• हङकङ इमिग्रेसनमा २९ घण्टा थुनिंदा…

  •  

    ६ सेप्टेम्बर १९९८ मा अनाम नाट्य जमात, धरानको पहिलो अन्तर्राष्ट्रिय कार्यक्रम ‘अनाम सन्ध्या १९९८’को भव्य प्रदर्शन युनलङ थिएटरमा हुनु थियो । त्यही कार्यक्रमको लागि हामी धराने कलाकारहरू २२ वर्ष अघि अर्थात् ३ सेप्टेम्बर १९९८ को दिउँसो ३ बजे विना भिसा हङकङको पुरानो एयरपोर्ट काइटकमा ओर्लियौं ।

    नेपालको पहिलो भ्रमण वर्ष पनि त्यही वर्ष थियो । हामी हङकङमा ‘भिजिट नेपाल ९८’ को पर्यटनदूत भएर पनि ओर्लिएको हो ।

     

    इलिगल’ हामी

    धरानदेखि शुरू भएको हाम्रो यात्रा— आहा ! क्या ठूलो प्लेन । आहा ! क्या ठूलो त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट; क्या ठूलो हङकङ एयरपोर्ट; क्या राम्रो दृश्य भन्दै हङकङको एयरपोर्टमा ल्याण्ड भयौं । अनि (आहा ! क्या राम्रो) मेट्रो (रेल) चढेर इमिग्रेसनको लाइनमा बस्यौं । राजेन्द्र खड्का, ईश्वर खड्का, नगेन्द्र राई, अनामका तत्कालीन अध्यक्ष राजेन्द्र रिमाल, विशाल भण्डारी, सुरज थापा, विनोद श्रेष्ठ तखाँचे, गायकद्वय किशोर थुलुङ र सन्जीव लामा, कलाकार बैनीहरू कविता राई, आशा राई, पुष्पा सुब्बा र रजन राई सबैजना हङकङको इमिग्रेसनको लाइनमा थियौं ।

    हामी दुईवटा लाइनमा बसेका थियौं । एक लाइनमा नगेन्द्रले दुई बहिनी आशा राई र पुष्पा लिम्बू साथै लिएर बसेका थिए । उनीहरूको गार्जेनको रुपमा आफूलाई उभ्याएर आफू भिसा दिने डेस्कमा पुगेका थिए । दुई बहिनीले अंग्रेजीमा बातचित गर्न नसक्लान् र समस्या पर्ला कि भनेर आफूले बहिनी बनाएर उनीहरूको बारेमा बोलिदिने नगेन्द्रको योजना थियो । बाँकी हामी अर्को लाइनमा थियौं ।

    युनलङ थिएटर, हङकङमा दायाँबाट क्रमशः राजेन्द्र खड्का, विशाल भण्डारी, किशोर थुलुङ, विनोद श्रेष्ठ तखाँचे, जसकुमार राई, ईश्वर खड्का, नगेन्द्र राई, अनामका तत्कालीन अध्यक्ष राजेन्द्र रिमाल, कुर्सीमा गायक सन्जीव लामा र सुरज थापा ।

    नगेन्द्रले नेतृत्व गरेको लाइनमा सोधपुछ शुरू भयो । नगेन्द्र डिपोट स्कूल पढेकोले उनलाई अंग्रेजी भाषाको अलि बढी ज्ञान छ भन्ने हाम्रो विश्वास थियो । उनले ‘दुवैजना मेरा बहिनी हुन्’ भनेर अंग्रेजीमा भनेको प्रष्टै सुनियो । नगेन्द्रले दुवै बहिनी र आफ्नो गरी तीनवटा पासपोर्ट एक्लै अघि बढेर बुझाएका थिए । एकछिन नियालेर हेरेपछि ड्यूटीमा बसेको चाइनिजले प्रश्न गर्‍यो, “तिम्रो र पुष्पाको सरनेम मिल्दैन । तिमी राई उनी सुब्बा कसरी तिम्रो बहिनी भयो ?” चाइनिजको प्रश्नले नगेन्द्र अल्मलिंदै हाम्रो लाइनतिर फर्किएर सोधे, “विनोद दाइ, मामाको छोरीलाई के भन्छ ?” विनोद दाइले “कजन सिस्टर भन न” भनेर सिकाए । नगेन्द्रको अघिसम्मको डिपोट स्कूलको अंग्रेजीप्रतिको विश्वास चिप्लिसकेको थियो । उनीहरूलाई अरु प्रश्न पनि तेर्सिंदै थियो ।

