लिम्बूवानमा मगरहरू: किन र कसरी
राज्यविस्तार अभियानका क्रममा माझ किरात आफू अधिनस्थ बनाइसकेपछि गोरखालीहरू पल्लोकिरात (लिम्बूवान) कब्जा गर्ने उद्देश्यले पूर्वतिर लागे । त्यो सामरिक अभियानमा रामकृष्ण कुँवरले अमरसिंह थापालाई नायव गराइ सेनानायकत्व लिएका थिए ।
केही सैन्यलाई माझकिरातको रक्षार्थ राखेर वि.सं. १८३० चैतमा गोरखाली सेनालाई अरुणकोशी तारी चैनपुर उत्रँदा चौदण्डी मास्दै अगाडि बढेका अर्का गोरखाली सेनानायक अभिमानसिंह बस्नेत पनि त्यहाँ पुगेको इतिहासप्रधान पत्रिका ‘पूर्णिमा’ पूर्णाङ्क ५० (२०३८ भाद्रः२२) मा प्रकाशित देवीप्रसाद भण्डारीले सम्पादन गरेको ‘ऐ.शि. बाबुराम आचार्यले रचना गर्नुभएको ‘नेपालको संक्षिप्त इतिहास’ मा पढ्न पाइन्छ ।
त्यसपछि गोरखाली सेना र लिम्बू सेनाबीच घमासान युद्ध भयो । गोरखाली सेना वीर त थिए नै, बलकासाथ अनेकौं छल पनि प्रयोग गर्न जान्दथे । यसै क्रममा गोरखालीका तर्फबाट नायक–नायकबीच एक्लाएक्लै द्वन्द्वयुद्ध हुँदा जसले जित्छ, उनी पक्षका सबैको जीत हुने र हार्ने योद्धा पक्षका सबैको हार हुनेगरी प्रस्ताव आउँदा लिम्बूवानका तर्फबाट काङसोरे (काङ्सो राय) आफ्नो पक्षबाट लड्न तयार भए । अर्कातिर गोरखाली सेनाकातर्फबाट रघु राना तयार भए । चैनपुरको सभाखोला मैदानमा दिनभरि युद्ध हुँदा अन्ततः काङसोरेको प्रहारबाट रघु राना मारिए । पूर्वसर्तअनुसार लिम्बू सेना विनाहतियार त्यहाँ उपस्थित थिए । रघु राना मारिएपछि अघिल्लै दिन बालुवामा लुकाएर राखिएको हतियार निकालेर काङसोरेलगायत लिम्बू सेनामाथि प्रहार हुँदा लिम्बू सेनाले निकै क्षति व्यहोरेको ब्राइन हज्सनको भोल्यूम ८५ पृष्ठ १३२ र १३३ मा उल्लेख रहेको कमल तिगेला लिम्बू, भरत तुङघङ र भैरव आङ्लाले सम्पादन गरेको ‘हज्सन पाण्डुलिपिमा लिम्बू गोर्खा युद्ध’ (२०६९:२०–२२) मा उल्लेख छ । त्यसपछि लिम्बू सेना पनि एकत्रित भएर गोरखाली सेनालाई राम्रैसँग दपेटा दिएका थिए ।
वंशावलीको खोजी
यसरी गोरखाली र लिम्बू सेनाबीच शान्ति स्थापना हुन नसक्दा फेरि गोरखालीले खासगरी लिम्बूवानको पहाडी खण्डमा अर्को दाउपेच रचे । त्यहाँ पनि एकजना मगरलाई अघि सारियो । जसरी रघु राना बलशाली रूपमा अघि बढेका थिए, यता अर्का मगर रामभद्र थापा चाहिँ कुटनीतिक रूपमा अघि बढेको देखिन्छ ।
वि.सं. १८४९ पौषमा काजी देवदत्त थापाले काठमाडौंबाट सिर्देउ रायको नाममा पठाएको कस्य पत्र ।
त्यसबेला रामभद्र थापाले लिम्बू र मगर जातिको प्राचीन इतिहास अध्ययन गर्न थाले । केही पारिवारिक सम्बन्ध पनि पत्ता लाग्यो । उनीहरूका महान पुर्खाहरू कुनैवेला सिङमाङ गढ (सिम्रौनगढ)मा बस्थे । उनीहरू एउटै पारिवारिक मूलका थिए । विशेषगरी सिञ्जाली मगरसँग कुनै–कुनै लिम्बूहरूको वंश एउटै रहेको र मरिमराउ पर्दा जुठोसमेत बार्ने चलन रहेको विषयमा दुवै पक्षबीच कुरा हुँदा अब उप्रान्त लिम्बू र मगर लड्नु–भिड्नु हुँदैन भन्ने सहमति भएको इतिहासकार इमानसिंह चेम्जोङको ‘किरात इतिहास र संस्कृति’ (२०६३ः१७१)मा उल्लेख छ ।
