• क्यारी लामसँगको त्यो भेट

    हङकङकी तत्कालीन कार्यकारी उपप्रमुख क्यारी लाम (बीच)सँग लेखक पौड्याल साथमा हङकङ नेपाली महासंघकी पूर्व अध्यक्ष रिता गुरुङ ।
  •  

    तिथि  मिति ठ्याक्कै यकिन भएन सायद सन् २०१४ तिर हुनपर्छ । हङकङका धनाढ्य भारतीय अगुवाहरूले शुरू गरेको गैरसरकारी संस्था ‘जुबीन फाउण्डेसन’ले कजवेबेको एक्सलसियर होटलमा दिउँसोको खानासहित कार्यक्रम तय गरेको थियो । निम्तो पत्रमा लेखिएअनुसार सेट लन्चको मूल्य भने महङ्गो अर्थात् ६५० हङकङ डलर ।

    जाऊँ वा नजाऊँको द्विविधामा थिएँ । बफे नै भए पनि म जस्ता खन्चुवाहरूलाई ठिकै हो । जाने सोच आयो र गइयो । त्यतिबेला हङकङ सरकारले अल्पसंख्यक समुदायलाई पाँचसय मिलियन हङकङ डलर दिएको थियो विविध विषयमा खर्च गर्न । त्यो बारे र अन्य अल्पसंख्यकहरूका बारेमा छलफल भनिएकोले सुनिदिऊँ न त भन्दै पुगियो । अहिलेको हङकङकी कार्यकारी प्रमुख क्यारी लाम उतिबेला उपप्रमुख थिइन् । प्रमुख अतिथिमा उनैलाई निम्त्याइएको थियो । क्यारी लामको शुभकामना सन्देश र अगुवाहरूको मन्तव्यपछि सभा खुला गरियो विचार विमर्शको लागि । हङकङको अर्थतन्त्रमै सानो हिस्सा ओगटेको भारतीय समुदायका व्यवसायीहरूको राम्रै उपस्थिति देखियो त्यो दिन ।

    कार्यक्रम सकेर हिंड्न लागेकी लामले उनीसँग इच्छा गर्ने सबैसँग तस्वीर खिच्ने समय दिइन् । अनि, पर बसिरहेका एकजनालाई हाई भन्दै कुममा थपथपाइन् । ती व्यक्ति जुरुक्क उठे र उठी–उठी वार्तालाप भयो दुवैको केही बेर । मैले सँगै बसेका एकजना भारतीय इञ्जिनियर व्यापारी आलोक जैनलाई सोधें, “हु इज हि टकिङ वीथ क्यारी लाम ?” “ओ ! यू डोन्ट नो ? हि इज फ्रम वनअफ मोस्ट रिचेष्ट इण्डियन बिजनेस फेमेली इन हङकङ, विजय हरिलेला ।”

    हङकङका हरिलेला परिवार

    हरिलेला भनेपछि मैले बुझिहालें । भारतको हैदराबादको सिन्धप्रान्तबाट सन् १९३० तिर आएका यिनका बाजेहरू शुरूमा कपडाको व्यापार गर्थे । अहिले संसारभर होटल, रियल स्टेट, फाइनान्स, एक्सपोर्ट–इम्पोर्ट लगायत दर्जनौं व्यवसायमा अग्रणी भूमिकामा छन् । हङकङका सम्भ्रान्त चिनियाँ र विदेशी व्यवसायी एवं सरकारमा पनि ‘हरिलेला परिवार’ भन्ने पहिचान बनेको छ उनीहरूको । लायन रक टनल भएर कोलुन्तोङ हुँदै सातीन शहर जाने बाटोको दाहिनेपट्टि ढोकामा ताजमहलको आकृति भएको हरियो रङ्गको यो परिवारको बङ्गला देख्न सकिन्छ । केही वर्ष अगाडि हङकङको अंग्रेजी टेलिभिजन च्यानलको टिभीबी पर्लको ’पर्ल रिपोर्ट’ भन्ने कार्यक्रममा उनका घरका बगैंचा, चोटाकोठा, भान्सा, पूजाघर, सिनेमा हल, बैठक, सभा हल र घरका विभिन्न विभागमा काम गर्ने कामदारहरूसम्मको दृश्य हेरिएको थियो । २५ हजार स्क्वायर फुटमा फैलिएको यो बङ्गलामा करिब ९० जनाको परिवार बस्छन् । जुन घरमा ४० वटा बेडरुम छन् । दुःखमा हामी सबै सँगै थियौं अब सुखमा छुट्टिनु हुँदैन, छुट्टियौं भने सोच, विचार र प्रगति पनि छुट्टिन्छ भनेर सामुहिक परिवारमा विश्वास गर्छन् उनीहरू । यो परिवारका मुली ९२ वर्षीय हरी हरिलेलाको २९ डिसेम्बर २०१४ मा मृत्यु हुँदा हङकङका पूर्व कार्यकारी प्रमुख सीवाइ ल्याङदेखि अधिकांश देशका महावाणिज्यदुत र चेम्बर अफ कमर्शका प्रतिनिधिहरू सेतो फूलको बुकी बोकेर उनको घर पुगेका समाचार छाएका थिए । यही परिवारबाट जमिन र भवनको स्वामित्व सहित सन् १९७५ मा खोलिएको चिम सा चुईको पाँचतारे होटल होलिडे इन गोल्डन माइल शायद संसारको एउटै मात्र होटल हो, जसको लवीमा शिवजीको मूर्ति छ ।

