• बीस वर्षमा कायापलट हङकङ

    पीकबाट देखिएको अहिलेको हङकङ । तस्वीरः डम्बरकृष्ण श्रेष्ठ
  •  

    सँगैका साथीभाइ विदेशतिर लागे— कोही जापान, कोही कोरिया, कोही जर्मन… यस्तै यस्तै । त्यसपछि हङकङ आईडीको लहर आयो । हङकङ पुगेका साथीहरूले फोन गर्थे, झिलिमिली हङकङको पोस्टरहरू ‘ग्रेटिङ कार्ड’को रूपमा पठाउँथे । म भ्रममा पर्थें । मनमनै सोच्थें, “यस्तो झिलिमिली ठाउँ पनि हुन्छ र ?” यस्तै चल्दाचल्दै कुन झट्का सपनाको शहर बनिसकेछ हङकङ !

    १९९६ तिर मेरो पनि हङकङ आउने मेसो मिल्यो । हङकङको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल काइटक विमानस्थलमा खुट्टा टेक्दैमा  हेरेको हेर्‍यै भएँ । “ठूला–ठूला सिसाको ढोकाहरू नजिक गएपछि आफैं खुल्छन् । प्रायः सूचनाहरू स्क्रीनमा डिस्प्ले हुन्छ,” काठमाडौंबाट हिंड्नुअघि नै साथीले अर्थ्याएको थियो ।

    निर्धारित समयमै बाहिर निस्किएँ । साथी पर्खिरहेको रहेछ । अनि लाग्यौं झिलिमिली बाटो हुँदै जोर्डनस्थित उसको कोठातिर । भोलिपल्ट अरु साथीहरूको साथमा ट्रेन चढेर अध्यागमन कार्यालयतर्फ गइयो । यात्राकै क्रममा साथीहरूले हामी पानीमुनि कुदिरहेका छौं भन्दा पत्यार नै लागेन ।

    ‘स्टार फेरी’ नियाल्दै डुङ्गाबाट चुङ किङ मेन्सन हुँदै फर्कियौं । त्यतिवेला साथी वा आफन्त नहुनेहरूलाई चुङ किङ मेन्सनमा आफूले लिएर आएको ट्राभल चेक बुझाएपछि हङकङ बसोबासका लागि आधिकारिक कागज नबनुन्जेलसम्म खाना र बस्नको प्रबन्ध मिलाएका थिए अग्रज व्यापारीहरूले ।

    स्थानीय तथा अन्तर्राष्ट्रिय कल गर्नु परेमा टेलिफोन बुथमा क्वाइन छिराएर गरिन्थ्यो । आइतबारको दिन लाइनमा बसेर फोन गर्ने गरिन्थो अथवा सुपरमार्केटबाट १०० डलरको एचके टेलको कार्ड किन्यो भने ८ मिनेट कल गर्न पाइन्थ्यो । अहिले ती सबै विस्थापित छन् । मोबाइल फोन त आएकै थिएन, कसै–कसैसँग म्यासेज मात्र हेर्न मिल्ने पेजर हुन्थ्यो ।

    झ्याल खोल्न मिल्ने दुईतले बसमा खुद्रा पैसा लिएर हिंड्नु पर्दथ्यो । अक्टोपसको चलन थिएन । एटीएमबाट पनि १०० भन्दा कम निकाल्न मिल्दैनथ्यो । त्यसैले, दुईजनाको एटीएममा भएको ब्यालेन्स मिलाएर १०० पुग्ने रहेछ भने एकबाट अर्कोमा रकम ट्रान्सफर गरेर १०० डलर बनायो अनि जसको जति थियो त्यही अनुसार बाँडेर चलाइन्थ्यो ।

    चेपलाक कक अन्तर्राष्ट्रिय विमानस्थल, चिङ्मा पुल, मा वान, तिन काउ, ताईलाम टनेल, काउलन, ओलम्पिक, तुङचुङ, चिङ यी स्टेशन, हङकङ एयरपोर्ट स्टेशन र हङकङ प्रर्दशनी केन्द्र सबै एकै साथ निर्माण भए ।

