• ‘अरुण र मेरो मित्रता संगीतकै लागि रह्यो’

    तस्वीरः अनोज रोक्का
  •  

    ‘भुलूँ भुलूँ लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी’, ‘आँखाको निद खोसी लाने’ जस्ता कालजयी गीतका स्रष्टा को हुन् ? यदि तपाईंको मनमा खुलदुली छ भने उनी हुन् विक्रम गुरुङ । हङकङलाई कर्मथलो बनाएका उनै विक्रम र अमर स्रष्टा अरुण थापाको भेट र सांगीतिक मेहनतकै परिणाम यी कालजयी गीत हुन् ।

    विक्रम गुरुङको शब्द, संगीत र अरुण थापाको  जादुमयी स्वरको मिलन नै नेपाली संगीतका लागि गौरवमय इतिहास बन्यो । पोखराबाट शुरू भएको उनीहरूको मित्रता रंगरौसमा मात्र भुलेन, संगीतको आकाशलाई अझ फराकिलो पार्नेमा पनि लाग्यो ।

    विगतको मित्रता अनि श्रृजनात्मकतालाई सम्झदै विक्रम भन्छन् “अरुणको बाबा पोखरामा नेपाल बैंकको रिजनल म्यानेजर भएर आएको बेला पुष्प गुरुङमार्फत हाम्रो भेट भएको थियो । त्यो समय उनी पेशागत रूपमा गायक भइसकेको थिएनन्, जमघट र गाउँघरका कार्यक्रमहरूमा मात्र गीत गाउथे ।”

    “गीत, संगीतप्रतिको अगाध आस्थाकै कारण म, अरुण, उनको भाइ किरण थापा, गायक सरोज गोपाल, गीतकार नवराज कार्की, संगीतकार बाबा राना, नाट्यकर्मी शरुभक्त, विनोद गौचन, मोहनसिंह थापालगायत मिलेर पोखरेली युवा सांस्कृतिक परिवार गठन गर्‍यौं । संस्थालाई आर्थिक रूपमा सबल बनाउन एउटा सांगीतिक कार्यक्रम गर्‍यौं, जहाँ शरुभक्तले नाटक, अरुणले गीत प्रस्तुत गरे, हामीले पाँच रुपैयाँका टिकट बेचेका थियौं,” विक्रम स्मरण गर्छन् ।

    नेपथ्य ब्याण्डका अमृत गुरुङ, विक्रम गुरुङ र अरुण थापा । तस्वीर स्रोतः फेसबुक

    पोखरेली सांस्कृतिक परिवारले अरुण थापालाई रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा भाग लिन पठाउने निर्णय गर्‍यो । उनले विक्रमको रचना ‘कतै टाढा तिमीबाट’ गाए । यही गीतबाट अरुण र विक्रमको औपचारिक सांगितीक यात्रा शुरू भयो ।

    बाबाको कार्यकाल सकिएपछि अरुण काठमाडौ फर्किए । एक–अर्कामा टाढा भए पनि उनीहरूको सांगीतिक सम्बन्ध निरन्तर रह्यो । केही समयपछिको भेटमा उनीहरूले अर्को गीत रेकर्ड गराए ‘आँखाको निद खोसी लाने’ । यो पनि दर्शक–श्रोताको प्रिय बन्यो  । विक्रम शिक्षण पेशामा व्यस्त हुन थाले पनि अरुणसंग कुरा भइरहन्थ्यो । निकै लामो समयपछि ती दुईको अर्को गीत रेकर्ड भयो ‘भुलूँ भुलूँ लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी’ ।

    “अरुणसँग बिताएको समय मेरो लागि इतिहासजस्तै बन्यो, हाम्रो मित्रतालाई हामीले श्रृजनात्मकतामा परिणत गर्‍यौं,” उमेरले ६० पुगेका विक्रम भन्छन्, “एउटा कालखण्ड थियो जहाँ हामी छुट्नै पर्‍यो ।”

    विक्रम गोरखा हाइस्कूलमा शिक्षणका लागि हङकङ आए । संगीतप्रतिको मोहबाट उनी टाढा हुन सकेनन् । विद्यार्थीका लागि बालगीत, सैनिक ब्यारेकमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा प्रस्तुति दिंदै उनले श्रृजनात्मकताको भोक मेटाउँदै रहे ।

    “त्यो समय सम्पर्कको माध्यम सीमित थिए, मैले अरुणकै लागि भनेर थुप्रै सृजना राखेको थिएँ” विक्रम गुरुङ अरुणसँगको अन्तिम भेटको बारेमा भन्छन्, “जब म बिदामा काठमाडौं पुगेर भेटेँ उ गाउन सक्ने अवस्थामा थिएन । उसले मेरा सृजनामा अभ्यास गर्ने प्रयास त गर्‍यो तर शरीरले साथ दिएन । बागबजारस्थित कान्तिपुर गेष्टहाउसमा रहेका उनको उपचारकै क्रममा देहान्त भयो ।”

    संगीत र अरुण थापाप्रति विक्रम गुरुङको उद्गार, “संगीत मेरो हृदयको आवाज हो, जसको हरेक नोटमा म खुशी देख्छु  । अन्तिम अवस्थामा जीर्ण शरीर लिएर पनि मन्द मुस्कानका साथ अरुणले मेरो सृजनामा अभ्यास गरेको दृश्य जब मेरो आँखामा आउँछ, अगाध आस्था, सम्मान र प्रेमले रसाउँछ, अनि मनमनै प्रण गर्छु, अझ संगीतमा समर्पित हुन सकूँ ।”

  • कमेन्ट गर्नुहोस्