‘हेर्दाहेर्दै आगोको मुस्लो आयो !’
आगलागी भएको जिरे खुर्सानी क्लबको माथिल्लो तलामा मेरो फ्ल्याट थियो । त्यो दिन साँझ म त्यहाँ खाजा खान गएको थिएँ । खाजा खाने क्रममा भित्रको कोठामा बसेको थिएँ । त्यतिबेला बाहिर ‘आगो आगो’ भनेको सुनियो ।
ठ्याक्कै त्यो कोठाको ढोका र मेन इन्ट्रान्स सँगसँगै जस्तै छ । ढोका बाहिर आएर हेर्दा सानो झिल्का जस्तो उज्यालो देखें । मान्छेहरू अत्तालिएका थिए । मैले नअतालिनुस्, फायर एक्ट्रिङगेसर कहाँ छ भनेर खोजें तर भेटिनँ । हेर्दाहेर्दै २/४ सकेन्डभित्रै ढोकामाथिबाट आगो को मुस्लो आयो ।
त्यो आगो देखेपछि नर्भस भइयो । रेष्टुरेण्टको मुख्य ढोकामा आगो लागिसकेको थियो । अरु ‘एक्सेस’ थाहा थिएन । अनि झ्याल मात्र एउटा ‘एक्सेस’ देखें । टेबुलमा चढेर झ्यालमा लात हान्दा फलामको ग्रिल भएकोले त्यति बल परेन । कोठा धुवाँले भरियो । त्यहाँको वातावरण अक्सिजनविहीन भइसकेको थियो । श्वास लिन एकदम गाह्रो भइरहेको थियो । झ्यालको ‘एक्सेस’ पनि काम नलाग्ने देखेपछि झनै हतोत्साहित भएको थिएँ । तैपनि प्रयास गर्ने क्रममा झ्यालको खापामा समातेर लात हान्दा ठिङ्रिङ्ग खसेपछि बाँच्छु भन्ने आशा पलायो ।
बाहिरको सिसा र काठको झ्याललाई पनि लात हानेर खोलिसकेपछि तल झर्ने बेलामा चाहिं स्काफफोल्डिङ थियो । त्यसमा चढेर कुनातिर लाग्दा धुवाँ एकदम आइरहेको थियो । नाइलनको फेन्सिङले गर्दा धुवाँ बाहिर जान पाएको थिएन । हामीले ३/४ मिनेट धुवाँ खाएपछि फायर ब्रिगेड आयो । त्यसको धेरैबेरसम्म बाहिरै बस्यौं ।
मैले खोलेको झ्यालबाट अर्को एक जना निस्किनुभयो । अर्को झ्यालबाट निस्किनका लागि ४ जना आएका थिए तर ३ जना भाइहरू मात्र निस्किए, अन्तिमको चाहिं शेरबहादुर गुरुङ बाहिर आउन सकेनन् । उनका साथीहरूले बाहिर आएर खोज्दैथिए तर उनको भित्रै मृत्यु भएछ । पछाडिबाट झर्ने क्रममा एकजनाको खुट्टा भाँचियो । कसैको ढाड भाँचियो ।
त्यसभन्दा अगाडि म भित्र बसेर खाइरहेको थिएँ । बाहिर निस्किएपछि फायर एक्स्टिङगेसर हान्न पाए सबै बाहिर निस्किन सक्छन् भन्ने थियो तर भेटिनँ । त्यहाँ त्यस्तै २५/३० जना जति मान्छे थिए होलान् ।
मान्छेहरू अत्तालिएका थिए । मैले नआत्तिनुस्,
फायर एक्स्टिङगेसर कहाँ छ भनेर खोजें तर भेटिनँ ।
हेर्दाहेर्दै २/४ सकेन्डभित्रै ढोकामाथिबाट आगोको मुस्लो आयो ।
त्यो रेष्टुरेण्टको इन्ट्रान्समा दायाँ–बायाँ डबल ढोका थियो । दुईवटा ढोकाको बीचको दायाँ–बायाँ र मेन ढोकामा पनि साउन्ड प्रूफ फम लगाएको थियो ।
हामी ढोकाभित्र दियो बाल्दैनौं, बाहिर बाल्छौं । आगो लागेको भित्रपट्टि हो । साथीहरूले भनेको, त्यहाँ झिलझिले बत्ती थियो रे । मलाई लाग्छ, एउटा बत्ती फुटेर सर्ट सर्किट भएर आगो लाग्यो कि !
