• लकडाउनमा नेपाली समुदाय

    याउ मा तेई क्षेत्रको ‘लकडाउन’। तस्वीरः जगत गुरूङ
  •  

    २०२१ को शुरूवातसँगै हङकङका नेपालीहरूमा कोरोनाभाइरस (कोभिड–१९) को कहर देखियो । नेपालीहरूको बाक्लो बसोबास रहेको जोर्डन क्षेत्रमा एकाएक बढेको कोभिड–१९ संक्रमणको कारण सरकार पहिलो पटक ४८ घण्टे लकडाउन गर्न बाध्य भयो ।

    जोर्डनस्थित निङ पो स्ट्रीटको मिनी बस स्टपसँगैको रिक्लाइमेसन स्ट्रीटसँगै जोडिएका भवनहरूमा एकपछि अर्को गर्दै २८ जना संक्रमित देखएकोले सावधानी अपनाउन हेल्थ विभागले सूचना नै जारी गरेको थियो । लाम टिन टनेल निर्माण साइटसँग जोडिएका संक्रमितबाट ती भवनमा कोरोना फैलिएको आशंका गरिएको छ । जोर्डन क्षेत्रपछि याउ मा तेई, नर्थ पोइन्ट लगायतका ठाउँमा एकपछि अर्को संक्रमण देखिएकोले स–सानो क्षेत्रलाई लकडाउन गर्दै परीक्षण गरिंदै आइएको छ ।

     

    पहिलो लकडाउन

    हङकङमा कोभिड–१९ को पहिलो ‘केस’ फेला परेको प्रथम वार्षिकीको दिन २३ जनवरीमा कूल संक्रमितको संख्या १० हजार नाघेको थियो । त्यस दिन ८१ जना संक्रमित भेटिएपछि यसको संख्या १० हजार १० पुगेको थियो । संक्रमणको एक वर्ष पुग्दा कोभिड–१९ नियन्त्रणका लागि हङकङमा पहिलो पटक लकडाउन गरियो । गत वर्ष चीनको वुहानमा कोभिड–१९ देखिएपछि चर्चामा आएको ‘लकडाउन’ शब्द हङकङ सरकारले भने प्रयोग गरेन । सरकारले सूचना जारी गर्दै ‘रेस्टिक्टेड एरिया (प्रतिबन्धित क्षेत्र)’ घोषणा गरेको थियो ।

    जोर्डन क्षेत्रबाट कोरोना संक्रमितलाई अस्पताल लगिंदै । तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

    प्रतिबन्धित क्षेत्रमा ब्याट्री स्ट्रीट पूर्व, नान्किङ स्ट्रीट उत्तर, वुसुङ स्ट्रीट पश्चिम र कान्सु स्ट्रीट दक्षिण रहेको थियो । उक्त क्षेत्रमा रहेका बासिन्दालाई पीसीआर (पोलिमेरेज चेन रियाक्सन) परीक्षणका लागि बाहेक घरबाट निस्कन र अन्यलाई प्रवेश गर्न प्रतिबन्ध लगाइयो । प्रतिबन्धित क्षेत्रका व्यापार–व्यवसाय पनि बन्द रहे ।

    आंकलन गरिएभन्दा बढी कोरोना फैलिएपछि याउ चिम मोङ र साम सुई पो जिल्लाका केही स्थानमा लकडाउन गर्न सरकार बाध्य भएको थियो । अघिल्लो दिन अपरान्हदेखि नै लकडाउनको समाचार स्थानीय सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भए पनि सरकारको कुनै पनि निकायले औपचारिक रुपमा सूचना सम्प्रेषण गरेको थिएन । मध्य रातपछि सूचना सम्प्रेषणसँगै प्रतिबन्धित क्षेत्रमा सुरक्षा र स्वास्थ्य निकायका कर्मचारीहरू परिचालन गरिएका थिए । उक्त क्षेत्रका करिब २ सय भवनका १० हजार बासिन्दाको पीसीआर टेस्ट गर्ने सरकारी लक्ष्य रहे पनि ४८ घण्टामा ७ हजारको मात्र परीक्षण भएको थियो ।

