• अङ्गदान गरौं

  •  

    सन् २०२० मा कोभिड–१९ ले अपाङ्गलगायत समाजको सबै क्षेत्रमा चुनौती खडा गरेको छ । सामान्य जीवन अस्तव्यस्त छ । ‘न्यू नर्मल’ अन्तर्गत भौतिक दूरी राखेर, हात धोएर र मास्क लगाएर भाइरसविरूद्ध लडिरहेका छौं । आफू र अरुको सुरक्षाका लागि हामीमध्ये धेरै घरभित्रै बसिरहेका छौं ।

    कोभिड–१९ महाव्याधिबीच हङकङमा दुई हजारभन्दा धेरै बिरामी अङ्ग प्रत्यारोपणका लागि पर्खिरहेका छन् । स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका बाबजुद शरीरका अङ्गले काम गर्न छोडेका केही बिरामीका लागि अङ्ग प्रत्यारोपण नै जीवन बाँच्ने एक मात्र आशा हो । तर प्रत्यारोपण गर्न मिल्ने अङ्गको सीमित उपलब्धताका कारण मिल्दो अङ्ग भेटिनुअघि नै धेरैले ज्यान गुमाउँछन् । अङ्ग प्रत्यारोपण गराउनलाई पर्खिनुपर्ने समय घटाउन र उनीहरूको जीवनमा खुशी ल्याउन सर्वसाधारणले सक्रियतापूर्वक अङ्गदान गर्नु अत्यन्तै महत्वपूर्ण छ ।

    डिपार्टमेन्ट अफ हेल्थले सेन्ट्रलाइज्ड अर्गन डोनेशन रेजिष्टर स्थापना गरेको छ । इच्छुक अङ्गदाताले मृत्युपछि अङ्गदान गर्ने स्वेच्छा यहाँ दर्ता गराउन सक्छन् । जिम्मेवार स्वास्थ्यकर्मीले अङ्गदाताको मृत्युपछि चाँडोभन्दा चाँडो परिवारका सदस्यसँग भेटेर अङ्गदानको प्रक्रिया अघि बढाउनेछन् । यो विश्वासिलो र प्रभावकारी माध्यम हो । अङ्ग प्रत्यारोपण शल्यक्रियाका लागि परिवारका सदस्यको मञ्जुरी आवश्यक भएकोले अङ्गदाताले आफ्नो इच्छाबारे परिवारलाई जानकारी गराउनु पर्दछ । यसो गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

    महाव्याधिसँग लड्दै अङ्गदानका तीन नियममार्फत अङ्गदानमा सहयोग पुर्‍याउन सक्छौं ।

    सेन्ट्रलाइज्ड अर्गन डोनेशन रेजिष्टरमा दर्ता गर्नुहोस्

    घरमै बसेर www.codr.gov.hk मा अनलाइनमार्फत आफ्नो इच्छा दर्ता गराउन सकिन्छ । डिपार्टमेन्ट अफ हेल्थलाई फारम भरेर पत्राचार वा फ्याक्स पनि पठाउन सकिन्छ । तपाईंको जानकारी पाएपछि, डिपार्टमेन्ट अफ हेल्थका कर्मचारीले टेलिफोनमार्फत तपाईंको व्यक्तिगत जानकारी रूजु गर्नेछन् र दर्ता पुष्टि गर्नेछन् ।

    आफ्नो चाहनाबारे परिवारलाई बताउनुहोस्

    घरमै बसेर दैनिक जीवनबाट सिर्जना हुने अवसर प्रयोग गरेर परिवारसँग अङ्गदानबारे छलफल गर्नुहोस् । उदाहरणका लागि अङ्गदानसम्बन्धी समाचार हेर्दा वा कुनै प्रवद्र्धनात्मक भिडियो हेरेपछि कुरा गर्न सकिन्छ ।

    परिवार र साथीभाइलाई पनि सुनाउनुहोस्

    हाम्रो समाजमा अङ्गदानको वातावरण सिर्जना गर्न सहयोग गर्न सक्नुहुनेछ ।

    अङ्गदानबारे थप जानकारीका लागि www.organdonation.gov.hk वा फेसबुक पेज https://www.facebook.com/organdonationhk हेर्न सक्नुहुनेछ । कोभिड–१९ महाव्याधिपछि ‘न्यू नर्मल’मा अङ्गदानलाई सहयोग गर्न हातेमालो गरौं ।

  • कमेन्ट गर्नुहोस्