• ‘वीर गोरखालीको कथा’मा युवराज टक्क अडिदा

    तत्कालीन युवराज दिपेन्द्र शाह, धरानका मेयर मनोजकुमार मेन्याङ्बोलगायत गोर्खा युवा मञ्चको फोटो प्रदर्शनी कक्ष अगाडि (पब्लिक हाइस्कूल मैदान) ।
  •  

    युवराज दिपेन्द्र शाह

    घमाइलो दिनको एक बजेको हुँदो हो, धरानका हामी केही युवाहरू, युवराज दिपेन्द्र शाहको धरान–१२ स्थित पब्लिक हाइस्कूलको मैदानमा ब्यग्र प्रतीक्षारत थियौं । आजभन्दा ठिक २० वर्षअघि चारकुने नमिलेको पब्लिक हाइस्कूलको ग्राउण्डमा अघिपछि सुरक्षाकर्मीको साथ त्यसपछि पत्रकार, क्यामेरा पर्सन, धरानका बुद्धिजीवीको अग्रभागमा मिठो मुस्कानका साथ देखिए तत्कालीन हेन्सम अनि मस्ट एलिजेबल ब्याचलर अफ द कन्ट्री युवराज दिपेन्द्र शाह । अनि, एक सयभन्दा धेरै स्टल रहेको उक्त ग्राउण्डमा पश्चिमपट्टिको पहिलोद्वारमा रहेको गोर्खा युवा मञ्चको स्टलमा सरासर पसे ।

    त्यो स्टलमा गोर्खा भूतपूर्व सैनिकहरूको दुई सय वर्षको ऐतिहासिक फोटो र केही तक्माहरूको दस्ताबेज थियो । युवराज दिपेन्द्रको उक्त भ्रमण ‘धरान औद्योगिक महोत्सव २०५७’ को अवसरमा थियो । पूरै मेला–प्रदर्शनी हेर्न करिब ४५ मिनेटको समय लिएर आएका युवराज गोर्खाहरूको फोटो हेर्न सानो स्टलभित्र करिब आधा घण्टा हराए । त्यो बेला स्टल गेट सुरक्षाकर्मीको कब्जामा परेकोमा गोर्खा युवा सहकर्मीहरू छक्क पर्दै थियौं । स्टलभित्र मोजेश राई भने युवराज दिपेन्द्रलाई ब्रिफिङ गरिरहेका थिए । हाँस्दै पसेका युवराज गम्भीर मुद्रामा निस्किए । युवराजको एक्जिटसँगै भित्र पस्नेहरूको भिड बढ्यो । स्टलमा के रहेछ भनेर हेर्नेको भीड थाम्नै नसकिने भयो । लाइन लगाएर व्यवस्थित गर्नुपरेको थियो ।

    युवराज निस्किएपछि मोजेश अलि–अलि हडबडी र असिन–पसिन देखिन्थ्यो । के–के ब्रिफिङ गर्‍यो त ? हाम्रो सामुहिक जिज्ञासा थियो ।  युवराज दिपेन्द्रको एडीसीसँग पाँच मिनेट अघि मात्रै भेट भएको थियो । नाम होइन प्रत्येक सम्बोधनमा ‘सरकार’ सम्बोधन गर्नुपर्ने उनले अर्‍हाएका रहेछन् । हरेकपटक ‘सरकार’ भन्दा उसलाई निकै अप्ठ्यारो महसुस भएछ । हामीले गोर्खा युवा मित्रहरूलाई सम्बोधन गर्दा ‘कमरेड’ भन्ने चलन थियो । त्यो अहिले पनि चलि नै रहेको छ । मोजेशले आधा घन्टाको ब्रिफिङ सुनाउँदै भन्यो, “सरकार भन्ने बानी नभएर झण्डै कमरेड भनी पठाएँ नि हौ ।” हामी मज्जाले हास्यौं । यो फोटो प्रदर्शनीको उद्देश्यमा सफल र मोजेशले गरेको सानो रेलामा हाम्रो शक्तिको आभास हुन्थ्यो । जेहोस्, मोजेशलाई हामी गोर्खा भूतपूर्व सैनिकको गहन अध्ययन भएको गम्भीर व्यक्तिको रुपमा चिन्छौं । जति सरल उसको व्यवहार छ ।