    म काउलन स्टेशनमा काम गर्दाताका त्यहाँ भित्तामा ठूलो पोस्टर टाँसिएको थियो । जसमा लेखिएको थियो– ‘भविष्यको हङकङ’ । अहिले हेर्दाहेर्दै त्यस्तै भयो । हङकङ आईएफसी टावर, आईसीसी टावर आदिमा निर्माणाधीन समयमा काम गर्ने मौका मिल्यो । यहाँका ईष्ट–वेष्ट रेलदेखि हार्बर टनेलबाट बाइपास नर्थ प्वाइन्ट पुग्ने पुल या पूर्वी हार्बर टनेलबाट आयल्याण्ड हुँदै ओसन पार्क पुग्ने मार्ग सबैमा नेपालीहरूको रगत–पसिना बगेको छ ।

    काम गर्दै अनुभव बटुल्दै

    फ्रान्सेली कम्पनी भिएसएलमा सन् २००९ मा ‘स्टोनकटर ब्रिज’ मा काम थालें । एकदिन तीनजना कलिलो उमेरका भाइहरू पीपीए (कन्स्ट्रक्सनमा काम गर्दा लगाइने पोशाक)मा ठाँटिएर आए । उनीहरूलाई मेरो अन्डरमा लेबर काम गर्न पठाइएको थियो । मैले तिनीहरूलाई आफूछेउ बोलाएँ र भनें, “तिमीहरू पढ्न छोडेर कन्स्ट्रक्सनमा के खान आएको ?” उनीहरूलाई कन्स्ट्रक्सनमा आफूले बिताएको एक दशक लामो तितो–मिठो अनुभवका साथै आफ्नो समयमा गरिएको शैक्षिक कमजोरीलाई उदाहरण दिंदै सक्दो सम्झाउने प्रयास गरें । पढाइ छोडेर कमाउन भन्दै त्यहाँ बेल्चा खेलाउन आइपुगेका ती कलिला भाइहरूको निर्णय मलाई पटक्कै मन परेको थिएन ।

    पहाड छेडेर बनाइएको सुरुङ मार्ग । तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

    नब्बेको दशकमा हङकङ आउने पुस्ताका सामुन्ने अदक्ष काम बाहेक अन्य विकल्प थिएन । त्यसैले मेरो पुस्ता–पुर्खाले हङकङमा गरेको ‘सेक्यूरिटी जब’ र आफू स्वयंले नेपालमा गर्दै आइरहेको कामको प्रकृतिसँग मिल्ने कन्स्ट्रक्सन क्षेत्रमा नै छिरियो ।

    २०४६ सालमा अमरसिंह माविबाट एसएलसी सकेपछि पीएन क्याम्पस पोखरामा पढ्दै दिदीको पेट्रोल पम्पमा काम गरिरहेको म सन् १९९६ मा हङकङ आइपुगें । यहाँ आइसकेपछि शुरूमा त रनभुल्लमा परियो । त्यसबखत राम्रोसँग हङकङ बुझेका नेपाली यहाँ कमै थिए ।  मभन्दा अगाडि आएका दाइहरूलाई पछ्याउँदै म पनि कन्स्ट्रक्सनमा छिरेको हुँ । आज फर्किएर हेर्छु– हङकङको माटोसँग खेल्दाखेल्दै धेरै वर्ष बितेछन् । हिजो आए जस्तो लाग्छ, समय त घर्किसकेछ !

