माबोहाङ यक्सो वंशावली
मेरो उमेर सानै थियो । बुबा कप्तान आशबहादुर यक्सो ६१ वर्षको हुँदा मेरो जन्म भएकोले बुबाको जीवनको उत्तराद्र्धकालमा म सानै थिएँ । त्यसबेला बुबाले कैयौं कुरा भन्नुभएको थियो । तीमध्ये मेरो बालमस्तिष्कमा पसेका कैयौं कुरा स्मृतिबाट हराएका छैनन् । अहिले यक्सो वंशावलीको कुरा यहाँ प्रसंगवश उठाउनु परेको छ ।
बुबा भन्नुहुन्थ्यो, “हामी माबोहाङ सन्तान हौं । सिकिथुक्पा हाम्रा पुर्खा हुन् । चेम्जोङहरु हाम्रा स्वाँगे भाइ हुन् ।” एउटा बालकलाई यी कुराको कति महत्व हुन्थ्यो होला र ? तैपनि बुबाले भनेको र मैले सुनेको कुरा पर्यो ।
२०४२ साल असोज १५ गते बुबाको देहावसान हुँदा म सानै थिएँ । अलि बढी बाँच्नुभएको भए अरु धेरै कुरा बुबाबाट आउँथे होलान् । यो कुरा लामै समय मनमा खट्कनु स्वाभाविक थियो । किनकि बुबासँग मुन्धुमसम्बन्धी ज्ञान पनि प्रचुर थियो । एउटा पल्टनिया सैनिकलाई कसरी यस्तो कुरामा चाख बढ्यो, त्यो सोध्नै पाइएन ।
हाम्रो पुख्र्यौली थलो ताप्लेजुङ हाङपाङका प्रतिष्ठित व्यक्तित्व गोर्खा क्याप्टेन खड्गेन्द्रसिं आङबुहाङको हाम्रो घरमा बाक्लो आगमन हुन्थ्यो । बुबा र उहाँको मावली हुक्पा चोङबाङ भएकोले उहाँहरुको सम्बोधन दाजुभाइको हुन्थ्यो । हामी उहाँलाई क्याप्टेन काका भन्थ्यौं । उहाँहरु दुईजना मुन्धुम, वंशावली र इतिहासको कुरा गरिरहनुहुन्थ्यो । र, उहाँहरुले लिने नामहरुमध्ये युमा, थेवा, सिरिजंगा, फाल्गुनन्द, इमानसिंह चेम्जोङ लगायतका हुन्थे । यी नामहरुमा मेरा सामान्य बालसुलभ सरोकार हुन्थ्यो । यसका सान्दर्भिकतासँग म अपरिचित थिएँ ।
पछि काठमाडौंमा अधिवक्ता भतिज तेजबहादुर यक्सोसँग भेट भयो । उनी यक्सो वंशावली लेखनका क्रममा रहेछन् । उनले आफूद्वारा संकलित वंशावली देखाए । उनै गोर्खा क्याप्टेन अर्थात् थिन्दोङ्लुङ खड्गेन्द्रसिं आङबुहाङले तयार पारेको थाकथाक्कुम माबोहाङ यक्सो वंशावली (२०४६) को आधारमा यक्सो वंशावली थप संकलन र परिमार्जन गरिएको रहेछ । त्यस वंशावलीमा विक्रम सम्वत् १९१७ मंसीर सुदि १२ रोज ४ का दिन “पुख्यौली लेखिएको” कागज धनकुटानिवासी कप्तान आशबहादुर यक्सोसँग रहेको भन्ने उल्लेख भएको पाइयो ।
बुबाको देहावसानपछि उहाँको साथमा रहेको कागजपत्रका बारेमा सोधखोज गरिएन । उहाँको चारपाटे पल्टनिया टिनको बाकस खोतलखातल गर्ने काम पनि गरिएन । खासगरी तक्मा, फुली, सैनिक जीवनका कागजपत्र, हतियारलगायतका पल्टनिया सामग्रीहरु जेठा दाजु वीरबहादुरले लगेपछि उहाँका पल्टनिया बाकस रित्तो भएको अनुभव गरियो र खोल्ने जाँगर पनि चलेन । तर वंशावली लेखिएको भनिएको पुरानो कागजको सकेसम्म सक्कल र नभए फोटोकपीसम्म देख्न पाए पनि हुन्थ्यो भन्ने लागिरह्यो ।