    त्यतिखेर धरान सजिएको थियो । हामीले संकलन गरेका गोर्खा भूतपूर्व सैनिकहरूको १३ सयमध्ये दुई सय जति फोटो र तक्माहरू प्रदर्शनका लागि राखेका थियौं । त्यो बेला विशेष ऐतिहासिक तथा ज्ञानमूलक भनेर नगरपालिकाले पुरस्कार पनि दिएको थियो । गोर्खा युवा मञ्चले यसलाई आयोजना गरेको थियो । फोटो प्रदर्शनीको संयोजक मोजेश राई थिए ।

    गोर्खा युवा मञ्चको शुरूवात

    धरानमा वि. स. २०१० मा ब्रिटिस गोर्खा सैनिक कार्यालय (भर्ती केन्द्र) घोपा क्याम्प स्थापना भएपछि धरान र लाहुरेबीचको सुमधुर सम्बन्ध गाँसिएको हो । धरान घोपा क्याम्प खुल्नाले नै पेन्सन आएपछि पूर्वी पहाडी क्षेत्रका लाहुरेहरूले सुन्दर भविष्यको कल्पनामा धरानलाई नै रोजे । धरानलाई लाहुरेहरू बस्ने सुन्दर शहरको रुपमा स्थापित गरे । धरानलाई लाहुरेको शहर भनेर भन्दा गज्जबको आनन्द लाग्थ्यो ।

    समस्या तब निस्कियो जब गोर्खा भूतपूर्व सैनिकहरूले आफू सयौं वर्षदेखि नेपाल सरकार र बेलायत सरकारद्वारा ठगिएको पाए । आफूहरू ठगिए पनि न्याय र समानताको लागि २०४६ साल असार २७ गते काठमाडौंको स्वयम्भूमा १ सय ५० जना पूर्व–पश्चिमका गोर्खा भूतपूर्व सैनिकहरूको भेलाले गोर्खाली आन्दोलनको शुरूवात गर्‍यो । एकातिर बेलायत जस्तो शक्तिशाली राष्ट्र अर्कोतिर अल्पविकसित नेपालका अल्पसंख्यक । लाहुरेहरूलाई पौँठेजोरी खेल्नु कठिन थियो । मुद्दा गहन थियो । दुवै देशले बुझे पनि बुझ पचाएर बसेका थिए ।

    त्यो बेला गोर्खालीहरूको क्षतिपूर्ति र समानताको आन्दोलनलाई मूलधारका मिडियाले नपत्याएको अवस्था थियो । गोर्खा भूतपूर्व सैनिकसम्बन्धी जानकारी न नेपाल सरकारसँग थियो न त प्रेसले नै चासो राखेको थियो । काठमाडौंका मिडियाका लागि यो पनि कुनै मुद्दा हो र ? भन्ने थियो । पूर्वका केही राई–लिम्बू र पश्चिमका केही मगर–गुरुङहरूको व्यक्तिगत समस्याको रुपमा मिडियाले लिएको थियो ।

    बायाँबाट क्रमशः प्रदिप मेन्याङ्बो, देवन्द्री राई, मोजेश राई, सरिता लिम्बू, रेखा राई, देवराज राई,
    मोहन लिम्बू, रक्ष राई, डम्बरकृष्ण श्रेष्ठ, प्रदिप रार्ई, यात्रा थुलुङ, जसकुमार राई, विमला शालिन (भेडेटार शिकारबास) ।

    धरानका गोर्खा भूतपूर्व सैनिकहरू जुर्मुरिएर आन्दोलित भएका थिए । आन्दोलनका लागि चाहिने आर्थिक सहयोग करोडौंमा उठाएका थिए । हामी पनि शुरूमा आन्दोलनलाई सही दृष्टिकोण दिन सकिरहेका थिएनौं । गोभूपूको अर्थ गोर्खा भूतपूर्व सैनिक भए पनि हामीले अझ नजिकबाट चिनेका धराने लाहुरे गोक्ते, भुँडे र पुड्के मामाहरूको जमात थियो, जो अनपढ पनि थिए । लाहुरेहरूको आन्दोलनको सारलाई मूलधारको मिडियाले यसरी नै बुझेको थियो । तर उनीहरू विश्वका उत्कृष्ट सैनिकहरू थिए । गोर्खाहरू विश्वमा परिचित भए पनि आप्mनै आँगन भने निस्सार र बिरानो थियो ।

