• हङकङ हुँदै बेलायत पुगेको एउटा सानो नेपाल

    केवाईसीयूकेले यूकेमा ५५.३३ एकड जमिन किनेको खुशियालीमा राजदूत दुवसु क्षेत्री (बीचमा) केक काट्नुहुँदै ।
  •  

    विश्वका विभिन्न मुलुकमा नेपालीहरूको बसोबास भएको पाइन्छ । नेपालबाट खासगरी हङकङ हुँदै बेलायतसम्म फैलिएका नेपालीहरूको सन्दर्भलाई मात्र यहाँ चर्चा गरिनेछ । हङकङबाट प्रकाशित एभरेष्ट खबर पत्रिकाका लागि तयार पारिएको यो लेखमा हङकङ र बेलायतको नेपाली समाजको समाजशास्त्रीय मिहिन विश्लेषण नभई सामान्य अवलोकन जस्तै राख्ने प्रयास गरेको छु ।

    हङकङको ऐतिहासिक पृष्ठभूमि

    सन् १८४२ को पहिलो अफिम युद्धपछि हङकङको मुख्य टापु बेलायतले कब्जा गरेको थियो । त्यसैगरी दोस्रो अफिम युद्धपछि सन् १८६० मा काउलुन प्रायदिप र हङकङको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्न तथा हङकङको सामरिक रक्षाका लागि चीन र बेलायतबीच सन् १८९८ को जुन ९ मा सामचुन नदीसम्मको विस्तारित भूभाग (जसलाई न्यू टेरिटोरिज भनिन्छ), ९९ वर्षसम्मका लागि लिजमा लिने सम्झौता भएको थियो । जुन ९ मा हस्ताक्षर गरिएता पनि लागू हुने मिति चाहिं जुलाई १ मानिएको हुनाले सन् १९९७ को जुन ३० मा लिज सकियो र जुलाई १ मा हङकङको मुख्य टापु लगायत सबै क्षेत्रमा चीनको सार्वभौमसत्ता पुनः स्थापना भयो ।

    हङकङ चीनलाई फिर्ता गर्दा जग्गाको मात्र होइन जग्गामाथि बस्ने मानिसहरूको सामाजिक, आर्थिक, राजनीतिक र उनीहरूको जीवनशैलीका बारेमा १९८४ को संयुक्त घोषणापत्रमा सम्बोधन गरियो र त्यसैको आधारमा हङकङको बेसिक ल लागू गरियो । ‘एक देश दुई प्रणाली’को सिद्धान्तलाई चीनको संविधानको धारा ३१ मा समावेश गरियो ।

    सन् १९८४ को संयुक्त घोषणापत्र

    संयुक्त अधिराज्य बेलायत र जनवादी गणतन्त्र चीनका तत्कालीन प्रधानमन्त्रीद्वय मार्गरेट थ्याचर तथा झाउ जियाङद्वारा हस्ताक्षरित सन् १९८४ को संयुक्त घोषणापत्र नै नेपालीहरूको हङकङ प्रवेशको मुख्य आधार हो । नेपालीहरूकै लागि भनेर त्यो व्यवस्था भने गरिएको थिएन । हङकङका नागरिकहरू किटान गर्नेे सवालमा खासगरी अल्पसंख्यक अन्य समुदायका मानिसहरूका बारेमा सन् १९८३ वा सो अघि हङकङमा जो–जो जन्मिएका हुन् उनीहरू हङकङका स्थायी बासिन्दा हुन् भनी परिभाषित गर्नेे सहमति गरियो । यसैको आधारमा १९८३ अघि जन्मेका गोर्खा सन्तानहरू पनि हङकङको स्थायी बासिन्दाको रुपमा हङकङको आईडी प्राप्त गर्न योग्य भए । त्यसैले नै १९८३ अघि हङकङमा जन्मिएका हङकङमा तैनाथ तत्कालीन गोर्खाली सेनाका बहुसंख्यक सन्तान र उनीहरूका श्रीमान् वा श्रीमती वा उनीहरूप्रति आश्रित परिवारका सदस्यहरू हुन् । केही करारमा र व्यापार–व्यवसायका लागि आएका नेपालीहरूको बसोबास छ हङकङमा ।

