जंगबहादुरको आदेश राई-लिम्बू सेनाबाट अटेर
नेपालको इतिहासको अध्ययन गर्दा जातीय सैनिक पल्टन पनि खोलिएका, तीमध्ये केही अहिले पनि जातीय पल्टनकै रुपमा सञ्चालित रहेका देखिन्छन् । तीमध्ये ‘पुरानो गोरख’ र ‘भवानी दल’ मगरका लागि र ‘कालीबहादुर’ गुरुङका लागि गठन भए । यसैगरी राई, लिम्बूलगायतका किरातीहरुका लागि ‘भैरवनाथ’ पल्टन गठन गरियो ।
अहिले पनि पुरानो गोरख र कालीबहादुर पल्टन क्रमशः मगर र गुरुङ पल्टनकै नामले चिनिन्छ, तर भैरवनाथ भने राई-लिम्बू पल्टनको नामले चिनिन्न । यसमा ऐतिहासिक कारण छ ।
ललितपुरको तिखेदेवलमा राई, लिम्बूको बाक्लो बस्ती छ । ललितपुरकै धापाखेलमा रहेको एउटा थुम्को सानो हात्तिबन किरात धार्मिक स्थलको रुपमा स्थापित भइसकेको छ । त्यस धार्मिक स्थलमा राई, लिम्बू लगायत याक्खा र सुनुवारले हरेक उभौली (वैशाख पूर्णिमा) र उधौली (मंसिर पूर्णिमा)मा भव्य रुपमा पूजाआजा गर्छन् ।
ललितपुरको तिखेदेवल र धापाखेलको सानो हात्तिबनसँग राईराई-लिम्बू लगायत याक्खा र सुनुवारको साइनो गासिएको पुरानो इतिहास छ । राई, लिम्बूलगायत किरातीका लागि छुट्टै सैनिक पल्टन खडा भएपछि सेनाको जागिर खान काठमाडौं आउने राई, लिम्बू लगायत याक्खा र सुनुवारहरुले बसाएको बस्ती नै तिखेदेवल हो । त्यसबेला उनीहरुले आफ्नो मौलिक साँस्कृतिक अनुष्ठानका लागि सानो हात्तिबनको थुम्कोलाई रोजे । सुरुमा उनीहरुले तिखेदेवलमा बस्ती बसाए अनि हात्तिबनमा पूजाआजा सुरुआत गरे ।
तर बीचमा उनीहरु काठमाडौंबाट सेनाको जागिर छाडेर आफ्नै थातथलो पूर्वी नेपालतर्फ फर्के । यसरी सेनाको जागिरबाट पलायन भएका राई, लिम्बू लगायत किरातीहरुलाई फर्काउन तत्कालिन शासक जंगबहादुर राणाले निक्कै ठूलो प्रयत्न गरे । यसका लागि आफ्नै विश्वासिला सेनाका मानिसलाई पठाए । तर सेनाका जागिरे राई लिम्बु सहजै काठमाडौं फर्केर सेनाको जागिर खान भने आएनन् अर्थात् मानेनन् । जंगबहादुर राणाकै आदेशको अवज्ञा गर्दै आफ्नै थातथलोमा रहे ।
नेपाल सरकारका पूर्वप्रशासक तथा समाजसेवी मञ्जुलकुमार याक्थुङ्वाले आफ्नो टोल तिखेदेवलमा राई, लिम्बूको अवशेष बस्ती देख्न पाएको सम्झना आफ्नो पुस्तक ‘मौलिक किरात धर्म संस्कार’ (२०६३) पुस्तक लगायत विभिन्न लेखमा उल्लेख गरेका छन् ।
तिखेदेवलका पुराना बासिन्दा याक्थुङ्वाले त्यहाँ लिम्बू मातृभाषामा बोल्ने व्यक्तिहरु भेटेको, धान नाच्ने गरेको देखेको र राता माटाले लिपेका घरहरु देखेको पनि उल्लेख गरेका छन् । त्यसबेला तिखेदेवललाई ‘लिम्बू गाउँ’ भनिन्थ्यो । तिखेदेवलमा अन्य किरातीको तुलनामा लिम्बूहरुकोे बाहुल्यता थियो (याक्थुङ्वा, २०६३) । सम्भवतः त्यही पुरानो विरासतका कारण तिखेदेवल अहिलेका राई, लिम्बूका लागि पनि आकर्षक आवास स्थल बन्यो ।