    आन्दोलनको शुरूवात भएको चार वर्षपछि मात्रै पूर्वका केही मिडियाले कभरेज गरेको समाचार भेट्न सकिन्छ । त्यसको करिब दश वर्षपछि त्यो पनि पूर्वाञ्चलको धरानबाट स्थानीयरुपमा प्रकाशित पत्रपत्रिकाले यो सवाललाई क्षेत्रीय तथा राष्ट्रियस्तरमा मिडियामा उजागर गरेको इतिहास निर्विवाद छ ।

    पछि; समाजशास्त्री डा. हर्क गुरुङ, इतिहासविद् डा. सुरेन्द्र केसी, अन्तर्राष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठले गोर्खा अभियानलाई साथ दिएका थिए । बौद्धिक जमातको समर्थनका साथै उनीहरूको विश्लेषण अनि मार्गदर्शनले नै मिडियाको लागि यो हट समाचार भएर देखापर्‍यो ।

    न्यूज टाइम्स र गोर्खा युवा मञ्च

    पत्रिकामा लेखनको शुरूवात धरानका पत्रकार राजकुमार दिक्पाल (हाल पोर्चुगल), डम्बरकृष्ण श्रेष्ठ (हाल हङकङ), देवराज राई (हाल हङकङ), प्रदिप मेन्याङ्बो (धरान), जनकऋषि राई (धरान) लगायतका पत्रकारले मूलधारका पत्रिकामा लेखेर शुरूवात गरेका थिए । गोर्खा भूतपूर्व सैनिकहरूको आन्दोलनको केन्द्र भनेको धरान थियो भने केन्द्रीय समिति काठमाडौंमै थियो । गोभूपू आन्दोलनको पत्रकार सम्मेलन काठमाडौंमा नै हुन्थ्यो तर मूलधारका पत्रिकामा समाचार छापिदैनथ्यो । त्यो समयलाई सम्झँदै पत्रकार डम्बरकृष्ण श्रेष्ठ भन्छन्, “काठमाडौंमै अघिल्लो दिन गोभूपूको पत्रकार सम्मेलन हुन्थ्यो तर पत्रिकामा छापिदैनथ्यो । त्यही  प्रेस विज्ञप्ति लिएर धरानमा भोलिपल्ट पत्रकार सम्मेलन हुन्थ्यो । तब मात्रै काठमाडौंका मूलधारका पत्रिकामा धरानका संवाददाताले पठाएको समाचार छापिन्थ्यो । यसो हुनुको कारण यो विषयप्रति सम्पादकको कम बुझाई नै थियो ।”

    गोभूपूसम्बन्धी अत्यधिक समाचार धरानबाट प्रकाशित ब्लास्ट टाइम्स दैनिक र न्यूज टाइम्स साप्ताहिकले गरेको थियो । न्यूज टाइम्स मा राजकुमार दिक्पाल, यात्रा थुलुङ, जनकऋषि राई, प्रदिप सेमी मेन्याङ्बो, देवराज राई, डम्बरकृष्ण श्रेष्ठ, मोजेश राई, विमला शालिन, सुमित्रा राई प्रवृत्ति, रमा घिमिरे, जगतराम मुम्चे, राजेन्द्र रिमाल, शशी थापा सुब्बा समाहित थियौं । यो पत्रिकामा दुःखसुख १८ महिना काम गरेपछि २०५६ सालको मध्यतिर यो बन्द भयो । हाम्रो वैचारिक चौतारी छुट्यो । न्यूज टाइम्स बन्द भए पनि यसभित्रको एउटा समस्या चाहिं साझा थियो । गोर्खा भूतपूर्व सैनिकहरूका छोराछोरी र भाञ्जा–भाञ्जी हुनुको साझा गौरव र पीडा हामीमा थियो । अझ यो समूहमा देवान किराती, रेखा राई, सरिता लिम्बू, सुनिता राई, देवान्द्री राई, दिपा राई, सुनिता लिम्बू, जगत नवोदित राई, प्रदिप नाम्दुङ राई, मन्दिल राई, धीरेन्द्र रुम्दाली, सिक्टन राई, पवन राई, पुस्कर गुरुङ तथा किशोर वान्तु पनि सामेल भए ।