    सन् १९८४ को संयुक्त घोषणापत्रका लागि विभिन्न चरणगत वार्ताहरू सम्पन्न भए । यस क्रममा तत्कालीन बेलायती साम्राज्यका नागरिकहरू जो ब्रिटिस डिपेण्डेन्ट टेरिटोरिज सिटिजन वा ब्रिटिस ओभरसिज सिटिजनका रुपमा रहेका थिए उनीहरूको नागरिकता हङकङ चीनमा फिर्ता गरिएपछि के हुने भन्ने सवालमा बेलायत चाहिं इच्छुक सबै हङकङबासीलाई नागरिकता दिन चाहन्थ्यो तर चीनका लागि यो स्वीकार्य थिएन । बेलायतले संयुक्त घोषणापत्रका अलावा छुट्टै प्रतिबद्धता–पत्र जारी गर्दै तत्कालीन बीडीटीसी वा बीओसी र पछि रुपान्तरित बीएनओहरूलाई बेलायतको राइट अफ अबोर्ड नदिने कुराको घोषणा गर्नुपर्‍यो । यो यस्तो महत्वपूर्ण सवाल थियो उसबेला चीनले यो प्रस्ताव स्वीकारेको भए हङकङको छाता क्रान्ति वा सुपुर्दगी कानूनविरोधी अन्दोलन लगायतका विभिन्न गतिविधिहरू उपरको सरकारी कारवाही अर्को देशको नागरिकमाथिको कारवाही हुन सक्थ्यो र अत्यन्तै जटिल परिस्थितिको सृजना हुने थियो । नागरिकताको विषयमा बेलायत र चीनबीच अन्ततः चिना वंशज नागरिकहरूले जुनसुकै देशको नागरिकता लिएता पनि हङकङ हस्तान्तरणपछि स्वतः चिनियाँ नागरिक हुने सहमति भयो । यो विन्दुबाट प्रश्न शुरू हुन्छ कि चिनियाँ वंशजबाहेकका हङकङमा बसोबास गर्ने अन्य अल्पसङ्ख्यक हङकङेलीहरू चाहिं के हुने त ? संयुक्त घोषणापत्र मौन छ । बेसिक ल मौन छ । बेलायतले भने सन् १९८५ मा ब्रिटिस नेसनालिटी (हङकङ) एक्ट लागू गरी १९८४ मा जारी गरेको वचनबद्धताअनुसार विना राइट अफ अबोर्डको बीएनओको व्यवस्था गर्न ब्रिटिस नेसनालिटी अर्डर, १९८६ पास गरी बीडीटीसी वा बीओसी सन् १९९७ को जुलाई १ पछि खारेज हुने र त्यसको सट्टा ब्रिटिस नेसनल ओभरसिज प्रदान गर्ने व्यवस्था गर्‍यो ।

    बेलायतले ब्रिटिस नेसनालिटी (हङकङ) एक्ट, १९९० लागू गरी ५० हजार जतिलाई तत्कालीन हङकङ गभर्नरको सिफारिसमा तोकिएका केही शर्तहरू पूरा भएकाहरूलाई छानीछानी बेलायती नागरिकता प्रदान गर्ने व्यवस्था गर्‍यो । तर नेपालीलगायत अन्य अल्पसङ्ख्यक समुदायका सदस्यहरू त्यो छनौट प्रक्रियामा पर्ने अवस्थै थिएन । हङकङबासी अल्पसङ्ख्यक गैरचिनाहरू राज्यविहीनताकै अवस्थामा रहन पुगे । करिब ६०० भारतीय मूलका हङकङबासीहरू राज्यविहीन अवस्थामा रहेको मुद्दा उठेपछि बेलायती संसदले फेरि ब्रिटिस नेसनालिटी (हङकङ) एक्ट १९९७ लागू गरी हङकङबासी गैरचिना अल्पसंख्यकहरूलाई बेलायतको पूर्ण नागरिकता प्रदान गर्‍यो । यही व्यवस्था अन्तर्गत नै हङकङका नेपालीहरू पनि बेलायती नागरिकताका लागि योग्य भए । यी नै कानूनका घुम्ती–देउराली हुँदै हाल उल्लेख्य संख्यामा नेपालीहरू हङकङ हुँदै बेलायत पुगी बसोबास गरिरहेका छन् ।

