• लापरवाही नगरौं

    आगोले ध्वस्त जिरे खुर्सानी रेष्टुरेण्टको भित्री भाग ।
  •  

    १५ नोभेम्बर २०२०, आइतबार साँझ काउलुन, याउ मा तेई, जोर्डनस्थित हङकङका नेपालीहरू आगलागीमा परी मृत्युवरण गरेको घटनाले नेपाली समाज स्तब्ध र भाव विभोर हुनुका साथै अपूरणीय क्षति भयो ।

    दिवंगत आत्माहरूको चिर शान्तिको कामनासहित यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनहरूप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    उक्त्त घटना के कसरी घट्यो भन्ने विषयमा हङकङ सरकारले छानबिन गरिरहेको अवस्थामा मैले यही नै हो भनेर यकिनका साथ भन्न नसके तापनि घटनाको प्रकृति हेरेर र मैले हङकङमा सुरक्षासम्बन्धी हासिल गरेको शिक्षा, ज्ञान र सीपका आधारमा केही अनुभव तथा सुझाव प्रस्तुत गर्न चाहन्छु ।

    पहिलो कुरा त हामीलाई यो ज्ञान हुन जरुरी छ कि, आगो बल्नको लागि ताप, इन्धन र अक्सिजनको आवश्यकता पर्दछ । यी तीन तत्वमध्ये एक तत्व मात्र नभएमा पनि आगो बन्दैन या बल्दैन । साथै, यी तीन तत्वमध्ये एक तत्वलाई हटाउन सकियो भने बलेको आगो तुरुन्त निभाउन सकिन्छ ।

    मुख्यतया हामीले ख्याल गर्नुपर्ने भनेको आगोको प्रकृति कस्तो खालको छ ? कुन प्रकारको आगो हो ? जस्तैः

    – काठ, दाउरा, कागजबाट हुने आगो

    – इन्धन, ग्याँस, ग्रिज, तेलबाट हुने आगो

    – इलेक्ट्रिकल सर–सामान सट भएर हुने आगो

    माथि उल्लेखितमध्ये कुन प्रकारको आगो हो भन्ने पत्ता लगाइसकेपछि तदनुसारको आगो निभाउने यन्त्र/उपकरणको प्रयोग गर्नु पर्दछ । जस्तै; कार्बनडाइअक्साइड, सुख्खा पाउडर, फोम वा पानी प्रयोग गर्नको लागि कुन प्रकारको आगो हो त्यसमा निर्भर रहन्छ । उदाहरणको लागि इलेक्ट्रिकल फायर हो भने फोम वा पानी प्रयोग गर्नु हुन्न ।

    कन्ट्रक्सनमा सुरक्षा सम्बन्धी निकायमा काम गरेको अनुभवका
    आधारमा भन्दा हामी साउथ एसियनमूलका मानिस आगलागी रोकथामसम्बन्धी तालिम
    ,
    आगो निभाउने अभ्यास आदिमा त्यति चासो राख्दैनौं । यसो हुनु विडम्बनापूर्ण छ ।

    हामी साउथ एसियनमूलका मानिसहरू आगलागी रोकथामसम्बन्धी तालिम, आगो निभाउने अभ्यासहरूमा त्यति चासो राख्दैनौं भन्ने मेरो तितो अनुभव छ । हामी अधिकांशलाई आगो निभाउने यन्त्र जस्तो; फायर एक्स्टिङगेसर कसरी प्रयोग गर्ने भन्ने सामान्य ज्ञानको पनि कमी भएको प्रशस्त उदाहरण मसँग छन् ।

    गत महिना घटेको दुःखद् घटनामा; घटनास्थलको प्रकृति र घाइतेहरूबाट पाएको सूचनाका आधारमा मेरो तर्क यसरी प्रस्तुत गर्न चाहन्छु ।

    घटनास्थलमा मुख्य ढोका र सहायक ढोका गरी दुईवटा ढोका भएको, बाहिर आवाज कम जाओस् भनी तीनतिर कालो फम (अण्डा क्रेट) प्रयोग गरिएको देख्न सकिन्छ । सुन्नमा आएअनुसार मुख्य ढोका हुँदै सहायक ढोकासम्म आगो आएपछि मात्र भित्र रहेका मानिसले थाहा पाएका थिए । अनि, तत्काल ढोका खोल्दा धुवाँको मुस्लो कोठाभित्र छिरेको भन्ने बुझिएको छ । मुख्य ढोका इलेक्ट्रिक सिस्टमको भएको, खोल्ने प्रयास गर्दा नखुलेको, आगो अनियन्त्रित हुँदै जाँदा पानीले निभाउने प्रयास गर्दैगर्दा बिजुली सट भई अन्धकार भएको साथै कालो फम जलेर निस्केको धुवाँको मुस्लो निरन्तर कोठामा गएपछि उक्त वातावरणमा मानिसहरूलाई श्वासप्रश्वासमा कठिनाइ भएको थियो ।