    यूज टाइम्स साप्ताहिक बन्द भएपछि साझा समस्यामा केन्द्रित हुन तयार भयौं हामी । अनि, धरानको सैनिक भवनमा जन्म भयो गोर्खा युवा मञ्चको । यसको संयोजक बने किशोर थुलुङ । अरु सदस्य बन्यौं ।

    गोर्खा युवा मञ्चको सार

    यसको उद्देश्य भनेको गोर्खा भूतपूर्व सैनिकको आन्दोलनलाई नीतिगत तथा भौतिक रुपमा सहयोग गर्नु थियो । लाहुरेको रगत–पसिना र आँसु नेपालको अक्षुण्ण सार्वभौमको लागि थियो, भाडाको स्वार्थी सिपाहीको जस्तो थिएन भन्ने बुझाउनु थियो । तत्कालीन अंग्रेजलाई फ्रन्टलाइनमा मर्न र मार्न सक्ने सोझा, इमान्दार मान्छेहरू चाहिएको थियो भने नेपाललाई सार्वभौम बनाइराख्न यो देशका शासकले नेपाली सोझा युवाहरूलाई विदेशी सेनामा भर्ती गराएपछि मात्रै सम्भव थियो । आज पनि बेलायती इतिहासमा लडाइँको सर्वोच्च पदक भिक्टोरिया क्रस १३ गोर्खा सैनिकको नाउँमा टलक्क टल्किरहेको छ । यो कुरा समाजलाई हामी युवाहरूले बुझाउनु थियो ।

    यसैगरी पहिलो विश्वयुद्धमा दुई लाखले भाग लिएका थिए । २० हजारको ज्यान गएको थियो । त्यस्तै, दोस्रो विश्वयुद्धमा दुई लाख पचास हजार गोर्खाली युद्धमा होमिए भने ३२ हजार मारिएका थिए । दुई सय वर्ष अघिको नेपाललाई सीमानामा रहेको विश्वविजेता बेलायतबाट स्वतन्त्र राख्न यो भन्दा धेरै बलिदान अरु के हुन सक्छ ?

    बायाँबाट क्रमशः पुस्कर गुरुङ, प्रदिपसेमी मेन्याङ्बो, मोजेश राई, किशारे थुलुङ, जसकुमार राई,
    पावल राई, प्रदिप राई, देवान किराती, जनकऋषि राई, मन्दिल राई, किशोर राई बान्तु (धरान सैनिक भवन) ।

    के नेपालले आधाभन्दा धेरै जमिन अंग्रेजसँग जितेर गुमाएको हो ? पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पुगेको नेपालको सीमाना महाकाली र मेची नदीसम्म खुम्चिनु भनेको युद्ध जित्नु हो ? नेपाली युवाहरू नेपाल राज्य बचाउनका लागि बेलायती हतियारको रुपमा प्रयोग भएका थिए । नेपाली शासक मनोवैज्ञानिक रुपमा पराजित भए पनि शासकका आसेपासेहरूको स्तुतिगाने कलमले लेख्न लगाएको चाकरी गौरवभन्दा बढ्ता हुँदै होइन नेपालको इतिहास । अझ भनौं, रोयल इतिहास मात्रै हो यो । जनताको इतिहास जनता आफैंले लेख्न बाँकी नै छ ।