    यता हाम्रो पनि पालो आइसकेको थियो । कोही भित्र छिरिसकेका थिए । केही बाँकी थियौं । यसैबीचमा मेरो पालो आयो । मलाई केही सोध्नुअघि नै मैले ‘सामूहिक हितको लागि’ ठूलो स्वरमा “वी आर अल टुगेदर, वी आर अल आर्टिस्ट फ्रम नेपाल” सबैलाई देखाउँदै भनें । यसपछि हामीलाई छुट्टै ट्रिट गर्ला कि भन्ने मनसुबा थियो । यति भनिसकेपछि म एकछिन त टोले नेता जस्तो गौरवान्वित पनि भएँ । किनकि हामी गौरवशाली कलाकार थियौं, हङकङमा प्रस्तुति दिन आएका ! ओभर कन्फिडेन्सले भरिएको थिएँ । त्यसमाथि हाम्रो कार्यक्रमको पोस्टर, सांस्कृतिक तथा पर्यटन मन्त्रालयको सिफारिस–पत्र बोकेर आएको टोली ! आत्म–अभिमान पनि थियो क्यार मनभित्र । यसपछि त शंकालु आँखाले हेर्न थाले इमिग्रेसनका कर्मचारीले । पाँच मिनेट अघिसम्म सम्मानका साथ हेर्ने चाइनिज इमिग्रेसनले अब चाहिं सबै जनालाई एकै ठाउँमा राखेर अपराधीजसरी केरकार गर्न थालिसकेको थियो ।

    अब चाहिं हामी इलिगल भयौं । उनीहरूले हामीलाई दिने भनेको भिजिट भिसा रहेछ । भिजिट भिसामा सांस्कृतिक वा अन्य कुनै पनि कार्यक्रम गर्नु भनेको कानूनको खिलाफ रहेछ । अझ हाम्रो हकमा त कार्यक्रमका लागि टिकटको मूल्य नै भएको ब्ल्याक एण्ड ह्वाइट पोस्टर नै थियो ।

    भिजिट भिसामा हो भने तिमीहरूको यूएस डलर खै ? या ट्राभल चेक खै ? तिमीहरूको होटल बुकिङ खै ? तिमीहरू फर्कन्छौ भन्ने ग्यारेण्टी र हङकङ जस्तो महंगो शहरमा तिमीहरूलाई जिम्मा लिएर खर्च गरिदिने ‘स्पोन्सर’ खोई ? यी र यस्तै यावत् प्रश्नको उत्तर दिन असमर्थ थियौं हामी । अन्ततः इमिग्रेसनले हामीलाई अर्को फ्लाइटमा नेपाल फर्काउने निश्चित जस्तै भयो । झण्डै तीन महिनाको रिहर्सल, तयारी, आत्मगौरव कथा जस्तै हुने भयो । नेपाल पुगेर कसरी मुख देखाउने ? छटपटाहट हुन थाल्यो ।

    आरएनएसीको रक्सीको सम्झना

    अघि आउँदा प्लेनमा एकै सीटमा बसेको ईश्वर खड्का भाइ र मैले गज्जबले पिएका थियौं । मैले ह्विस्की दुई पटक मगाइसकेको थिएँ भने उसले दुई क्यान बियर रित्याइसकेको थियो । उसलाई फेरि खान मन लागेछ क्यार ! भन्यो, “फेरि माग्यो भने दिन्छ कि दिन्न होला दाइ ?” “माग न दिन्छ,” सुझाएको थिएँ । “एक्सक्यूज मी, एउटा बियर पाऊँ न ।” एयरहोस्टेजले अलिक मुख बिगारिन् । ईश्वर भाइ पनि के कम ! तीस हजार फीटमाथि उडिरहेको प्लेनमा ऊ जुरुक्क उठ्यो अनि भन्यो, “तपाईं आफ्नो कर्तव्य पालना गर्नोस् !” एयरहोस्टेजले केही नभनीकन ल्याइदिइन् तर उनको शारीरिक हाउभाउ भने आफ्नै खल्तीको खान दिए जस्तो थियो ।