त्यो घटनापछि सामान्य अवस्थामा आउन मलाई निकै समय लाग्यो । त्यहाँ कस्तो भयो भने, साइडमा बालबच्चा चिच्याइरहेको, आगो… आगो… भनेको छ, बचाउ… बचाउ… भनेको छ । म एक हप्तासम्म राम्रोसँग सुत्न सकिनँ । निदाउन गाह्रो भयो ।
उक्त रेष्टुरेण्टको किचनको ठ्याक्कै माथिपट्टि हो फ्ल्याट मेरो । मेरो कोठा त धुवाँ–धुवाँले भरिएको थियो । हामी चारजना थियौं ससुरा बा समेत गरेर । २ वटा बेडरुमका सबै सामान धुवाँले ड्यामेज थिए । आगलागी भएको बेला मेरो फ्ल्याटमा कोही थिएन तर छेउको फ्ल्याटमा चाहिं नेपाली ३ जनाको परिवार थियो । आगो बलेको थाहा पाएपछि उनीहरूले अत्तालिंदै हाम्रो ढोका ढक्ढक्याएछन् । हामी त्यहाँ थिएनौं । त्यसपछि मलाई फोन गरेछन् । मेरो फोन आगलागी भएको ठाउँभित्रै छुटेकोले उठेन । त्यसपछि मेरो श्रीमतीलाई फोन गरेछन् । उनीहरू पनि डराए ।
सेफ्टी/अनुगमनको खाँचो
त्यो घर ६० वर्ष पुरानो हो । म दुई तलामाथि बस्थें । यहाँ सामान्यतः १०/१२ हजार तिरेर बस्ने घरमा कहिं पनि फायर सेफ्टी हुँदैन । फायर सेफ्टी भएकोमा बस्दा १५/२० हजार पर्छ । सस्तो भएकोले त्यस्तो घरमा बस्न बाध्य छौं ।
भलै, हामी कन्ट्रक्सनमा ४०/५०/६० हजार कमाउँछौं तर कामको निरन्तरता हुँदैन । कुनैबेला ६ महिना काम गरेर ६ महिना त्यसै बस्नुपर्ने हुन्छ । त्यसले गर्दा म जस्तोको स्तरमा २०/२५ हजार तिरेर बस्ने सामथ्र्य छैन । बहुसंख्यक नेपालीको यस्तै अवस्था छ ।
अझ सेक्युरिटीमा काम गर्नेको त २० हजारभन्दा माथि हुँदैन । उहाँहरूले १० हजार तिर्नु भनेको त तलबको आधा नै हो ।
हङकङका प्रायः यस्ता रेष्टुरेण्टहरू सरकारमा क्लब भनेर दर्ता गरिन्छ । नेपाली समुदायका लागि केही सस्तो, मिठो, आफ्नो परिकारको खाना पाइन्छ । वातावरण पनि नेपाली हुन्छ ।
यस्ता ठाउँहरूमा सेफ्टी मेजर त्यति राम्रो छैन । प्रायः ठाउँमा एउटै ढोका हुन्छ । फायर सेफ्टी त्यति देखेको छैन ।
म हङकङ सरकारले एप्रुभ गरेको फायर एम्बासडर पनि हो । यदि एक्स्टिङगेसर मेरो हातमा भएको भए म आगो निभाउन सक्थें होला भन्ने लाग्छ ।
सर्वप्रथम सरकारले पनि क्लब भनेर खान दिएपछि राम्रोसँग अनुगमन गरेर मात्र त्यस्तो लाइसेन्स दिनुपर्छ । अर्को कुरा रेष्टुरेण्टकै लाइसेन्स लिएकोमा सामान्यतः ६/६ महिनामा अनुगमन हुन्छ तर क्लबहरूमा अनुगमन गरेको पाइएन । एउटा स्टाण्डर्ड मेन्टेन गर्नुपर्छ ।