    सन् १९९० को दशकको शुरूवाततिर लिइएको हरिलेला परिवारको सामुहिक तस्वीर ।

    यो भूमिका; धन कमाउन धार्मिक नै हुनुपर्छ, यही धर्म नै मान्नुपर्छ वा धनवानको प्रशंसा गर्न बाँधिएको हैन । प्रसङ्ग जोड्न खोजिएको मात्र  हो । हुनतः अधिकांश कट्टर हिन्दु र इस्लामहरूले सुंगुरलाई छुँदा पनि अशुभ हुन्छ भन्छन् । तर हङकङका अधिकांश चिनियाँ धनाढ्य व्यवसायीले भने आ–आफ्नो व्यवसायको शिलान्यास र उद्घाटन दुवैमा सिङ्गै रोष्ट गरिएको सुंगुर सुन या चाँदीको लेपन भएको तरवारले काटेर शुभारम्भ गर्छन् । आ–आफ्नो विश्वास हो ।

    विजय हरिलेला र अल्पसंख्यक सङ्गठन

    जेहोस्, यिनै विजय हरिलेलाले दुई वर्ष अगाडि उनको आफ्नै होटल चिम सा चुईको होलिडे इनको सभाहलमा १६ नोभेम्बर २०१८ मा एउटा कार्यक्रम राखेका थिए । प्रमुख अतिथिमा अहिलेका कार्यकारी उपप्रमुख म्याथु चुङ थिए भने मूलभूमि चीनप्रति सकारात्मक भनिने डिएबी र अन्य प्रजातन्त्रवादी भनिने पार्टीका सर्वदलीय नेता, सभासद् सबैको बाक्लो उपस्थिति थियो । नेपाल, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अन्य केही पूर्वी एसियाका सङ्घ संस्थाका अगुवा तथा व्यापारी प्रायः सबै जम्मा भएका थिए । सोही दिन विजय हरिलेलाकै अध्यक्षतामा एउटा अल्पसंख्यकहरूको संस्थाको शुभारम्भ भयो । त्यो यद्यपि छँदैछ । हरिलेला परिवार व्यवसायबाट शायद हङकङको राजनीति वा प्रशासनमा आउन खोजेको हो कि भनेर त्यही दिन सहभागीहरूले चर्चा–परिचर्चा गरे पनि । जसरी भारतको सीमा जोडिएका छिमेकीहरूसँग समधुर सम्बन्ध छैन । त्यस्तै हङकङमा पनि पाकिस्तानी, बङ्गलादेशी, श्रीलंकनहरूको भारतीयमूलकाहरूसँग खासै आत्मीय सम्बन्ध भने छैन । जुन कुरा हङकङ सरकारलाई पनि थाहा छ । यो मानेमा बरु नेपालीहरू नै सबैको रूचाइमा पर्छन् ।

    भन्न खोजिएको हङकङमा यो हैसियत राख्ने करिब तीन पुस्ता बिताएकाहरूको यो हाल छ भने हामीले बल्ल दुई दशक पार गरेका छौं । मैले पहिला नै एउटा लेखमा भनेको छु, यहाँ व्यापार–व्यवसाय गरेर संसारकै धनी बन्न जोकोहीलाई पनि खुला छ तर अवैध चाहिं होइन । तर राजनीति वा प्रशासनमा त्यो सम्भावना देखिन्नँ । यो मानेमा सिङ्गापुर, बेलायत र अमेरिकाको भने कुरा अर्कै छ । सन् नब्बेको दशकमा भारतीय पञ्जावी मूलका एकजना पुलिसको इन्स्पेक्टरसम्म पुगेका थिए भने अर्का एकजना ’गेरी डिसुझा’ चिम सा चुईबाट डिस्ट्रिक काउन्सिलमा प्रतिनिधित्व गर्थे । यसपालीकै चुनावमा करिब ४०० डिस्ट्रिक काउन्सिलको चुनावमा मात्र एकजना शायद ’नर्थ प्वाइन्ट’बाट  गैरचिनियाँ थिए । पाकिस्तानीहरू जेल रक्षक र पुलिसमा पहिल्यैदेखि थिए र छन् । अहिले औंलामा गन्न सकिने नेपाली युवाहरू पनि प्रहरी सेवामा प्रवेश गरेका छन् । अंग्रेजी भाषाकै वर्चस्व भएका टेलिभिजन च्यानलहरूमा दक्षिण एसियाली मूलका अहिलेसम्म खासै देखिन्नन् । औंलामा गन्न सकिनेमा, टिभीबी पर्लमा स्ट्रेट टक चलाउने माइकल चुङ्गानी र सोही टेलिभिजनको समाचारमा आजकल रिपोर्टिङ गर्ने नोमी हरिलेला मात्र देखिन्छन् । लामो समय एटीभी वल्र्डका (हाल बन्द) पूर्व समाचार प्रस्तोता र हाल साउथ चाइना मर्निङ पोष्टका प्रधान सम्पादक योन्डेन ल्याटु दार्जिलिङ मूलका हुन् । उनी राम्रै नेपाली पनि बोल्छन् ।