    बेलायतले इमान्दार बहादुरको बिल्ला भिडाइरह्यो । नेपाललाई सहयोग गरेजस्तो गरि नै रह्यो । यो दुई देशबीचको सुमधुर सम्बन्ध भन्दा पनि लुकेको स्वार्थ थियो । मानवशास्त्री डा. मेरी डेसचेनको भनाइमा यो सम्बन्ध कुटनीतिक धोका थियो, जो नेपालका आदिवासी जनजातिहरूप्रति घुमाउरो भाषामा सौदाबाजी थियो । नेपालका नागरिकले पाएको अमानवीय पीडामा दुवै सरकार खुशी थिए ।

    बेलायतको साथमा लागेर बेलायतीभन्दा पनि बढ्ता बेलायती बनेर गोर्खाली सेनाहरू जहाँ–जहाँ लडे, मारे अनि मारिए । अहिले पनि त्यो चिहान पचासभन्दा धेरै देशमा छ । ती देशमा भएका गोर्खाली चिहानको माटो लिएर सामुहिक आत्माघर बनाउने भन्ने गोर्खा युवा मञ्चको संकल्प थियो । अझ धेरै त बेलायत र नेपाल सरकारले गरेको शोषण, अन्याय, अत्याचारको बारेमा संसारलाई हरेक तरिकाले भन्नु थियो । अनि भएको थियो गोर्खा युवा मञ्चको जन्म ।

    वीर गोर्खालीहरूको कथा’ फोटो प्रदर्शनी

    धरान–१० स्थित सैनिक भवनमा सानो कोठा प्राप्त भयो, अफिस कामको लागि । हामी दैनिक भेला हुन्थ्यौं । भक्तशेर राई, गजेन्द्र इस्बो, रमेश राई, शशि थापा सुब्बा, बौद्धमान लिम्बू, नरेन्द्र राई; गोर्खा भूतपूर्व सैनिकका पूर्वाञ्चलका नेताहरू थिए । उहाँहरू नै हाम्रो मार्गदर्शक अनि अभिभावक ।

    युवाहरूमध्ये सबैभन्दा खारिएका युवा मोजेश राई फोटो प्रदर्शनीको संयोजकमा छानिए । धरानमा लाहुरेहरूको पनि लाहुरे भनेर हामी मोेजेश राईलाई चिन्दछौं । गोर्खा भूतपूर्व सैनिकहरूमा मोजेश जति फेमस कोही पनि थिएन । उनी मामाहरूसँग “हाम्रो पल्टनमा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो” भनेर पल्टने लवज र स्लाङमा कुरा गर्थे । मोजेशलाई नचिन्नेहरूले उनको पल्टने नाम र नम्बर सोधिहाल्थे । “तपार्इं कतिसाले भर्ती ? रेन्क के हो ?” मोजेश कर्मले होइन वरपरको वातावरण र लाहुरेको साथसङ्गतले लाहुरेभन्दा बढ्ता लाहुरे बनेका थिए । मोजेशको बाउको पल्टने नम्बर २११४८००५ । हामी साथी समूहमा उनलाई उनको बाउको नम्बरबाट नै लाहुरे पारामा ‘पाँच गुरु’ भनेर सम्बोधन गर्थ्यौं ।

    लाहुरेको बारेमा समकालीनहरूमध्ये मोजेशले धेरै अध्यनन गरेका थिए । हतियारको बारेमा पनि उनी अझै धेरै जानकारी राख्थे । हामीबीचमा उनीबाहेक सर्वसम्मत कोही हुन्नथे । फोटो संयोजकमा पनि मोजेश सर्वसम्मत नै भए । साथी समूहमा हामी अरु केटाहरूको पनि निक नेम थियो । कसैलाई सार्जन, कसैलाई कर्पोल, कसैलाई क्याप्टेन अनि कसैलाई गोर्खा मेजर साहेब भनेर जिस्काउने गर्थ्यौं, बाउको र्‍याङ्क अनुसार । त्यसैगरी केटी साथीहरूलाई पनि हामी नम्बर्नी, सार्जेन्नी, क्याप्टेन्नी, मेजरनी अनि आरेसेम्नी भनेर बोलाउँथ्यौ । विशेष गरेर लाहुरे मामाहरूले मोजेशलाई पल्टने जोक्स र किस्साहरू सुन्नको लागि सोध्थे, “हाम्रो पल्टनको के छ हालखबर ?”