एकातिर पहाडी खण्डमा रामकृष्ण कुँवर र अमरसिंह थापाले विभिन्न बल, छल र कुटनीति प्रयोग गरी लिम्बूवान हात लिए भने खासगरी तराई क्षेत्र र विजयपुरमा कोशीमा साउने भेल उर्लिरहेको बेला आफ्ना सेनालाई हात्तीबाट कोशी तारेर आक्रमण गरिदिंदा त्यहाँका हर्ताकर्ता बुद्धिकर्ण राय र थपना राजा कर्ण सेन त्यहाँबाट भागी कम्पनी सरकारको शरणमा पुगे । इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पूर्णिमा’को पूर्णाङ्क २७ (२०२९ असोजः१६७)मा उल्लेख गरेअनुसार वि.सं. १८३१ साउन ५ गते गोरखालीले विजयपुर दखल गरे ।
त्यसपछि लिम्बू सुब्बाहरूमध्ये श्रीसुन राय, श्रीकुम राय, श्रीजङ्ग रायलगायतलाई अभिमानसिंह बस्नेतलगायतका गोरखाली सैन्य अधिकारीहरूले नूनपानी छोएर सेन राजाहरूले पूर्ववत दिएको अधिकार लिम्बूहरूलाई दिने सम्झौता गरेको भगिराज इङनाम र शेरबहादुर इङनामले लेखेको ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ (२०७०:३१)मा उल्लेख छ । यो सम्झौता ‘नूनपानीको थिति’को नाममा लिम्बूवानमा चर्चित छ ।
यतिसम्म आइपुग्दा चौदण्डीका पूर्व राजा कर्ण सेन, पछि उनकी रानी तथा बुद्धिकर्ण राय आफ्नो पूर्व राज्य फिर्ता गर्न पूर्णियामा रहेर कम्पनी सरकारसँग वार्तालाप गरिरहेकै थिए । पृथ्वीनारायण शाहले पनि भर्खरै दखल भएको विजयपुरलगायत पल्लो किरात लिम्बूवान आफ्नो हातबाट फुत्कन नदिन कम्पनी सरकारसँग आफ्नो वकिलमार्फत भलाकुसारी जारी राखेका थिए ।
यसबीचमा बुद्धिकर्ण राय जिवितै रहेको अवस्थामा विजयपुरमा शान्ति स्थापना हुन नसक्ने निष्कर्षमा गोरखाली राजा पुगे । यसका लागि बुद्धिकर्ण रायको वधलाई उनीहरूले अनिवार्य ठाने । राजा प्रतापसिंह शाहले बुद्धिकर्ण राय मारिइसकेपछि अभिमानसिंह बस्नेतलाई लेखेको पत्र पढ्दा बुद्धिकर्णसँग गोरखालीहरू कति भयग्रस्त रहेछन् भन्ने थाहा हुन्छ । इतिहासकार शिवकुमार श्रेष्ठको ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ (२०६१:११६–११७)मा छापिएको वि.सं. १८३४ साउन ३ वदी सोमबारको उक्त पत्रमा ‘…तेरा अर्थकन विजयपुरका मालिक वुद्धिकर्न राय हो । त्यो नपक्रियाका भया बारम्बार धुम उठाउन्ये थियो । मुगलानबाट पक्री ल्याउनाले धुम मेटियो । त्यो पनि ठूलो मेहनत हो…’ भन्ने परेबाट उनीसँग गोरखाली भय स्पष्ट हुन आउँछ ।
विजयपुरबाट पलायन भएका बुद्धिकर्ण रायलाई खोज्न गोरखाली सेनाले निकै मेहनत गर्नुपरेको थियो ।
विजयपुरमा राजा कामदत्त सेनलाई मारेर देवान बुद्धिकर्ण राय सर्वेसर्वा भएका थिए । गोरखाली आक्रमणपछि बुद्धिकर्ण त्यहाँबाट भागेर इष्ट इण्डिया कम्पनीलाई गुहार्न पुगेका थिए । तर उनको यो प्रयास निरर्थक भएपछि उनी भुटानको सीमानेरको चिलमनि गाउँमा लुकेर बसेका थिए । केही लिम्बू सुब्बाहरूलाई लालमोहर दिएर आफूतिर मिलाइसकेपछि गोरखालीहरूले उनको धुइँधुइँती खोजी गर्न थाले ।