    पुरानो ब्रिटिस उपनिवेश भएकोले अझै योग्यताभन्दा छाला र पासपोर्ट बिक्छ । अहिलेको हङकङको एक वर्षे आन्दोलन र पछिल्लो चुनावको नतिजापछि सरकारको विपक्षी समूहबाट पनि अल्पसंख्यक समुदायलाई दिइने महत्व भने बढेको पाइन्छ । जुन मूलतः भोटको लागि पनि हो । भोटकै लागि भए पनि केही पार्टी र यसका अगुवाहरूको नेपाली समाजसँग राम्रो सम्बन्ध र पर्दा सहयोग गरेको कुरालाई भने बिर्सन सकिन्नँ ।

    हामी नेपाली

    आज हङकङ सरकारले वा राजनीतिक अगुवाहरूले नेपाली समुदायसँग कुरा गर्न चाहे को सँग गर्ने ? त्यो वा तिनीहरू होइन म वा हामी मात्रै भन्दै दर्जनौं अनुहार अगाडि आउँछन् । कोभिड–१९ को लकडाउनका बेला हङकङवासी नेपालीहरूको उद्दार चार्टर्डको लागि सहयोग गर्न खोज्ने यहाँका विभिन्न पार्टीका नेता, समान अवसर आयोग, अध्यागमन र सुरक्षा निकाय नै रनभुल्लमा परे । एअर इण्डिया, पीआईए र विमान बङ्गलादेशले हङकङमा आफ्ना अलपत्रहरूको न्यूनतम मूल्यमा उद्दार शुरू गरिसक्दा हाम्रा अगुवाहरू सामाजिक सञ्जालमा दोहोरी खेल्दै थिए ।

    हवाइ माफियाहरूको पहुँच कति र कुन तहसम्म रहेछ त हाम्रो नेपालमा भन्ने अकल्पनीय र छर्लङ्गै भएको छ यसपाली झनै । राष्ट्रिय ध्वजावाहक हाम्रो देशमा छ र ? भन्ने प्रश्न उठेको छ पछिल्लो पटक । नेपालमा ५/६ महिना विनाआम्दानी थुनिएर, मलेशिया हुँदै सात किलो तौल मात्र बोक्ने सुविधासहित एकतर्फी भाडा मात्र रु. १ लाख ३५ हजारदेखि रु. १ लाख ८० हजारसम्म तिरेर (मान्छे हेरी) आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्न बाध्य नेपालीहरूको हालत के होला ! हङकङमा लगभग सबैको जागिर पनि गइसकेको छ यति समयसम्म । कम्तीमा यस्तो विपद्मा हामी मिल्नुपर्ने होइन र ? हङकङमा समाजिक, जातीय, क्षेत्रीय र राजनीतिक पार्टीका गरी एक सयभन्दा बढी संस्थाका अगुवाहरूले एकपटक फेरि गहिरिएर सोच्ने हो कि ?

    अन्त्यमा; मैले यी कुरा उप्काइरहँदा वा भनिरहँदा कतिलाई ननिको लाग्न सक्छ । हालसालै सामाजिक सञ्जालमा मसँग जोडिएका ’किराती सानोकाजी’ले एउटा पुरानो घटनाक्रमसँग जोडेर लेखेको अंश सान्दर्भिक लाग्यो– “हङकङका अगुवा भनाउँदा मित्रहरू आज आ–आफ्नो जुँगा आफैं छाम्नुस्, तपाईंहरूको अनावश्यक जुँगाको लडाइँ र भागबण्डामा हानथाप नभएको भए आज नेपालीहरूको आफ्नै माध्यमिक स्तरसम्मको स्कूल हुने थियो ।”

    फरक प्रसंगमा उनले यो लेखे पनि पहिले र अहिलेसम्मको हङकङको नेपाली समाजको सफा ऐना यही हो जुन हरेक विषय र क्षेत्रमा लागू भइरहेको छ ‘जुँगाको लडाइँ’ अझै पनि !

  • कमेन्ट गर्नुहोस्