पछिल्लो समय आफ्नो अतिरिक्त अभिरुचिका रुपमा इतिहास अध्ययनतर्फ अघि बढ्दा केही संगतहरु भए । अग्रज इतिहासकारहरुसँगका संगत र परामर्शहरु फलदायीसावित हुँदै आएका छन् ।
एक साँझ इतिहासकार प्राध्यापक दिनेशराज पन्तको धुम्बाराहीस्थित निवासमा उहाँको निजी पुस्तकालय अवलोकनका लागि पुगेको थिएँ । त्यही अवसरमा लिम्बूहरुले राज्यबाट पाएको लालमोहर विषयमा पनि केही कुरा भए । त्यहीबेला उहाँले आफ्नो संकलनको केही हस्तलिखित अभिलेखहरु देखाउनुभयो ।
त्यतिबेला मेरो दिमागमा एउटा कुरा च्वास्स पस्यो । मैले बुबाको पल्टनिया बाकसमा केही पुराना कागजका पोकाहरु देखेको थिएँ । सोचें, त्यहाँ केही नभए पनि तमसुकसम्म होला । बाजेको पालाको ल्याप्चे लागेको तमसुकै भए पनि पुख्र्यौली निशानीको रुपमा सुरक्षित राख्दै त्यसको अध्ययन गर्नुपर्ने आवश्यकता महसुस गरें । ती पोकालाई काठमाडौं झिकाएर अध्ययन गर्दा त त्यहाँ आफूभन्दा (बुबादेखि उता) पाँच पुस्ताको कागजपत्रहरु पो सुरक्षित रहेछन् । ती कागजपत्रहरु मेरा लागि पुर्खाको अमूल्य उपहार बनेका छन् । यिनै कागजपत्रहरुमध्ये २९ इन्च लम्बाई र ७ इन्च चौडा एउटा जीणर् कागज मेरो हातमा सुरक्षित हुन आइपुगेको छ । त्यस कागजको शुरुमा लेखिएको छ, “आघिल्ला स देषिको पुर्षौलिको पंसावोलिको तसिला ।” अर्थात्, अघिल्ला सालदेखिको पुख्र्यौलीको वंशावलीको तपसिल ।
पुरानो वंशावली भएको प्रमाण
म राजकुमारको बाबु आशहादुर, आशबहादुरको बाबु सिंहबहादुर, सिंहबहादुरको बाबु भगिवन्त, भविवन्तको बाबु फौदल र फौदलको बाबु श्रीवाज । यस वंशावलीमा भने श्रीवाजको बाबु श्रीदेउदेखि उताको पुर्खाहरुको नाम उल्लेख भएबाट यो वंशावली पुरानो भन्ने प्रमाण मिल्छ । क्याप्टेन खड्गेन्द्रसिङ आङबुहाङले यो वंशावली विक्रम सम्वत् १९१७ साल सुदि १४ रोज ४ मा लेखिएको भनी कुन आधारमा लेखे त्यो भने यस कागजबाट खुल्दैन । तर वंश अन्तरको हिसाब गरियो भने त्यस सालको छेउछाउसम्म पुग्न सकिन्छ ।
जस्तो कि मलाई अहिलेको पुस्ता मान्ने हो भने मदेखि ६ पुस्ता उताका मेरा पुर्खा श्रीदेउलाई सबैभन्दा पुछारमा राखिएको छ । वंशावलीमा एक पुस्ताबाट अर्को पुस्ताको अनुमानित कति वर्षको फरक हुन्छ भन्ने विषयमा विचार गर्दा इतिहासकारहरु महेशराज पन्त र दिनेशराज पन्तले “पूणर्िमा” (जेष्ठ २०३७:१-५)मा प्रकाशित गरेको “वंशावलीको विषयमा भगवानलाल इन्द्राजीको विचार” शीर्षकको एउटा लेखमा उद्धृत अंश हेर्न सकिन्छ । उक्त लेखमा जीवन बिमा गर्ने कम्पनीहरुको तथ्याङ्क सारिणीहरुले देखाएअनुसार भारतमा एक पुस्ताको भागमा बढी से बढी २६ वर्ष मात्र पर्छ भनी उल्लेख छ । यसअनुसार हिसाब गर्दा ६ पुस्ताको भाग लगाउँदा एक सय ५६ वर्ष हुन आउँछ । २०७७ सालबाट एक सय ५६ वर्ष घटाउँदा १९११ साल भेट्न आइपुग्छ । आफ्नै हाँगाको कुरा गर्ने हो भने मेरो बुबाको जेठा छोराको नाति जन्मिसकेको अवस्था छ ।