    हङकङले विकासको द्रुत गति समात्न थालेको सन् १९९७ पछाडि  हो । हाम्रो पुस्ता यो विकासको साक्षी मात्र होइन, त्यसका निम्ति सबैभन्दा बढी जोतिएको पुस्ता पनि हो । हङकङमा विश्वमा नाम चलेका लगभग सबै प्रमुख कन्स्ट्रक्सन कम्पनीहरूले ठूलठूला प्रोजेक्टहरू सम्हाल्ने गरेका छन् । तिनले गर्ने निर्माण कार्यका सबैभन्दा सक्रिय श्रमिक नेपाली नै हुन् भन्न सकिन्छ ।

    हुनतः हाम्रै नेपाली दाजुभाइ पनि अहिले हङकङको कन्स्ट्रक्सन क्षेत्रमा इन्जिनियर वा अन्य ठूला पदमा नभएका चाहिं होइनन् । तर त्यो संख्या एकदमै सानो छ ।

    मैले पनि लगभग सबै बहुर्राष्ट्रिय कम्पनीमा आबद्ध भएर हङकङका चर्चित विमानस्थल, सुरुङ, पुल, पार्कहरूमा आफ्नो श्रम खर्चेको छु । कन्स्ट्रक्सन क्षेत्रमा हङकङका नेपालीहरूले विश्वका नामी कम्पनी र तिनका दक्ष इन्जिनियर तथा प्राविधिक र व्यवस्थापकहरूसँग काम गरेको अनुभव संगालेका छन् । यो हाम्रो पूँजी हो । तर, उच्च र सम्मानजनक जीवनस्तर भोग्न यति उपलब्धि पर्याप्त नहुँदो रहेछ ।

    कहिलेकाहीं यसो घोत्लिएर २० वर्षको उपलब्धि गन्न थाल्छु । नेपालमा मसँग पढेका साथीसंगी, दाजुभाइ, दिदीबहिनीहरूको प्रगतिको नापजोख गर्छु । उनीहरू प्रगतिको यात्रामा धेरै अगाडि पुगिसकेको पाउँछु । म चाहिं हिजो जहाँ थिएँ आज पनि त्यहीं पो रहेछु !

    चिङमा पुल । तस्वीरः डम्बरकृष्ण श्रेष्ठ

    आर्थिक रूपले तिनले भन्दा राम्रो गरें कि भनेर चित्त बुझाउन त्यसको पनि लेखाजोखा गर्छु । अहँ ! होइन रहेछ । झट्ट हेर्दा हङकङ डलरलाई नेपाली रुपैयाँमा बदल्दा हामीले कमाउने पैसा धेरै देखिए तापनि हङकङको जीवनस्तरमा त्यो पैसा एक छेउ पनि नहुँदो रहेछ । बरु, हङकङमा बस्ने मभन्दा कयौं गुणा राम्रो जीवनस्तर तिनले नेपालमै सुखभोग गरिरहेको पाउँछु ।

    अरुलाई सुनाउँदा पत्याउँदैनन् । तर सत्य के हो भने मैले र श्रीमतीले कमाएको पैसाले हङकङमा पढाउन खर्च नपुग्ने भएर हामीले छोराछोरी पोखरामै पढाउने निर्णय गरी त्यहाँ पठाएका थियौं । अहिले हाम्रा दुई छोराछोरी बेलायतमा अध्ययन गरिरहेका छन् । हुनतः म स्वयं पनि स्याङ्जाको फेदीखोलामा हुर्किएर त्यहींको सितला निमाविमा पढेको हुँ । तर दुःख केमा लाग्छ भने हामीले आफ्ना बच्चालाई सँगै राखेर मार्गनिर्देश गर्न पाएनौं ।

    भारतीय सेनामा रहेका मेरो बुवाको म एक्लो छोरो हुँ । बुवा मलाई सधैं भन्ने गर्नुहुन्थ्यो, “तँ लाहुरे हुने होइन, सरकारी जागिरमा जानुपर्छ । सरकारी कर्मचारीले थोरै पैसा थाप्छन् तर त्यो पैसाभन्दा बढी वैभव तिनको हातमा हुन्छ । यो कुरा नभुलेस् ।”

