• स्वेच्छाको सपना

  •  

    स्वेच्छा नेम्वाङले टेबुल टेनिसलाई जीवनको हिस्सा बनाइन् । रहरै रहरले खेलमा आएकी उनलाई यही खेलले राष्ट्रको लागि योगदान दिने उत्कृष्ट खेलाडीको परिचय दियो ।

    चर्चाको दृष्टिकोणले टेबुल टेनिस खेल नेपालमा खासै चर्चित छैन । गाउँघरतिर यसलाई व्यावसायिक दृष्टिकोणले हेरेको पनि पाइदैंन । तर अन्तर्राष्ट्रिय तवरमा टेबुल टेनिस खेलले व्यावसायिकता पाइसकेको छ भने चाइनाले यही खेललाई आफ्नो राष्ट्रिय खेलको रुपमा समेत विकसित गरिसकेको छ ।

    स्वेच्छाले आफ्नो खेल करिअरमा दुई दर्जन बढी राष्ट्रिय र एक दर्जन बढी अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइसकेकी छिन् । गोरखा दक्षिणबाहु (२०६१) बाट सम्मानित स्वेच्छाले जर्मनी, चीन, भारत, कोरिया लगायत देशमा खेल कौशलको तालिम लिइसकेकी छिन् ।

    “देशलाई अझै विजयी मेडलहरू दिने चाहना छ, नेपालको झन्डा फहराउँदै संसार घुम्ने चाहना छ । चाँडै ट्रेनिङमा फर्किने थिएँ तर कोरोनाको प्रभावले मलाई र सम्पूर्ण खेल जीवनलाई नै प्रभावित बनाएको छ । आशा र कामना गर्छु चाँडै सबै कुरा सामान्य हुनेछ अनि म आफ्नो खेललाई अझ मजबुत बनाउँदै प्रतिस्पर्धामा उत्रिनेछु,” हँसिली स्वेच्छा भन्छिन्, “देशको लागि केही गर्ने हुटहुटी थियो, खेलको माध्यमबाट भए पनि आफ्नो उपस्थिति जनाउन पाएँ । खेलभन्दा अर्को कुनै सपना छैन, आफ्नो शरीरले साथ दिएसम्म राष्ट्रको लागि खेल्नेछु ।”

    हारपछिको जीत

    पुर्ख्यौली थलो पाँचथर, फिदिमबाट बाबा जर्नबहादुर नेम्वाङ र आमा अञ्जु जबेगुसँगै सपरिवार धरान बसाइँ सरेपछि स्वेच्छाको खेल जीवन शुरू भयो । शारदा बालिका हाइस्कूलमा कक्षा ५ मा पढ्दै गर्दा छिमेकी दाइ विनोद शाक्यबाट प्रशिक्षण लिएर जनकपुरमा सम्पन्न जुनियर टेबुल टेनिस प्रतियोगितामा भाग लिएपछि खेलप्रति लगाव बढेको उनी बताउँछिन् ।

    पहिलो प्रतियोगितामा हार व्यहोरे पनि त्यसपछि स्कूलले आयोजना गर्ने प्रतियोगितामा निरन्तर सहभागी हुँदै पुरस्कार पनि जित्दै गइन् । नेपाल इन्टर स्कूल टेबुल टेनिस प्रतियोगितामा विजयी ८ जना खेलाडीहरू (धरानबाट ४ र पोखराबाट ४) जनालाई काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलले दिएको छात्रवृत्तिमा उनी पनि परिन् ।

    धरानबाट काठमाडौं पुगेकी स्वेच्छाको खेल अझ खारिन थाल्यो । अन्तरविद्यालयका अधिकांश प्रतियोगिताहरूमा ग्यालेक्सी स्कूललाई विजयी मेडल दिलाउँदै गइन् ।

    मुलुकभित्रकै स्कूल प्रतियोगिताहरूमा आफूलाई अब्बल बनाइरहेकी स्वेच्छाले २०५४ मा ग्यालेक्सी ओपन टेबुल टेनिस प्रतियोगितापछि २०७५ सम्म दर्जनौं राष्ट्रिय, क्षेत्रीय टिटी प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै आफूलाई अब्बल खेलाडीको रुपमा दर्ज गरेकी छिन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगिता

    एसएलसीपछि पहिलोपटक स्वेच्छा साउथ एसियन जुनियर टिटी च्याम्पियनसीप २००३ का लागि हैदरावादमा भाग लिन गइन् । यो उनको राष्ट्रिय टिमबाट नेपालको प्रतिनिधित्व गर्दै खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । आशातीत सफलता नपाए पनि कास्य पदकसहित उनी नेपाल फर्किइन् । यसपछि उनले निरन्तर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सन् २००४ मा १०औं एसियन जुनियर टिटी च्याम्पियनसीप न्यू दिल्ली, ९औं साफ गेम स्लामावाद २००४, साउथ एसियन जुनियर टिटी प्रतियोगिता २००५, १०औं साउथ एसियन प्रतियोगिता कलम्बो २००६, इन्टर रिलिजियस पिस स्पोटर्स फेस्टिबल कोरिया २००७, १६औं एसियन गेम ग्वान्जाउ (चाइना) २०१०, एसियन च्याम्पियनसीप लखनउ २०११, एसियन च्याम्पियनसीप बैंकक २०१५, वल्र्ड टिटी च्याम्पियनसीप जर्मन २०१७, १८औं एसियन गेम्स ईन्डोनेशिया २०१८ लगायतमा सहभागितासँगै सफलता हात पारेकी छिन् ।