फ्रान्सिस ह्यामिल्टनको ‘एन एकाउन्ट अफ् किङ्डम अफ् नेपाल’ (सन् १८१९:१४१) अनुसार गोरखालीहरू कुम्ले व्यापारीको रूपमा विभिन्न ठाउँमा पुगे । कम्पनी सरकारको क्षेत्रभित्र पर्ने चिलमनि भन्ने ठाउँमा उनी लुकेर बसेको ठाउँ पत्ता लगाइ रातको समय डाकाको रूपमा घर घेरा हाली उनलाई समाति लछारपछार गर्दै विजयपुर ल्याए । उनलाई कामदत्त सेनलाई मारेको अभियोग लगाइ निष्ठुर ढंगले मारियो । कतिसम्म भने उनको प्राण जान तीन दिन लागेको थियो ।
बुद्धिकर्ण रायको प्राणहरण गरिसकेपछि केही दिनसम्म उनको चिहानको खोजखबर कसैले गरेका थिएनन् । तर केही आध्यात्मवादीहरूले उनको चिहानबाट प्रेतात्मा निस्केको थाहा पाए । इमानसिंह चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ (२०५९:१११) अनुसार विजयपुरका बासिन्दाले त्यो वुर्हा (बुढा) सुभा (सुब्बा)को प्रेतात्माले कुनै न कुनै कुरामा मद्दत गर्नेछ भन्ने विश्वासका साथ कुखुराको भाले भोग दिइ पूजा गर्न थाले । आज यो विजयपुरमा बुढासुब्बा नामले प्रसिद्ध तीर्थस्थल बन्न पुगेको छ । मन्दिरभित्रको माटोको ढिस्को बुद्धिकर्ण रायको समाधि भएको विश्वास गरिंदै आएको छ ।
धरानको विजयपुरस्थित प्रसिद्ध तीर्थस्थल ‘बुढासुब्बा’ मन्दिर ।
यो तीर्थस्थलमा पुस्तौंदेखि आले मगरहरूले पूजा चलाउँदै आएका छन् । विजयपुरका पाँच घर आले मगरमध्ये तीन घरले हरेक वर्ष पालैपालो यहाँको पूजा चलाउने गर्छन् । हाल डम्बरबहादुर आलेले बुढासुब्बाको पूजा चलाइरहेका छन् । यहाँ पूजा चलाउने पूजारीहरू प्रोक्छाकी उपथरका आले मगर हुन् ।
यताबाट हेर्दाखेरि गोरखाली सेनामा रहेर पृथ्वीनारायण शाहको समयमा मगरहरू लिम्बूवानमा पसेको देखिन्छ । द्रव्य शाहको समयदेखि नै गोरखामा मगरहरूले जिम्मेवारी पाउँदै आएका हुन् । पृथ्वीनारायण शाहले निर्धारित गरेको गोरखाको ६ थरघर प्रभृतिमा अज्र्याल, खनाल, पाँडे, पन्त, बोहरा र राना मगर पर्छन् ।
लिम्बू विद्रोह र मगर सेना
लिम्बूहरूले वि.सं. १८४८ मा चैनपुरमा ठूलो विद्रोह गरे । बाबुराम आचार्यले खासमा सिक्किमेहरूले किरात प्रदेशमा आक्रमण गर्दा त्यहाँ घरबास भएका केही लिम्बूहरू विपक्षी सैनिकसँग मिलेका थिए भन्ने उनको पुस्तक ‘नेपालको संक्षिप्त वृत्तान्त’ (२०६३:२२९)मा उल्लेख गरे पनि विद्रोहलगत्तै राजा रणबहादुर शाहले विद्रोहअघि नेपालमै रहेका र गोरखालीहरूसँग मिलेका लिम्बू सुब्बा फागु सिर्देउ रायलाई लेखेको पत्रबाट सिक्किम घरबास भएकाहरू मात्र विद्रोहमा उत्रेका थिए भन्ने धारणा गलत हो । यो लेखकले आफ्नो पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ (२०७६:परिशिष्ट ८)मा प्रकाशित गरेको रणबहादुर शाहले सिरदेउ रायलाई लेखेको वि.सं. १८४८ भाद्र वदी २ रोज २ को पत्रमा ‘…अघि तिमीहरूले सुषिम सित मिलि कुल गरेर ल्याये पनि हारेउ सुवाहरूले डांड लीया कला ग¥याको ससना भयाको छैन…’ भन्ने परेबाट यो स्पष्ट हुन आउँछ ।
