आगलागीको घाउ


१५ नोभेम्बरमा ८ नेपालीको ज्यान जाने गरी भएको आगलागीको घटनाले यहाँका नेपाली अनि हङकङ सरकार मात्र होइन, विश्व नै स्तब्ध हुनुपुग्यो ।
तिहारको झिलिमिलीलाई कालो रात बनाउने आगलागीको यो घटनाले सबैलाई शोकमग्न मात्र बनाएन दरिलो पाठ पनि सिकायो।
२९ नोभेम्बरमा इन्टरनेशनल फ्युनरल पार्लर, हुङहममा राज र रायन नेपाल बाबुछोरालाई अन्तिम बिदाइ गर्न पुगेकाहरूले आँखामा आँशु थाम्न सकिरहेका थिएनन् । आगलागीमा निधन भएकाहरूको एकपछि अर्को परिवारले अन्त्येष्टिको कार्यक्रम तय गरेका छन् ।
तिहारको लागि बालिएको मैनबत्तीबाट सल्किएको आगो धेरैको काल बनेर आयो । सो घरको तेस्रो तलामा परिवारसहित बस्दै आएका किरण लिम्बू आगलागीका प्रत्यक्षदर्शीमध्येका एक हुन् । उनका अनुसार आगो–आगो भन्दै मानिसहरू चिच्याउन थालेपछि उनी आगो निभाउन ‘फायर एक्स्टिङगेसर’ खोज्न थालेका थिए । तर, नभेटेपछि सडकतिरको झ्यालको रड तोडेर बाहिर निस्किए । उनको पछि–पछि अरु ५ जना सो झ्यालबाट बाहिर निस्किएका थिए भने अरु केही भान्छाकाेठा र शौचालयको झ्यालबाट भागेर बाँच्न सफल भएका थिए । उनी भन्छन्, “आगो निभाउने सामान नै थिएन । धुवाँले श्वास फेर्न गाह्रो भएसँगै आगो फैलिन थालेपछि ज्यान बचाउनतिर लागें ।“ (हेर्नुहोस्, लिम्बूको अनुभव: ‘हेर्दाहेर्दै आगोको मुस्लो आयो !’)
हङकङ जस्तो हरतरहले सुरक्षित र सुविधासम्पन्न ठाउँमा पनि आगलागीकै कारण एकसाथ कसरी यतिका मान्छेको मृत्यु भयो ? धेरैको दिमागमा यस्तो प्रश्न आउनु स्वाभाविक थियो ।
त्यो कालो रात
जिरे खुर्सानी नेपाली ‘रेष्टुरेण्ट’ भनेर चिनिने उक्त क्लबमा त्यस साँझ ३ वर्षे बालकको जन्मदिन मनाउन, तिहारको रमझम र साँझ डिनरका लागि नेपालीहरूको जमघट भएको थियो ।
ज्यान गुमाउने ८ जनामा एकै परिवारका ५ जना छन् । ‘वर्थ डे ब्वाय’ लाई भने उनकी आमा गीता कँडेलले शौचालयको झ्यालबाट बाहिर फ्याँकेर बचाउन सफल भइन् । तर, उनकी १३ वर्षीया छोरी किर्तिका र श्रीमान् युवराज भने बचेनन् । आफू पनि झ्यालबाट फाल हानेकी गीता अहिले पनि अस्पतालमा उपचाररत छिन् ।
आगोको लप्कोले युवराजका ज्वाईं राज नेपाल र उनका ९ वर्षीय छोरालाई पनि निल्यो । उनका ७ वर्षीय अर्का छोरा र बहिनी पूजा भने बँचे । युवराजका भाइ कृष्ण कँडेलकी छोरी १८ वर्षीया सुरेखाको भने उपचारकै क्रममा निधन भयो । कृष्ण, उनकी श्रीमती र छोरा अझै अस्पतालमा जीवनका लागि संघर्षरत छन् ।
बिनिता तामाङ र मुकेश श्रेष्ठ ।
घटनामा तीन वर्ष अघि मात्र प्रेम विवाह गरेका मुकेश श्रेष्ठ र बिनिता तामाङ जोडीका रुपमा कहिल्यै भेटिने छैनन् । रेष्टुरेण्ट सञ्चालक समेत रहेकी बिनिताको शव अस्पतालमा राखिएको छ भने मुकेश उपचाररत छन् ।
