भेटिएला सोही आत्मीयता ?
शुरूवातीका दिनहरू
पूर्व र पश्चिम अनि यो थर र ऊ थर भन्दा पनि एक नेपालीले अर्को नेपालीलाई सकेको सहयोग गर्थे हङकङमा । नातेदार, आफन्त/चिनारुहरुले सहयोग गर्ने नै भए ।
शोभा केही महिनाअघि नै हङकङ आएर हुङहोममा बस्दै आएकी थिइन् । धरान हुँदादेखि नै चिनेको अनि पछि काठमाडौं, मानभवनमा बाबा—आमा र बहिनीहरुसँगको बसाईमा पनि शोभा र उनको परिवारसँग चिनजान/आउ—जाउ थियो । चिनारुको नाताले शोभालाई कोठा पाए सहयोग गरिदिनु भन्ने अनुरोध, हङकङ आउनुअघि नै गरेका थियौं ।
नेपाल छँदा धेरै पटक सुनेको चुङकिङ मेन्सन । व्यापारिक केन्द्र । अनेकन् कारणले बदनाम चुङकिङ मेन्सन । अविस्मरणीय संयोग के भने हङकङको भूमि टेकेको पहिलो रात, हाम्रो बास यही चुङकिङ मेन्सनमा भयो ।
शोभासँग ।
उबेला, मोबाइल फोनको जमाना थिएन । ल्याण्डलाइनमा मात्रै सम्पर्क हुन्थ्यो । त्यसकारण अहिलेको जस्तो सम्पर्क सहज थिएन । राति घरबेटीको ल्याण्डलाइनमा फोन गरेपछि भोलिपल्ट हामीलाई लिन चुङकिङ मेन्सन आइन् शोभा । उनको साथ लागेर हामी हुङहोम पुग्यौं । पञ्जाबी परिवारको दुईकोठे सानो फ्ल्याटमा, एउटा कोठा लिएर शोभा अन्य दुई बहिनीहरु देवी राना र उषा राईसँग शेयर गरेर बसेकी रहिछिन् । कोठाभित्र छिर्दा, त्यो सानो कोठामा डबल डेकरवाला फलामे बेड थियो । दराज कुनामा । तीनजना मुश्किलले मिलेर बसेका । कुनै होस्टेलमा, क्याम्पस पढ्न बसेका युवतीहरुझैं देखिन्थे उनीहरु । स्वाँ… स्वाँ… गर्दै पिरो कप नुडल्स खाइरहेका थिए उषा र देवी हामी पुग्दा । झ्यालबाट पर हुङहोम ‘फेरी’ को आवत—जावत देखिन्थ्यो । पहिलो अनुभव जीवनको— नजिकदेखि देखेको समुन्द्र, पानीजहाज अनि ठूला बिल्डिङहरु । झिलिमिली बत्तीहरु ।
ओझेल पर्दै गइरहेछ समयसँगै उमेर । तर, जीवनका केही स्मृतिहरु (विशेषतः पहिलो अनुभव) चिरहरित रहँदोरहेछ ।
हामी नवदम्पती थियौं । शोभाहरुसँग बस्ने सवाल थिएन । शोभाले अन्दाज लगाइन् क्यार ! हाम्रो असमञ्जसतालाई भंग गर्दै, “हाम्रो घरवाला भैयाको चिनेको अर्को पञ्जाबी परिवारको कोठा छ भनेको छ तुक्वावानमा । अहिले सबै काममा गएकोले कोठा हेर्न साँझमा जाने हो दिदी,” शोभाले हामीलाई आश्वस्त पार्दै भनिन् ।
साँझपख
भैयाले दिएको ठेगाना खोज्दै शोभाले हामीलाई नयाँ डेराका गन्तव्य स्थानमा पुर्याइन् । फ्ल्याट सात तलामाथि छ भन्ने सुनेको तर कहिल्यै पनि यति अग्लो तलामा नबसेको र नचढेको । सिंढी चढ्दा/चढ्दा ह्याकुला फुलाउँदै सात तलामाथि पुगियो । घरवाला रहेछन् गुरमित सिंह र रानी सिहं । उनीहरुका एक छोरा र एक छोरी अनि साथमा गुरमितको ‘बेबे’ अर्थात् आमा रहिछिन् । हेर्दा हिन्दी सिनेमाको भिलेन जस्तै देखिने मुस्टण्डे दारीवाल गुरमित तथा परिवारसँग छोटो गफपछि मासिक भाडा १५ सयमा कोठा तय गर्यौं । कोठा के भन्नु ∕ मुश्किलले एकल साइजको खाट अटाएको थियो । रोजगारी नपाइञ्जेल नयाँ शहरमा डबल साइजको ठूलो कोठा लिने स्थितिमा थिएनौं । जागिर नपाइञ्जेललाई जोहो गर्नु थियो ।