    माथि उल्लेखित आधारलाई केलाउने हो भने पहिलो कमजोरी कालो फम (अण्डा क्रेट) को प्रयोग हो । कालो फमले आवाजलाई कम गर्न मद्दत गर्दैन । त्यसमाथि पनि यो फम ज्वलनशील र यसबाट निस्कने धुवाँमा प्राणघातक कार्बन मोनोअक्साइड ग्याँस हुन्छ । यो ग्याँसले ६० देखि ९० सेकेण्डभित्र हाम्रो श्वासप्रश्वास नलीलाई नष्ट गरिदिन्छ र एकै सासमा मानिसको ज्यान लिन्छ । यदि त्यस कालो फमको सट्टामा आवाज रोक्ने वस्तु रकउल (Rockwool) प्रयोग गरिएको हुन्थ्यो भने केही हदसम्म क्षति कम हुन सक्थ्यो । रकउल फाइबर ग्लासबाट निर्मित हुन्छ र आगो प्रतिरोधात्मक हुन्छ । यो कम्तिमा पनि ३ मिनेटसम्म आगोले केही पनि क्षति नगर्ने प्रकृतिको हुन्छ ।

    “Fire will not kill the people but smoke will kill”

    “आगोले मानिसहरूलाई मार्दैन तर धुवाँले मार्छ ।”

    यस घटनामा यही भनाइ पुष्टि भयो । ‘धुवाँ आगोभन्दा घातक हुन्छ’ भन्ने कुरामा हामी सजक हुनु जरुरी छ ।

     

    आगलागीबाट जोगिने उपाय

    • सकभर आगलागी भएको स्थानबाट चाँडोभन्दा चाँडो भाग्नु नै बुद्धिमानी हो । यद्यपि, शुरूमा लाग्दै गरेको आगो हो र सुरक्षित तवरले बुद्धिमत्तापूर्ण प्रयास गरियो भने निभाउन सकिन्छ । जसले धेरैभन्दा धेरै क्षति हुनबाट र मानिसहरूको ज्यान जानबाट रोक्न सकिन्छ ।

    • आगलागीको समयमा धुवाँरहित ठाउँबाट मानिसहरू निस्कने बाटो हुनु अति आवश्यक हुन्छ ।

    • सबै ढोका आगो/धुवाँ प्रतिरोधात्मक हुनुपर्दछ ताकि भवनभरी आगो/धुवाँ नफैलियोस् ।

    • आगोबाट सुरक्षामा प्रयोग गरिने उपकरणहरू सजिलै भेट्ने र देख्न सक्ने ठाउँमा राखिएको वा जडान गरिएको हुनुपर्दछ ।

    • उक्त भवनमा बस्ने मानिसहरूलाई आगलागी हुँदा निस्कने बाटोहरूसँग राम्रो परिचित गराउन आगलागी रोकथामसम्बन्धी ट्रेनिङहरू, आगो निभाउने अभ्यासहरूमा भाग लिन प्रोत्साहन गर्नु पर्दछ ।

    • आगो–चेतावनी घण्टीहरू चुस्तदुरुस्त हुनुपर्दछ ताकि आपतकालीन अवस्थामा काम गर्ने होस् । खतराको घण्टी बजेमा तुरुन्तै अग्नि सेवा विभागको फोन नम्बर ९९९ मा कल गरेर जानकारी गराउनु पर्दछ ।

    • आगोबाट सुरक्षाका उपकरण/यन्त्रहरूलाई कम्तिमा महिनाको एकपटक चेक–जाँच गरिरहेको हुनुपर्दछ ।

    • यदि बाहिर जान सक्ने स्थिति छैन भने ढोका बन्द गरेर ढोकाको वरिपरि भएका प्वालहरूलाई बन्द गर्ने र ९९९ मा कल गरेर अग्नि सेवा विभागलाई यथाशीघ्र जानकारी गराउनु पर्दछ ।

    • यदि झ्यालबाट वा अन्य स्थानबाट बाहिर निस्कन सकिने स्थिति छ भने डोरी, तन्ना, पर्दा वा तत्काल जे उपलब्ध छ त्यसको प्रयोग गरेर सुरक्षित तवरले अर्को भवन वा कोठामा जानु पर्दछ ।

    • आगलागीको समयमा लिफ्टको प्रयोग गर्नु हुँदैन ।

    • यदि धुवाँ भएको स्थान हुँदै बाहिर निस्कनुपर्ने बाध्यता छ भने भुईंमा घिस्रदै चिसो तौलियाले मुख छोपेर अगाडि बढ्नुपर्दछ । जमिनको तलको तहमा हावा सफा र ताजा हुन्छ ।

    गौतम, हङकङ सरकारको श्रम विभागबाट मान्यता प्राप्त रेजिस्टर सेफ्टी अफिसर हुन् ।

    आवरण रिपोर्ट ‘आगलागीको घाउ’ पढ्न यो लिंक क्लिक गर्नुस् ।

  • कमेन्ट गर्नुहोस्