घटनामा निधन भएकीमध्ये अनिता निरौला आमा शान्ता (नार्कित) थापा र १३ वर्षीया छोरीका साथ बस्दै आएकी थिइन् । त्यस दिन सञ्चो नभएर घरै बसेकीले नातिनी जोगिएको उनी सुनाउँछिन् । घटनास्थल नजिकै रिक्लाइमेशन स्ट्रिटको ७ तले भवनको साँघुरो कोठामा छोरी गुमाएकी आमा शान्ता र आमा गुमाएकी छोरी पीडादायी अवस्था छन् । साँझपख साथीहरूसँग जमघट गर्न पुगेका शेरबहादुर गुरुङ पनि बच्न सकेनन् । उनका साथीहरू झ्यालबाट निस्किएर बँचेका थिए ।
आगलागीका कारण अस्पताल भर्ना भएका ११ जनामध्ये अधिकांशको अवस्था गम्भीर छ । खानेकुरा ‘टेकअवे’ का लागि पुगेकी तिला राई पनि आगलागीको चपेटामा परिन् । अस्पतालमा उपचार गराइरहेकी उनी अझै ठिक हुन सकेकी छैनन् ।
मृतकका परिवारप्रति सहानुभूति र घाइतेको स्वास्थ्यलाभका लागि करिब दुई सातासम्म घटनास्थल अघिल्तिर सडकमा सेतो फूल, धुप, पानीका बोतल चढाएर प्रार्थना गर्ने र दिवंगतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नेको ताँती लागेको थियो ।
नेपाली महावाणिज्यदूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित यहाँका ५ वटा अगुवा संस्थाहरू हङकङ नेपाली महासंघ, नेपाल आदिवासी जनजाति महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाली वैचारिक महासंघले सामुहिक श्रद्धाञ्जली सभा गरे । चिनियाँ समुदायले परम्परागत रुपमा मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै धर्मगुरुहरू राखेर पूजापाठ समेत गरे ।
घटनाको पाठ
हङकङ सरकार र यहाँका बासिन्दालाई यो आगलागीको घटनाले धेरै कुरा सोच्न बाध्य बनाएको छ । आगलागी भएको घटनास्थलमा ढोका, टेबल, बेन्च, भुईंसम्म जलेको देख्न सकिन्छ ।
समयमै ‘फायर सेफ्टी’को प्राथमिक रोकथाम हुन सकेको भए यस्तो भीषण आगलागीको सामना गर्न पर्दैनथ्यो । हङकङ सरकारको श्रम विभागबाट मान्यता प्राप्त रेजिस्टर सेफ्टी अफिसर रहेका मनोज गौतम नेपाली लगायत साउथ एसियनहरूमा फायर सेफ्टीबारे कम चासो रहेको बताउँछन् । यो घटनामा ‘साउण्ड प्रूफ’का लागि कालो फमको साटो आगो नसर्ने रकउलको प्रयोग भएको भए पनि आगो नियन्त्रणभन्दा बाहिर जाने सम्भावना कम रहने उनी बताउँछन् । (हेर्नुहोस्, गौतमको लेख: लापरवाही नगरौं)
आगोले ध्वस्त जिरे खुर्सानी रेष्टुरेण्टको भित्री भाग । तस्वीर: जगत अम्बु गुरुङ
सन् २०११ पछि हङकङको आगलागीमा धेरैजना हताहत भएको यही घटना हो । त्यसबेला मङकङ क्षेत्रमा भएको आगलागीमा ९ को मृत्यु र ३४ जना घाइते भएका थिए ।