सोही साँझ हामी नयाँ बासस्थानमा सर्यौं । अन्ततः हङकङे जीवनको नयाँ अध्यायको श्रीगणेश गुरमित—रानी निवासदेखि शुरु गरियो ।
नयाँ शहर । नयाँ समाज । सेङवान रोड, तुक्वावान अवस्थित हाम्रो बासस्थान । नयाँ परिवारहरुसँगको बसाई । सात तलामाथि सानो कोठा । साझा चुल्हो । साझा शौचालय । सात तला सिंढी चढ्नुको सास्तीभन्दा पनि प्रत्येक फ्ल्याटको बाहिर ढोका अघि, चिनियाँहरुले राम्रोसँग बाँधेर नराखेका फोहोरका प्लाष्टिकको थैलादेखि छरपष्ट छरिएका मासुका हड्डी, माछाको काँडाहरु अनि त्यसको दुर्गन्धले हैरान बनायो । बिल्डिङको तलामुनि चिनियाँ रेष्टुरेण्ट थियो । मुख्य आकर्षण, सर्प/भ्यागुताको सुप थियो । रेष्टुरेण्टका अघि गोलो टेबलमा जालीले ढाकेको अवस्थामा राखिएका थिए, जिउँदा सर्प/भ्यागुताहरु ।
सन् १९९५ ताका, नेपालीहरु धमाधम हङकङ आउने क्रम शुरु भएको थियो । केही हप्तापछि, गुरमित सिंह तथा रानी सिंह निवास अर्थात् हामी बसेको फ्ल्याटको अर्को खाली कोठामा, धरान निवासी रोशन—बिमला दम्पती बस्न आइपुगे । रोशन—बिमलासँगको कोठा डबल—ठूलो साइजको थियो । पछि मिनु भाउजू, भानु दिदी अनि शरण पनि थपिए ।
नयाँ शहरमा अपरिचित अनुहारभित्र पञ्जाबी घरबेटी । पहिलो पटक नजिकदेखि बुझ्ने मौका मिल्यो पञ्जाबी संस्कृति । एक हप्तालाई पुग्ने सब्जी बनाएर फ्रिजमा राख्थिन् रानी । आँटा गुथेर फ्रिजको सब्जी तताएर खान्थे उनीहरु । लस्सी पिउँथे । मालबाहक ट्रक चालक थिए गुरमित । रक्सी पनि खुबै पिउँथे बिदाको दिन घरमा बस्दा । तर उनले कहिल्यै बखेडा गरेनन् । रानी नजिकैको गार्मेण्ट कारखानामा काम गर्थिन् । फर्राटेदार क्याण्टोनिज बोल्थे यी पञ्जाबी दम्पती । हामी भने, ‘लापसाप’ ‘तिउली’ ‘छि सिना’ ‘काव छावा’ आदि टुटेफुटेको चाइनिज गाली भर्खर सिक्दै थियौं ।
संघर्षमय भन्दा पनि रोमाञ्चक थिए, शुरुवातीका दिनहरु ।
एक यादगार साँझ
नेपालदेखि आएको पार्सल लिएर फर्कंदै गर्दा, चुङकिङ मेन्सनको मुख्यद्वारमा दुई अपरिचित बहिनीहरु भेटिए । निधारको रातो टीका देख्दा नेपालदेखि आजै आइपुगेका हुन् भन्ने अनुमान गर्न सकिन्थ्यो । आफन्त काम्तिनदेखि लिन आउनुपर्ने तर सम्पर्क हुन नसकेको भन्ने बताउँदै थिए । कुराकानीको क्रममा झापा, चन्द्रगढी घर बताउने लिम्बू बहिनीहरु जसोतसो एयरपोर्टदेखि यहाँसम्म आइपुगेका रहेछन् । भलाकुसारीपछि ती दुई बहिनीलाई त्यत्तिकै अलपत्र चुङकिङ मेन्सनको द्वारमा छोड्न मनले मानेन । आफ्नो निवासमा लिएर गएँ । जोगीको घरमा सन्यासी । डेराको त्यो सानो कोठामा दुईजना सुत्न मुश्किल थियो । थप अरु दुई अपरिचित लिएर आउँदा श्रीमान्को अनुहारमा स्याबासीको चमक अवश्य थिएन । गुरमित—रानी दम्पतीलाई अवस्था बताएपछि उनीहरुले डबल डनलप दिए । जसोतसो ती बहिनीहरुलाई एकरातको बासको व्यवस्था पञ्जाबी निवासको साँघुरो बैठक कोठामा गरियो । त्यही बैठक कोठाको एउटा कुनामा गुरमितको आमा सुत्थिन् । रानी, बेबे सबैले आत्मीयता देखाए ।
