धित मरुन्जेल नाटक गर्ने मन छ : दयाहाङ राई
नेपालका चर्चित अभिनेता दयाहाङ राई धेरै पटक आइसकेका छन् हङकङ । १० पटक पुग्यो या १५ पटक उनैलाई याद छैन । पछिल्लो समय धेरैजसो फिल्मको प्रिमियर कार्यक्रममा आएका छन् उनी । पहिलो पटक भने किसन राईको निमन्त्रणामा नाटक ‘लोरी’ लिएर आएका थिए, मन्डला थिएटरको टिममा ।
नेपालको अध्यागमनमा पाका कर्मचारी देखेका र उनीहरूको बोली व्यवहार अनुभूत गरेका दयाहाङ पहिलो चोटी हङकङको अध्यागमनमा आइपुग्दा युवा अफिसरहरू देखेर चकित परे । उनलाई युवाहरूले धेरै गर्न सक्दा रहेछन् भन्ने लाग्यो । खै के कारणले हो उनीहरूको टिमलाई इमिग्रेसनमा लामै सोधपुछ भयो । करिब १५/२० मिनेट छुट्टै राखेर सोधखोजपछि उनीहरू हङकङ प्रवेश गर्न पाए । चिनियाँ दुतावासबाट ट्रान्जिट भिसा लगाएर गएका कारण लामो सोधपुछ भएको हो कि भन्ने लाग्छ दयाहाङलाई । जे होस् दयाहाङ पहिलो पटक हङकङ आइपुगे । “जताततै समुन्द्र, टापुहरू अनि साना–साना जंगल । बडो गज्जबको ठाउँ लाग्यो,” उनी पहिलो हङकङ यात्रा सम्झिन्छन् ।
दयाहाङलाई बच्चा बेलामा अनौठो चिज लाग्थ्यो रे हङकङ । एकदिन छिमेकीले दयाहाङका बुवालाई हङकङका १ सय ५० भन्दा बढी फोटाहरू भएको बक्स दिएछन् । त्यो बक्सको सानो प्वालबाट चिहाएर हेर्दा भित्र हङकङका ठूला–ठूला फोटो देखिन्थ्यो । उनी रमाइलो मानेर हेर्थे । उनले त्यसैबेला फोटोमा देखिसकेका थिए हङकङका आकर्षक भव्य विल्डिङहरू । समुन्द्र अनि रमाईला धेरै कुरा । वरिपरी लाहुरे समुदाय भएकोले बारम्बार हङकङ, मलायाका कुरा गरेको पनि सुन्थे । हङकङ झनै रहस्यमय लाग्थ्यो । उनले ब्रुसलीका कारण पनि हङकङ चिनेका थिए ।
नाटक लिएर हङकङ जाने भनेपछि उनले जे कल्पना गरेका थिए, जस्तो अपेक्षा गरेका थिए यहाँ आइपुग्दा त्यस्तै नै पाए । अझ उनी हङकङभन्दा पहिला मलेसिया पुगिसकेका थिए । सुरुमा त हङकङ देख्दा मलेसिया जस्तै लाग्यो ।
नाटक ‘लोरी’ देखाउनु थियो, युनलङ थिएटरमा । मन्डला थिएटरको सानो ठाउँमा नाटक गरिरहेको मान्छे युनलङको विशाल थिएटरमा अल्मलिएर हैरान । नाटक प्रदर्शन अगाडि सेट लगाएर आफैं कामदार जस्तो भएर खटे उनी । नाटकको लाइट मिलाउने जिम्मेवारी उनकै थियो । सम्झिन्छन्, “त्यति ठूलो हलमा अल्मलिएँ म त ।”
मण्डला थिएटरका कलाकार युनलङ थिएटरमा नाटक मञ्चनको बेला । तस्वीरः मातृदीप राई
त्यसपछि धेरैपटक यही हलमा फिल्म प्रिमियरका लागि पुगेका छन् । तर, जति पटक पुगे पनि उनलाई पहिलोपटक काम गरेको यो हल ‘फ्यामिलियर’ लाग्छ रे । हङकङ सम्झिंदा उनलाई यो हलको शुरू पटकको अलमल पनि झल्झली याद आउँछ । “त्यसबेला नाटक रहरमा पनि र अनुरोधमा पनि गरियो तर धित मर्ने गरी नाटक गर्न पाइएन,” उनी भन्छन्, “कुनै बेला त्यही ठाउँमा आनन्दले धित मर्नेगरी नाटक गर्ने मन छ ।”
दयाहाङ नाटक र फिल्मी कार्यक्रम बाहेक एक पटक किरात राइ यायोक्खा, हङकङको कार्यक्रममा यहाँ आएका थिए । किरात राई समुदायको चुलाघर निर्माण सहयोगार्थ भएको कन्सर्ट कार्यक्रममा उनले मञ्चमा गएर कार्यक्रमको उद्देश्यबारे मन्तव्य दिएका थिए । त्यसपछि राजेशपायल राईले गाउँदा उनी नाचेका थिए ।
पटक–पटक हङकङ आउँदा उनलाई यहाँका मान्छेहरूको हतार रमाइलो लाग्छ । मान्छेहरूको भीडभाड, कुदाकुद, हतारै–हतार । “अरुसँग ठोक्किंदा सरीसम्म पनि भन्न नभ्याई दौडिएको देख्छु । जीवन कति हतार ? बढो इन्ट्रेष्टिङ लाग्छ” उनी सुनाउँछन्, “हामीसँग त्यस्तो हतार छैन ।”
हङकङमा नेपाली समुदायले नेपाली कलाकारलाई गरेको माया देखेर दयाहाङ अचम्ममा पर्छन् । नेपाली कलाकारलाई हङकङमा गरिने माया, सम्मान र सहयोगले नयाँ कलाकारलाई त कलाकारितामा स्थापित हुन धेरै ठूलो मद्दत पुगेको छ । पुराना र चलेका कलाकारलाई पनि उत्तिकै हौसला मिलेको छ । दयाहाङ अनुभव सुनाउँछन्, “नेपाली कलाकारलाई औधी माया गर्नुहुन्छ, नसोचेको प्रशंसा गर्नुहुन्छ, कहिलेकाहीं त म यस्तो हो र ? जस्तो लाग्छ ।”
धेरै पटक हङकङ आइसकेका दयाहाङले यहाँका प्रायः धेरैजसो रमणीय ठाउँहरू घुमिसकेका छन् । बाहिरी हङकङ लगभग देखिसकेका उनलाई भित्री हङकङ पनि बुझ्ने मन छ । पछिल्लो पटक उनी यहाँ आउँदा आर्ट म्युजियम हेरे । अझै यहाँको भित्री रुपमा कला, संस्कृति र जीवन बुझ्न चाहेका उनी भन्छन्, “यहाँको ड्रामा, ओपेरा, कला संस्कृति, साहित्य बुझ्ने मन छ ।”