    दुई दिनको परीक्षणमा लकडाउन गरिएको क्षेत्रमा १३ जनामा पोजिटिभ देखिएको थियो । ३ हजार ६ सय फ्ल्याटमा चेक गरिएकोमा ४ सय ७० वटाको ढोका नखुलेको पाइएको छ । ती ढोका नखुलेका फ्ल्याटका बासिन्दा कि त क्वारेन्टिनमा हुनसक्ने वा मानिस नबसेको हुनसक्ने अनुमान गरिएको छ । वास्तविकता पत्ता लगाउने प्रयास भइरहेको सम्बन्धित निकायले जानकारी गराएको थियो ।

    सरकारी सूचनामा प्रतिबन्ध क्षेत्र घोषणा गर्नुको मुख्य उद्देश्य त्यहाँ रहनेहरूको अनिवार्य पीसीआर टेस्ट गर्नु रहेको थियो । उक्त क्षेत्रमा रहनेहरूलाई अनिवार्य परीक्षणको लागि यस महिनाको शुरूवातमै सूचना जारी गरिएको भए पनि त्यसो नभएपछि प्रतिबन्धित क्षेत्र घोषणा गरिएको हो । लकडाउनपछिको परीक्षणमा पनि करिब २५ प्रतिशत बासिन्दा सहभागी नभएको, कतिपय घरहरू बन्द रहेको पाइएको थियो । लकडाउन गरिएको क्षेत्रमा बन्द रहेका घरहरूको ताला फोरेर कारवाही थाल्ने हल्ला चले पनि त्यस्तो चाहिं भएन ।

    प्रतिबन्धित क्षेत्र घोषणा भएपछि प्रत्येक घर र कोठामा सरकारी निकायका कर्मचारीहरू पुगेर लगत लिने काम भएको थियो । लकडाउनमा परेकाहरूकाअनुसार मूलढोकामा आएका सरकारी कर्मचारीले पीसीआर टेस्टका लागि बाहेक बाहिर निस्कन प्रतिबन्ध लगाइएको जानकारी गराएका थिए ।

    प्रतिबन्धित घोषणा गरिएको ब्याट्री स्ट्रीटमा बस्ने दिनेश सुब्बाले सरकारको यस कदमलाई सकारात्मक रुपमा लिएका छन् । उनले भने, “अनिवार्य टेस्टको लागि आह्वान गरिए पनि कतिपयले वास्ता नगरेका कारण संक्रमण फैलने क्रम रोकिएन । सबैलाई परीक्षणको दायरामा ल्याउन लकडाउनको विकल्प थिएन । कोठामा चेक गर्नेहरूले परिवार संख्या सोध्ने र आईडी नम्बरलगायत टिप्ने मात्र गर्ने गरेकोले अवैधानिक रुपमा रहनेहरू छुट्नसक्ने तथा उनीहरू संक्रमित भएको भए संक्रमणको जालो तोडिंदैन । त्यसका लागि पनि घर, फ्ल्याट र कोठा चेक गर्ने काममा कडाइ हुन आवश्यक रहेको उनको धारणा थियो ।

    जोर्डनमा स्वास्थ्यकर्मी र मिडियाको उपस्थिति ।

    वुसुङ स्ट्रीटमा रहने रक्ष गुरुङका अनुसार सरकारी सूचना समयमा सार्वजनिक नहुँदा काममा जाने र आउनेले केही असुविधा महसूस गरेका छन् । उनले भने, “बेलुकासम्म अनौपचारिक रुपमा हल्ला मात्र थियो । बिहान काममा जानका लागि घर बाहिर निस्कँदा मात्र लकडाउनको बारेमा थाहा भयो ।”

    उक्त क्षेत्रमा रहने अधिकांशले पीसीआर टेस्टपछि प्रदान गरिएको खाद्य सामग्रीको तस्वीरसहित आ–आफ्ना अनुभव सामाजिक सञ्जालमा राखेका छन् । तस्वीरमा बट्टाका माछा, मासु र भटमास, पास्ता, चाउचाउ, पाउरोटी, जुसलगायत रहेका छन् । करुणा श्रेष्ठ, अन्तिम राई, टोपबहादुर याक्खा, शिर सारु मगरलगायत प्रतिबन्धित घोषणा गरिएको क्षेत्रमा रहनेहरूले प्राप्त सामग्रीसहित फेसबुकमार्फत सरकारलाई धन्यवाद दिएका छन् । उनीहरूले पनि कोभिड–१९ संक्रमण नियन्त्रणका लागि लकडाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

