होचापुड्का विरूद्ध हङकङमा अझै पूर्वाग्रह
अझै पनि केही हङकङेलीहरू होचापुड्काहरू कहिले बुढो नहुने तथा सिकाइको गति सुस्त भएका व्यक्ति भएको विश्वास गर्दछन् ।
ईक्वाल अपर्च्युनिटीज कमिशनका लागि सिटी युनिभर्सिटीको डिपार्टमेन्ट अफ पब्लिक पोलिसीले गरेको एउटा सर्वेक्षणमा ८० प्रतिशतभन्दा धेरै स्थानीयले होचो–पुड्कोपन नबुझेको पत्ता लागेको छ ।
आफुलाई होचापुड्का बताउने व्यक्तिहरू कम बुद्धिमान र आफ्नो शरिरको आकारलाई लिएर अरूले गर्ने हेपाइँप्रति मन नदुखाउने प्रकृतीका भएको अर्को पूर्वाग्रह पनि कायम छ ।
हङकङका होचापुड्काहरूले सामना गर्ने सामाजिक तथा शारीरिक चुनौतीबारे उक्त अध्ययन सम्पन्न गरेका डा. साइमन याउ युङले सञ्चार माध्यमहरूमा उनीहरूलाई गरिने चित्रणले उनीहरूप्रति सर्वसाधारणको दृष्टिकोण निर्धारण गर्ने बताए ।
स्नो व्हाईटको कथाका सात जना होचापुड्काहरूको चित्रणलाई औंल्याउँदै उनीहरू मूर्ख र प्रष्ट बोल्न नसक्ने भनी देखाईएको उनले बताए ।
“सञ्चार माध्यम र गेम डिजाईनरहरूले उनीहरूलाई नकारात्मक रूपले प्रस्तुत गर्न बन्द गरी समाजमा होचापुड्काहरूको सकारात्मक छवि निर्माण गर्न सहयोग गर्नेछन् भन्ने आशा गर्दछु,” उनले भने ।
नोभेम्बर २०१७ देखि यो वर्षको जुलाईसम्म जम्मा ५ सय २३ जना हङकङवासीलाई अध्ययनमा सहभागी गराईएको थियो । तीमध्ये ८४ प्रतिशतलाई होचापुड्का सम्बन्धि ज्ञानको अभाव भएको र ४० प्रतिशतभन्दा धेरैले होचापुड्कालाई आश्चर्यजनक आवरण भएको विशेष प्रजाति र कहिले बुढो नहुने अनि बालबालिकाजस्तै देखिने बताएका छन् ।
“हामीले गरेको अध्ययनको नतिजाले होचो–पुड्कोपनबारे सर्वसाधारणलाई ज्ञान नभएको देखाएको छ जसले होचा–पुड्का विरूद्ध धेरै असमझदारी र पूर्वाग्रह निम्त्याएको छ । उदाहरणका लागि, केही मानिसमा पोषण र क्याल्सियमको अभावका कारण होचो–पुड्कोपन हुने र होचा–पुड्काहरू चाँडै रिसाउने स्वभावका हुन्छन् भन्ने सोंच छ,” याउले भने ।
अध्ययनमा शहरका केही होचा–पुड्का र उनीहरूको परिवारको पनि अन्तर्वार्ता लिईएको थियो । अन्तर्वार्ताको क्रममा शहरले उनीहरूको आवश्यकता पूरा नगरेकाले उनीहरूको जीवन कठिन भएको बताएका छन् । उनीहरूले भेट्न गाह्रो हुने क्यास मेसिनलाई एउटा उदाहरणको रूपमा प्रस्तुत गरेका छन् । उनीहरूले सुपरमार्केटमा शपिङ गर्दा पनि कठिनाइ हुने बताएका छन् । सही नापको पहिरन खोज्न निकै गाह्रो हुने उनीहरू बताउँछन् ।
चुङ ओइ पोले उचाईंका कारण एटीएमबाट पैसा झिक्न नसक्ने बताईन् । यस बाहेक उनलाई सार्वजनिक शौचालय प्रयोग गर्न पनि कठिनाइ हुने गरेको छ ।
“केही मानिसहरू मलाई अपांगहरूका लागि निर्माण गरिएका शौचालय प्रयोग गर्न भन्छन् तर त्यो पनि एकदमै असहज हुन्छ किनभने शौचालयको सिट अझ अग्लो हुन्छ । ती शौचालयहरू व्हिलचेयरको सहारा लिने व्यक्तिहरूका लागि बनाईएका हुन्छन्, हामीजस्ताका लागि होइन्,” ३७ वर्षिय चुङले बताईन् ।
यस बाहेक, होचा–पुड्काहरूलाई प्राय: नाम काटेर बोलाउने गरिएको पनि अध्ययनले पत्ता लगाएको छ ।
“मानिहसहरूले मलाई श्रेक वा लर्ड अफ द रिङ्सको गोलमभन्दा, मलाई असाध्यै अप्ठ्यारो लाग्छ,” चुङले भनिन् ।
ईक्वाल अपर्च्युनिटीज कमिशनका नीति, अनुसन्धान तथा तालिमका निर्देशक फेर्रिक चु चुङ–मानले फरक–फरक क्षमता भएका व्यक्तिहरूले बाधारहित वातावरणमा बाँच्न सकुन् भनेर समावेशी भवन र सुविधाहरू प्रवर्द्धन गर्नलाई शहरले विश्व्यापी डिजाईनको सिद्धान्त अवलम्बन गर्ने बताए ।
“यो अध्ययन परियोजना मार्फत्, होचा–पुड्काहरूका लागि हाम्रो शहर विभेदमुक्त समाज बनोस् भनेर होचा–पुड्काबारे सचेतना अभिवृद्धि गर्ने हामी आशा गर्दछौं,” उनले भने ।