• त्यो अद्भूत क्याम्पिङ (फोटो स्टाेरी)

  •  

    कोभिड–१९ ले संसार नै अस्तव्यस्त बनाएको बेला हामी केही मिल्ने साथीभाइको वर्षेनी घुम्न जाने वाचा र सपना दुवै चकनाचुर हुँदै गयो । पहिलेको साल फिलिपिन्स अनि यो साल बाली जाने सोच बनाएका थियौं ।

    टाढा घुम्न जानका लागि परिस्थिति असहज बनेकोले हङकङमै कतै केही दिनको लागि जाने भनेर छलफल गर्‍यौं । लान्ताउको क्याराभान बसाइदेखि लम्मा पो तोई र चेङ छाउ आयल्यान्डको होटलमा बस्नेसम्मका सबै कुरा छलफल गर्दा अन्तिममा सेकोङको हम तीन वनमा २ दिनको लागि क्याम्पिङ जाने निधो भयो ।

    २/३ दिन अघिदेखि नै आवश्यक तयारी पछि ८ नोभेम्बर, आइतबारको बिहान १० बजे भेला भएर मङ्ककदेखि सेकोङतिर हनियौं पाँचजना मिनिबस चढेर । यस्तो क्याम्पिङ हाम्रो लागि पहिलो थियो । आवश्यक समानहरूको सूचीको तयारी र क्याम्पिङको व्यवस्थापन मलाई जिम्मा दिइएको थियो । तसर्थ, सबैलाई आ–आफ्नो सामानबारे सम्झाउँदै/सोध्दै सेकोङ आइपुगेको पत्तै भएन ।

    त्यहीँको पसलमा केही छुटेका र आवश्यक समानहरू किनेर फेरि पिएरतिर लाग्यौं । ठिक १ बजेको स्पीड बोट लिएर करिब ३० मिनेटको थोर–बहुत डरलाग्दो यात्रापछि हम तीन वनमा झर्‍यौं । १ दर्जन जति टेन्ट देखेपछि मन खिन्न भयो । सानो डाँडा पारीको त्यही वनमा क्याम्पिङ गर्ने सल्लाह गर्‍यौं । छोटो तर कठिन डाँडा चढेपछि जे दृश्य देख्यौं, सबै अलमल परेर हेरेको हेर्‍यै भयौं । हङकङमा यस्तो ठाउँ हुन्छ होला भनेर पत्याउनै गाह्रो भयो हामीलाई । पछाडि हरियो अग्ला डाँडाहरू अनि घना जङ्गल । अघि सेतो देखिने पानीको ठूला–ठूला छालमा खेल्दै गरेको समुन्द्र अनि बीचमा हाम्रो ताई वन विच सफा, सुन्दर र विशाल ।

    उचित ठाउँको रोजाइपछि ३ वटा टेन्ट बनाउनेतिर लाग्यौं । सबै बन्दोबस्त मिलाएर एकछिनको आरामपछि उमेश भाइले जोर्डनको भीआईपी स्टोरबाट लगेको साह्रै मिठो कुखुराको भुटुवा र चटपटे मज्जाले खाएर भोक हल्का गर्‍यौं । केही मान्छेहरू सर्फिङ गर्दै थिए भने केही क्याम्पिङ सकेर घर फर्कंदै । हामी पनि केहीबेर आफ्नै तालमा व्यस्त भयौं । कोही फोटो खिच्न, कोही ड्रोन उडाउन, कोही पौडी खेल्न त कोही छालसँग केटाकेटी जसरी रमाउन । साँझ परेपछि त्यहाँबाट सबैजना घर गइसकेका थिए, बाँकी हामी ५ जना मात्रै ।