    जोर्डनमा ४८ घण्टाका लागि भनेर गरिएको लकडाउन ३६ घण्टापछि नै खुकुलो गरिएको थियो । पीसीआर टेस्टको रिजल्ट नेगेटिभ आउनेलाई प्रतिबन्धित क्षेत्र बाहिर जान–आउन खुला गरिएको थियो । लकडाउन खुला भइनसके पनि प्रतिबन्धित क्षेत्रकाहरू बाहिर जान र पुनः आउन सक्ने भएपछि हातमा रिस्ट–बेन्ड लगाएकाहरू घेरा बाहिर देखिएका थिए ।

    उक्त क्षेत्रमा संक्रमण फैलनुको कारण निर्माण क्षेत्रसँगको सम्बन्ध पनि रहेको छ । हालै निर्माण क्षेत्रमा संक्रमण दर उच्च रहेको पाइएको छ । नेपालीलगायत जातीय अल्पसंख्यक अधिक मात्रामा निर्माण क्षेत्रमा कार्यरत रहेकोले उनीहरूको बसोबास रहेको स्थानमा संक्रमण दर उच्च देखिएको छ । संक्रमित भेटिएका घरमा बसोबास गर्नेहरूलाई क्वारेन्टिनका लागि लगिने गरिएको भए पनि अधिक संक्रमित रहेको क्षेत्रलाई लकडाउन गर्दा सजिलो र कम खर्चिलो हुने देखिएपछि त्यसका लागि सरकारलाई सुझाव दिइएको बुझिन्छ ।

    अहिले संक्रमण अधिक भेटिएका घरमा बस्नेहरूलाई लकडाउन गर्दै अनिवार्य कोभिड–१९ परीक्षण गर्ने गरिएको छ । त्यसका लागि मोबाइल परीक्षण भ्यान परिचालित गरिएका छन् । कतिपय भवनहरू खाली गरिएका छन् । त्यहाँ रहनेहरूलाई क्वारेन्टिन सेन्टरमा लगिएको छ । ती क्षेत्रका पुराना घरका बाथरुम, किचेनलगायतमा स्यानेटरी सुविधा स्वास्थ्यको दृष्टिकोणले सुरक्षित नरहेकोले संक्रमण तीव्र गतिमा फैलिएको अनुमान गरिएको छ । त्यस किसिमका घरहरूमा नेपालीलगायतका जातीय अल्पसंख्यकको बसाइ अधिक रहेको छ ।

    निशानामा नेपाली

    जनवरीको पहिलो सातापछि काउलनको याउ मा तेईको जोर्डन क्षेत्रका केही अपार्टमेण्टमा कोरोना संक्रमित पाइएपछि सरकार, स्वास्थ्य विभागदेखि यहाँका मिडियाको ध्यान यस क्षेत्रमा केन्द्रित भएको थियो ।

    पछिल्ला दिनमा हङकङका नेपालीहरूमा कोरोनाको संक्रमण बढिरहँदा यसको असर नेपाली समुदायमा देखिन थालेको हो । नेपालीहरूको बाक्लो बसोबास रहेको याउ मा तेईको जोर्डन क्षेत्रका केही घरमा कोरोना संक्रमित पाइएपछि स्वास्थ्य विभागले निगरानी बढाएको थियो ।

    १४ जनवरी साँझ थप संक्रमित र तिनका परिवारका सदस्यलाई सरकारी क्वारेन्टिन लगिंदै गर्दा यहाँका मिडियाहरूको बाक्लो उपस्थिति देखियो । एम्बुलेन्समा लैजाँदै गर्दाको भिडियो–फोटो लिन मिडियाको भीड लागेपछि स्थानीय बासिन्दा अझ त्रसित बनेका थिए । हङकङमा कोरोनाको संक्रमण शुरू भएको एक वर्षपछि नेपालीहरू यहाँका मिडिया र सरकारी अधिकारीहरूको निशाना बने । स्वास्थ्य विभागका एक अधिकारीले पत्रकार सम्मेलनमै नेपालीहरूले लापर्बाही गर्ने गरेको, खाना खाँदा एकै ठाउँमा खाने, मास्क नलगाई हिंड्ने, दूरी कायम नगरी भीडभाड गर्ने जस्ता आरोप लगाएका थिए । तर लगत्तै हङकङ प्रमुख क्यारी लामले उनको कुराको खण्डन गरेकी थिइन् । पत्र–पत्रिका र सोसल मिडियामा नेपाली समुदायलाई निशाना बनाइएको सामग्री, टिप्पणी र तस्वीरहरू आएपछि (यो पनि हेर्नुस्: एससीएमपीको स्क्रिनसट नेपाली समुदायमा भाइरल) धेरै नेपालीले त्यसको असर आफ्नो कार्यस्थलमा भोग्नुपरेको थियो । जोर्डन क्षेत्रका धेरैलाई निर्माण क्षेत्र र अन्य कामबाट केही समयका लागि बिदा नै दिइएको थियो ।