यस्तै पुरातङ्खव विभागको मुखपत्र ‘प्राचीन नेपाल’ सङ्ख्या २४ (२०३० साउनः२)मा पनि ‘शाके १७१३ (वि.सं. १८४८)मा किरातीमूलुकका लिम्बूहरूले कुल गर्दा’ भन्ने परेबाट पनि यो विद्रोह सिक्किमीहरूको सहयोगमा लिम्बूहरूले नै गरेका थिए भन्नेमा कुनै शंका छैन ।
प्राचीन नेपाल (उही)अनुसार यो विद्रोह दवाउन शुरूमा गोरखाली सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्णा पाध्या र सुब्बा अदल कम्पनीका साथ विद्रोह दबाउन सक्रिय थिए । तर विद्रोहीको संख्या ठूलो थियो । त्यसपछि केन्द्रबाट थप सैन्यबलका लागि अर्जी पठाइयो ।
एकातिर काठमाडौंबाट विद्रोह दमनका लागि सैन्यबल चैनपुर जाँदै थियो भने अर्कातिर चैनपुरमै गोरखालीहरूले विद्रोह दमनका लागि षडयन्त्रका तानाबाना बुनिरहेका थिए । रमेश ढुंगेलले ‘प्राचीन नेपाल’को संख्या ११३ (२०४६ भदौ–असोजः१०)मा उल्लेख गरेअनुसार सिद्धपुर (चैनपुर) किल्ला र त्यसअन्तरगतको किल्लासमेत विद्रोहीको कब्जामा थियो । गोरखाली पक्ष पनि त्यहाँ खलंगा बनाइ बसेको थियो । वि.सं. १८४८ अघि नै चैनपुरमा बसोबास गर्दै आएका क्षेत्री बाहुनहरू त्यहाँबाट भागी अरुणपश्चिम पुग्नुपरेको थियो । उनीहरूले गोरखा पक्षको मानिस मरे चैनपुरमै ल्याउनुपर्छ भन्ने बहाना बनाइ विद्रोहीसँग स्वीकृति लिइ हतियारको मुर्दा बनाउँदै चैनपुरको वनभित्र गाड्ने चलाखी अपनाए । पछि विजयपुरको र केन्द्रको गोरखाली सैन्यबल चैनपुर आएपछि सोही गाडिएको हतियार झिक्दै प्रयोग गर्दै विद्रोहीलाई परास्त गरियो ।
यसरी केन्द्रबाट विद्रोह दमनका लागि चैनपुर पुग्ने सैन्यबलको नेतृत्व काजी देवदत्त थापा मगरले गरेका थिए । उनका साथ सरदार प्रतिमन राना र अम्बरसिंह थापा मगर पनि सहभागी थिए ।
योगी नरहरिनाथले ‘इतिहास प्रकाशमा’ भाग १ (२०५५:६–७)मा उल्लेख गरेअनुसार खलंगाभित्रै विद्रोहीको गिंड पाँच सय पुगेको थियो ।
लिम्बूवानमा मगर काजी
यसरी गोरखाली पक्षका मगर काजीको नेतृत्वमा लिम्बूवान विद्रोह दमन गरिए पनि उनीहरूले लिम्बू सुब्बाहरूलाई उनीहरूको काज र थिति थामिएको उल्लेख गरी रुक्का पठाएको देखिन्छ । काजी देवदत्त थापाले काठमाडौंबाट सिर्देउ रायकै नाममा वि.सं. १८४९ षौष सुदी ८ रोज ६ मा एक कस्य पत्र पठाइ ‘डंडकुण्ड मोरो अपुताली चाकचकुई छिनाहरि रहता वहता वाजि मामिला माफ गरि साउन्या फागु पंचखतको छुवान्या षेति सालवसाल घर तिरो अघेलि आफना हातले उधाई दुवा वहावानुच्छे थितिको मोहर बक्स्याको हो स्वही मोहर बमोजिम हामिले पनि थामि थितिको वाहालि गरि दियूँ…’ भनी पञ्चखतबाहेकका सबै अधिकार लिम्बू सुब्बाको नाममा थामिदिएका थिए ।