    नेपाली मेलामा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै ।

    सन् १९८४ मा जारी गरिएको चीन र बेलायतबीचको संयुक्त घोषणापत्र सन् १९८५ को जुन १२ मा अन्तर्राष्ट्रिय सन्धिका रुपमा संयुक्त राष्ट्र संघमा दर्ता गरिएको छ । सन्धिमा व्यवस्थित प्रावधानहरूको पूर्ण पालना हस्ताक्षरकर्ता मुलुकको दायित्व हुन्छ । हङकङमा भएका जनआन्दोलनहरूको दमन र चीनको केन्द्रीय सरकारद्वारा हङकङमा लागू गरिएको राष्ट्रिय सुरक्षासम्बन्धी कानून्को विरोधस्वरुप गत २२ जुलाईमा बेलायती सरकारले निर्णय गरी हङकङका बीएनओवाहकहरूका अलावा अन्य हङकङबासीहरू समेतलाई बेलायतको पूर्ण नागरिकता प्रदान गर्नेतर्फ बाटो खुला गर्‍यो । हङकङको उच्च स्वायत्तता र संयुक्त घोषणापत्रको मर्म विपरीतको कार्य भएको भनी बेलायतले चरम असन्तुष्टि र विरोधस्वरुप संयुक्त घोषणापत्रको प्रतिबद्धता विपरीत बीएनओवाहकलाई पनि भिसा सरलीकरण, काम गर्न, बसोबास गर्न सहजता र क्रमशः ५ वर्ष पूरा भएपछि पूर्ण नागरिकता आवेदन गर्न पाउने आली-आँठासहितको निर्णय गरेको छ । सन् २०२१ को जनवरीबाट आवेदन लिने काम शुरू हुनेछ । यो प्रसंग पनि हङकङबाट बेलायत आउन इच्छुक नेपालीहरूसँग सम्बन्धित हुनाले उठाइएको हो ।

    बेलायतका नेपालीहरू

    बेलायतमा हाल बसोबास गरिरहेका नेपालीहरू हङकङ हुँदै आएका बाहेक पूर्व बेलायती सेनाका परिवार, उच्च दक्षता हासिल गरेका, व्यापार–लगानीका लागि आएका, उच्च शिक्षाका लागि आएका विद्यार्थी र अन्य माध्यम हुँदै आएका नेपालीहरूको बसोबास रहेको छ । यूकेका नेपालीहरूको ठूलो संख्या गोर्खाहरूसँग सम्बन्धित भएको हुनाले स्वाभाविक रुपमा बेलायती नेपाली समाजको बनोटमा गोर्खा भर्तीको परम्परा बमोजिमको जातीय उपस्थिति झल्कन्छ । गोर्खा भर्तीमा नेपालको पूर्वका राई–लिम्बू तथा पश्चिमका गुरुङ–मगर समुदायबाट धेरै सेनामा लागेका हुनाले बेलायतको नेपाली समाजमा यी ४ समुदायको संख्या तुलनात्मक हिसाबले ज्यादा रहेको छ । नेपालीहरू यूके आउने क्रममा सबैभन्दा पहिला आफन्तहरू जताजता बसोबास गरेका छन् त्यतै जाने र आधारभूत कागजातदेखि कामकाजको खोजी पनि उनीहरूकै सहयोगबाट भएको हुनाले रमाइलो गरी यूकेभरी छरिएर बसोबास गर्ने नेपालीहरूको जातजातको बाहुल्य उपस्थितिका शहरहरू, गाउँहरू र जातभित्रका थरथरहरूको उपस्थितिका क्षेत्रहरू समेत पाइन्छ ।