    हङकङको निर्माण क्षेत्रमा कोरोनाको संक्रमण देखिएपछि जनवरीको शुरूबाटै एकपछि अर्को साइट बन्द हुने क्रम शुरू भएको थियो । कुनै पनि साइटमा एकजना कामदारमा संक्रमण देखिए अरू कामदारलाई कामबाटै परीक्षण गरेर क्वारेन्टिनमा लैजाने क्रम जारी छ । काम गर्ने ठाउँमा फैलिएको संक्रमणका कारण त्यसको असर नेपालीको घनाबस्ती भएका क्षेत्रमा समेत देखिन थालेको हो । जोर्डन क्षेत्रको ठेगाना भएका धेरैलाई काममा नआउन अनुरोध नै गरिएको थियो । यस क्षेत्रमा कतिपय कामदारहरू कोरोना परीक्षणपछि सेल्फ क्वारेन्टिन हुन छोडेर साथीभाइसँग जमघट भएर खाने, भट्टीसम्म पुग्ने र धेरैसँग घुलमिल भएकोले पनि संक्रमण बढेको आशंका गरिएको छ ।

    संक्रमण देखिएपछि भवनमा रहेका बासिन्दा र संक्रमितका निकटका सबैलाई अनिवार्य कोभिड–१९ को परीक्षण गर्न हङकङ सरकारले अनुरोध गरेको थियो ।

    कोरोना संक्रमितको संख्या धेरै भेटिएको जोर्डनको एक भवन ।

    याउ चिम मोङ डिष्ट्रिक काउन्सिलले एक अपिल जारी गर्दै यहाँको जोर्डन रोड, फेरी स्ट्रीट, कन्सु स्ट्रीट, नाथन रोड किनारामा पर्ने क्षेत्रका बासिन्दाले आफू बसेको भवनमा कम्तिमा एउटा मात्र संक्रमण पुष्टि भएको केस पाइए अनिवार्य परीक्षण गर्न आह्वान गरेको थियो । जोर्डन क्षेत्रका वुसुङ स्ट्रीट, पिट स्ट्रीट, टेम्पल स्ट्रीट, रिक्लाइमेसन स्ट्रीट आदिका केही भवनमा संक्रमण देखिएको थियो । ती भवनको भुईंतलामै स्वास्थ्य विभागले सूचना टाँसेर सर्वसाधारणलाई जानकारी गराउँदै संक्रमितसँग नजिक भएकाहरूलाई अवस्था हेरेर होम क्वारेन्टिन र सरकारी क्वारेन्टिन सेन्टरमा लगेको थियो ।

    आफू बसेको भवन परे/नपरेको हेर्नको लागि संक्रमण भएको क्षेत्र र भवनहरूको लिस्ट नै जारी गरिएको थियो । साथै कम्तीमा एकजनामा संक्रमण देखिएको भवनका बासिन्दालाई पत्र समेत पठाएर अनिवार्य परीक्षण गर्न अनुरोध गरिएको थियो ।

    यस क्षेत्रको संक्रमण रोकथाम गर्न १६, १७ र १८ जनवरीमा निःशुल्क कोभिड–१९ परीक्षण शिविर सञ्चालन गरिएको थियो । क्यान्टन रोड र निङ पो स्ट्रीटको जंक्सनमा मोबाइल भ्यानहरूद्वारा परीक्षण गरिएको थियो । त्यस्तै, कुनचुङ मार्केट सेवा भवनमा नमूना संकलन स्टेसनहरू राखिएका थिए ।