हङकङ २४ घण्टा जागा रहने संसारकै सबभन्दा सुरक्षित, चल्तीको व्यापारिक केन्द्र, बसोबासका लागि महंगोमध्येको एक शहर । विज्ञान–प्रविधिमा फड्को मारेको संसारकै उदाहरणीय भूगोल ।
हङकङ भन्नासाथ बाहिरी संसारले यसरी नै सम्झिने, बुझ्ने र चिन्ने शहर ।
व्यक्तिगत र कार्यस्थलको सुरक्षाका लागि अत्यन्तै संवेदनशील हङकङलाई यो घटनाले झस्काइदिएको छ । किनकि यहाँको हरेक निर्माण क्षेत्र, व्यापारिक भवन, होटल, रेष्टुरेण्टहरूमा ‘सेफ्टी फस्र्ट’ को नियम लागू हुन्छ । सेफ्टी तालिमविना यहाँ काम नै पाइदैंन । यहाँका ८० प्रतिशत नेपालीले सेफ्टी तालिम लिएर खल्तीमा ग्रीन कार्ड बोकेका छन् । यो घटनाले नेपालीलाई आफूले लिएको तालिम र काम गर्दाको अनुभव घर–समाज, व्यवहारमा पनि लागू गर्नुपर्ने पाठ सिकाएको छ ।
त्यसो भए चुक कहाँ भयो त ? आगलागीका केही मानवीय कारण पनि छन् । काउलनको यो क्षेत्रमा ५० वर्ष पुराना धेरै भवन छन्, जसमा आकस्मिक ढोका र आगो निभाउन प्रयोग हुने ‘फायर स्प्रिङ्कल’ जडान गरिएका छैनन् । नयाँ घरहरूमा जस्तै पूर्ण ‘फायर सेफ्टी’ नहुनु पनि धेरै हताहत हुनुको एउटा कारण हो ।
व्यक्तिगत ‘सेफ्टी’प्रतिको मानवीय हेलचक्य्राइँ पनि घटनाको अर्को कारण बन्यो । ‘साउण्ड प्रूफ’का लागि प्रयोग हुने प्रज्वलनशील सामग्रीसहितको ढोका र भित्ता हुनु तथा ‘फायर एक्स्टिङगेसर’ समेत नराख्नु लापरवाहीको पराकाष्ठा नै हो । त्यसमाथि आगो लाग्नासाथ वारुणयन्त्र बोलाउनुको साटो आफैं आगो निभाउने प्रयास गर्नु अर्को कमजोरी बन्यो ।
नेपाल चेम्बर अफ कमर्स, हङकङका अध्यक्ष डासुराम पराजुली यो घटनालाई पाठको रुपमा लिएर अबका दिनमा यस्तो घटना हुन नदिन सबै सचेत हुनुपर्ने बताउँछन् । आफ्नो घर तथा पसल, कार्यालयमा ‘फायर एक्स्टिङगेसर’ सहितको सुरक्षा अपनाउनुपर्ने उनको सुझाव छ । क्लबमा दर्ता भएर सञ्चालन हुँदै आएका ‘खाजाघर’हरूलाई व्यवस्थित गर्न चेम्बरले पहिलेदेखि नै पहल गर्दै आएको पराजुली बताउँछन् । (हेर्नुहोस् अध्यक्ष पराजुलीसँगको कुराकानी)
घटनालगत्तै हङकङ सरकारका प्रमुख क्यारी लामले घटनास्थलको निरीक्षण गरी अबका दिनमा यस्ता घटना दोहोरिन नदिन निर्देशन दिइसकेकी छन् । पुराना घरहरूलाई कसरी सुरक्षित बनाउने भन्नेतर्फ सरकारले चासो दिन थालिसकेको छ ।
घटनाका पीडितलाई सरकारले राहत घोषणा गर्न बाँकी नै छ । तर, पीडितका आँखाबाट आँशु बाँकी छँदै, मृतकका परिवार, घाइते र प्रभावितहरूलाई दरिलो साथ, सान्त्वना र हौसलाको साटो उनीहरूलाई समेत जानकारी नदिई पीडितका नाममा आफूखुशी सहयोग संकलनको हानथाप चलेको थियो । यस्तो हानथाप बढेपछि नेपाली कन्सुलेट जनरलको संरक्षकत्वमा ‘याउमाते अग्नि पीडित सहयोग समन्वय समिति’ गठन गरिएको छ । (याे पनि हेर्नुहोस्: कन्सुलेटको संरक्षकत्वमा अग्नि पीडितलाई सहयोग)