    यूकेमा गर्व गर्न लायकका थुप्रै नेपालीहरू छन् । महाविद्यावारिधि प्राप्त गर्नेदेखि विद्यावारिधि गर्नुहुने विद्वानहरू, डाक्टर, नर्स, सलिसिटर, चार्टर्ड अकाउण्टेण्ट, प्राध्यापक आदि धेरै छन् । उच्च सम्भावनावाला नयाँ पुस्ताको त झन् कुरै भएन । विज्ञानको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा, शिक्षाको क्षेत्रमा अनि, अहिलेसम्म चाहिं केही स्थानीयस्तर (नगरपालिका) को राजनीतिक पदहरूमा बस चालक, लोरी चालक, ट्याक्सी चालक त्यस्तै, व्यापार–व्यवसाय भनौं सबै क्षेत्रमा नेपालीहरूको उपस्थिति मात्र होइन राम्रो पकड पाइन्छ । अझ अत्यन्तै सुन्दर पक्ष चाहिं यी सबै क्षेत्रमा नेपाली महिलाहरूको पनि उत्तिकै सहभागिता रहेको पाइन्छ । डबलडेकर बस चालक नेपाली महिलाहरूको त छुट्टै बस चालक संघ नै क्रियाशील रहेको छ । सेनाको उच्च ओहोदाहरूमा, प्रहरी बलमा नेपालीहरूको प्रवेश भइसकेको छ । गोर्खा पल्टनको २०० वर्षभन्दा लामो इतिहास त मेटाउन सकिने कुरै होइन । यही मुलुकका लागि रगत–पसिना बगाएको, ज्यान गुमाएको गौरवगाथा सुनेका खासगरी पुरानो पुस्ताका मूलबासीहरू गोर्खालीहरूलाई दिलको ढोका उदाङ्गै खोलिदिन्छन् । एक टिनएजर केटोले सुरक्षामा खटिएका पूर्व गोर्खालाई अभद्र व्यवहार गरेको थाहा पाएपछि त्यो केटाकी आमाले उनलाई तानेर ल्याई माफी मगाइन् । घटना ठूलो थिएन तर मर्मस्पर्शी अवश्य थियो ।

    हङकङ रहँदाको सम्झना

    जीवनको महत्वपूर्ण कालखण्ड हङकङमा बिताइयो । चेकलापकोक विमानस्थलको छाना छाउने, काउलुनको रेल स्टेशनको भवन बनाउनेदेखि चिङ यीको भूमिगत सुरुङ निर्माणमा सहभागी भइयो । हङकङका पार्कहरूमा, सभा भवनहरूमा, साना खोल्सादेखि पाखा पखेरा र पहरा समेतमा सपनाको बिउ छरिएको थियो । पार्कमा बैठक हुन्थे । खोल्सामा गोर्जिङ, पाखामा हाइकिङ र पहरामा आब्सेलिङ । युनलोङ थिएटरमा चुनवान टाउन हलमा कार्यक्रमहरू आयोजना गरिन्थ्यो । सपनाको बिरुवा हुर्केर फल लागे/नलागे पनि जीवनको महत्वपूर्ण अनुभव र ज्ञान भने अवश्य मिल्यो । दिलबहादुर लिम्बू हत्या प्रकरणको विरोधका समयमा एमटिआरमा यात्रा गर्दा मानिसहरूले घुरेर हेर्दा असहज लाग्थ्यो र युनलङको आफ्नो डेरामा पुग्दा अज्ञात व्यक्तिहरूको चहलपहल बढेको देख्दा एक किसिमको डर । अनि त्यसैबेला भइरहेको थाइल्याण्डको आन्दोलन जस्तै बार भत्काउन, आगो लगाउन उस्काउने फोन कलहरू एकातर्फ र अर्कोतर्फ विरोध र्‍याली शान्तिपूर्वक सम्पन्न गर्न सकिन्छ/सकिन्न भन्ने चिन्ताग्रस्त मनोदशा । पटक–पटक प्रहरीसँग बैठक बसी प्रदर्शनकारीलाई प्रहरीहरूले हाँक नदिन र सडकमा उपस्थित नहुन अनुरोध गरियो । विरोध र्‍यालीका दिन प्रहरीहरू सम्भावित घटनाका लागि तयारी तर जुलुसले नदेख्ने गरी तैनाथ गरिए । जुलुसमा पाकिस्तानी र बेलायतीमूलका अफिसरहरू मात्र आए र विरोध र्‍याली शान्तिपूर्वक सम्पन्न भयो । यो घटनाले दिमागमा गहिरो छाप छोडेको छ । पनसेटिया प्रथमिक विद्यालय सञ्चालन गर्दा शिक्षकहरूको तलब दिने दिनका अघिल्ला धेरै रातहरू ढाडमा पसिना निकालेरै सुतियो । विद्यालयको आर्थिक अवस्था नाजुक थियो । संघ–संस्थाहरूका कार्यक्रमहरूमा बाक्लो उपस्थिति हुन्थ्यो मेरो । हङकङ बसाइ अत्यन्तै व्यस्तताका साथ बिताएँ । पुराना सम्बन्धहरूमाथि थुप्रिन लागेको धुलोसम्म पुछ्न भ्याएनछु । बेलायत आएपछि डोभर विचमा माछा मार्दै नयाँ सम्बन्धहरूको पोया बाट्न थालें । हङकङमा रहनुहुने धेरै साथीभाइहरूसँगको भेटघाट छुटाएको अनुभूति हुन्छ । रातदिन जागा रहने शहर कहिल्यै असुरक्षाको आभाष नहुने शहर । हङकङको नेपाली समाजलाई संगठित गर्न सामाजिक अभियन्ताका रुपमा हङकङ गोर्खाज फोरम, हङकङ गोर्खाज एसोसिएसन र त्यो एसोसिएसनको व्यवस्थापन तथा सञ्चालनमा हङकङ पनसेटिया प्राथमिक विद्यालयको स्थापना र नेतृत्व तथा हङकङ नेपाली महासंघ अनि गैरआवासीय नेपाली संघ, एसिया प्रशान्त क्षेत्रको नेतृत्व गर्ने मौक मिल्यो । यो एउटा लेखमा सबै कुरा व्यक्त गर्न सम्भव हुँदैन । केही प्रतिनिधि प्रयत्नहरूको बारेमा ज्यादै संक्षेपमा चर्चा गर्छु ।