    यात्रा खुबै रमाइलोसँग गरियो । तर, इमिगे्रसनमा चाहिं तिरिमिरी ! बेचैनी, छटपटी र हताशले हामीभित्रको आत्मविश्वास हराइसकेको थियो । हामीले अन्तिम अस्त्र मानेको पर्यटन तथा संस्कृति मन्त्रालयले हङकङ सरकारलाई लेखेको पत्र जुन हाम्रा अध्यक्ष राजेन्द्र रिमालले बुझाएका थिए, एकछिनपछि उक्त अंग्रेजीमा लेखिएको पत्र डस्टविनमा फालिएको देख्यौं । अब भने हामी नेपाली गौरवशाली कलाकारहरूलाई  नेपाल फर्काइने लाइनमा लगाइयो । त्यो बेलासम्म हाम्रो आरएनएसीको रक्सी उत्रिसकेको थियो ।

    चेकजाँच

    चार बहिनीलाई महिला पुलिसले लगे । हामी केटाहरूलाई पुरुष पुलिसले इशारामा लाइनमा बस्न भने अनि एक/एक गर्दै एकान्त कोठामा लगेर चेकजाँच गर्न थाले । पालैपालो छिर्दा मेरो पालो चौथो नम्बरमा परेको हुनुपर्छ । मभन्दा अघि गएका तीनजना हाँस्दै लाइनको अन्त्यमा गएर बसे । मेरो पालो आयो । गोप्य कोठामा पुगेपछि हातमा पन्जा तथा मुखमा मास्क लगाए अनि मेरो अहिलेसम्म कसैले नछामेका गोप्य अंगहरू छाम्न र समाउन थाले । मेरा हातहरू जीसस क्राइष्टको पोजिसनमा थिए । मभन्दा अघिका तीनजना किन हाँस्दै बाहिर निस्के भन्ने भेद बल्ल खुल्यो ।

    हामी अपराधीझैं भएका थियौं । अपराधको ‘अ’ पनि नजान्ने हामी गज्जबले हडबडाएका थियौं । हाम्रा सामान यसरी चेकजाँच हुनथाले कि हाम्रो बुट्टे जेब्रा झोला भताभुङ्ग र लथालिङ्ग हुनेगरी खोतलियो । बडो अपमानित महसुस भएको अवस्था थियो । ती झोलाहरूमा नेपालबाट आफन्तहरूले पठाएका पार्सल नै धेरै थिए । केही हाम्रो सांस्कृतिक कार्यक्रमको कागजपत्र थिए ।

    नगेनको कथा

    चेकजाँचबाट फर्किएपछि नगेन्द्रले आप्mनै किस्सा सुनाए । उनलाई त यो चेकजाँच केही पनि लागेन रे । उनी भर्ती लाग्न गल्लावालको छनोटमा परेर दुई पटकसम्म पोखरा पुगेर फर्किएका थिए । “शारीरिक छनोटको बेला बेलायती गोराहरूले सबै लुगा खोलेर चेक गर्थे । टाङको बीचमा रहेको जाइफलमा चोर औंला र बीच औंला बराबर लाइनमा राखेर खोक्न लगाउँथे । त्यो बेला दुवै जाइफल बराबर मात्रामा तलमाथि हुनुपर्थ्यो । त्यो भएन भने फेल भइन्थ्यो । तल छामेपछि केको खोकी आउनु नि ! ‘खोक्’ भनेर साहबले भन्थे तर लाज मात्रै आउँथ्यो । फेरि खोक् भन्थ्यो, आए पो !” निराश अवस्थामा पनि उनको यो किस्सा सुनेर हामी मज्जाले हाँसेका थियौं । जेहोस्, हामीलाई त्यसो चाहिं गरेन ।

    हङकङ इमिग्रेसनको पाँच बुँदे आरोप

    २०४४ सालमा स्थापना भएको अनाम नाट्य जमातबारे मैले थाहा पाउँदासम्म यसका निम्ति मेरो दाजु दिवस (साने)ले धेरै काम गरिसकेका थिए । नाटकको बारेमा दाजु दिवसले नै मलाई सिकाएका हुन् । म अनाम नाट्य जमातमा सामेल हुँदा दाजु खुशी थिए । अझ उनीभन्दा पछि अनाममा लागेको म र मेरी बहिनी कविता सँगसँगै हङकङ जाँदै थियौं । हामी त खुशी थियौं नै त्यो भन्दा बढी दाजु साने प्रफुल्लित थियो । यहीबेला दाजुको निर्दोष मुस्कानको सम्झना नआएको कहाँ हो र ! हामीलाई एयरपोर्टका अधिकारीले निर्ममतापूर्वक रोकेका थिए । उनीहरूको आरोप थियो—

    १.         तिमीहरू नेपालबाट घुम्न आएको हो भने बैंक ब्यालेन्स खै ?