यसैगरी देवान बन्धु राना र सरदार प्रतिमन रानाले यसअघि नै लिम्बूवानका सुब्बाहरूसँग सरकारी कामकाजको पत्राचार गर्दै रहेको देखिन्छ । वि.सं. १८३७ आश्विन वदीमा देवान बन्धु राना र सरदार प्रतिमन रानाले फेदापका सोझा राईका नाति, आत (आतहाङ) राईका छोरा मंजित राईलाई सुब्बाङ्गी दिएको पत्र पाइएको छ । पत्रमा ‘…अम्बल गरि षायाभित्रका रहता वहता गौवध पंचखत वाहिक मोरो अपुताली चोरि जारि षत षयतसमेत आफ्नो अम्बलभित्रको सुवा गरि दिञुँ रुपैया ६० साल बसाल सर्कारको सिर्ताे दाषिल गर्नु. काज पुग्यापछि मोह गरि दिउंला…’ भनी उल्लेख गरिएको छ । यो रुक्का फेदाप याक्थुङ कुरुम्वाङ सङ्जुम्भोको वेबसाइटबाट लिइएको हो ।
वि.सं. १८३७ आश्विनमा देवान बन्धु राना र सरदार प्रतिमन रानाले मंजित राईलाई सुवांगी दिएको पत्र ।
यसरी विविध रूपमा मगरहरूले लिम्बूहरूसँग सम्बन्ध बनाएको देखिन्छ । त्यहाँ गोरखाली फौजका रूपमा लड्न जाने मगरहरू पछि त्यतै आबाद भएको स्पष्ट हुन्छ । लिम्बूवानमा आबाद रहेका मगरहरू बाह्र मगरात मगर हुन् ।
हुनतः लिम्बूवानमा मगरहरू आबाद हुन पुग्नुअघि नै त्यो क्षेत्रलाई नाघेर भुटान पुगेको इतिहास पनि पाइन्छ । भुटानका राजा तथा लामाहरूको गोरखाली राजा र राम शाहको समयदेखि नै गोरखासँग राम्रो सम्बन्ध थियो । भुटानी स्रोतअनुसार भुटानका पहिलो धर्मराजा श्याव्–ढुङ ङग्–वाङले आफैं दुई पटक गोरखा र काठमाडौंको भ्रमण गरेका थिए । सन् १६६४ को भ्रमणकालमा चारै वर्ण ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र (कामी, दमाईं, सार्कीसमेत) गोरखालीका ४०/५० परिवारलाई भुटानको जग्गा गुल्जार गराउन लगेका थिए भनी कोएल्लो (सन् १९६७:१२), सिंह (१९७२:२१–२२) र ह्वाइट (१९०९:२९१)ले उल्लेख गरेका छन् । यसपटकको भुटान बसाइँ जाने गोरखाली जनताको नेतृत्व विशन थापा मगरले गरेको ‘विपिनदेव ढुंगेलद्वारा संकलित अप्रकाशित स्रोत’मा उल्लेख छ । (रमेश ढुंगेल, ‘सिनास जर्नल’ वर्ष १६ अंक २– सन् १९८९ जुलाई, पृ. १७१–१७२)
यो ऐतिहासिक प्रसंगले लिम्बूहरू विरुद्ध गोरखालीहरूको सैन्य अभियानअघि नै मगरहरू लिम्बूवानमा प्रवेश गरेका थिए कि भन्ने आशंका उठ्छ । तर भुटानी धर्मराजाले लिम्बूवानको पनि तराईको क्षेत्रको बाटो हुँदै गोरखाली जनतालाई भुटान पु¥याए होलान् भन्ने अनुमान गर्न सकिन्छ । भुटानी धर्मराजा नेपाल (काठमाडौं) पस्दा मेची, कन्काई आदि नदी तर्दै त्यसवेलाको मोरङको मैदानी र सहज बाटो पक्रेर सिन्धुलीको भावरक्षेत्र हुँदै त्यहाँबाट काठमाडौं उपत्यका पसी स्वयम्भूको दर्शन गरेर मात्र गोरखा पुगे होलान् भन्ने अनुमान गर्न सकिन्छ । सम्भवतः स्वदेश फर्कंदा त्यही बाटो फर्के ।
राजाका साथ बसाइँ सर्न हिंडेका गोरखाली जनता लिम्बूवानतिर अल्मलिएर बसेनन् होला । त्यसैले लिम्बूवानमा मगरहरू त्यसको धेरै वर्षपछि गोरखाली सेनामा काम गर्दै लिम्बूवान पुगेका हुन् भनी अनुमान गर्न त्यति गाह्रो छैन ।