    यस्तो गम्भीर कुरा बैंसले उन्मुक्त मैले कसरी बुझ्नु, बुझिनँ । बुवाले जे नगर भन्नुभो त्यही गरें । हङकङको लाहुरे हुन आइपुगें । आज बल्ल बुवाले के भन्नुभएको थियो भन्ने दिमागले समातिरहेको छ । यति कुरा बुझ्न मलाई करिब २ दशक लाग्यो । हाम्रो चिन्तन कति पछाडि रहेछ यसबाट पनि बुझ्न सकिन्छ ।

    केही मित्रहरू भन्नुहुन्छ, “क्यान्टोनिज भाषा जाने हङकङमा मोज छ ।” म मज्जाले क्यान्टोनिज बोल्छु । चाइनिजमै गीत गाउन सक्छु । तर मैले बुझेको के हो भने भाषा जानेर मात्र नहुँदो रहेछ । हामी हङकङका चाइनिजहरूका अगाडि ‘केही नजान्ने, गरीब भएर पेट पाल्न हङकङ आएका आप्रवासी’ रहेछौं । हो, भाषामा पोख्त हुँदा मैले बेरोजगार बस्नुपरेको छैन । तर बेरोजगार नहुनु र सम्मानपूर्वक उपल्लो पदमा पुग्नु बेग्लै कुरा हो रहेछ ।

    कतिपय वेला मलाई लाग्छ, यदि मैले समयमा राम्ररी पढ्न सकेको भए अहिले मैले गरिरहेकै काममा पनि उपल्लो तहमा पुग्न सक्थें हुँला । तर अहिले आएर पछुताएर के गर्ने ? त्यसैले मलाई हाम्रो नयाँ पुस्ताले पढाइ छोडेर कन्स्ट्रक्सनमा छिरेको देख्दा भित्रैदेखि नमज्जा लाग्छ । त्यसरी मसँग ठोक्किन आउने सबैलाई म एउटै कुरा दोहोर्‍याउने गर्छु, “हिजो तिम्रा आमा–बुवा र दाजुभाइले जे गरे तिमीले पनि त्यही नदोहोर्‍याऊ । त्यसले तिमीलाई भोलि पछुताउने बाहेक केही दिने छैन ।”

    हामीले सुन्दै आएको लोककथा ‘श्राद्धका बेला बाउले बिरालो बाँधेको देखेर बाउ मरेपछि बाउको श्राद्ध गर्दा उसको छोराले पनि गाउँ–गाउँबाट खोजेर ल्याई बिरालो बाँधे’झैं गर्नु भएन । श्राद्ध गर्दा दुःख दियो भनेर बाउले बिरालो बाँधेको नबुझ्ने छोरोझैं हङकङका नयाँ पुस्ताले परम्परा पछ्याउँदा हङकङका नेपालीले आफूलाई माथि लैजान सकिरहेका छैनन् । हिजो पो हामीलाई ‘गाइड’ गर्ने कोही थिएनन् । बेलायती लाहुरे मामाहरूपछि हामी नै हङकङ आइपुगेका थियौं । हामीलाई हङकङको नीति–नियम, संस्कार–संस्कृति र चाल–चलन थाहा थिएन । तर अहिलेको अवस्था त्यस्तो होइन ।

    अहिले हामीसँग हङकङ बसाइको लामो अनुभव छ । कडा संघर्षले खारिएको समाज छ । सरकारको नीति–नियम बुझ्न थालेका छौं । हामीमध्येबाटै सम्भावनाका बाटा पहिल्याएका उदाहरणहरू बढ्न थालेका छन् ।