    हङकङ नेपाली महासंघमा अध्यक्षता गर्दाको समयमा विभिन्न ३१ संस्थाहरू यसमा सदस्य थिए । महासंघको देख्न सकिने, छाम्न सकिने उपलब्धि थियो पिङसानस्थित चोमोलोङमा मल्टिकल्चर सेन्टर । नेपाली सांस्कृतिक केन्द्र स्थापनाका लागि हङकङ सरकारसँग माग गरी स्थापना गरिएको उक्त केन्द्रको नाम सरकारको तर्फबाट पिङसान मल्टिकल्चर सेन्टर प्रस्ताव गरिएको थियो । नेपाली महासंघको माग बमोजिम सगरमाथाको नाम तिब्बती भाषामा र नेपालकै पनि उत्तरी भेगमा पुकारिने नाम चोमोलोङमा रहन गएको थियो । यो केन्द्र हङकङेली नेपालीको सामाजिक गतिविधिको केन्द्र हुन सक्छ । केन्द्रको स्वामित्व नेपाली समुदायमा कानूनतः लिन नसकिएता पनि व्यावहारिक तवरबाट केन्द्रको भरपुर उपयोग गर्दै डिफेक्टो स्वामित्व नेपाली समुदायमा स्थापित गर्न सकेमा नेपाली समुदायको पहिचानको महत्वपूर्ण पाटो हुन सक्छ ।