समुदायका लागि भनेर खुलेका कतिपय संघ–संस्था यति ठूलो घटना हुँदा एकजुट भएर, एउटै आवाज लिएर सरकार र यहाँका मिडियासँग छलफल गर्न सकिरहेका छैनन् । स्थानीय निकायले यहाँका ५० वर्ष पुराना भवनहरूमा आगलागीलगायतका जोखिम रहेको बरोबर बताइरहेको अवस्थामा कसरी आफ्नो समुदायलाई सचेत गर्ने र यस्ता घटना दोहोरिन नदिन के गर्ने भन्नेमा सामाजिक संघ–संस्था एक भएर अघि बढ्न आवश्यक छ ।
मृत्यु र बिछोडको आभास !
जति ढिलो सुते पनि निन्द्रा
बिहानसम्म न हो
जति छिटो हिंडे पनि यात्रा
चिहानसम्म न हो । –राज
युवराज कँडेलको फेसबुक पेजमा लेखिएको यो हरफ जस्तै उनको जीवन छिटो चिहानको यात्रामा परिणत भयो । उनीसँगै उनकी १३ वर्षीया छोरी किर्तिकालाई पनि निल्ने त्यो आगलागीबाट ३ वर्षीया छोरा र श्रीमती भने बाँच्न सफल भए ।
युवराज कँडेलको परिवार ।
बाबु–आमाले सधैं आफ्नो आयु पनि आफ्ना सन्तानमा थपियोस्, आफूलाई जति दुःखकष्ठ भए पनि छोरा–छोरीलाई कुनै ठेस नलागोस् भन्ने कामना गर्छन् । त्यस्तै; युवराज र उनकी श्रीमतीले छोरा–छोरीलाई त्यो विपत्बाट बचाउन ज्यानको बाजी लगाए । ‘वर्थ डे ब्वाय’ लाई उनकी आमाले शौचालयको झ्यालबाट बाहिर उद्धारकर्ता भएतिर फ्याँकेर बचाइन् तर आफू फाल हान्दा गम्भीर घाइते भइन् । उद्धारको क्रममा छुटेको ३ वर्षे बालकको जुत्ता अझै घटनास्थलसँगैको घरको कौसीमा देख्न सकिन्छ ।
घटनास्थलभन्दा पछाडिपट्टिको भाग । उद्धारका क्रममा छुटेको ‘वर्थ डे ब्वाय’को जुत्ता सँगैको घरको कौसीमा (रातो घेराभित्र) । तस्वीरः डम्बरकृष्ण श्रेष्ठ
१५ नोभेम्बर बिहान युवराजले आफ्नो फेसबुकमा छोरा र परिवारका तस्वीरहरू पोष्ट गर्दै लेखेका थिए, “जन्मदिनको सुनौलो शुभकामना । सुस्वास्थ्य एवं दीर्घायुको कामना, भगवान सधैं तिम्रो साथ रहुन्, असल र ज्ञानी बन्नु, ठूलालाई आदार र सानालाई माया गर्नु, यही छ मेरो भगवानसँग प्रार्थना । सधैंभरि शिर उच्च होस् । हरेक खुड्किला यसरी नै पार गर्दै जानू । सधैंभरि हँसिलो मुहार होस् । यही मेरो तिमीलाई आशीर्वाद ।” यसरी छोरालाई दीर्घायुको कामना गरेको १२ घण्टा नबित्दै छोरालाई बचाएर उनी अनन्त यात्रामा गए ।
यो आगलागीले कँडेल परिवारसँगै हङकङेली नेपाली समुदायलाई कहिल्यै निको नहुने घाउ दिएर गयो । युवराजका बहिनी ज्वाईं राज, भान्जा र भाइ कृष्ण कँडेलको परिवारमा १८ वर्षीया छोरीको निधन भयो भने परिवारका अन्य ४ जना सख्त घाइते भए ।
बिछोडको संकेत !