त्यसबेला लगनखेलनेरको टुँडिखेलमा राई, लिम्बूलाई भर्ना गरी जागिर दिने भैरवनाथ पल्टन रहेको, पल्टनमा भर्ना हुन पूर्वबाट प्रशस्तै राई लिम्बू आएका, उनीहरुले तिखेदेवलमा बस्ती बसाएका र सानो हात्तिबनमा भैरवनाथ पल्टनकै तत्कालिन लप्टन शम्शेरजंग फागो चोङ्बाङको अगुवाईमा उभौलीमा यक्वा पूजा गर्न थालिएको इतिहास याक्थुङ्वाले उजागर गरेका छन् । उनका अनुसार। विक्रम सम्वत १९०५ देखि त्यहाँ राई, लिम्बूले पूजा सुरु गरेका हुन् ।
याक्थुङ्वाका अनुसार पल्टनबाट प्राप्त हुने सामान्य तलब सुविधाले आफ्नो र परिवारको जिविका नचल्ने भएपछि उनीहरु सेनाको जागिर अनि आफूहरुले बस्ती बसाएको तिखेदेवल छाडेर आफ्नै थातथलो पूर्वी नेपालतिर फर्के ।
नेपालमा जातीय पल्टन
नेपालमा सबैभन्दा पहिले पृथ्वीनारायण शाहले राज्यविस्तार अभियानका क्रममा सैनिकहरु संगठीत गर्न थालेका हुन् । उनले सबैभन्दा पहिले विक्रम सम्वत १८१९ मा ‘श्रीनाथ’ र ‘कालीबक्स’ पल्टन खडा गरे । आधुनिक नेपालको सैनिक इतिहास त्यहीँबाट थालनी भएको हो । सोही समय ‘श्रीनाथ’ र ‘कालीबक्स’का साथै ‘बर्दबहादुर’, ‘सबुज’ तथा ‘पुरानो गोरख’ सहित पाँच पल्टन गठन भइसकेको थियो । यिनै पाँच पल्टनलाई पृथ्वीनारायण शाहले आफ्नो विजय अभियानमा सरिक गराएका थिए भनी इतिहासकार भवेश्वर पंगेनीले आफ्नो पुस्तक ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जङ्गी मेगेजिन अड्डा’ (२०६८ः१८–२१) मा उल्लेख गरेका छन् ।
यसरी सुरु गरिएको नेपालको सैनिक संगठनको संख्या नेपाल–अँग्रेज युद्ध (विक्रम सम्वत १८७१–७२) सम्म आइपुग्दा ५४ वटा पुगिसकेको थियो । विक्रम सम्वत १८७१ साल कात्तिक १८ गते इस्ट इण्डिया कम्पनीकातर्फबाट गर्भनर जनरल लर्ड हेस्टिङ्सले नेपालविरुद्ध लखनउबाट युद्धको घोषणा गरेको इतिहासकार महेशराज पन्तले इतिहास प्रधान पत्रिका ‘पूणिमा’ पूर्णाङ्क १ (वैशाख २०२१ः४७–४८) मा उल्लेख गरेका छन् । उक्त युद्धमा भएको पराजयपछि नेपाल नफर्की जब पञ्जावका राजा रणजीत सिंहको पल्टनमा भर्ना भए । त्यहीँबाट कतिपय नेपाली सेना लाहुर गए । त्यहीँबाट नेपालीको लाहुर जाने परम्पराको सुरुआत भयो भनी उल्लेख गरेको इतिहासकार दिनेश राज पन्तले ‘पूर्णिम’”कै पूर्णाङ्क (वैशाख २०२२ः६३–७०) मा पढ्न पाइन्छ ।
नेपाल–अँग्रेज युद्धपछि इस्ट इन्डिया कम्पनीले भर्ना भएका भारतीय र गोर्खाली (नेपाली) सेनाका लागि विभिन्न जातीय पल्टनहरु खडा गरी उनीहरुलाई भर्नाका लागि विशेष आकर्षण गर्न थाल्यो । अहिले पनि ब्रिटिश गोर्खा र भारतीय गोर्खा पल्टनमा यस्ता जातीय पल्टन छदैछन् ।
नेपालमा पनि केही पल्टनलाई जातीय पल्टनका रुपमा गठन गरियो । यसैक्रममा ‘भैरवनाथ’ राई, लिम्बूको, ‘पुरानो गोरख’ र ‘भवानी दल’ मगर जातिको र ‘कालीबहादुर’ गुरुङ जातिको पल्टनमा रुपमा परिणत गरियो । अहिले पनि पुरानो गोरख र कालीबहादुर गणलाई क्रमशः मगर र गुरुङको जातीय पल्टनका रुपमा लिइन्छ ।
नियुक्ति र जिम्मेवारी