    २.         तिमीहरू कार्यक्रम गर्न आएका भए कार्यक्रमको प्रमिसन खै ?

    ३.         तिमीहरू बस्ने ठाउँ कहाँ हो ? होटल बुकिङ खै ?

    ४.         पर्यटकको भिसा माग्ने, कार्यक्रम गर्ने — पैसा कमाउने अधिकार कसले दियो ?

    ५.         तिमीहरू आफन्त/साथीभाइ कहाँ बस्ने भए स्पोन्सर लेटर खै ?

    यी नै पाँचवटा प्रश्नले हामी गलेका थियौं । हामीसँग उत्तर थिएन । हामी सबैको पासपोर्टमा पेसा कलाकार भनेर उल्लेख गरिएको थियो । मेरै कारणले हामी आपत्मा पर्‍यौं भन्ने लागिरह्यो । त्यतिबेला ‘हामी सबै कलाकार हौं’ भनेर किने भनें होला भनेर निकै पछुतो लागिरह्यो । यो सब हुनुमा अलिकति दोष त मैले पनि लिनैपर्ने भयो ।

    पहिलो ‘भिजिट नेपाल ९८’

    ‘भिजिट नेपाल ९८’लाई सार्थक बनाउने उद्देश्यले पनि हामी हङकङ जाने भन्ने कुराले मनभित्र छुट्टै जोश, जाँगर र उत्साह भरिएको थियो । शायद नेपालको संस्कृति तथा पर्यटन मन्त्रालयले यिनीहरू भ्रमणदूत हुन् भन्ने टाइपको चिठ्ठी लेखिदिएको थियो क्यार ! त्यही पनि च्यातेर डस्टविनमा फालिएको देखिसकेपछि भने मनभित्रको त्यो जोश, जाँगर र उत्साह सबै मरिसकेको थियो ।

    नगेन्द्रले झोलाबाट भिजिट नेपालको टिसर्ट निकालेर सबैलाई लगाउन दिए । हामी एउटै ड्रेसमा भयौं । फर्काइने पक्का भइसकेपछि एयरपोर्टबाट देखिने बाहिरको दृश्यसहित आउने गरी तस्वीर लिन थाल्यौं । दुःखभित्र पनि हामी खुशी खोजिरहेका थियौं ।

    हङकङ इमिग्रेसनमा दायाँबाट क्रमशः राजेन्द्र रिमाल, विनोद श्रेष्ठ तखाँचे, सुरज थापा, नगेन्द्र राई र सन्जीव लामा ।

    नगेन्द्र, किशोर र म सहपाठी । आईए दोस्रो वर्षको परीक्षा नजिकिँदै थियो । “आईएको परीक्षा अर्को वर्ष पनि आउँछ तर हङकङ जाने यस्तो अवसर फेरि–फेरि आउँदैन,” यही निष्कर्षसहित हामीले परीक्षा छोडेका थियौं । तर, अहिले भने थकथकी लागिरहेको थियो । ईश्वर भाइको एयरहोस्टेजसँगको अमिलो अनुभव पनि कता–कता मस्तिष्कमा घुम्न थाल्यो—विमानमा फेरि तिनै एयरहोस्टेजसँग भेट हुनेछ अनि हामी अघिको जस्तो उज्यालो हुने छैनौं । शायद फेरि त्यसरी हजारौं फीटमाथि रक्सी सेवनको मजा बेग्लै हुन्छ भनेर हामी फुर्किने छैनौं ।

    तीन, तीन… उर्फ डिनर

    हामीलाई ठूलो बैठक कोठामा राखिएको थियो । सोफा, टेबल, क्वाइन राखेर गरिने टेलिफोन । रात पर्न थालिसकेको थियो । हामीमध्ये कोही अन्ताक्षरी खेलिरहेका थियौं भने कोही तास खेलिरहेका थिए । मसँग हङकङ डलरका केही क्वाइनहरू थिए । त्यसैबाट हङकङमा रहेका आफन्तलाई फोन गर्‍यौं । ‘तपाईंहरूलाई रोकेको थाहा भयो, दाइहरूले निकाल्ने कोशिश गरिरहनुभएको छ’ भन्ने खबर पायौं । अलि आशा जाग्यो ।

