ उनलाई । नेपालमा डाक्टरहरु राम्रा छन्, उनीहरुले सकेसम्म गर्छन् तर यहाँ जस्तो प्राविधिक उपकरणहरु कम छन् । यहाँ सिटिस्क्यान, क्याथ ल्याब, एमआरआईहरु ठाउँ-ठाउँमा एकदमै धेरै छन् । त्यसकारण चाहे अनुसारको उपचार गर्न सकिने तर नेपालमा गाह्रो भएको उनको अनुभव छ ।
यहाँका धेरैजसो प्यासेन्टहरु शुरुमा प्राइभेट हस्पिटलमा जान्छन् अनि अन्तिममा पब्लिकमै आउँछन् । ठूलाठूला प्रोफेसरहरु पब्लिकमा काम गर्छन् । यी हस्पिटलहरु रिसर्च, एकेडेमिक, टिचिङ हस्पिटल हुन्छन् । उनलाई ठूलो ठाउँमा तालिम गर्न मन लागेको कारण पनि यही हो । “मैले पनि त्यो टेक्नोलोजी देखेरै सिकौं । पछि नेपालमै फर्केर जाँदा पनि त्यसको नलेज होस् भन्ने लाग्छ,” उनी विशेषज्ञताका लागि हङकङ आउनुको कारण खोल्छिन्, “यहाँको हेल्थकेयर सिष्टम युनिभर्सल जस्तो छ । हङकङ आईडी होल्डरले न्यूनतम शुल्क मात्र तिर्नु पर्छ । त्यसमा बेडको मात्र पैसा तिरे पुग्यो- २/३ सय डलर । त्यसपछि सिटिस्क्यान गरे पनि जे गरे पनि थोरै पैसाको मात्र बिल आउँछ ।’
नेपालमा चाहिं गोजीको पैसाले सबै कुरा गर्नुपर्छ । त्यसैले प्यासेन्टले मेडिकल अफोर्ट नै गर्न सक्दैनन् । हङकङमा रहेका आईडी होल्डर नेपालीहरुले पनि यहाँको स्वास्थ्य सुविधा सस्तोमा पाउँछन् तर सबैलाई यस्तो सुविधाबारे थाहा नभएको डा. सुप्रभा बताउँछिन् । “अस्पताल जानेहरुले मात्र बुझ्नुभएको छ, बाहिर प्राइभेट र पब्लिकमा औषधिदेखि चेकअपसम्म कति फरक छ भनेर,” उनी नेपालीहरुलाई सुझाव दिन्छिन्, “नेपालीको बानी रेगुलर चेकअप गराउने हुँदैन । जबसम्म गाह्रो हुँदैन तबसम्म जाँदैनन् । तर रुटिन चेकअप गराइराख्नु पर्छ ।”
समाजसँग टाढा
“मेरो त विकेन्ड पनि छैन । सोसियल लाइफ पनि छैन । फेसबुक अकाउन्ट पनि छैन, इन्स्ट्राग्राम, विच्याट केही छैन । किनभने मसँग त्यसको लागि समय नै छैन ।”
कुराकानीका क्रममा डा. सुप्रभाले आफू सामाजिक जीवनबाट टाढा रहेको प्रष्ट पारिन् । उनले त्यसको कारण पनि बताइन्, “यहाँ जनसंख्याको तुलनामा डाक्टरहरु एकदमै कम छन् । त्यसमाथि यहाँ वृद्धवृद्धाको जनसंख्या बढी छ । यहाँका मान्छेहरु ८० देखि १०० वर्षसम्म बाँच्छन् । किनभने हेल्थकेयर राम्रो छ । उनीहरुलाई ट्रिट गरेको गर्यै हुन्छ । तर हाम्रो वर्कलोड एकदमै धेरै छ ।”
उनका अनुसार वर्कलोडका कारण हस्पिटलका डाक्टरहरु काम छाडेर प्राइभेटतिर जान्छन् । त्यसपछि उनी जस्ता नयाँलाई झन् तनाव हुन्छ । गत वर्ष इन्टर्नसीपमा हुँदा त उनले लगातार ३३ देखि ३६ घन्टासम्म काम गरेकी थिइन् । त्यस्तो बेला बचेको समयमा घर गएर सुत्ने मात्र हो । “त्यस्तो बेला दिक्क लाग्दैन ?” भनेर सोध्दा भन्छिन्, “फ्रस्टेड हुनु त स्वाभाविकै हो । सबैभन्दा बढी डिप्रेसनमा हुने नै डक्टरहरु हो भन्छन् !” उनी थप्छिन्, “सुरुका वर्ष गाह्रो हुन्छ तर पछि-पछि बानी बस्दै जान्छ । बिरामीको उपचार गर्दा उनीहरु खुसी भएको देखेर आफूलाई रमाइलो लाग्छ ।”
आफैंले भर्ना गरेका सिरियस बिरामी प्रोगेस हुँदै जाँदा उनलाई पनि धेरै खुसी लाग्छ अनि बिरामीको मृत्यु हुँदा दुःख । उनी चित्त बुझाउँछिन्, “यस्तै हो डाक्टरको जीवन ।”
यहाँको नेपाली समुदायसँग घुलमिल गर्ने इच्छा छ तर समय नभएकोले घुलमिल गर्ने अवसर पाएकी छैनन् उनले ।