राई, लिम्बूलाई लिइने पल्टन भैरवनाथमा लप्टन दर्जामा नियुक्त गरिएको एक नियुक्ति–पत्र यस लेखकलाई प्राप्त भएको छ । आजभन्दा एक सय ४७ वर्षअघि धनकुटा जिल्लाको ताङ्खुवा गाविस, बन्चरेका फौदसिंह लिम्बू (१९०७–१९८०)ले पाएको यस नियुक्ति–पत्रलाई त्यसबेला लिम्बूहरुलाई सेनामा भर्ना गर्ने गरेको उदाहरणको रुपमा लिन सकिन्छ । राणा प्रधानमन्त्री जंगबहादुर राणाले विक्रम सम्वत १९२८मा उनलाई प्रदान गरेको नियुक्ति–पत्रको ब्यहोरा यस्तो छ:
स्वस्तीश्री मदती प्रचण्ड भुजदण्डेत्यादी श्री श्री श्री महाराज जंगबहादुर राणा जी सी बी थोङ् लिन् पिम्माको काङबाङ स्यान प्राईमिनिष्टर याण्ड कमाण्डर ईन चिफ कस्य रुक्का
स्वस्तिश्री मद्राजकुमार कुमारत्मज श्री कमाण्डर ईन चिफ जनरल रणउदिपसिंह कुवर राणा कस्य पत्रम
आगे फौदसिंह लिम्बुके श्री भैरवनाथ कंपू श्री राजदल पल्टन २ पट्टीमा आफ्नै षायल ६१नम्बर लेफ्टेन षान्गी षेत २÷४० जागीर बक्स भयो सवारी सीकारी उर्दि कवायत पहरा चौकी लडाई भिडाई हाल हुकुम रात बिरात
आठैप्रहर टहल्मा रुजु रही निमकको
सोझो चिताई षान्गी ढड्डामा दरीयाको जिमिनका जग्गाको तिर्जा
नगदी ददई जागीर जानी भोग्यगर ईति संवत १९२८साल मिति फाल्गूण सूदी १३ रोज ७ सुभम—
यस नियुक्ति पत्रमा उल्लेख भएको ‘सिकारी उर्दि’ अनुसार राई, लिम्बू पल्टनमा रहेका सेनाको जिम्मेवारी राजा महाराजा सिकार खेल्न जाँदा उनीहरुलाई आवश्यक ब्यवस्था मिलाइदिने हुन्थ्यो । राई-लिम्बूको पल्टनलाई ‘सिकारी पल्टन’ पनि भनिन्थ्यो ।
राई-लिम्बूलाई पल्टनमा कप्तानभन्दा माथिको दर्जा दिइदैनथ्यो । कप्तान दर्जामा विरलै राई-लिम्बूले अवसर पाउँथे । यसै पल्टनमा याक्खा र सुनुवारलाई पनि किराती जातिको हैसियतले भर्ना गरिन्थ्यो ।
यिनै राई-लिम्बूहरु विक्रम सम्वत १९०५ अघि सेनाको जागिर छाडेर काठमाडौंबाट पलायन भई आफ्नै थातथलो पूर्वी नेपालतिर गएका र सेनाको जागिरमा फेरि फर्कन मन नगरेका तथ्य इतिहासकार ज्ञानमणि नेपालले ‘नेपाल निरुपण’ (२०५५ः३२५ मा प्रकाशमा ल्याएको जंगबहादुर राणाका दुई पत्रले स्पष्ट पार्छ ।
उक्त पत्र अनुसार तत्कालिन शासक जंगबहादुर राणाको आदेशको अवज्ञा गर्दै तत्कालिन राई लिम्बु सेनाले राज्यविरुद्ध एक किसिमको सानोतिनो विद्रोह गरेको अर्थ पनि लगाउन सकिन्छ
जंगको आदेश ‘नेल ठोकी ल्याउनू’
जंगबहादुर राणाले पल्टनबाट भागी गएकासहित चार पाँच सय किराती लिम्बूलाई सँगै लिएर आउने आदेशका साथ कुम्भेदान शिवदल खड्कालाई त्यसतर्फ पठाएका थिए । तर शिवदल किराती लिम्बूहरुलाई लिएर आउन असफल भए । दुई चार महिनाभित्र काम फत्ते गर्न पठाइएका शिवदल चार पाँच महिना बित्दा पनि आदेश पालनमा असफल देखिएका पत्रबाट स्पष्ट हुन्छ । पत्रमा “‘हिजो भागी गएका किराती लिम्बूलाई सकेसम्म फकाएर ल्याउनू त्यति गर्दा पनि आउन मानेनन् भने श्रीजंग पल्टनको सहयोगमा नेल ठोकी ल्याउनू” भन्ने आदेश पनि दिइएको छ । त्यसो गर्न नसके आवश्यक कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी पनि खड्काले पाएका छन् । १९०५ साल श्रावण वदि १३ रोज ६ मा जंगबहादुरले कुम्भेदान शिवदल खड्कालाई लेखेको पत्र यस्तो छ :