    स्वेच्छा नेपालको राष्ट्रिय टिम महेन्द्र पुलिस क्लबबाट लामो समयसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइन् । उनी भन्छिन्, “अहिलेको खेलयात्रा त्रिभुवन आर्मी क्लबबाट अगाडि बढाइरहेकी छु । अझै उत्कृष्टता हासिल गर्ने दृढ इच्छा छ ।”

    सपना पूरा हुँदा

    खेललाई मेरो जीवनको करिअर बनाएबाटै मेरो एउटै सपना हुन्थ्यो र छ । म नेपालको झन्डा विदेशी भूमिमा फहराउन चाहन्थें । नेपाललाई प्रतिनिधित्व गर्दै हरेक पटक विदेशमा जाँदा सिनियर खेलाडीहरूले नेपालको झन्डा फहराउँदै अगाडि अगाडि हिंड्दा मलाई पनि त्यस्तो गर्ने इच्छा लाग्थ्यो । एकपटक कोचलाई सोधें, “हामी नेशनल फ्ल्याग केरियर भएर अगाडि हिंड्न पाइदैंन ?” कोचले हाँस्दै भन्नुभयो, “निरन्तर खेल्दै जाऊ एकदिन अवश्य सिनियर खेलाडीको रुपमा नेशनल फ्ल्याग केरियर हुन्छौं ।”

    सन् २०१८ मा इन्डोनेशिया, जाकार्तामा सम्पन्न १८औं एसियन प्रतियोगितामा म नेशनल फ्ल्याग केरियरको रुपमा नेपाल र आफ्नो टिमलाई प्रतिनिधित्व गर्दै हिंड्न पाएँ । त्यो समय मेरो जीवनको अविस्मरणीय सपना पूरा भएको क्षण थियो । शायद सबै खेलाडीको अन्तिम इच्छा विदेशमा आफ्नो देशको फ्ल्याग केरियर नै हुन्छ, तर म त्यो भाग्यमानी खेलाडी हो, जसले आफ्नो खेल करिअरमै त्यो अवसर पाएँ ।

    स्वेच्छा ७ वर्ष हङकङ  बसिन् । पर्मानेन्ट आईडी कार्ड पनि बन्यो । ७ वर्षको दौरानमा फुड एण्ड वेबरेज व्यावसायिक कम्पनीमा राम्रै पोजिसन पनि पाइन् । महिनाको करिब तीन लाख नेपाली रुपैयाँ कमाउँथिन् । डलरको कमाईले आर्थिक अवस्था मजबुत भए पनि आफ्नो खेल र राष्ट्रको लागि केही गर्ने सपना आफ्नै आँखा अगाडि तुइरहेको थियो ।

    अन्ततः उनले नेपालमै केही गर्ने निधो गरिन्, अनि शुरू गरिन्शौभाग्य ज्वेलर्स । काठमाडौंलाई व्यावसायिक थलो बनाउँदै निरन्तर खेलमा आफूलाई समाहित गरिररहेकी छिन् स्वेच्छाले ।

    म आफूलाई अझ निखार्न चाहन्छु । म जस्तै खेल प्रतिभा भएकाहरूलाई प्रेरणाको स्रोत बन्न चाहन्छु, उनीहरूलाई मार्गदर्शन गर्न चाहन्छु, त्यसको लागि अझै खेल्नुछ । हङकङको रहनसहन, भौतिक विलासिता र राम्रो कमाई छोडेर देश फर्केकी उनी भन्छिन्, “राष्ट्रप्रेमले सबै फिका बनाइदियो । थोरै भए पनि आफ्नो देशमा गर्दैछु । बरु आफ्नो देशको सीप र कौशललाई विश्वव्यापी बनाउन कसरत गर्दैछु । यसैमा सन्तुष्ट छु ।”

    खेल र खेलाडीहरूका लागि राष्ट्रबाट उचित सम्मान र वातावरण नमिलेकोमा भने उनी दुःखी छिन् । उनको प्रश्न छ, “विदेशीसामु हामी खेलमा फिक्का हुन्छौं, हाम्रो प्रस्तुति अब्बल रहदैंन, कारण हामी रिजल्टमा मात्र ध्यान दिन्छौं, तयारी शून्य छ । अद्भुत खेल सीप र कौशल भएका खेलाडीहरूको जीवनयापनमै कठिनाई छ अनि कसरी ढुक्क भएर खेल्न सक्छन् ?

    कोरोनाको महामारीबाट माथि उठिसकेपछि आफ्नो रोजाईको खेल टेबुल टेनिसका लागि केही उत्कृष्ट कार्य गर्ने उनको योजना छ । उनको मनमा आँट र साहस अझै छ । भन्छिन्, “यो हातले राष्ट्रको लागि स्वर्ण पदक उठाऊँ, अनि विदेशी भूमिमा नेपालको झन्डा फहराउने सपना छ ।”

  • कमेन्ट गर्नुहोस्