क्लबलाई मात्र दोष दिनु पनि भएन । यहाँ घरहरू पुराना छन् । जताततै तारहरू देखिन्छन्, मिटरै–मिटर हुन्छन् ढोकाभरी । त्यो मिटर भएको ढोका, भर्याङमा आगो लाग्यो भने कहाँ भाग्ने ? पुराना घरहरू पनि यस्तो जोखिमका कारण हुन् ।
हङकङ नेपाली महासंघ, एनआरएनए जस्ता संस्थाहरूले घटना घटेको बेलामा आँखा बन्द नगरेर सञ्चालकहरूलाई भेटेर यसो गरौं भनेर सल्लाह दिने, त्यति गर्दा पनि नमानेमा कानूनी परामर्श गर्दा पनि फरक पर्दैन ।
त्यसैले यहाँका नेपाली संघ/संस्थाले गोष्ठी, सेमिनार भन्दा पनि सुरक्षाको विषयलाई ध्यान दिनु आवश्यक छ । हुनतः दुर्घटना नभएसम्म कसैलाई थाहा थिएन । दुर्घटना भएपछि त्यसतिर पनि लाग्नुपर्यो । पीडित परिवारले यस्तो बेला आर्थिक सहयोगको अपेक्षा मात्र भन्दा नैतिक समर्थन पनि खोज्दा रहेछन् ।
त्यस दिन मैले महासंघकी रिता गुरुङलाई भेटेको थिएँ । एनआरएनएकी टिका गुरुङ पनि आउनुभएको रहेछ तर मसँग भेट भएन । पछि फोन गर्नुभएको थियो ।
महासंघप्रति गुनासो
हाम्रो नेपाली संघ/संस्थाबाट मोरल सपोर्ट बाहेक केही पनि आएन । नेपाली महासंघले एउटा कुपन ल्याएर दिएको थियो । महासंघप्रति मेरो गुनासो के छ भने हामीले शनिबार सामान सार्न लाग्दा महासंघका अध्यक्ष टंक राना आएर सामान सार्नु पर्दैन, हामी सारिदिन्छौं । बजेट आइसकेको छ भन्नुभयो । मैले त्यही दिउँसो उहाँलाई कराएको थिएँ, “दाइ, के हो ! एक हप्ता भइसक्यो तपाईंहरू आउनु छैन, खाली गोष्ठी भनेको छ” भनेर । उहाँहरूले सारिदिन्छौं भनेपछि हामीले काम रोक्यौं तर एक हप्तासम्म पनि नगरेपछि शनिबार फलोअप गर्दा ‘सोसल वर्करलाई भन्नुस्’ भनेर गैरजिम्मेवार जवाफ पायौं । हाम्रो एक हप्ता त त्यत्तिकै गयो नि !
महासंघको अध्यक्ष जस्तो मान्छेले के बोल्न हुन्छ, के बोल्न हुँदैन थाहा छैन ? हामी आफैं सार्ने थियौं नि बरु ! नेपाली महासंघ भएपछि भेट्न आउनु उनीहरूको कर्तव्य हो तर गर्न नसक्ने आश्वासन किन दिनु ? दुःखको बेला झगडा गर्नु पनि भएन । त्यसको परिणाम हामीले हजारौं डलरको सामान त्यहीं छोडेर आउनुपर्यो । हामीले मान्छे बोलाइसकेका थियौं तर उहाँहरूले त्यसो भनेपछि बोलाएका मान्छे पनि रोक्यौं । त्यसपछि फेरि बोलाउने कुरा पनि भएन !