कहाँ गयो जुरेली किन गीत गाउँदैन ?
तिम्रो जति मया त लालुमाई किन होला कसैको लाग्दैन…
घटनाको एक साता अघि ८ नोभेम्बर साँझ जोर्डनकै कंगन रेष्टुरेण्टमा यही गीतमा पूजा नेपाल (तुलसी), श्रीमान् राज नेपालसँग नाँचिरहेकी थिइन् ।
यो खुशी उनले आफ्नो फेसबुकमार्फत लाइभसमेत गरेकी थिइन् । त्यस दिन पूजाको जन्मदिन थियो । भोलिपल्ट पूजाले आफ्नो जन्मदिनको पारिवारिक तस्वीर फेसबुकको प्रोफाइलमा राख्दै लेखेकी थिइन्, “जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुँदैन । जहाँ नियम हुन्छ त्यहाँ प्रेम हुँदैन । … मेरो सानो सुखी परिवार ।”
आफ्नो जन्मदिन मनाएको एक सातापछि १५ नोभेम्बरमा पूजा सपरिवार भदै (दाजु युवराज कँडेलको ३ वर्षीय छोरा)को जन्मदिन मनाउन पुगेकी थिइन् । तर, यो दिन पूजाको लागि बज्रपात बनेर आयो । श्रीमान् राज र ९ वर्षीय जेठा छोरा अब उनीसँग रहेनन् ।
अन्तिम श्रद्धाञ्जली दिने क्रममा राखिएको शोक पुस्तिकामा स्वर्गीय बाबु–छोरा ।
“तिमीविनाको जिन्दगी, जिन्दगी नै भन्दिनँ म, जिन्दगी नै भन्दिनँ ।” दुई साता अघि पूजाले श्रीमान् राजसँगको तस्वीर राख्दै फेसबुकमा यस्तो लेखेकी थिइन् ।
पूजा नेपालले फेसबुकमा श्रीमान् सहितको फोटो राखेर लेखेको स्ट्याटस ।
घटनाको तीन दिन अघि १३ नोभेम्बरमा उनले एउटा टिकटक पोष्ट गरेकी थिइन्, जसले कतै अनिष्टको आभास पहिल्यै त थिएन भन्ने पनि लाग्छ । टिकटकमा उनले गाएकी थिइन्ः
बादल फाट्यो उराठै दिन आयो
खुशीका दिन गयो कि झैं भयो…
अझ ४ नोभेम्बरमा यी दम्पतीले बनाएका २ वटा टिकटक हेर्दा दुवैलाई एक–अर्काको साथ छुट्ने डर र बिछोडको संकेत भएझैं लाग्छ । टिकटकमा राजले गाएका छन्ः
तिमी टाढा भए जिन्दगीमा
मनभित्र मेरो तस्वीर
सजाइराख है…
सँगसँगै बिताएको त्यो साथ नभुल्नु है
आफैं सम्झी गरेका ती बात नभुल्नु है
तिमीलाई माया गरिरहन्छु…
कमेन्ट गर्नुहोस्