    तस्वीर प्रदर्शनीको नाम ‘वीर गोरखालीको कथा’ राख्ने निर्णय भयो भने मिति चाहिं २०५६ चैत ३ गतेदेखि ५ गतेसम्म तोकियो । २० जना युवाहरू दत्तचित्त भएर लाग्यौं । हामीले कामको बाँडफाँट गरेका थियौं । कोही फोटो स्ट्याण्ड तयार गरिरहेका थिए । कोही लाइट । कोही प्रचार–प्रसार । कोही खाना–खाजाको व्यवस्थापन । कोही कार्यक्रमको रुपरेखा तयार गर्ने । कोही हलको व्यवस्थापन । कोही ब्यानर । कोही फोटोको क्याप्सन । हरेकले केही न केही जिम्मेवारी पाएका थिए । सबैले आ–आफ्नो जिम्मेवारीको बारेमा साँझमा ब्रिफिङ गर्नुपथ्र्यो ।

    एक हप्तामा हामीले २५ सय फोटो भेला पार्‍यौं । गोर्खा भूतपूर्व सैनिक र उनीहरूका परिवारको महत्वपूर्ण तस्वीर भेला पा¥यौं । तीमध्ये पनि प्रदर्शनीस्थलमा राख्ने झन्डै १३ सय फोटो छान्यौं । जापानको झण्डा पनि भेट्यौं, जुन दोस्रो विश्वयुद्धमा गोर्खाली सैनिकले खोसेर ल्याएका थिए । हामीले तक्मा भेट्यौं । गोर्खाली टाई भेट्यौं । अझ, गोर्खालीहरूको टोपी भेट्यौं । हरेक प्रकारका पोसाक पनि भेट्यौं ।  गोर्खाली पल्टनअनुसारको झण्डा भेट्यौं । जंगलमा कसरी बस्न सकिन्छ भनेर जंगलको लाहुरे बसाइको टेन्ट पनि सजिने भयो । लाहुरेको बेड र कोठाको नमूना पनि तयार पार्ने भयौं । सैनिक भवन अब भने पक्का सैनिकहरूको प्रदर्शनीस्थल हुने भयो । सैनिक भवनभित्र ती फोटोहरू राख्नको लागि मित्र राजु (पवन) राई र साथीहरू थिए, स्थान व्यवस्थापनको लागि । हामीले चाँडो गर्नु थियो । यो फोटो प्रदर्शनीको ‘थिम’— लाहुरेको जीवन सजिलो थिएन । उनीहरूको जीवन कष्टकर, संघर्ष र चुनौतीपूर्ण थियो भन्ने थियो । हामीले छानेको फोटो कथा जीवन जस्तै कठोर थियो ।

    फोटोलाई सजाउने काम दिन–रातभर चल्थ्यो । हामी हाम्रो प्रदर्शनी उत्कृष्ट बनाउन निकै डुबेका थियौं । खाना खान घर गयो, अरुबेला त्यही सैनिक भवनको बास । गोर्खा भूतपूर्व सैनिकहरू जसलाई हामी मामा सम्बोधन गथ्र्यौं उहाँहरू पनि रात–दिन खट्नुभएको थियो । जसले गर्दा फोटो प्रदर्शनीको तयारी पूरा भयो ।

    तीन दिने फोटो प्रदर्शनीमा हामी निकै खट्यौं । यो फोटो प्रदर्शनी तीन दिनसम्म यस्तो चल्यो कि हामीलाई थप हौस्यायो । प्रचार–प्रसार पनि धेरै थियो । गोर्खा भूतपूर्व सैनिकहरूको परिवारलाई त झण्डै ह्वीप नै जारी गरिएको थियो । तीन दिनको परिणामले अझ दुई दिन थप्न गोभूपू गजेन्द्र इस्बो र भक्त्तशेर राईले सुझाए, हामीले पनि दुई दिन थप्यौं । सन् २००० मार्च १६ देखि २० (२०५६ चैत ३–७)सम्म पाँच दिनको प्रदर्शनी अनुभव हामीले लियौं । धरानका झण्डै तीस हजारले उक्त फोटो प्रदर्शनी हेरेका थिए । युवा अनुभवको त्यो बेला हामीले हाम्रो समुदायमा एउटा आन्दोलन लिएर आएका थियौं ।

