हङकङमा बेखर्ची हुँदा
वरिष्ठ गायक दीप श्रेष्ठ हङकङ–नेपाल आउजाउ गर्न थालेको तीन दशकभन्दा बढी समय भयो । उनी अहिलेसम्म २० पटकभन्दा बढी हङकङ आएका छन् । दीपको हङकङ यात्रामध्ये केही यात्रा निकै रमणीय छन् ।
दीप पहिला आफैं कलाकारहरू जम्मा गरेर कार्यक्रम आयोजना पनि गर्थे । सन् १९९० को दशैंभन्दा अलि अगाडिको समयमा हङकङमा कार्यक्रम आयोजना गर्न भनेर उनी एउटा टोली लिएर आएका थिए । टोलीमा गायिका सरला गुरुङ, नृत्यकार अग्नि गुरुङ, गितारवादक शिशिर श्रेष्ठ, मादल र तबलावादक न्हुच्छे ढंगोल अनि गायक तथा हार्मोनियम बादकमा उनी आफैं थिए ।
उनीहरू हङकङ आइपुग्दासम्म पनि कहिले र कहाँ कार्यक्रम गर्ने भन्ने टुङ्गो थिएन । यहीँ आएर कार्यक्रम टुङ्गो लगाउने योजना थियो । तर, कार्यक्रम हुने टुङ्गो भएन । नेपालबाट ल्याएको सीमित पैसा सकियो । उनीहरू बेखर्ची भए । “त्यसबेला फोक्ल्याण्ड युद्धमा गएकाहरू फर्किएका रहेनछन् । युद्ध सकिए पनि धेरै गोर्खालीहरू नभएकोले कार्यक्रम गर्न पाइएन । त्यसपछि बेखर्ची भइयो,” दीप सम्झिन्छन्, “हामीसँग भएको सीमित पैसा सकिएपछि त्यहाँ रहनुभएकी विनिता गुरुङले सेल्टर दिनुभयो ।”
केही दिन विनिता गुरुङको शरणमा बसेपछि फोक्ल्याण्ड युद्धबाट योद्धाहरू फर्किन थाले । लडाइँबाट फर्किएकाहरूलाई मनोरञ्जन दिलाउने काम पाए उनीहरूले । उनको टोलीको काम दैनिक २ शो ती लडाइँबाट फर्किनेहरूलाई गीत सुनाउनुपर्ने थियो । त्यसपछि उनीहरूलाई सेभेन जीआरका गोर्खा मेजर भुवनसिंह लिम्बूले सेल्टर दिए । तीन दिन सैनिकहरूलाई मनोरञ्जन गराएपछि उनीहरूले १० जीआरमा पनि कार्यक्रम गरे । यी कार्यक्रमबाट अलिक पैसा आउला भन्ने सोच थियो उनीहरूको ।
सेभेन जीआरले कार्यक्रम सकिएपछि पार्टी गर्ने भयो । पार्टीमा रक्सी, बियरदेखि भव्य खानपान भयो । फर्किने बेलामा हिसाब गर्दा त पार्टीमा खाएको रक्सी, बियरको हिसाब उनीहरूले तिर्नुपर्ने भयो । पैसा त हात लाग्यो शून्य ! दीप सम्झिन्छन्, “हामी त ५/६ जना मात्र थियौं, पार्टीमा २०/२५ जनाले मनलागी खाएको रक्सी, बियर पनि हाम्रै हिसाबमा कटाए ।”
दीपले मेयर भुवनसिंहसँग यो विषयमा कुरा राखे । उनले केही खर्चको व्यवस्थापन गरिदिएपछि करिब २ सातामा उनीहरू नेपाल फर्किए । “हङकङमा हामीलाई दुःख भएको बुझेका मेजर सा’बले पछि ब्रुनाईमा कार्यक्रमका लागि लानु भयो । त्यहाँबाट भने फाइदा भयो,” दीप आफ्नो अनुभव सुनाउँछन् ।
‘रक्सी कति पिउनुहुन्छ ?’