निश्चित जात र भूगोलभन्दा पनि मानवीय सम्वेदना आवश्यक परेको बेला तत्काल गरिएको सहयोग चिरकालसम्म मानिसले सम्झिरहन्छन् । त्यसो त ती पञ्जाबी परिवार हङकङे जीवनका ती शुरुवाती दिनका भुल्नै नहुने हिस्सामध्येमा पर्छन् ।
सो रात, ती बहिनीहरुले दिएको काम्तिनमा बस्ने नातेदार दाजुको ल्यान्डलाइनमा फोन गरें । फोन सम्पर्कमा नातेदार दाइले सुनाए, “बहिनीहरु आज आउने निश्चित नभएको र काममा गएकोले घरमा भएको फोनमा सम्पर्क हुन सकेन ।” ती दाइले भोलिपल्ट चिमसाचुईमा लिन आउने पक्का गरे । भेट्नका लागि सजिलो ल्याण्डमार्क भनेको स्टारफेरीको घण्टाघर ।
भोलिपल्ट, बिहानको खाना खाएर दुई बहिनीलाई लिएर हिजो पक्का गरिएको भेट—स्थल स्टारफेरी लागियो । त्यो क्षण, ती अलपत्र परेका बहिनीहरुलाई सुरक्षित उनीहरुको आफन्तसँग बुझाउन पाउँदाको आनन्द, हङकङ बसाईकोे गर्विलो समयमध्ये एक थियो ।
प्रथम अनि अन्तिम भेट । ती बहिनीहरु काम्तिन दाजुको साथ लागेर गएपछि कहिल्यै भेटिएनन् ।
झण्डै डेढदशक हङकङ बसाईको अवधिमा अनगिन्ती बार्बिक्यूको स्पट, सांस्कृतिक कार्यक्रम, साकेला, चुम्लुङको कार्यक्रमहरुमा गएँ । तर, ती बहिनीहरुलाई कहिल्यै, कहीं पनि भेटिनँ । त्यो बेला, मोबाइल अनि फेसबुक हुन्थ्यो त हामी सम्पर्कमा हुन्थ्यौं होला । अहिले उनीहरुको नाम भुलें तर मेरो मस्तिष्कमा अझै पनि सेभ भएर बसेको छ उनीहरुको तस्वीर । दिदी, श्यामस्वेत वणर्की पातली अनि अलिअलि घँुगुरिएको कालो कपाल, अलिक कम बोल्थिन् । दिदीको तुलनामा बहिनी केही चलाख लाग्थ्यो उनको बोली सुन्दा । गोरो वणर्, ओंठको छेउमा सानो खत थियो । निधारमा अलिकति फ्रेञ्च कट काटेको उनको हेयर स्टाइल । स्कूले जीवनमा त्यो हेयर स्टाइललााई ‘रानी घोडा कट’ भन्थे साथीहरु ।
तुक्वावानबासी हामीहरूः आमा (बिमलाको आमा), विजय दाइ, संगीता, लेखिका, टीका, शरण, नगेश दाइ, भानु दिदी, बिमला, राधा भाउजू ।
अहिले सम्झँदा आफैंलाई प्रतिप्रश्न गर्छु, “अपरिचित जोकोहीसँग उनीहरु जान राजी हुनुहुन्थेन ।” तर त्यो साँझ उनीहरु असहाय थिए । उनीहरुको अवस्थालाई नजरअन्दाज गरेर असहाय हालमा छोडेर हिंड्न सकिनँ मैले ।
ती बहिनीहरु मेरा कोही थिएनन् । तैपनि उनीहरु सम्झनामा आइरहन्छन् । सोच्दैछु अहिले पनि- कहाँ, के गर्दै होलान् उनीहरु ? अनेकन् अनुभूतिहरुसँगै शुरुवातीका दिनहरु हङकङमा बित्दै गए ।
करिब वर्ष दिन पञ्जाबी परिवारसँग बसेपछि, रोशन—बिमलासँग मिली साझा फ्ल्याट लिएर हामी सोही इलाकामा तर कम सिंढी भएको फ्ल्याटमा सर्यौं ।
पुख्र्यौली घर स्याङ्जा तर हङकङमा जन्मिएर काठमाडौंमा हुर्किएका मेरा श्रीमान् धरानेहरुसँग घेरिएर बसेका थिए । धराने जोक्स खुबै सुनाउँथे रोशन । त्यो बेला कपाल काट्नु पर्यो भने चुङकिङको भुईंतलाको कुनाको भारतीय हजामकोमा सस्तो पर्छ भनेर नेपालीहरु त्यहाँ जान्थे । पछि यो कपाल कटाईको समाधान घरमा नै शुरु भयो । रोशन, शरण अनि नगेश दाइ सबै एक से एक खप्पिस् भए कपाल काट्न । सबैले पालैपालो एक—अर्काको कपाल काट्थे ।