    पुरानो र नयाँ हङकङ । तस्वीर स्रोतः इन्टरनेट

    हामीले स्थानीय भाषा, संस्कार, संस्कृति र तिनको मानसिकता बुझ्न खोजिरहेका छौं । कहाँ, कसरी सफलताको सिंढी चढ्ने हो बुझ्ने प्रयास गरिरहेका छौं । यो पूँजी नयाँ पुस्ताका लागि पर्याप्त नभए पनि धेरै ठूलो खुड्किलो हो । नयाँ पुस्ता यो खुड्किलो चढ्न डराउनु हुँदैन । अथक मेहनत गर्नुपर्छ । कन्स्ट्रक्सनमा नजाने होइन तर लेबर मात्र नभएर इन्जिनियर र दक्ष हाकिमका रूपमा पनि जानुपर्छ । नेतृत्व सम्हाल्नुपर्छ । अभिभावकले पनि पैसाकै लागि आफ्ना बच्चालाई लेबर बनाएर कन्स्ट्रक्सनमा छिराउन बल गर्ने या बच्चा जान खोज्दा मौन बसिदिने गर्नु भएन ।

    मसँग काम गर्न आएका ‘भाइ’हरूलाई मैले यही कुरा सुनाएको थिएँ । मलाई विश्वास थिएन, ती कलिला केटाहरूलाई मेरो कुराले प्रभाव पार्नेछ । तर अचम्म भो ! भोलिपल्ट एकजना केटा काममै आएन । भोलिपल्ट मात्र होइन, ऊ फेरि कहिल्यै काममा फर्किएन ।

    उसका दुईजना साथीबाट पछि थाहा भयो, ऊ त पढ्न नेपाल पो फर्किएछ ! उसलाई मेरा शब्दले छोएछन् कि ? थाहा छैन, ऊ अहिले कहाँ छ तर जहाँ भए पनि उसले आफ्ना दुईजना साथीभन्दा पक्कै राम्रो गरिरहेको होला । हामी नेपालीहरूले यहाँको निर्माण क्षेत्रमा दिएको योगदानको यहाँका चिनियाँहरूबाट उचित कदर पाउन सकेका छैनौं । काम सानो र ठूलो हँुदैन । एक–अर्काप्रति सम्मानको वातावरण हामी आफैंले मिलाउनुपर्ने हुन्छ ।

    साथीको लहै–लहैमा हङकङ आइयो अब फेरि केही नसोची अरुकै लहै–लहैमा बेलायततिर लागिन्छ । देखासिकी नै गर्नुछ भने नेपाल फर्किएर उदाहरणीय काम गरौं । भोलि के थाहा त्यही कामको सिको अरूले पनि गर्दै नेपालकै लागि केही गर्ने माहौल पो बन्छ कि !

    नब्बेको दशकमा हङकङमा नेपालीको लागि साथी भेट्नु, नेपाली सामान किन्नु, नेपाली परिकार खानु, मनोरञ्जन लिनु आदिको लागि चिम सा शुईको चुङ किङ मेन्सन मात्र थियो । पहिले जे गर्दा पनि चुङ किङ मेन्सन नै पुग्नु पर्दथ्यो । चुङ किङलाई नेपालीहरूको राजधानी नै मानिन्थ्यो । तर अहिले चुङ किङ, जोर्डन, वान चाई, युनलङ सबैतिर नेपाली फैलिएका छन् ।

    माथि नै पनि भनिसकिएको छ, पहिले काउलन स्टेशन बन्दै गर्दा त्यहाँ भविष्यको हङकङ भनेर ठूलो पोस्टर टाँगिएको थियो । जहाँ आईसीसी टावरको पनि स्केच थियो । त्यतिवेला त्यो पोस्टरमा जे–जे थियो अहिले यथार्थमा परिणत भएको छ । २० वर्ष अघिको हङकङ देखेका र यहाँको विकास निर्माणमा रगत–पसिना बगाएका सबै नेपालीले आफ्नै आँखा अगाडि यो विघ्न परिवर्तन देखेका छन् । त्यसैले हामी सबैलाई सधैं लागिरहन्छ– प्रजातन्त्र आएको ३० वर्ष कटेर गणतन्त्र समेत आइसक्दा पनि हाम्रो देश नेपाल किन यसरी परिवर्तन भएन ? राजधानीमा मेलम्चीको पानी आएको देख्न नेपालीले अझै कति कुर्नुपर्ने हो ?!

  • कमेन्ट गर्नुहोस्