यस वंशावली कहिले लेखिएको हो, त्यो नखुले पनि एउटा मिति खुल्ने हरफ भने कागजको दाहिनेतिर लेखिएको छ । त्यहाँ लेखिएको छ,
स्वस्ति श्री साम्वात १९…९ सालम रुपैया दियाका पहि
तपसिल
फौदाला लिम्बू हस्ते रु १६
यी हरफहरु वंशावली लेखिएको अक्षरको मसीसँग मिल्दैनन् । र, अक्षरको आकारप्रकार पनि वंशावलीको मूल अक्षरसँग मिल्दैन । मूल वंशावली लेखनमा प्रयोग भएको मसी गाढा कालो छ भने माथि उल्लेखित फौदल लिम्बूले कारोबार गरेको १६ रुपैयाँ लेखिएको मसी रातो मिसिएको फिका कालो रङको छ । त्यसैले माथिको लेखोट वंशावली लेखिएको केहीपछि अरु नै प्रसंगमा तत्काल लेख्न कागज नहुँदा र हतारमा लेख्नुपर्दा वंशावलीको खाली ठाउँलाई सदुपयोग गरेको हुनसक्छ ।
वंशावलीको दाहिनेतिर लेखिएको सम्वत्मा १९ लेखेर केही खाली र त्यसपछि ९ लेखिएको छ । १९०९ साल लेख्दा ख्याल नगरी ० चाहिं छुटाएको हुनसक्छ । अर्थात् यो सम्वत् १९१९ तिरको पनि हुन सक्छ । तर यो वंशावली १९०९ भन्दाअघि नै लेखिएको हुन सक्ने केही आधार छन् ।
नेपालमा सामान्यतया यस्तो वंशावली समाजका अगुवाहरुले लेख्ने वा लेखाउने चलन छ । माथि भनिसकिएको छ, वंशावलीमा श्रीदेउ र उनको समकालीन पुस्ताभन्दा उताको मात्रै नाम उल्लेख छ । त्यसैले यो वंशावली श्रीदेउका छोरा श्रीवाज र उनका समकालीन पुस्ताले तयार पारेको हुन सक्ने सम्भावना प्रबल देखिन्छ ।
श्रीवाज तत्कालीन समयको आठराई थुमअन्तरगतको हाङपाङका चल्तापूर्जा व्यक्तित्व थिए । उनले त्यस क्षेत्रका अगुवा लिम्बू सुब्बाहरु फुङ्लिङहाङ, राजबीर, जगबीर, बानहाङसँगै १८९४ माघ सुदी ७ रोजमा सुब्बाङ्गीको लालमोहर पाएको भगिराज इङ्नाम र शेरबहादुर इङ्नामद्वारा लिखित “तेह्रथुम जिल्लामा सुब्बाङ्गी प्रथा” (२०७० ः ९०-९१) मा प्रकाशित छ । तर यो लालमोहर उनको सन्तानको संकलनमा भने भेटिदैंन । बरु उनीसँगै लालमोहर पाउने अर्का सुब्बा फुङ्लिङहाङले राजा राजेन्द्रबाट १८८४ चैत सुदिमा पाएको लालमोहरको सक्कल यस लेखकसँग सुरक्षित छ ।
