• अलैंची सम्भार गर्न लिम्बूहरूलाई पूर्जी

  •  

    कवि भूपी शेरचन जब इलाम पुगे, तब उनी इलामको प्राकृतिक मनोरम छटा र त्यहाँका मेहनती किसानहरूको उत्पादनबाट प्रभावित भई कविता फुराइहाले । उनले भावुक भएर आफ्नो कविताको एउटा अंशमा ‘नेपालभर इलाम छर्न मन परेको…’ भाव प्रकट गरिहाले ।

    कुनै सन्देह छैन, इलाम मनोरम प्राकृतिक छटा भएको र कृषि उत्पादनका लागि नेपालकै नमूना जिल्ला हो ।

    इलामको उत्पादनमध्ये अलैंची पनि एक हो । तर के नेपालमा सबैभन्दा पहिले अलैंचीको खेती इलामबाट शुरू भएको हो त ?

    पाँचथरमा जन्मेर इलाम पढ्न आउँदा विद्यार्थी राजनीति गरी यतै बसोबास गरेर मात्र नअघाई इलामका विकास र उत्थानमा लागेका डा. देवी क्षेत्री दुलालको पुस्तक ‘विकासको जरा : इलाम’ यतिखेर यस लेखकको हातमा छ । यस पुस्तक (२०६६:२६–२७)मा उल्लेख गरेअनुसार नेपालमा सबैभन्दा पहिले अलैंची खेतीको शुरूवात इलामबाट भएको हो । ‘नेपालमा अलैंची खेती’ शीर्षकमा उनी लेख्छन्, “सबैभन्दा पहिले नेपालमा अलैंची खेतीको शुरूवात इलामबाट भएको देखिन्छ । इलाममा चियाखेतीको विकास शुरू हुनुभन्दा करिब ५६ वर्षपछिबाट अर्थात् वि.सं. १९७६ मा इलाममा अलैंची भित्रिएको पाइन्छ ।”

    डा. दुलालले इलामको कन्याम निवासी ७७ वर्षीय विष्णुकुमार भट्टराईलाई पादटिप्पणीमा राख्दै बागबीरेका हेमकर्ण पाण्डेले इन्डिया पोखरेबुङबाट अलैंचीको बिरुवा ल्याई रोप्दा उनी भारतीय प्रहरीबाट समातिएका थिए । त्यसो हुँदा समालबुङका लेप्चाहरूले अलैंचीको बिरुवा रातारात उखेलेर फ्याँकेका र पछि लुकीछिपी अर्को बाटो गरी पाण्डेले नै अलैंचीको बिरुवा इलाम ल्याएर रोपेको भन्ने डा. दुलालले दाबी गरेका छन् ।

    उनको यो लेखन पढिरहेकै बेला यतिखेर यो लेखकको आँखा वि.सं. १९२८ को एउटा पुरानो कागजमा दौडिरहेको छ । यो कागजमा अलैंचीका बारेमा महत्वपूर्ण पक्ष उल्लेख छ । यो कागज तेह्रथुम, मोराहाङका लिम्बू सुब्बाहरूको नाममा जारी भएको पूर्जी हो । यसबारेमा पछि चर्चा गरिनेछ ।

    यो पुरानो कागजभन्दा ५२ वर्षअघि बुकानन फ्रान्सिस ह्यामिल्टनले लेखेको पुस्तक ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल’मा पनि यो लेखकको आँखा दौडियो । यस पुस्तकमा पनि नेपालका खेतीमध्ये महत्वपूर्ण खेती अलैंचीको रहेको उल्लेख छ । ह्यामिल्टनले यस्तो प्रजातिको खेती आफूले पनि देखेको उल्लेख गरेका छन् । ह्यामिल्टन (सन् १८१९:७४) लाई पढ्दा के थाहा हुन्छ भने त्यो बेलै नेपालमा अलैंचीको खेती मात्रै होइन, भारतमा नेपाली अलैंचीको निकासी पनि हुन्थ्यो । उनी लेख्छन्, “हिन्दूस्तानमा नेपालको अलैंचीलाई देशी इलाइची भन्दछन् ।”