यता, मिनु भाउजू, भानु दिदी, बिमला सबै खाना पकाउन एकसे एक सिपालु । धरानेहरुको खानाको प्रसंग आयो भने छुर्पी, डल्ले खुसार्नी, किनेमा, बंगुरको खुट्टाको अचार बेगर अधुरो हुन्छ । धराने डल्ले खुसार्नी लगाएको पिरो आलुदम, अझै पनि मुखमा रसाउँछ ।
१९९७ साल, जीवनको दोस्रो अध्याय— हामी दुईदेखि तीन भयौं । रोशन—बिमलाहरुसँग बस्दा मेरो पहिलो सन्तानको जन्म भएको थियो । त्यो अर्थमा पनि रोशन—बिमला दम्पती महत्वपूणर् हिस्सा रहे हाम्रा लागि ।
२००० को शुरुवातमा, तुक्वावान छोडेर हामी जोर्डन सर्यौं । सोही सालको मार्चमा दोस्रो सन्तान छोरी आइन् हाम्रो जीवनमा । समयसँगै बिस्तारै नेपालीदेखि ‘नेपोयी’ हुँदै गयौं हामीहरु ।
हङकङेली ‘नेपोयी’ हरुले क्रमशः विस्तार गरे सम्भवाना र विकास । हुण्डी कारोबारीदेखि निर्माणस्थलका मजदुर हुँदै निर्माण कम्पनी मालिकको हैसियत बन्न शुरु गरे नेपालीहरु । खाद्य पसलका व्यवसायी । रेष्टुरेण्ट, बार, व्यवसायहरुमा सक्रिय बन्दै गए । सबल पक्षका कथाहरु पनि थपिंदै गए । कथाको अर्को पाटोभित्र साक्षात्कार हुनथाले थरीथरीका नेपाली । पूर्वेली र पश्चिमे नेपाली । भौगोलिक अन्तरताका नेपाली । अनेक थर—जातका नेपाली । बग्रेल्ती बर्खे झरीमा उम्रिएका च्याउ जस्तै विभिन्न परिचय बोकेका संघ—संस्थाका उत्पत्तिका कथा । गुट, उपगुटका नेपालीका कथा । हङकङे डनहरुको कथा । नेता—अभिनेता/कलाकारहरुको लागि हङकङ आकर्षणको केन्द्र ।
शहर त्यही हो । सुन—दन्ते, इण्डोको कथा । चिनियाँको स्वभावको कथा । छा सिउ फान । सडकमा तैनाथ ठेलागाडामा राखिएका सिउ माइ, फिस बल आदि । त्यो भन्दा पनि तीन हात टाढादेखि नै गन्हाउने तोफुको गन्धको कथा । मार्क सिक्स । घोडा रेसको कथा । संघाई स्ट्रिटको रात्रीकालीन बजार । ढोका-ढोकामा उभिने नगरबधुहरुको कथा । शुरुवाती दिनका ती सबै अनुभव एवं भोगाइहरु हङकङलाई सम्झिरहने बहानाहरु हुन् ।
भौगोलिक स्थानान्तरणसँगै ती सम्पूणर् पात्रहरु अनि उनीहरुसँग बिताएका शुरुवाती दिनहरु पनि स्मृतिको सुटकेशमा स्वतः आफैं कैद भएर आए । जीवनपर्यन्त यादगारहरुको खजाना बनेर मस्तिष्कमा कैद रहनेछन् ।
फर्केर हेर्दा, नोस्टाल्जिया बल्झिन्छ ।
शोभा, रोशन—बिमला दम्पती, मिनु भाउजू, शरण, भानु दिदी, नगेश दाइ, शुरुवाती दिनका हितैषीहरु सबैजना अभैm पनि त्यही तुक्वावानमा नै बस्छन् ।
उबेला कोही आफन्त, नातेदार नहुँदा पनि नयाँ नेपाली आयो भने, सकेको सहयोग गर्न तत्पर आत्मीय नेपाली मनहरु । हत्केलामा सपना लिएर हङकङ आएका युवाहरु । बिहान झिसमिसेमा टिफिन—क्यारीमा भात बोकेर कर्म गर्न निस्कने कर्मठ नेपाली युवाहरु । केही नहुनुमा पनि आनन्दित मनहरु । सम्झनुपर्ने खास कुरो के भने, त्यो आत्मीय सम्बन्ध र समयहरु आफैंमा अग्र्यानिक थिए ।
के सोही आत्मीयता हङकङमा अझै पनि भेटिन्छ होला ?