उप्रान्त तिमीलाई ताहा २–४ मैह्ना गै वरवन्दोवस्त गरी रुपया पैसाका ब्यवस्था बाँधी चाँडो आउनु भनी पठायाको हो. आजसम्म आयेनौ. तिमीले तहा ग¥याका जग्गाको बन्दोवस्ता काजकाम कागज पत्र सबै डिठ्ठा अजयसीं थापालाई बुझाई असल गयाका रुपया पैसा र ४-५ सय किराती लिम्बूहरुलाई सँग ली यो दस्षत पुग्याका १५ दिनभित्र ञाया हाजीर हुन्या काम गर. ति ञाहा दर्सन गरी ताहा भागी आयाका किरातीहरुलाई पनि पैल्हे बढिया पाठसँग नेपाल हीड भन्नु. आया भन्या बढिया भयो. आयेनन् भन्या भाई कर्णेल कृष्णधोज कुँवर राणाजीसँग मद्दत भागी अघीदेषि गया बमोजिमका ति भागी जान्या किरातीहरुलाई नेल ठोकी ली आउन्या काम गर्नु. येसै आयेनन् भन्या पनि श्रीजङ्गका सीपाहीस्मेत् साथ लगाई ल्याउन्या काम गर. मैले ग¥याको काजकाम कागजपत्र सफा भयाका छैनन् भन्यो भन्या ४-५ मैह्नासम्म तिमीले कामकाज ग¥याको सबै झुठ्ठा होला. सो बुझी यो दस्षत पुग्यापछी आफुले ग¥याको जगाको बन्दवस्त कागजपत्र डिठ्ठालाई बुझाई किरातीहरु र रुपया पैसा लि चाडो आउन्या काम गर. यो दस्षत पुग्यापछी पनी आयेनौ भन्या जागीर पनि जाला तक्सीर स्मेत बुझाउनुपर्ला.
‘जागिर खान्न भन्नेलाई कर नगर्नू’
जंगबहादुरका भाइ कृष्णध्वज धनकुटा गौंडामा कर्णेल थिए त्यसबेला । पहिले नै कुम्भेदान शिवदल खड्का किराती लिम्बूहरुलाई सेनामा ल्याउन असफल भएपछि जंगले आफ्ना भाइ कर्णेल कृष्णधोजलाई पत्र लेखेर जागिर खान नचाहने लिम्बूवानका किरातीलाई कर नलगाउनू भन्ने आदेश दिएका छन् । महावीर देवानको छोरालाई समेत जागिर छाडेर गएका र नयाँ जागिर खान चाहने किरातीलाई लिएर आउन काठमाडौंबाट पठाइएको तर उनी पनि आदेश पालना गर्न असफल भएको पत्रको व्यहोराबाट स्पष्ट हुन्छ । १९०५ साल भाद्र वदि १० रोज ६ मा कर्णेल कृष्णध्वज कुँवर राणालाई जंगबहादुरले लेखेको पत्र यस्तो छ:
श्रावण शुदि ११ रोज ५ का दिन लेख्याको पत्र भाद्र बढि ५ रोज ७का दिन आई पुग्यो. अर्थ मालुम भयो. उप्रान्त लिम्बूवानका लायेक् लायेक् जवानलाई ञाया पठाउनाको कुरा स्मेत् षानगीको ठेगाना बाँधि पठाइबक्सन भया बढिया होला भन्या कुरा लेषी पठाउन्या काम बढिया गरिछस्. लिम्बुवान किरातीहरुका कुरालाई अघि जागीर दिनालाई पठाइ दिनु भनी लेषिगयाको हो. अब र जागीर षादैनौं पर्जाका पर्जै रहन्छौं भन्या किरातीहरुलाई ञाया पठाउनु पर्दैन कर लगाउन्या काम नगर्नु. किराती लिन भनी महाविर देवानको छोरालाई तहा पठायाको हो तेसलाई पनि अरु ढाक्र्या किराती लैजानु पर्दैन त जा भनी चाडो ञाया पठाइ दिन्या काम गर.
यी पत्रबाट किराती लिम्बूहरु सेनाको जागिरबाट पलायन भए अर्थात् शान्त रुपमा विद्रोह गरी आफ्नो थातथलो पूर्वी नेपालमा रहेको किपट भूमिमा रमाउन चाहेको थाहा हुन्छ ।
यसरी तत्कालिन निरङ्कुश शासक जंगबहादुर राणालाई समेत राई, लिम्बू लगायत किराती सेनाले उनको आदेशको पालना नगरी अटेर गरी सेनाको जागिर छाडेको इतिहासको हेक्का राख्न सकिन्छ ।