    त्यसैबेला ड्यूटीमा बसेको चाइनिजले विशाल भण्डारी दाजुतिर हेरेर ‘तीन तीन’ भनेको सुनियो । भण्डारी दाजुले “ए तीनजना आउनू रे’ भनेपछि विनोद तखाँचे र राजेन्द्र रिमालसहित तीनजना सिनियर दाजुहरू जानुभयो । अनि अंग्रेजी जान्ने विनोद दाइले “तीनजना किन बोलाएको ?” भनेर सोद्धा हातैले खाने इशारा गरेर तिनर तिनर भनेपछि पो ए… भइयो ।

    डिनर प्याकेटमा आएको थियो । चिकेन बे्रस्टको एक ठूलो टुक्रासँगै ग्रेवी मिसिएको भात थियो । त्यो पहिलो विदेशी खाना, चाइनिज स्वाद गज्जब थियो ।

    अकस्मात् त्यहीबेला विशाल भण्डारी दाजुको डाँको सुनियो, “माता ! म तपाईंलाई कसरी खान सक्छु ?” चाइनिजले गाईको मासु दियो भनेर भण्डारी दाजु चिन्तित भई आकाशतिर हेर्दै पुकारिरहनुभएको थियो । हामी सबैले ‘चिकन हो’ भनेपछि पनि कुखुराको यति ठूलो साँप्रो अहिलेसम्म देखेको थिइनँ भन्दै दिगमिग मान्दै खानुभयो ।

    मेड इन इन्डिया

    डिनरपछि सुत्ने सेलमा लगियो । संजीव लामा र म एउटा सेलमा थियौं । अरु कलाकार साथीहरू पनि आ–आफ्नो ठाउँमा लगिए । संजीव डबल डेकर बेडको माथि सुत्ने भयो, म तल ।

    ‘गुड नाइट दाइ’ भनेर सुत्न छिरेको लामा भाइ अकस्मात् करायो, “दाइ, यो ओड्ने नओड्नोस् है, यसको भुवा लुगाभरि टाँसिदो रहेछ ।”

    उसले तल ओर्लिएर देखायो, उसको लुगा खैरो भइसकेको थियो । त्यसपछि चाइनिजलाई गाली गर्दै ऊ फेरि सुत्न पस्यो ।

    आधा घण्टापछि फेरि चिच्याएर भन्यो, “जस दाइ, यो ब्लाङ्केट त मेड इन इण्डिया रै’छ ।” दुवै हाँस्यौं । त्यो बेला न मोबाइल, न इन्टरनेट ! खासमा, निद्रा नलागेर उसले त्यो ब्लाङ्केटको अवलोकन गरेको रहेछ । आखिर, टाइम पास न हो ! रातको तीन बजिसकेको थियो, निद्रा लागे पो !

    चौथाइ खुशी, रुन्चे हाँसो !

    बिहान भयो । नित्य कर्मपछि सबैजना बैठक कोठामा भेला भयौं । सबैको आ–आफ्नो अनुभव शेयर भयो । ‘अनाम सन्ध्या’ नाम दिइएको उक्त कार्यक्रम कसरी सम्पन्न गर्ने ? भन्ने विषयमा कुरै भएन । बरु, नेपाल फर्किएपछि कसरी बहाना बनाउने । साथी तथा आफन्तहरूसमक्ष कसरी प्रस्तुत हुने भन्ने कुरामा केहीबेर छलफल भयो । त्यो रात हामी कोही पनि राम्ररी नसुतेको अनुभूति शेयर भयो ।

    फर्कने निश्चित जस्तै भइसकेको थियो । तैपनि, केही साथीभाइ र आफन्तलाई फोन लगायौं । कार्यक्रमको बन्दोबस्त मिलाउन आयोजक प्रमोद सुब्बा र अनामको तर्फबाट सुवास थापा १५ दिन अघिदेखि हङकङकमै थिए । उनीहरूलाई फोन लगायौं । उनीहरूले हिजो जस्तै आश्वासन दिए, “जसरी पनि निस्कन्छौ । निराश नहुनू ।” फेरि एकपटक सबैको अनुहारमा खुशीको त्यान्द्रो छायो ।