    आजभन्दा दुई वर्षअघि ह्यामिल्टनले लेखेको यो पुस्तकअनुसार त्यो बेला पनि भारतमा अलैंची निकासी हुन्थ्यो । कारोबारडेली डटकम (सन् १९१९ जनवरी १)मा डा. सुमनकुमार रेग्मीले उल्लेख गरेअनुसार अहिले पनि पूर्वी नेपालमा उत्पादित अलैंचीमध्ये ९९ प्रतिशत निकासी भारतीय बजारमा हुने गरेको छ । उनका अनुसार कुनै वर्ष नेपालमा १० अर्ब रुपैयाँ विदेशी मुद्रा अलैंचीबाटै आर्जन भइरहेको छ । त्यसैले अलैंचीलाई ‘कालो रङको सुन’ भन्ने गरिन्छ ।

    अलैंची : उसबेलै महङ्गो

    अलैंची पहिल्यैदेखि महङ्गो थियो । वि.सं. १९५७ तिर यसको मूल्य प्रतिमन २३ रुपैयाँ थियो । त्यो समय यति रुपैयाँ भनेको ठूलो रकम हो ।

    रेग्मी रिसर्च सेरिजको पूर्णाङ्क १३ (सन् १९८१:१४०) पढ्दा के थाहा हुन्छ भने अलैंचीको खरिद व्यापारका लागि तालुकदारी पाएको नयाँ मुलुक गोश्वारा अड्डाका हाकिम सरदार ढुंडीराज शाहीले अड्डासँग रहेको ८२८.४ मन अलैंची बिक्रीका लागि प्रतिमन २९ रुपैयाँमा बढाबढ गरी बिक्रीका लागि आह्वान गरे । त्यतिखेर महावीर रम्फालको फर्मले प्रतिमन २३ रुपैयाँमा मात्र अलैंची खरिद गर्ने प्रस्ताव पेश गर्‍यो ।

    तर त्यतिबेला त्यो परिमाणको अलैंची खरिद गर्न आँट गर्ने व्यापारी महावीरको मात्रै आवेदन पर्‍यो ।

    नेपाल सरकारको दरभाउअनुसार त्यो पूरै परिमाणको अलैंची उठाउन २३ हजार ९ सय ३ रुपैयाँ २५ पैसा रकम भुक्तानी गर्नुपर्थ्यो । तर व्यापारी महावीर रम्फालले भने अड्डाले तोकेकोभन्दा ४ हजार ४ सय ८१ रुपैयाँ १३ पैसाभन्दा कम मूल्य तिरेर उक्त परिमाणको अलैंची वि.सं. १९५८ चैत्र सुदि १३ मा प्राप्त गर्न सफल भएका थिए ।

    अलैंचीको तस्करी

    अलैंचीको खरिद–बिक्रीलाई व्यवस्थित र नियमन गर्न वि.सं. १९४८ मा एक अड्डा बनाइएको थियो । डडनी अड्डाको नाममा गठन गरिएको यो निकायको जिम्मा लेफ्टिनेन्ट कर्णेल शेरबहादुर थापा क्षेत्रीलाई दिइएको थियो । रेग्मी रिसर्च सेरिजको पूर्णाङ्क १३ (सन् १९८१:७५–७६) पढ्दा के थाहा हुन्छ भने त्यो वेला दाङ र सल्यानलाई अलैंची खरिद बिक्रीको केन्द्र बनाइएको थियो । यसमा स्थानीय स्तरमा जाँचबुझ गर्नका लागि नैनसिंह खत्रीलाई जिम्मेवारी दिइएको थियो ।

    तेह्रथुम जिल्लाको साविकको मोराहाङ गाउँका लिम्बू सुब्बाहरूको नाममा अलैंचीबारी सुधार–सम्भारका खातिर वि.सं. १९२८ मा जारी गरिएको एक सरकारी पूर्जी । सौजन्यः भगिराज इङनाम

    सरकारी नियमअनुसार डडनी अड्डामार्फत बिक्री–वितरण गर्नुपर्ने अलैंची तस्करी शैलीमा आफूखुसी बिक्री गरेकोमा अछामको आठसय क्षेत्रका सागुर्‍या रावल नैनसिंह खत्रीले दिएको सूचनाका आधारमा पक्राउ परे । उनी र मुल्लाहा नामका एक मुस्लिमबीच एक मन साढे सात शेर कारोबार भएको थियो । त्यो वेला अलैंचीको मूल्य तस्करीका कारण प्रतिमन साढे ४७ रुपैयाँ थियो ।