ढिलो हुँदा हामीले धेरै सामान छाड्नु पर्यो । रिता गुरुङले भने हामीलाई व्यक्तिगत रुपमा हेनरी क्लबमा बस्ने ठाउँ मिलाइदिनुभएको थियो ।
अहिले अति आवश्यकीय सामान मात्र कुनै साथीकोमा कुनै कता राखेका छौं । धेरै सामान त्यहीँ छोडेका छौं । अहिले चाइनीजहरूले एक रातको २ हजारदेखि २७ सय डलर पर्ने २ वटा रुम, खानालगायत तीन महिनासम्मका लागि दिएका छन् । तर हामी खाना चाहिं खाँदैनौं । एक/एक महिनामा वर्कशप गर्ने भनेका छन् । वर्कशप गर्दा बाहिर जाने सल्लाह दिए भने मात्र नत्र २/३ महिना अलि स्ट्रेस फ्री हुन्छौं, विस्तारै खोजौंला । अब हामी नयाँ घर खोज्दा पक्कै पनि पैसामा सम्झौता गर्दैनौं । कम्तिमा फायर सेफ्टी भएको घर हेर्छौं । मान्छेको ज्यान भन्दा ठूलो पैसा होइन ।
अब; दुई महिनाको डिपोजिट, एक महिनाको एड्भान्स गर्दा शुरुमै ५०/६० हजार त्यसै जान्छ । त्यसमाथि महासंघ अध्यक्षको विश्वासमा पर्दा धेरै सामान त्यत्तिकै छोड्नुपरेको छ । ती सामान फेरि किन्नुपर्ने अवस्था छ ।
त्यहाँ हामी तीन परिवार थियौं । देवेन थापा, प्रेम पुन र मेरो परिवार ।
यहाँको सिष्टमअनुसार सरकारले डाइरेक्ट दिने फन्ड हुँदैन रहेछ । मलाई चाहिं त्यस्तो हुन्छ होला भन्ने आशा थियो । तर पनि सरकारले च्यारिटीहरूलाई कल गर्दो रहेछ । उनीहरूले पीडितको क्याटागोरी छुट्याएका हुन्छन् । मृतक, घाइते र तिनका परिवारलाई बसोबासको व्यवस्थासहित आर्थिक सहयोग गर्छन् । त्यो भन्दा बाहिरकालाई चाहिं बस्ने व्यवस्था गर्दा रहेछन् । यो पनि ठूलो राहत हो ।
मैले जुवेन सोसाइटीलाई छुटाउनु हुँदैन । उहाँहरूले घटनाको भोलिपल्ट थ्री स्टार कि फोर स्टार होटल इजमा राख्नुभयो । महिनाको अन्तिमसम्म बस्न सक्नुहुन्छ भन्नुभएको थियो तर हामीलाई अर्को सोसाइटी क्यारिटसले इटन होटलमा अफर गर्यो । त्यहाँ हामीलाई नजिक पनि पर्यो । त्यसैले गर्दा यता आयौं ।
यहाँ फन्ड भनेपछि बैंक ब्यालेन्स, कामको स्टाटस सबै हेर्दा हामी नेपालीको राम्रै कमाइ हुन्छ र हामी ढाँट्न पनि जान्दैनौं । त्यसले गर्दा मैले एक/दुईवटा फन्ड रिजेक्ट पनि गरेको छु । उनीहरूको क्राइटेरिया हेर्दा बैंकमा पैसा नभएकोहरूलाई सहयोग गर्ने रहेछ । हामी त विदेशमा कमाउन बसेका मान्छे, अलिअलि हुन्छ । तर पनि केही फन्डहरू आउँछ होला ।
फायर सेफ्टीमा नेपालीहरू आगामी दिनमा एकदमै सचेत हुनु पर्छ । हामी ८०–९० प्रतिशत अरुले जे भन्यो त्यसमै हो–हो भन्दै पछि लाग्ने खालका छौं । संघ/संस्था भनेर समाजको ठेक्का लिएर बसेकाहरूलाई मेरो के अनुरोध छ भने तपार्इंहरू पनि सरकारीस्तरमा अनुगमन गर्न लगाउनुहोस् । सक्नुहुन्न भने आफैं अनुगमनमा लाग्नुस्, सबैले सहयोग गर्छन् । संघ/संस्थाहरूसँग बजेट पनि हुन्छ । त्यसमा कानूनी वा व्यावहारिक रुपमा के गर्न सकिन्छ ? नेपाली संस्थाहरूलाई जागरुक हुन अनुरोध गर्दछु ।