    पाँचौँ दिन बिहानै हामीले बेलुका फोटो खिच्ने निधो गर्‍यौं । फोटो खिच्ने योजना मोजेशको थियो । मोजेशले राति नै गोर्खा मेजरको ड्रेसमा फोटो खिचेका थिए । त्यो रात हामी सैनिक भवनको स्टेजमा तम्बु ओछ्याएर लाइनै सुतेका थियौं । मोजेशले संकलन गरेको महत्वपूर्ण मेडलहरू नहराओस् भनेर सैनिक भवनमा नै सिरानी हालेर सुत्थे । अन्तिम रात धीरेन्द्र रुम्दाली र सिक्टनले प्रहसन जमाएका थिए । पत्रकार राजकुमार दिक्पाल दाजु हाम्रो अनौपचारिक प्रमुख अतिथि थिए । खानपान सकेर सुत्न लाग्दा “प्रमुख अतिथिलाई भुर्इँमा गुन्द्रीको भरमा सुताउँछ केटाहरू !” उहाँको गुनासो थियो ।

    भोलि सबैजना गोर्खा पल्टनियाँ टोपी लगाएर ठूलो ब्यानर अगाडि फोटो खिच्ने योजनाअनुरुप नै यो फोटोको खिचाइ भयो । फोटो धुलाएपछि मोजेशले नै एकप्रति उपलब्ध गराएका थिए । हामीले गरेको यो कामको चर्चा निकै भयो त्यो बेला । तर हामीले त्यति दुःख गरेर भेला गरेका ती तस्वीरहरू सुरक्षित राख्न भने सकेनौं । अहिले पछुतो लागिरहन्छ ।

    सुमिता राई, किशोर थुलुङ, मोजेश राई, देवान्द्री राई (बसेको), सुनिता लिम्बू, दिपा राई, सुनिता राई (पब्लिक हाइस्कूल मैदान) ।

    एउटा इतिहासको कालखण्ड सकियो । जसले हामीले संकलन गरेका तस्वीर महत्वका साथ हेरेका थिए, तत्कालीन युवराज दिपेन्द्र, १९ जेठ २०५८ को राजदरबार हत्याकाण्डमा मारिए । आन्दोलनको शुरूवात गर्दा भेटिएका गोर्खा भूतपूर्व सैनिकहरू जो समानता चाहन्थे, न्याय चाहन्थे । उनीहरू पनि विस्तारै मृत्युका प्यारा हुँदै गए । गोर्खा युवा मञ्च पनि गोर्खा भूतपूर्व सैनिकभित्रको नेपाली दलीय राजनीतिक खिचातानीमा कतै हरायो । हामी फेरि शक्तिशाली भएर कहीँ देखिए पनि त्यो छोटो भेटघाटको रचनात्मक कामको शक्तिशाली युवा किस्सा या हिस्सा हुन कहिल्यै पाएनौं ।

    अहिले २० वर्षपछि परदेशिएर सोच्दैछु– एउटा इतिहासको विरासत समाप्त हुनमा २० वर्ष मात्रै पनि काफी हुँदो रहेछ । लाहुरेको शहर भनेर चिनिएको धरान शहर । भएभरको जायजेथा बेचेर अहिले लाहुरेहरू बेलायततिर बसाइँ सर्दैछन् । गोर्खाली लाहुरेहरूको निजी लगानीमा शुरूवात भएका महत्वपूर्ण कामहरूलाई अलिकति बजेट छुट्याउने कामको त आशा नगरौं, नेकपा सरकारले लाहुरेहरूको वृद्धभत्ता समेत कट्टा गरेपछि अझ थाहा भयो देशभित्रै विभेदको शिकार भई अपमान सहेर लाहुरे परिवार एकादेशमा हुने निश्चितै छ । जानेहरूले आर्जेका वीर गाथाहरू इतिहासमा सजाइराख्ने अक्षरहरू नै हुन् । तस्वीरहरू नै हुन् ।