    नेपाली मेलामा सांस्कृतिक झाँकी प्रदर्शन गर्दै ।

    हङकङ गोर्खाज एसोसिएसनको व्यवस्थापन र सञ्चालनमा सन् १९९९ मा युनलोङमा स्थापित पनसेटिया प्राथमिक विद्यालय नेपाली समुदायको लागि अर्को महत्वपूर्ण प्रयत्न थियो । स्थानीय पाठ्यक्रमको प्रयोग, अंग्रेजी माध्यम र एक विषय नेपाली भाषा औपचारिक रुपमा पढाइने यो विद्यालय नेपालीहरूको आवश्यकतालाई सम्बोधन गर्ने विद्यालय थियो । आवश्यक योजना र सोही बमोजिमको मानवीय संसाधनको बन्दोबस्तविना नै प्राथमिक तहबाट माध्यमिक र कुनै विश्वविद्यालयसँग सम्बन्धन गरी उच्च शिक्षा दिने शैक्षिक संस्थाको स्थापना र हङकङको नेपाली समाजलाई भविष्यमा प्राज्ञिक गतिविधि गर्दै हङकङेली नेपाली समाजको दिशानिर्देश गर्ने अति महत्वाकांक्षी अनि भावनाप्रधान प्रयत्न थियो त्यो । स्वाभाविक रुपले प्राथमिकस्तरमा नै अत्यन्तै कठिन अवस्थाबाट गुज्रनुपर्‍यो । विद्यालय च्यारिटेवल संस्थाको रुपमा दर्ता हुनाले विभिन्न दातृ संस्थाहरूबाट विभिन्न सहयोग प्राप्त भएता पनि विद्यार्थी संख्याको कमी, चरम आर्थिक संकट र सरकारी विद्यालय भवन पाउन असफल भएपछि दुर्भाग्यवश यो विद्यालय १२ वर्षसम्मको अनवरत प्रयासपछि बन्द गर्नुपर्‍यो ।

    विभिन्न प्रकाशनहरू

    हङकङबाट नेपाली भाषा साहित्यको क्षेत्रमा प्रकशित विभिन्न पुस्तकहरू, आवधिक म्यागेजिनहरू र दुई दशकभन्दा लामो समयसम्म निरन्तर प्रकाशित एभरेष्ट समयान्तरमा एभरेष्ट खबर पत्रिकाको प्रकाशन हङकङेली नेपालीहरूले गरेका टेन्जिवल प्रयत्नहरू हुन् । हङकङका केही जाँगरिला र सचेत युवाहरूको समूहबाट शुरू गरिएको यस एभरेष्ट पत्रिकाले नेपाली समुदायलाई सूचित मात्र होइन विभिन्न मुद्दाहरूमा समाजलाई सही दृष्टिकोण दिने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको छ ।

    हङकङ र बेलायत

    हङकङ एउटा शहर हो हामी सबै भेटघाट गर्न सकिने । करिब डेढ–दुई घण्टामा हामी कुनै पनि स्थानमा भेटघाट गर्न सक्छौं । सार्वजनिक यातायातका साधनहरू सदैव उपलब्ध हुछन् । ४ घण्टाको हवाइ यात्रामा नेपाल पुगिन्छ । व्यापार–व्यवसायका लागि सजिलो ठाउँ । नेपालसँगै सीमा जोडिएको देशको भूभाग । हङकङ विश्वकै एक महँगो शहर । अत्यन्तै उच्च जनघनत्व भएको शहर जहाँ कूल जनसंख्याले कूल क्षेत्रफललाई भाग गर्ने हो भने हरेक व्यक्तिको भागमा ज्यादै कम जग्गा पर्न सक्छ । यसको मतलब आकाशतर्फ जाने मात्र विकल्प रह्यो । त्यसैले त्यसैले पनि हङकङमा गगनचुम्बी भवनहरू धेरै ठडिएका छन् ।

    हङकङमा स्थायी प्रकृतिको कामको अवसर कम रहेको छ । भाषाका हिसाबले नेपालीहरूका लागि श्रम बजार सा“घुरो बनाएको छ । शिक्षाका लागि अंगे्रजी माध्यमका विद्यालयहरू थोरै छन् । हामीमा कुन भाषाको माध्यमबाट छोराछोरीलाई शिक्षा दिने भन्ने कुराले सताउँछ । चिना भाषा सिक्न सजिलो छैन । क्यान्टोनिज सिक्ने कि मेन्डरिन भन्ने दुविधामा परिरहनुपर्छ । हङकङ बाहिर जानुपर्‍यो भने अप्ठ्यारो पर्ला कि भन्ने चिन्ता स्वाभाविक नै हो । उच्च शिक्षाका लागि सीमित विश्वविद्यालयहरू छन् । केही युवाहरू हङकङ पुलिसमा भर्ना भएको खुशीको कुरा हो । एकजना नेपाली युवा क्याथे प्यासिफिक पाइलट हुनुहुन्छ । स्नेहाले आफ्नो खेल कौशलतामार्फत हङकङेली नेपालीको शिर उच्च बनाउँदैछिन् भने रिगम राईले कानूनी पेसामा वकिलको रुपमा नेपाली समुदायको प्रतिनिधित्व गरिरहेकी छिन् । हङकङका नेपालीहरू नेपाल र चीनबीचको सेतु हुन सक्छन् भविष्यमा । विश्व महाशक्तिको रुपमा उदाएको चीन र नेपालबीचका विभिन्न आयाममा हङकङका प्रतिभावान् नेपालीको भूमिका अहम् हुन सक्छ ।