    रिक्लाइमेसन स्ट्रीटसँगै जोडिएका २०, २२, २४ र २६ नम्बरका भवनमा रहेका सबै बासिन्दालाई होटल र सरकारी क्वारेन्टिनमा लगिएको थियो । तर, भवनका केही अपार्टमेण्टमा केही मानिस क्वारेन्टिनमा नगई भवनभित्रै रहेको आशंकामा प्रहरीले निगरानी समेत गरेको थियो । १४ तारिखमा भवनका सबै अपार्टमेण्ट खाली गरिएको भए तापनि साँझपख एक अपार्टमेण्टमा बत्ती बलेको देखिएपछि कोही अटेर गरेर बसेको हुनसक्ने आशंका गरिएको थियो । यस क्षेत्रबाट स्थानीय चुनाव जितेका डिस्ट्रिक काउन्सिलर फ्र्याङ्क होले आफ्नो फेसबुक पेजमा २४ नम्बर भवनको एक अपार्टमेण्टमा बत्ती बलिरहेको तस्वीर राखेका थिए ।

    हेलचक्य्राइँ नगरौं

    यसरी कोरोनाको संक्रमण बढिरहँदा नेपाली समुदाय त्रसित बनिरहेको छ । कोरोनाको कारण केही अघि एक नेपाली वृद्धाको मृत्यु भए पनि समुदायमा कोरोनाको प्रत्यक्ष असर देखिएको थिएन । तर, अहिले दिनहुँजसो नेपालीहरूमा संक्रमण देखिंदै जानु चिन्ताजनक छ । यस्तो अवस्थामा अति आवश्यक कामबाहेक जथाभावी हिंडडुल कम गर्न जरुरी छ । हिंड्नैपरे मास्क अनिवार्य लगाऊँ, सेनिटाइजरको प्रयोग गरौं । गैर–आवासीय नेपाली संघ (एनआरएनए), हङकङ नेपाली महासंघ आदिले आ–आफ्नो कार्यालयबाट दैनिकजसो निःशुल्क मास्क वितरण गरिरहेका छन् । संघ–संस्था र समुदायका अगुवाहरूले पनि आ–आफ्नो संस्था र समुदायभित्र छलफल चलाउँदै भेला, जमघट हुन नदिन पहल गर्न आवश्यक छ ।

    ४८ घण्टे लकडाउनमा सर्वसाधारणलाई सरकारले वितरण गरेको खानेकुराका साथ जोर्डनको करुणा श्रेष्ठको परिवार । तस्वीर स्रोतः फेसबुक

    यदि कसैमा संक्रमण भइहालेमा संक्रमितको अनुमतिविना उसको र परिवारको पहिचान खुल्नेगरी नाम–ठेगाना फेसबुक, इन्स्टाग्राम, ग्रुप च्याटहरूमा नराखौं । कुनै पनि भवनमा प्रवेश गर्नुअघि प्रवेशद्वारमा टाँसिएका सूचनाहरू हेरौं । नजिकको सम्पर्कमा रहेको व्यक्तिलाई संक्रमण भएको थाहा पाएमा जतिसक्दो चाँडो परीक्षण गर्ने र सेल्फ क्वारेन्टिनमा बसेर आफू पनि जोगिऊँ र अरूलाई पनि जोगाऊँ ।

    संक्रमण तीव्र देखिएको जोर्डन क्षेत्रमा नेपालीहरूको बाक्लो बसोबास रहेकोले नेपाली संघ–संस्था र तिनका अगुवाहरूले आफ्ना मातहतका सदस्य र तिनका परिवारहरूमा लापर्बाही नगर्न, सतर्क हुन आह्हान गर्दै आएका छन् । नेपाली महावाणिज्यदूत उदय राना मगर, गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङकी अध्यक्ष टिका गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना तथा सल्लाहकार रिता गुरङ, वी विल राइज फाउण्डेसनका संस्थापक तुलसी गुरुङ, नेपाली समाजका अध्यक्ष इन्द्र वनेम,  वरिष्ठ संगीतकार दिनेश सुब्बा आदिले एभरेष्ट खबरको फेसबुक पेजबाट भिडियो सन्देशमार्फत नेपाली समुदायमा कोभिड–१९ बाट बच्न र सतर्कता अपनाउन सुझाव दिएका थिए ।

  • कमेन्ट गर्नुहोस्