यहाँ नेपालीको सानो समुदाय छ । यसलाई अघि बढाउने काममा आफू पनि लाग्ने चाहना छ । उनले कोसिस पनि गरेकी हुन् । तर अहिलेसम्म समय मिलाउन सकिनन् । उनी भन्छिन्, “गाह्रो छ तर असम्भव चाहिं होइन ।”
‘घरबाट बिहेको दबाव आएको छैन ?’ प्रश्न सकिन नपाउँदै उनी जवाफ दिन्छिन्, “कुनै दबाब छैन । आफ्नो खुसीको कुरा हो । बिहेका लागि त समय पनि हुनुपर्यो नि !” उनी हाँस्दै थप्छिन्, “पहिला डेट गर्नु पर्यो, मान्छे खोज्नु पर्यो । त्यसको लागि समय लाग्छ ।”
बाबुआमाले खोजेको सँग चाहिं बिहे गर्ने सोचै छैन उनको । “भाग्य भयो भने कहीं न कहीं भेटिएला नि ! अहिलेसम्म भेटेको छैन,” उनी आशावादी छिन्, “यसका लागि फोकस हुनुपर्छ जीवनमा । म चाहिं करियरमा फोकस भएँ । अब चाहिं खोज्नु पर्ला ।”
सामाजिक सञ्जाल प्रयोग नगर्नुको कारण सोध्दा यसले डिस्ट्रक्टेड बनाउने धारणा छ उनको । भन्छिन्, “कसले के गर्यो, के लेख्यो, आफूले के लेख्ने भन्ने तनाव हुन्छ । खाना खानुअघि फोटो खिच्ने हतार हुन्छ । म यस्तो गर्न सक्दिनँ ।”
उनी फुर्सदमा भने साथीहरुसँग फिल्म हेर्न जान्छिन् । समय चाहिं तौलिनु पर्छ उनका लागि । भन्छिन्, “बिस्तारै समय मिल्दै जाला नि !”
कोरोनाबाट बच्न सुझाव
विश्वमै महामारीका रुपमा फैलिएको कोरोनाभाइरसले चिकित्सकहरु बढी खतरामा छन् । अझ डा. सुप्रभा जस्ता आईसीयूमा काम गर्नेहरु झनै बढी खतरामा छन् ।
कोरोनाबाट बच्न उनी घरदेखि अस्पतालसम्म सचेतना अपनाउँछिन् । “घरमा पनि ममीसँग सँगै खाना खाँदैनौं । अरुबेला बोल्नु पर्दा पनि सँधै मास्क लगाउँछौं,” उनी आफ्नो सतर्कता सुनाउँछिन्, “घरमा जहिले पनि डिस्टेन्स मेन्टेन नै गरिरहेका छौं । किनभने आमालाई नलागे पनि मलाई चाहिं लागेको होला कि, मलाई नलागे पनि मेरो एउटा कुनै सहकर्मीलाई लागेको हुन सक्छ भनेर डर लाग्छ ।”
अस्पतालमा उत्तिकै सतर्कता अपनाउँछिन् । पीपीई प्रयोग गरिरहेकै हुन्छिन् । प्यासेन्टलाई छोएपछि २० सेकेन्डसम्म हात धुन्छिन् । लुगा खोलेपछि पनि हात धुन्छिन् । उनी भन्छिन्, “तर अब मास्कको पनि सर्टेज हुँदैछ । त्यही भएर एउटै मास्कलाई सेभ गरेर चलाउने पनि गरेका छौं ।”
उनी सबैलाई यस्तै सतर्कता अपनाउन आग्रह गर्छिन् । घरको टेबल, ढोकाको चुकुल, शौचालय जस्ता ठाउँ सफा गरिरहन, व्यक्ति-व्यक्तिको सम्पर्कमा एक मिटरको दूरी राख्न र धेरै हात धुन उनको सल्लाह छ । “सेनिटाइजर पनि अल्कोहलको मात्रा ७५ प्रतिशतभन्दा माथि भएको मात्र प्रयोग गर्नुपर्छ । खाना खाँदाखेरी एकअर्कालाई फेस टु फेस नगर्ने, एक साइडमा बस्ने गर्नुपर्छ,” उनी भन्छिन्, “हाम्रै घरको, चिनेजानेको साथी भनेर मास्क खोलेर राख्ने गरिन्छ, त्यसो गर्नु हुँदैन ।”
हङकङ एकदमै कन्जस्टेड ठाउँ भएकोले भीडभाड धेरै हुनेहुँदा खतरा पनि बढी रहेको उनलाई लाग्छ । भन्छिन्, “त्यसैले यहाँ पनि बढिरहेको छ तर अमेरिकाभन्दा राम्रो कन्ट्रोल छ यहाँ ।”
हङकङमा इथ्निक माइनोरिटिजलाई फिल्डमै गएर काम गर्नुपर्ने अवस्था रहेकोले पनि कोरोनाको जोखिम धेरै भएको उनी बताउँछिन् । “तर हामीले ट्रिटमेन्ट चाहिं धेरै गरिरहेका छौं । निको भइरहेका छन् । विदेशमा जस्तै हामीले पनि रिसर्चको बेसमा चलाइरहेका छौं । अहिले एन्टिभाइरलहरु प्रयोग गरिरहेका छौं,” उनी कोरोना उपचारको प्रगति सुनाउँछिन्, “अभैm, निको भइरहेकाहरुको एन्टिबडीहरु निकालेर बिरामीलाई प्रयोग गर्दा निको पनि भएका छन् । कोरोना एकदमै गाह्रो छ, सबैजना सचेत भएर सुरक्षित रहनुस् ।”