    त्यो वेला कानून फितलो रहेको भन्दै लेफ्टिनेन्ट कर्णेल थापा क्षेत्रीले वि.सं. १९४८ भाद्र वदी ११ मा काठमाडौं केन्द्रमा अर्जी पठाए । उनले खरिद गर्नेको नभई बेच्नेको मात्रै जफत गर्ने कानून भएको अर्जी पठाएपछि काठमाडौं केन्द्रबाट आफूखुसी अलैंची किनबेच गर्नेलाई वस्तुबराबर वा २० रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरियो ।

    माथिको तथ्यहरूबाट पहिले नेपालको पश्चिमी भेगमा अलैंची निकै प्रचलित रहेको भए पनि हाल भने पूर्वी नेपालमा उत्पादन र बिक्री–वितरणमा करिब एकाधिकारजस्तै रहेको देखिन्छ । डा. रेग्मीअनुसार अलैंची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चलले ओगटेको छ ।

    अलैंचीबारे ठूलो चिन्ता

    यसरी पहिल्यैदेखि उत्पादन, खरिद तथा बिक्रीबारे विभिन्न नियमन तथा कारवाही हुँदै आएको अलैंचीबारे त्यसबेलै सरकारी चिन्ता ठूलो थियो । माथि उल्लेख भएको पूर्वी नेपालकै एक जिल्ला तेह्रथुम पनि हो, जहाँ अहिले पनि अलैंची उत्पादन हुन्छ । यस जिल्लाको साविकको मोराहाङ गाउँका लिम्बू सुब्बाहरूको नाममा जारी गरिएको एक सरकारी पूर्जीले त्यो बेला अलैंची संरक्षणमा राज्यको कति ठूलो चासो रहेछ भन्ने स्पष्ट पार्छ ।

    इतिहास तथा संस्कृतिविज्ञ देवेन्द्र खापुङको संरक्षणमा रहेको र इतिहासकार भगिराज इङनामबाट यस लेखकलाई प्राप्त उक्त पूर्जीको छायाँप्रतिअनुसार सैन्य अधिकारीहरूबाट यो पूर्जी स्थानीय सुब्बा, राई, कर्ता, कारोबारीलगायतका नाममा जारी गरिएको छ । यसअनुसार अलैंचीबारी सुधार–सम्भार गर्नु पर्नेछ । यदि अलैंचीबारी बिगारे शुरूमा एक रुपैयाँ, दोस्रो पटक पनि बिगारे पाँच रुपैयाँ जरिवाना गरिने छ । फेरि पनि अलैंचीबारी सम्भार नगर्नेलाई किपट खोस्ने उर्दी यस पूर्जीमा दिइएको छ ।

    पूर्जीको विवरण यस्तो छ:

    स्वस्ति श्री कीरात् जङ्गी गोला कस्य पल्लो कीरात् फेदाप् मध्ये मोराहाङ गाउका सुवा राई कर्ता कारोवारी गौरु ज्येठा वुढा थरि मुषिया गैह्रके पुर्जी उप्रान्त अधिका अलैचि वारिको सुधार संभार नगरि विगार्न्यालाई विगार्‍या वापत् पैल्हेपल्ट १ रुपैया जरिवाना होला तेति भयापछि पनी अलैचि रोपिवारि संभार नगर्न्यालाई ५ रुपैयाँ जरिवाना होला उति गर्दा पनि अलैचि रोपिवारि सम्भार नगर्न्याको कीपट भया पनि षोषि अलैचि रोपिवारि संभार गर्न्यालाई सवाल बमोजीं जगा पजनी होला भनी गाउघरमा सबैलाइ उर्दि सुना दिनू यो पुर्जी सबैले देषन्या ठाउमा टासिदिनु इतिसम्वत् १९२८ साल मिति ज्येष्ट शुदी १ रोज ७ शुभम्

  • कमेन्ट गर्नुहोस्