    याम दाइ, उमेश र दिपेश खाना र बीबीक्यूको तयारीतिर लागे भने विनोद र म दाउरा खोज्नतर्फ । राति निस्पट अँध्यारोमा खुला आकाशमुनि साथीभाइसँग समुन्द्रछेउ गफिँदै वारिपारि बसी बीबीक्यू गर्दै चिसो सिङ्तावो बियरको चुस्की लिनुको मज्जा नै अर्कै रहेछ । अर्गानिक बीबीक्यूको हाम्रो पहिलो अनुभव र स्वाद यति स्वादिष्ठ कि कुरै नगरौं । केहीबेर सुखदुःखका पलहरू साट्यौं, भावी योजनाहरू बुन्यौं । नाच्यौं, गायौं, खायौं, पियौं र रमायौं मज्जाले । बिहानै सूर्योदयको भिडियो लिनुपर्ने भएकोले विनोद र म मध्यरातमा सुटुक्क आ–आफ्नो टेन्टतिर पस्यौं ।

    बिहान ६ नबज्दै हामी उठिसकेका थियौं । सूर्योदयको त्यो क्षण कैद गर्नका लागि आ आफ्नो क्यामेरा तयार गर्‍यौं । एकैछिनमा दिपेश पनि उठेर कफी बनाउनतिर लागे । केहीबेरमा समुन्द्रबाट सानो गोलो आकार जस्तो देखिने पहेंलो रङको पिल–पिल गर्दै पूरै आकाश नै रङ्गिन बनाउँदै उदाउँदै आयो । हामी तीनजना तातो कफीको साथमा यो अभूतपूर्व अनुभूति जीवनमा पहिलो चोटि महसुस गर्दै थियौं । त्यो क्षण साँच्चै नै चामत्कारिक थियो । छिन–छिनमा के–के हुने ! प्रकृति, संसार र हाम्रो जिन्दगी कति सुन्दर छ तर हामी सधैं केका लागि साह्रै व्यस्त ! भन्ने कुराहरू मनमा खेल्दै थिए । केहीबेरसम्म हामी निशब्द भई त्यतै टोलाइरह्यौं ।

    दिउँसो खाना खाएपछि ताई वन विच मज्जाले घुम्यौं र सरसफाइ पनि गर्‍यौं । करिब ३ बजेतिर प्याकअप गरिसकेका थियौं । सबै तयार भए पनि सबैको मन त्यहीं थियो । फर्किनै मन नलाग्ने । यस्तो स्वच्छ वातावरण, प्रकृति, बसाइ र अनुभव छोडी फेरि पहिलेकै व्यस्त र कोलाहल जिन्दगीमा जानुपर्ने सम्झिँदा मनले नजाऔं–नजाऔं भन्ने । डाँडामाथि पुगी सबैले हामी फेरि आउनेछौं भनेर मनदेखि नै वाचा गर्‍यौं । अन्तिम चोटि ताइ वन विचलाई ।

    त्यसपछि झन्डै डेढ घण्टाको हिँडाइपछि साई वन पाविलिओन आइपुग्यौं । त्यहाँबाट ट्याक्सी लिएर सेकोङ हुँदै मङ्कक आयौं । कताकता कस्तो अनौठो लाग्ने– घर जाँदा, काममा जाँदा वा बाहिर निक्लिँदा । केही दिनसम्म क्याम्पिङको त्यो ह्याङओभर रहिरह्यो । त्यहाँ बिताएका हरेक कुराको याद आइराख्ने । जेहोस्, हामीलाई यो ब्रेक चाहिएको थियो । काम या निजी जिन्दगीको प्रेसर कम गर्नका लागि भए पनि । क्याम्पिङ एकदमै राम्रो अप्सन हो, टीम बिल्डिङको लागि, मानसिक वा निजी समस्याहरू दुर गर्नका लागि र साथीभाइहरूसँग प्रकृति नजिक भई रमाइलो गर्नका लागि । हामी फेरि अर्को ठाउँ छिट्टै जाँदैछौं । तपाईंहरू नि ?

    तस्वीरः विनोद तामाङ/किरण तामाङ

  • कमेन्ट गर्नुहोस्