    हङकङ इमिग्रेसनमा दायाँबाट क्रमशः जसकुमार राई, आशा राई, रजन राई, पुष्पा सुब्बा र कविता राई ।

    स्पोन्सर पनि एउटा तरिका रहेछ कलाकारहरूलाई हङकङ छिराउने । त्यो विकल्पमा किन नजाने भनेर हाम्रा हङकङमा भएका आफन्तहरूलाई फेरि फोन सम्पर्क गरियो । हामी १५ जना कलाकारलाई स्पोन्सर दिने हङकङ आईडी होल्डर हाम्रा आफन्त पनि पूरा तयार भए । कालो बादलमा चाँदीको घेरा जस्तो आशा भने पलायो । एक्लै–एक्लै इन गराउन कसरी सकिन्छ भनेर इमिग्रेसन वकिल र जानिफकारहरूसँग परामर्श गरिरहेका रहेछन् दाइ प्रमोद सुब्बा र सुवास थापा ।

    हामीलाई हङकङमा कार्यक्रम गर्नैपर्ने बाध्यता थियो । आज चार तारिख भइसकेको थियो । भोलि कार्यक्रम साँझ सात बजेदेखि । हाम्रो भने अत्तोपत्तो थिएन । आयोजकको धेरै लगानी भइसकेको थियो— १७ जनाको आउने–जाने प्लेन टिकट, हल बुकिङ, टिकट/पोस्टर छपाइ, प्रचार–प्रसार, यातायात, बस्ने–खाने प्रबन्ध, आदि । कार्यक्रमको २४ घण्टा बाँकी हुँदा पनि हामी भने इमिग्रेसनको कस्टडीमै थियौं ।

    अन्त्यमा केही सीप नलागेपछि हङकङस्थित नेपाली महावाणिज्यदूतावासका काउन्सिलरले हाम्रो बिजोक देखेर उद्दार गर्ने निर्णय गरेछन् । उनकै रोहबरमा हामी २४ घण्टाको भिजिट भिसाको हकदार भएछौं । तर, ‘अनाम सन्ध्या सांस्कृतिक कार्यक्रम’ नगर्ने सर्तमा ! ड्यूटीमा खटिएका कर्मचारीले नचाहेरै पनि लाइन लगाएर २४ घण्टे ‘अन अराइभल भिसा’ लगाइदिए ।

    हामी खुशी हुनुपर्ने त्यस्तो केही थिएन— न प्रोग्रामको टुङ्गो थियो, न बस्नको । हामी गलेको मनस्थितिमा इमिग्रेसनबाट बाहिर निस्कियौं । त्यो लामो २९ घण्टापछि ४ तारिखको झमक्क साँझ परिसकेको थियो । चारैतिर बिजुलीको उज्यालो थियो । इमिग्रेसनको ढोकाबाट बाहिर निस्कँदा बेचैनीले भारी थियौं ।

    हामीलाई पर्खिरहेका सुवास थापा र प्रमोद सुब्बाको अनुहार पनि अलिनो हाँसोले भरिएको थियो । निद्रा नपुगेको प्रस्ट देखिन्थ्यो । हामी हेन्डक्यारी र जेब्रा झोलाको लगेज बोकेर भोको पेट अनि निराश मुद्रामा लाइन लाग्यौं ।हामीलाई पर्खिरहेका आफन्तहरू भने खुशी थिए । भन्दैथिए, “भोलि जसरी पनि भिसा लाग्नेछ । कार्यक्रम हुनेछ ।  अनि गज्जबले घुम्नु पर्छ ।”

    इमिग्रेसन अफिसरले भर्खरै बाहिर निस्कने बेलामा भनेको थियो, “कुनै कार्यक्रम गर्न पाइने छैन । यदि गरेको चाल पाइएमा, तिमीहरू जरिवानासहित साँच्चिकै जेल जानेछौ ।”

    हामी अनाम नाट्य जमातका कलाकार पहिलोपटक डबल डेकर बसको सफा सीटमा बस्यौं । अनि; त्यो रातो डबल डेकर बसमा डर, संशय, अनिश्चित सांस्कृतिक कार्यक्रम, आदि भुमरीको अनिंदो सपना बोकेर हुइँकियौं चुङकिङ मेन्सनतिर ।

  • कमेन्ट गर्नुहोस्