यस लेखकसँग सुरक्षित कागजपत्रमध्ये श्रीवाज कर्ताको रुपमा सक्रिय रहेका कागज पनि छन् । १९०१ को कम्पु तिर्जा तिरेको १९०२ वैशाख बदी ११ रोज १ को कागजमा राजबीर, गजबीर र हक्र्या सुब्बा हुँदा श्रीवाज कर्ता तहमा रहेर सक्रिय भएको कागजसमेत भेटिएकोले यस वंशावली श्रीवाज र उनका समकालीनहरुको समयमा १९०९ सालतिर लेखिएको हो भन्न सकिन्छ । श्रीवाज १९१९ सम्म सक्रिय रहेको कागज यस लेखकसँग सुरक्षित छ । यिनको छोरा फौदल सक्रिय रहेको कागज भने फेला परेका छैनन् । बरु फौदलका भाइहरु अदलबाज र चतुरध्वज सक्रिय रहेको, उनीहरुले श्रीवाजका आफूहरु तीन भाइ छोरा रहेको उल्लेख गरेका कागज भेटिएको छ । ती तीन भाइमा फौदलको नाम उल्लेख नभएकोले फौदल अल्पायुमै बितेको हुन सक्ने अनुमान गर्न सकिन्छ । यो अनुमानलाई पुष्टि गर्ने अर्को आधार के हो भने अंशबण्डा हुँदा फौदलका सानै उमेरको छोरा भविगन्त (जन्म १९२५) लाई उनका काकाहरु अदजबाज र चतुरध्वजले समान रुपमा भाग दिएछन् । यससम्बन्धी कागजहरु पनि यस पंक्तिकारसँग सुरक्षित छन् ।
अन्य छोराहरुभन्दा पनि श्रीवाजका नाति भगिवन्तले सुब्बापछिको जिम्मेवार पद कर्ताको रुपमा सक्रिय रहेर लिम्बूवानको किपट व्यवस्थामा सेवा गरेको देखिन्छ । भगिवन्तले ७ वर्षको उमेरमा मेवाखोला निवासी सुब्बा शुभमानकी छोरी शुभहाङ्मासँग विवाह गर्दा १९३२ साल वैशाख सुदि १४ रोज ३ मा ९३ रुपैयाँ १२ आना सोतरीत तिरेको बहीसमेत फेला परेको छ । र, १९४२ मा उनकै छोराको बर्खान्तमा सघाउनी उठेको बहीमा दाजुभाइ तथा कुटुम्बहरुको भव्य उपस्थिति देखिंदा बाजेको बिरासत थाम्ने नाति भगिवन्तको जीवन चल्तापूर्जा र रवाफिलो थियो भन्ने अनुमान सहजै गर्न सकिन्छ ।
यिनै भविवन्तको बाजे श्रीवाज र उनका समकालीन सन्तानले आफूभन्दा अघिका पुर्खाहरुको नाम टिपाएर वंशावली तयार पारेको देखिन्छ । सम्भवतः यो वंशावली लेखिएको कागज श्रीवाजले आफ्ना जेठा छोरा फौदललाई राख्न दिए । त्यसपछि यो कागज भगिवन्तले, त्यसपछि सिंहबहादुरले, त्यसपछि कप्तान आशबहादुरले जोगाउँदै राखे । अहिले आएर उनै कप्तान आशबहादुरका कान्छा छोरा मेरो हातमा यो कागज सुरक्षित हुन आइपुगेको छ । यो वंशावली एक सय ६० देखि एक सय ७० वर्षअघि नै लेखिएको हो भन्नुमा कुनै कन्जुस्याईं गर्न आवश्यक छैन ।
यस वंशावली यक्सोहरुले आफ्ना पुर्खा मानेको सिकिथुक्पा (मुनाहाङ) र उनको छोरा लापसाङको नाम वंशावलीमा उल्लेख छैन । यी नाम मौखिक रुपमा मात्रै सुरक्षित रहेको हुन सक्छ । यस पंक्तिकारसँग रहेको वंशावलीमा सबैभन्दा पहिलो नम्बरमा देवानाम्जा छ । यक्सोहरु देवानाम्जालाई उवाहाङ ठान्छन् भने त्यसपछिको देवारोंगेलाई माबोहाङ । देवारोंगेका छोरा देवाभान्छजंगाका छोराहरु थाक्मिया र मुरेगनको त माबोहाङ माङ्गेनामा ठूलो गाथा गाइन्छ । यस वंशावलीमा थाक्मियाको नाम लिखतको हिसाबले चौथो पुस्तामा छ ।