दीपलाई एकपटक बीएफबीएस रेडियोका किशोर गुरुङले रेडियोमा गाउनका लागि हङकङ बोलाए । दीपकी श्रीमती नेपाल एयरलाइन्समा जागिरे भएका कारण दीपले निःशुल्क प्लेन टिकट पाउँथे । उनी किशोरको अनुरोधमा प्लेन चढेर हङकङ पुगे ।
दीपलाई भेटेपछि किशोरले शुरूमै प्रश्न गरे, “तपाईं रक्सी कति पिउनुहुन्छ ?” दीप के भन्ने के भन्ने भए । पहिले आएका अरु कलाकारले रक्सी धेरै पिएर दिक्क पारेपछि किशोरले त्यस्तो प्रश्न गरेका रहेछन् । उनी भन्छन्, “त्यस्तो सुनेपछि खान्छु भन्ने आँटै आएन ।”
किशोरले गन क्लबमा उनको खाने, बस्ने व्यवस्था गरिदिए । त्यसबेला बीएफबीएसमा उनले २ वटा गीत रेकर्ड गराए । त्यसमध्ये एउटा दाबा ग्याल्मोसँग गाएको ‘भन भन तिम्रो हजुर कस्तो छ’ बोलको गीत हो । ती दुई गीत अरुतिर छैनन् ।
त्यसबेला ५/६ दिन हङकङ बसाइमा उनी नाइट क्लब गए, स्टारफेरी घुमे, चुईकिन मिन्सन घुमे । “त्यसबेला पनि हङकङ झिलिमिली नै थियो तर नेपालीहरू अहिलेजस्तो धेरै थिएनन्,” उनी भन्छन्, “त्यतिबेला मोबाइलमा क्यामेरा थिएन, फोटो खिच्न राम्रै क्यामेरा चाहिन्थ्यो । त्यसैले त्यसबेलाका फोटो छैनन् ।”
अविस्मरणीय विवाह उत्सव
दीपकी श्रीमती सोफिया गुरुङ आफैं गायिका पनि हुन् । दीप र सोफियाको आवाजमा ‘तिम्रो मनमा बस्न’ लगायतका गीत रेकर्ड पनि भएका छन् ।
७/८ वर्षअघि हङकङमा सांगीतिक कार्यक्रमका लागि दीप र सोफियालाई व्यवसायी तथा समाजसेवी धन थापा र विद्या राईको जोडीले निम्त्यायो । कार्यक्रममा दीप, सोफियासँगै हङकङमै रहेकी गायिका सरला गुरुङले पनि गाइन् ।
डिसेम्बरको महिना थियो । त्यहीबेला दीप र सोफियाको म्यारिज एनिभर्सरी पर्यो । त्यो एनिभर्सरी दीपलाई अहिलेसम्मकै अविस्मरणीय लाग्छ । “त्यसबेला हामीलाई हङकङमा मात्र होइन, मकाउ र चाइनासम्म घुम्ने, बस्ने व्यवस्था मिलाइदिनुभयो,” उनी सम्झिन्छन्, “धन, विद्यासँगै वाईबी राई र ललित सुब्बाले हामीलाई ठूलो सहयोग गरे । उनीहरूकै कारण धेरै रमाइलो र अविस्मरणीय भयो यात्रा ।”
हङकङमा ‘स्टोरी टेलिङ’को इच्छा
दीपले हङकङमा धेरैपटक गाएका छन् । तर यहाँको माहौल अलि अनौठो लाग्छ उनलाई । भन्छन्, “यहाँ हाम्रा गीत मन पराउने मान्छे छन् तर हाम्रा गीतले पैसा उठाउँदैनन् ।”
एक्लै आएर ५/६ वटा गीत गाउँदा राम्रै भएको अनुभव गरेका उनले हङकङमा एकल साँझ गर्दा भने सोचेजस्तो नभएको अनुभव गरे । उनको प्लेन टिकटको पैसा नलाग्ने हुँदा कतिपय आयोजकले प्लेन टिकटबापतको रकम पारिश्रमिकका रुपमा दिन्छन्, त्यसमा उनी खुशी नै छन् ।
अब भने दीपलाई हङकङमा एउटा फरक किसिमको कार्यक्रम गर्ने इच्छा छ । पाँच दशक लामो गायन यात्रामा नारायण गोपाल, गोपाल योञ्जन, अम्बर गुरुङहरूसँगका रमाइला क्षण र आफूले गाएका गीतहरूका कथा समेटेर ‘स्टोरी टेलिङ’ सहित गीत गाउने इच्छा छ उनको । भन्छन्, “हरेक गीतका बेग्लाबेग्लै कथा छन्, ती कथा वाचन गर्दै हङकङका भद्रभलाद्मीमाझ गीत सुनाउने ठूलो इच्छा छ ।”
शान्त ‘मा ओन शान’
दीपलाई नेपालमा रहँदा पनि बारम्बार हङकङका साथीभाइ र बिताएका पलहरूको सम्झना झलझली आइरहन्छ ।
उनले सम्झिरहने हङकङका साथीभाइमा धन थापा, दिनेश सुब्बा, ज्ञान सुब्बा, कवि राई, वाईबी राई लगायत हुन् । उनीहरूसँग घुमेका, डुलेका ठाउँहरू, बिताएका रमणीय क्षणहरू नेपालमा झलझली सम्झिने गरेको उनी बताउँछन् । दीपले कवि राईको ‘काउलुन करी’, कमल पौड्यालको ‘कङ्गन रेष्टुरेण्ट’, विद्या राईको ‘तन्त्र बार’ लगायतमा गाएका छन् । यी ठाउँहरू पनि प्रिय लाग्ने सुनाउँछन् उनी ।
तर उनलाई हङकङको भिडभाड माहौल मन पर्दैन । त्यसैले उनी अलि टाढाको ‘मा ओन शान’मा बस्न आनन्द मान्छन् । जहाँ गायिका सरला र उनका श्रीमान् बस्छन् । भन्छन्, “मा ओन शान एकदम आनन्दको ठाउँ लाग्छ मलाई । त्यसैले सम्झना पनि आइरहन्छ ।”