• हङकङको सन्ध्याकालीन फोटोग्राफी (फोटो कथा)

  •  

    फोटोग्राफीमा सानैदेखि रूचि भए पनि साधनस्रोतको अभावमा नेपालमा छँदा केही गर्न सकेको थिइनँ । हङकङ आएपछि फ्लिकर भन्ने फोटोग्राफीसम्बन्धी पेजमा अरूको फोटोग्राफी हेर्न थालें ।

    मलाई माइक्रो फोटोग्राफीमा रूचि थियो । त्यसैले सानो क्यामेरा किनेर फोटोग्राफी थालें । खासमा फोटोग्राफी मेरो सोख मात्र हो । यसलाई फुलटाइम गरेको छैन । म प्रायः फोटै खिच्छु भनेर त कहीं जान्नँ तर परिवारसँग कतै निस्कँदा भने क्यामेरा बोक्छु र आफूलाई मन परेका दृश्य कैद गर्छु । कहिलेकाहीं फोटोग्राफी नै गर्छु भनेर पनि हिंडेको छु तर एकदमै कम ।

    विशेषगरी मेरो रूचि माइक्रो फोटोग्राफी भएता पनि हाल चाहिं ल्याण्डस्केप पनि गरिरहेको छु । अनि, स्पोर्टस् फोटोग्राफीमा पनि धेरै समय जान्छ हिजोआज । छोरा समर्पण हङकङमा फुटबल खेल्ने भएकोले उसको म्याचमा जाँदा खिच्छु र हाम्रो स्पोर्टस् को प्यारेन्ट्स ग्रुप छ, त्यसमा शेयर गर्छु ।

    ल्याण्डस्केप गर्दा हङकङमा नाइट फोटोग्राफी राम्रो हुन्छ । यहाँ डे टाइममा खासै राम्रो लाग्दैन मलाई । किनकि यहाँ खालि कङ्क्रिट बिल्डिङ मात्र छ । मौसम पनि खासै खुल्दैन ।

    राति लाइटमा राम्रो देखिन्छ । अझ साँझपख फोटोग्राफी गर्न राम्रो लाग्छ मलाई । कतिपय त फोटोग्राफीका लागि राति क्याम्पिङ नै जाने गर्छन् तर मैले त्यसो गर्ने गरेको छैन ।

    मलाई फोटो खिच्न थालेपछि चाहिं परिवारसँगै भए पनि मज्जाले टाइम चाहिन्छ । क्यामेरा निकालेर केही खिच्न थालें भने धेरै खिच्छु । अहिले डिएसएलआरले सजिलो भएको छ, खिचेर हेर्छु चित्त बुझेन भने फेरि फेरि खिचिरहन्छु । क्यामेरा निकालेपछि मलाई एक/डेढ घण्टा डिस्टर्व नगरे हुन्छ । एउटा मुडमा खिच्छु । मेरो परिवारले त्यो बुझेको छ ।

    मान्छेले फोटोग्राफीलाई सजिलो सम्झिन्छन् तर मलाई त्यति सजिलो जस्तो लाग्दैन । क्यामेरा हुनेबित्तिकै फोटोग्राफी राम्रो हुँदैन । पर्फेक्ट सट लिन धेरै दुःख हुन्छ ।

    ५/६ वर्षअघि नेपाल गएको वेला फोटो खिच्दै हिंड्दा मान्छेहरूले ‘ओ फोटोग्राफर भाइ, यसो यता पनि फोटो खिचिदेऊ त’ भने । फोटोग्राफर भन्नेबित्तिकै गलत धारणा छ कतिपयमा । तर यो पनि राम्रो काम हो ।

    तस्वीर कथा

    १) हासोलुङको फोटो हो । यो खिच्नकै लागि भनेर सनसेटको वेलामा गएको हो । साथीले फेसबुकमा फोटो राखेको देखेपछि सोधखोज गरेर त्यहाँ पुगी खिचेको हो । एक घण्टामा डेढ/दुई सय खिचेको थिएँ ।

    २) तुम्चुङको हाम्रो फ्ल्याटबाट खिचेको हो । साँझमा एकदम राम्रो कलर भएको थियो त्यसैले मैले फोटो खिचिहालें ।

    ३) यो शनि वे हो । म त्यहाँ जाने गर्छु, सुनसान पनि छ । त्यो दिन साँझ म, श्रीमती र छोरा गएका थियौं । जाने क्रममा सनसेट एकदमै राम्रो भयो । त्यसपछि फोटो लिएको हुँ ।

    ४) पर्पल अम्रेला । जहाँ सनराइज र पर्पल छाता ओढेर एकजोडी बसेका छन् । त्यो चाहिं फा पिङ ट्याङ भन्ने चिङ्मा ब्रिजको माथि हाइकिङ गर्दा लिएको फोटो हो । हामी दिउँसोतिर गएका थियौं । चिङ्मा ब्रिज माथिबाट फोटो खिच्न भनेर गएको थिएँ । त्यो फोटोमा एउटा मुड थियो, त्यही भएर खिचें ।

    ५) यो फोटो फापिङ तेन हाइकिङमा गएर खिचेको हो । तर, त्यो चाहिं अपोजिट साइडको हो । त्यहाँबाट एकापट्टि हङकङ र अर्कातिर काउलुन, तुन्चुङ देखिन्छ ।

    ६) ट्रेल लाइजको फोटो हो । हङ्सी क्युमा आफन्तकोमा गएका थियौं । तिन सु वाईको घर हो, पारि सेन्जेन हो । यो चाइना जाने बाटो मलाई साह्रै मन पर्‍यो । ट्रेल खिच्न ट्राइपड चाहिन्छ, क्यामेरा हल्लियो भने फोटो राम्रो आउँदैन । त्यो दिन ट्राइपड बोकेको थिइनँ । क्यामेराको कभर र मोबाइलले रेलिङमा सपोर्ट लगाएर खिचेको हुँ ।

    ७) तुन्चुङको हामी बस्ने ठाउँको फोटो हो । त्यसमा जुन बादलको आकृति छ त्यो चाहिं मलाई असाध्यै मन परेको हो । हामी बस्ने ठाउँमा सानो सिनेकिल भन्ने ठाउँ छ, त्यहाँबाट खिचेको हो ।

    ८) यो फोटो विकिवेफ वेमा खिचेको हो । हामी परिवार नै गएका थियौं । माथि पुगेपछि एकदमै ठूलो पानी पर्‍यो । पानी परेपछि त्यहाँ भएका मान्छे सेडमा आए तर मेरो छोरा समर्पण एक्लै बसेर पारि क्षितिजलाई हेरिरहेको थियो । त्यो मुड मलाई एकदम मन पर्‍यो । मैले छोरालाई नहल्लिन भनें र फोटो खिचें । मैले यो फोटो लङ एक्सपोजरमा खिचेको हो ।

  • कमेन्ट गर्नुहोस्