    विन्चेस्टरको त्यो गोर्खा म्युजियम

    २०१२ डिसेम्बरको चिसोमा बेलायतको विन्चेस्टरमा रहेको गोर्खा म्युजियम साथी रविनसँग भ्रमण गर्ने मौका मिल्यो  । आहा ! हामीले राख्नुपर्ने दुई सय वर्षको इतिहासको पत्र–पत्र सम्हालेर राखिएको रहेछ । सन्  १८१५ देखि वर्तमानसम्मको सम्पूर्ण कथा । मेडल, पोसाकहरू, खुकुरी, चित्रकला, विभिन्न भाषामा अडियो अनि भिडियो जानकारी राखिएको देख्दा गौरवले छाती चौडा भएको थियो । त्यसमाथि गोर्खालीसम्बन्धी लेखिएका पुस्तकहरूको राम्रो संग्रह । हामीले आफैंले भोगेर आप्mनै इतिहास लेख्न नसकेकोमा भने मन निकै भारी भएको थियो । बेलायतको दृष्टिबाट हाम्रा बहादुरी र पराक्रमको गाथा मात्र बेचिरहेको थियो । त्यहाँ हाम्रो रगत र पसिना थियो । तर आँसु थिएन । आँसु हामीसँग मात्रै छ । आँसुको मूल्य न बेलायतले तिर्न सक्छ न नेपालको एकात्मक सरकारले !

    दुई सय वर्षको गोर्खा सैनिक इतिहासको आँसु, रगत र पसिनाको असर नेपालमा के पर्‍यो ? त्यसको इतिहास हामीले सम्हालेर राख्न सकेनौं, अनि लेख्न सकेनौं । बेलायतबाट धागोले बाँधेर आएका चिठ्ठीको खाम मात्रै पनि हामीले राख्न सकेको भए ? अहिले पनि ती पुराना ब्ल्याक एण्ड व्हाइट तस्वीरहरू धरानको गोर्खा भूतपूर्व सैनिकहरूको पुरानो एल्बममा या घरको भित्तामा होलान् । ती फोटोहरू हुन् हाम्रा जीवित म्युजियम । आजभन्दा बीस वर्ष अघि त्यो युवा जोसमा हामीले अगाडि बढेर गोर्खा भूतपूर्व सैनिकको अगुवा पदमबहादुर गुरुङ र उनीहरूको टीमलाई यो कुरा राख्दा “अहिले हामीले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालिसक्यौं । झिना–मसिना कुरामा अल्झिनु समयको बर्बादी हो” भन्ने ओठे जवाफ आउँदा मन एक तमासले रोएको थियो ।  कहिलेकाहीँ म सपना देख्छु– बेलायतमा भन्दा गज्जबको म्युजियम धरानमा भएको अनि म्युजियम हेर्न आउनेलाई मोजेश राईले ब्रिफिङ गरिरहेको । मुकाम चाहिं धरान सैनिक भवन !

    “वीरहरूका महावीर, उदारहरूमध्येका उदात्त, बेलायत जस्तो भाग्यमानी अर्को कुनै देश छैन जसले तिमीहरू जस्तो बफादार मित्र पाएको होस्” । लण्डनको संसद भवन नजिकै रहेको गोर्खालीको पूर्णकदको सालिकमा लेखिएको यो भनाइले बेलायतको लागि गोर्खालीको महत्व अहिले पनि बुझाउँछ । नेपालले त लाहुरेलाई ‘चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बिंड’ बनाएर राखेको दुई सय वर्ष नाघिसकेको छ ।

    २० वर्ष अघि खिचिएका यो तस्वीरहरू एक निमेषमा खिचिएको हो । तर यो सधैंका लागि कैद भयो । यसले थोरै सम्झायो धेरैपछि जो हामीले बिर्सिसकेका थियौं । अझ यसो भनौं, तस्वीरले अतीतलाई सम्झाउँछ, अनि भविष्यलाई सुनिश्चित गर्न सघाउँछ । यो नै तस्वीरको अन्तिम सत्य हो ।

  • कमेन्ट गर्नुहोस्