    बेलायत नेपालभन्दा धेरै टाढाको देश । नेपालीहरू विभिन्न शहरहरूमा बसोबास गर्छन् । बेलायत आफैंमा ४ देश मिलेर बनेको एक संघ हो । एक शहरका नेपाली र अर्को शहरको नेपालीहरू भेटघाट गर्न लामो समयको यात्रा तय गर्नु पर्दछ । तैपनि जहाँ इच्छा त्यहाँ उपाय भनेझैं भौगोलिक फैलावटले नेपालीहरूको भेटघाटलाई रोक्न भने सकेको छैन । भेटघाट, मेला–महोत्सव, सांस्कृतिक कार्यक्रम, साहित्य–गोष्ठी, दर्जनौं खेलकुद कार्यक्रमहरूको आयोजना भइरहन्छन् ।

    दुवै ठाउँको बसाइको आ–आफ्नै सजिला र अप्ठ्याराहरू छन् । यूकेको जीवनशैली धान्न अलि कष्ट चाहिं उठाउनै पर्छ । मौसमसँग मिल्नु परिहाल्यो, गाडी आधारभूत आवश्यकताको चिज हो, विलासिताको कुरै भएन । जीवनशैली खर्चिलो छ । धेरै शीर्षकका बिल भुक्तानी गर्नु पर्दछ । यी बिल भुक्तानीका लागि आफू क्रियाशील रहनु त स्वाभाविकै हुन्छ । स्थानीय लवजमा बोली फुटे पनि आवरणले हामी अरु मुलुकबाट आएको प्रष्ट्याउँछ । भाषाका हिसाबले अंग्रेजी सामान्य बोलचाल गर्न सके व्यवहार चल्छ । लैङ्गिक विभेद छैन । समान काम समान तलब पाइन्छ । नेपालीहरूको अंग्रेजी भाषाप्रतिको मोहका कारण शिक्षाका लागि माध्यम भाषा छनौटको कुनै समस्या नै परेन । उच्च शिक्षाका लागि प्रचुर अवसरहरू पाइन्छन् । कुनै न कुनै विश्वविद्यालयमा स्थान अवश्य मिल्छ । उच्च शिक्षाका लागि सरकारबाट सहुलियत ऋण प्राप्त गर्न सकिन्छ । श्रम बजार फराकिलो छ, कुनै पनि क्षेत्रमा लाग्न सकिन्छ ।

    कार्यक्रमको थालनी नेपाली राष्ट्रगानबाट शुरू हुन्छ । सार्वभौम भई फैलिएका मेची–महाकालीभन्दा धेरै टाढा–टाढासम्म । नेपालमा मनाइने चाडपर्वहरू सबै मनाइन्छन् । नेपालमा भएका प्रायः सबैखाले संगठन हाँगाबिँगाहरू स्थापना गरिएका छन् । नेपालमा बोलिने विभिन्न भाषा बोल्ने मानिसहरू पाइन्छन् । चाडपर्वमा नेपालमा लगाइने पोशाक र गहनाहरूमा सजिएर हिंड्ने गरिन्छ । नेपाली गीतहरूमा कम्मर मर्काउने र नेपाली परिकारहरूमा रमाउने गरिन्छ । हामी जहाँ पुगौं एउटा सानो नेपाल त्यहीं पुगेकोछ ।

    आस्फोर्ड कैण्ट, बेलायत

  • कमेन्ट गर्नुहोस्