• ‘आफ्नै घर जस्तो लाग्छ हङकङ’

  •  

    सन् १९५४ मा काठमाडौंमा जन्मिएका शिवसुन्दर श्रेष्ठ अध्ययनका क्रममा विराटनगर पुगे । उनको रुचि खेलकुदमा थियो । फुटबल, भलिबलदेखि कुस्तीका प्रतियोगिताहरूमा धेरै पटक भिडेका उनको विराटनगरमा आफ्नै सान थियो । शिवको क्यारम बोर्ड खेल्ने अड्डा विराटनगरको फिल्म हल छेउमै थियो । एकदिन उनी क्यारम बोर्ड खेलिरहेका बेला नजिकैको फिल्म हलमा चलिरहेको चलचित्र ‘सिन्दुर’का निर्देशक प्रकाश थापा आइपुगे । साथीको लहैलहैमा शिव पनि प्रकाशलाई भेट्न पुगे । पहिलो भेटमै निर्देशक थापाले शिवलाई अभिनयको प्रस्ताव गरे ।

    सन् १९८० मा शिव प्रकाशको फिल्म ‘जीवन रेखा’को ‘हिरो’बने । त्यो नै उनको पहिलो फिल्म थियो । त्यही फिल्मबाट शिवसुन्दर श्रेष्ठबाट उनी ‘शिव श्रेष्ठ’का रूपमा चिनिए । निर्देशक थापाले उनको नामबाट सुन्दर त हटाइदिए तर उनको जीवन–यात्रा भने अझै सुन्दर भयो, एउटा सफल अभिनेताका रूपमा ।

    सन् १९८३ मा श्रेष्ठ पहिलो पटक हङकङ आए तर त्यो यात्रा फिल्मको लागि भने थिएन । उनी घुमघामका लागि आएका थिए । त्यसबेला हङकङमा कमै नेपाली रहेको सम्झना छ उनलाई । “फिल्म खेल्न थालेको थिएँ तर हङकङमा भने घुमघामका लागि आएँ । ड्रेसहरू किनें । बडो आनन्द लागेको थियो पहिलो यात्रा,” उनी सम्झन्छन् । शिवलाई त्यसबेला हङकङमा नेपालीहरू भेट्दा एकदमै खुसी लाग्यो रे । भेट भएका नेपालीले खुब माया र सम्मान देखाएको सम्झना छ उनलाई । भर्खरै फिल्ममा अभिनय गर्न थालेका उनलाई हङकङमा पहिलो पटक आउँदा पनि दर्शकहरूले चिने । उनी भन्छन्, “हङकङमा रहेका नेपाली दाजुभाइ÷दिदीबहिनीले मलाई देख्ने बित्तिकै तपाईं शिव श्रेष्ठ होइन ? भनेर सोध्नुभयो ।”

    शिवलाई पहिलो पटक हङकङ आउँदा फोटो खिचेको अहिले पनि याद आइरहन्छ । हङकङ घुम्न आएका बेला भेट भएका नेपालीले उनीसँग फोटो खिच्ने प्रस्ताव गरे । तर त्यसबेला अहिले जस्तो हात–हातमा मोबाइल फोन थिएन न त क्यामेरा नै सबैसँग हुन्थ्यो । तर पनि फोटो त खिच्नु नै थियो । उनीहरूले शिवलाई स्टुडियोमै लगेर फोटो खिचाए । शिव सम्झिन्छन्, “त्यसबेला कसले लानुभयो भन्ने त अहिले याद छैन तर मलाई स्टुडियोमै लगेर सँगै फोटो खिचाउनुभयो । त्यो कुरा बिर्सिएको छैन ।”

    त्यो इन्फा अवार्ड

    अभिनेता शिव श्रेष्ठ हालसम्म हङकङमा करिब १३/१४ पटक आए, कहिले घुमघाममा त कहिले फिल्मको कार्यक्रम लिएर । सन् २०१४ मा चाहिं उनी एउटा फिल्म अवार्ड कार्यक्रमका लागि हङकङ आएका थिए । हङकङमा भएको इन्टरनेशनल नेपाल फिल्म अवार्ड (इन्फा)मा शिवलाई ‘सर्वश्रेष्ठ नायक’को उपाधिसहित विशेष सम्मान प्रदान गरिएको थियो ।

    यो अवार्डको हङकङ–यात्रा उनलाई विशेष लाग्छ । हङकङ भन्ने बित्तिकै सधैं सम्झनामा आइरहन्छ । अवार्डका बेला परिवारसहित उनी हङकङ आएका थिए । त्यसैले पनि उनलाई यो घुमघाम रमाइलो र विशेष लागेको थियो । आफ्नो परिवार मात्र होइन नेपाली चलचित्र क्षेत्रको ठूलो परिवारसँगै विदेशको यात्रा गर्न पाउँदा अझ रमाइलो लागेको उनी सम्झिन्छन् । भन्छन्, “हामी एउटै प्लेनमा ७१ जनाको टीम आएका थियौं । प्लेनभरि सबै चिनजानका कलाकार र अन्य व्यक्ति हुँदा बेग्लै रमाइलो लाग्यो । धरानका युवा व्यवसायी सम्राट श्रेष्ठका कारण हङकङमा पनि घुमघाम, भेटघाट र समग्र यात्रा रमाइलो भयो । त्यो क्षण मेरो दिमागबाट कहिल्यै मेटिंदैन ।”

    शिवले नेपाली बाहेक पाकिस्तानी, उर्दू फिल्ममा पनि काम गरेका छन् । एक समय उनी पाकिस्तानमै लामो समय बसे । उतै स्टारडम कमाइरहेका बेला तत्कालीन राजा वीरेन्द्रले आफ्नै देशमा फर्किन आग्रह गरेपछि फर्किएको उनी बताउँछन् । त्यसयता भने उनी नेपाली फिल्म क्षेत्रमै काम गरिरहेका छन् । चार दशकमा उनले डेढ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । अहिले पनि उनी चलचित्रकर्ममै सक्रिय छन् ।

    उनी आफैंले कथा लेखेको र अभिनय गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ले कोभिड महामारीले बन्द रहेका नेपालका फिल्म हलहरू खोलिदिएको छ । शिव निर्माता समेत रहेको यस फिल्म नेपाल बाहेक विदेशमा पनि प्रदर्शन गर्ने योजनामा छन् उनी । त्यसमध्ये हङकङ पनि उनको मनमा छ । हङकङ उनको मनबाट किन टाढा हुँदैन भने यो उनलाई आफ्नै घर जस्तो लाग्छ रे ! “हङकङमा नेपालीहरू भेट हुँदा एकदमै माया गर्नुहुन्छ । मलाई आफ्नै दाजुभाइ, दिदीबहिनी र आमाबुवा भेटेजस्तो लाग्छ । त्यसैले पनि हङकङ आफ्नै घर जस्तो लाग्छ ।”

  • कमेन्ट गर्नुहोस्