• हङकङमा स्थानीय प्रतिभा उपेक्षित छन् : साक्थिम योङ्या

  •  

    हङकङलाई कर्मथलो बनाएका साक्थिम योङ्या प्रतिभावान कलाकार हुन् । गायकी, संगीत र रचनाकारको रूपमा आफ्नो क्षमता देखाइसकेका साक्थिमले सयको हाराहारीमा आफ्ना सृजनाहरू दर्शक–श्रोतामाझ पुर्‍याइसकेका छन् । पाँचथर, धरान हुँदै हङकङको व्यस्त शहरमा पनि आफ्नो सृजनशीलताबाट विचलित नभएका उनको याम्मो तुम्मिना (फेरि भेटौं), गाउँमै तन्नेरी, निम्तो, नाराङ्स्याङ्लो गीत चर्चित छन् । हङकङको स्थानीय स्टेजमा सर्वाधिक खोजीका उनी नेपालमा गएर पनि आफ्नो रकिङ प्रस्तुति दिइरहेका हुन्छन् । रेडियो, टेलिभिजनका विभिन्न कार्यक्रम, विज्ञापनहरूका जिङ्गल निर्माणमा अभ्यस्त साक्थिम विभिन्न गायकगायिकाहरूको आवाज समेट्दै नयाँ एल्बम सार्वजनिक गर्ने तयारी गर्दैछन् । उनीसँग अनोज रोक्काको प्रश्न ।

    सांगीतिक व्यस्तता कस्तो छ ?

    निरन्तरता दिइरहेको छु । स्टेज शोहरू भइरहेका छन् । नयाँ गीत–संगीतको काम पनि भइरहेको छ ।

    हङकङमा नेपाली संगीतको बजार कस्तो छ ?

    हङकङ विदेशी भूमि भए पनि मिनी नेपालझैं छ । हङकङमा बस्ने नेपालीहरूले नेपाली गीत–संगीत र कलाकारहरूलाई धेरै सम्मान गर्नुहुन्छ । नेपालीहरू सहभागी भएको विवाह, पार्टी, होटल, रेष्टुरेन्ट जहाँ पनि घन्केको नेपाली गीतले आत्मसम्मान महशुस हुन्छ ।

    हङकङमा हरेक हप्ता नेपाली कार्यक्रम हुन्छ । दर्जनौं कलाकारहरू आउँछन्, यसले के महत्व राख्छ ?

    नेपाली कार्यक्रम हुनु, नेपाली सृजनाहरूको प्रस्तुति अन्तर्राष्ट्रिय मञ्चमा हुनु आफैंमा गौरवको कुरा हो । तर कार्यक्रमका नाममा जबरजस्ती पैसा संकलन गर्ने, टिकट कटाउने जस्ता प्रवृत्ति चाहिं आफैंमा विसंगति हो । हामी हङकङमा हुर्किरहेका नयाँ पुस्तालाई हाम्रो भाषा, संस्कृतिको प्रदर्शन पनि गरिरहेका छौं, त्यसैले हङकङ आउने कलाकारहरू पनि आफ्नो प्रतिभामा निखारिएको हुनै पर्दछ । जो पायो त्यही कलाकार आउँछ, त्यसले नेपाली कलाकारिताको साख मार्दै लान्छ ।

    हङकङ बसाले गर्दा कलाकारितामा पछि परियो भन्ने लाग्दैन ?

    अवश्य लाग्छ । विदेश बसाइप्रति घृणा लागेर पनि आउँछ । समय–समयमा नेपाल जान्छु । मेरा शुभचिन्तकको माया, स्टेजमा मेरो गीत र प्रस्तुतिप्रति दर्शकहरूले देखाउनुभएको सम्मान देख्दा भावविह्वल हुन्छु । तर यहाँबाट पनि निरन्तरता दिन सकेकोमा चाहिं खुशी लाग्छ । अब केही समयपछि नेपाल जाने सोच छ । गीत र संगीतबाट टाढा हुन सक्दिनँ ।

    हङकङमा स्थानीय रूपमा रहेका नेपाली कलाकारहरूलाई दिइने स्थान कस्तो छ ?

    इमान्दार रूपमा भन्नुपर्दा हङकङमै रहेका नेपाली कलाकारहरूलाई यहाँका कार्यक्रमहरूमा खासै महत्वको रूपमा नहेरेको पाइन्छ । नेपालबाट ल्याउने बित्तिकै सबै राम्रो अनि यहाँका प्रतिभा चाहिं खास नहुने भन्ने सोचकै कारण कतिपय कलाकारहरूले आफ्नो कलाकारिता त्याग्नुभएको छ । हामी विदेशमा बसेर पनि नेपाली कलासंस्कृतिलाई निरन्तरता दिइरहेका छौं, सबैलाई समभावले हेर्नु जरूरी छ ।

    विभेदको कारण के होला ?

    कलाकारितालाई बुझेकाहरूबाट त्यस्तो व्यवहार भएको छैन । ‘नजिकका देउता हेलाँ’ भन्ने परिपाटीबाट पनि यो सोचको विकास भएको हुनसक्छ । तर हरेक कार्यक्रममा स्थानीय प्रतिभालाई दिइने अवसरले यो क्षेत्रमा आउन सङ्घर्ष गरिरहेकाहरूलाई उत्प्रेरणा मिल्दछ । विदेशी भूमिमा पाश्चात्य संगीत र संस्कृतिबाट निर्देशित भइरहेको हाम्रो नयाँ पुस्ताको लागि गतिलो शिक्षा पनि बन्न सक्छ । समयमै ध्यान दिएको राम्रो ।

    अन्त्यमा, केही भन्नु छ कि ?

    नेपाली कलाकारहरूलाई माया गरिदिनु होला । हामी नेपालसँगै संसारका विभिन्न देशमा छरिएर रहेका छौं । नेपालीत्व छ, तपाईंहरू हुनुहुन्छ र नै हामी कलाकार छौं । जय नेपाली गीत–संगीत ।

  • कमेन्ट गर्नुहोस्