• संगीतमा जमेका कृष्णभक्त

    कृष्णभक्त महर्जन
  •  

    हङकङमा संगीतकर्म गरिरहेका कृष्णभक्त महर्जनका विविध परिचय छन्, तबला वादक, संगीतकार, गायक, गीतकार । नेपाली संगीत क्षेत्रमा समेत सक्रिय उनको विशेष परिचय भने नेवारी गीत–संगीतमा छ ।

    कुनै समय उनी रेडियो नेपालका तबला वादक थिए । नेपालमै छँदा गीत लेखन र संगीतको काम पनि गरिरहेका थिए । तर हङकङ आएपछि उनी विशेषगरी नेवारी भाषाका गीत रेकर्ड गराएर धमाधम भिडियो सार्वजनिक गरिरहेका छन् । हङकङ आएपछि आफ्नो भाषा संस्कृतिको गीत–संगीतमा अझ बढी सक्रिय महर्जन भन्छन्, “विदेशमा आए पनि धेरैजसो नेपालीको मन नेपालमै हुन्छ । म नेवार समुदायको मान्छे, यहाँ पनि नेवारी भाषामै बोलिन्छ । त्यसैले आफ्नो संस्कृतिलाई प्राथमिकता दिएको छु ।”

    हङकङको व्यस्त जीवनशैलीमा आफ्नो दैनिक कामबाट फुर्सद निकालेर उनी संगीतका लागि समय छुट्याउँछन् । नेपाल र भारतबाट विभिन्न कलाकार हङकङ आउँदा वाद्यवादनका लागि पनि पुग्छन् । अनि फुर्सद निकालेर गीत लेख्छन्, संगीत भर्छन् ।

    नेपालमा हुँदा पनि उनी गजल रेष्टुरेण्ट, क्यासिनोमा तबला, मादल बजाउँथे । रेडियो नेपालमा त दैनिकजसो तबला बजाउनुपर्थ्यो । त्यो व्यस्ततामा पनि उनलाई गीत फुर्थ्यो, मनमा संगीतको धुन बज्थ्यो । तर रेकर्ड गराएर सार्वजनिक भने गर्न पाएका थिएनन् ।

    श्रीमती र छोरासँग कृष्णभक्त ।

    हङकङ आएपछि उनले नेवारीमा १४ वटा गीतको भिडियो नै बजारमा ल्याइसकेका छन् । उनको संगीतमा महेश शिल्पकार, राजेन्द्र डंगोल, रुपेश डंगोल, यमन श्रेष्ठ लगायतले नेवारी गीत गाएका छन् । हङकङमा भाषाभाषिका गीतहरू गाउँदै आएका तिलक सौम्य मगरले उनको पनि शब्द संगीतमा गाएका छन् ।

    त्यसो त उनको संगीतमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपाली गीत गाएका छन् । उनले आफ्नी छोरी सोनम महर्जनका लागि आफ्नै शब्द र संगीतमा पहिलो एल्बम ‘नेपाली छोरी’ निकालेका थिए । छोरीले गाएका एल्बमका ८ गीतमध्ये दिपक लिम्बू र मदनकृष्ण श्रेष्ठले पनि एक/एक गीतमा स्वनमलाई साथ दिएका छन् ।

    अन्य गीत २२/२३ वटा रेकर्ड भएको बताउँछन् कृष्णभक्त । उनको संगीत र हङकङमै रहेका रविन खाहोङ राईको शब्दमा गायक ज्ञान सुब्बाले हालै ‘एउटा अधुरो कथा’ बोलको गीत कलकतामा रेकर्ड गराएका छन् । त्यसबाहेक रविनकै शब्दमा ‘म यो कुरा’ भन्ने गीत उनकै संगीतमा छोरी स्वनमले गाएकी छिन् ।

    उनले हालै ८ वटा गीतको डिभिडी ‘देके वोम्ह मयजु’ सार्वजनिक गरे । त्यसमा शब्द, संगीत सबै उनकै हो । कृष्णभक्तका भजनका भिडियो पनि ५/६ वटा सार्वजनिक भइसकेका छन् । जम्मा ३० वटा जति भिडियो सार्वजनिक गरिसकेका उनी अहिले पनि निरन्तर संगीतकर्ममा लागिरहेका छन् । उनका नेवारी र नेपाली गरी करिब ४० वटा गीत रेकर्डिङ भइसकेका छन् । नेवारी र नेपाली गीतको संगीत शैली फरक हुन्छ, उनी दुवैमा उत्तिकै मिहिनेत गर्छन् ।

    छोरीसँग कृष्णभक्त ।

    गीत–संगीतमा उनको लगानी पनि उत्तिकै छ । एउटा गीतमा सबैभन्दा कम १ लाख ८० हजारदेखि २ लाख खर्च गरेका उनले हालसम्म गीत संगीतमा ५०/६० लाख खर्च गरिसकेका छन् । नेवारी गीतमा पनि भिडियो बनाउँदा राम्रा कलाकार राखेर राम्रै लगानी गरेर बनाउँछन् । त्यसैले खर्च पनि धेरै भएको छ ।

    यत्रो लगानी उठ्दैन तर पनि आफ्नो संस्कृति, भाषाको गीत–संगीत गाउँदा, आफ्नो समुदायलाई सुनाउन पाउँदा उनलाई गौरव लाग्छ, आत्मसन्तुष्टि मिल्छ । भन्छन्, “नेवारको छोरो भएर आफ्नो संस्कृति देखाउन पाउँदा सन्तुष्ट छु ।”

    उनले नेवारी गीत–संगीतमा थुप्रै अवार्ड पनि जितेका छन् । काठमाडौंका नेवार समुदायमा उनका गीतहरू चर्चित छन् । ‘ह्याङ्गो मल्तम्हा’ भन्ने गीत उनको धेरै चलेको गीत हो । आजभन्दा ४० वर्षअघिको समाजको जीवनशैली उतारेका छन् उनले यो गीतमा । उनका अन्य गीतहरू पनि थुप्रै छन् ।

    संगीतमा उनीसँगै उनकी छोरी पनि सक्रिय छिन् भने कम्प्युटर इन्जिनियरिङ पढिरहेका छोरा स्वदेशले पनि वाद्य यन्त्रहरू बजाउँछन् भने श्रीमती दिलमाया महर्जनले समेत गायनमा साथ दिंदै आएकी छिन् । गीत–संगीतमा गरेको लगानी नउठे पनि आफूलाई अरुले चिन्न थालेकोमा सन्तुष्ट छन् उनी । जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ तबसम्म संगीत नछोड्ने उनको प्रण छ । भन्छन्, “मैले गर्न सकुञ्जेल यसरी नै आफ्नो भाषा, संस्कृतिका गीत–संगीत गरिरहन्छु ।”

  • कमेन्ट गर्नुहोस्