• मदन भण्डारी पाल्ने रेडगार्ड

  •  

    रगत उमाल्ने गीतको लय, त्यस्तै गीतका लयमा लहरिएका नृत्यहरु । क्रान्तिकारी कविता वाचन । लाग्थ्यो, पानीमा पनि आगो बाल्न सम्भव छ । साँस्कृतिक माहोलबाट मनोरञ्जन भन्दा पनि दर्शकदीर्घाको तनमनमा तरङ्ग सिर्जना भइरहेको बेला झ्याप्पै बिजुली निभ्यो, अनि मच्चियो कोलाहल ।

    खचाखच थियो धनकुटा नगरको राणाचोकमा दर्शकहरुको सहभागिता, तिल अटाउने ठाउँ थिएन । बिजुली निभेपछि कार्यक्रम हेर्न अनि सुन्न आएकाहरु लाखापाखा लागे ।

    ‘आयो है आयो !’, ‘मा¥यो है मा¥यो !’ यस्तो आवाज मात्र आएन, भागदौड मच्चियो । म कहालिएर रुन थालेँ । केही छिनपछि दाजु डम्बर आएर मलाई च्याप्प समाते । मेरो हिक्का रोकिएको थिएन, भन्दै थिएँ, ‘आमा खोई ।’ दाजुले सम्झाई बुझाई गरेर मेरो र म जस्ता बालबालिकाहरुको हिक्का क्रमशः कम हुँदै गएको बेला ठ्याक्क बिजुली आयो र माइक्रोफोन लिएर जीवप्रसाद पोखरेल मञ्चमा देखिनुभयो । भन्नुभयो,“केही भएको छैन, तपाईंहरु शान्त भइदिनुहोला, अब हाम्रो कार्यक्रम फेरि सुरु हुन्छ ।”

    त्यो कोलाहलपछि शान्त भएको कार्यक्रममा आमासँग भेट भएपछि मेरो हिक्का क्रमशः रोकिदै गयो, म शान्त भएँ । म कुरा कोट्याइरहेको छु, २०३८ सालको । वर्षादको समय थियो । यो कार्यक्रमको सम्पूर्ण रिहर्सल हाम्रो घरमा भएको थियो । यसको एक वर्षअघि तल्लो टुँडिखेलमा आयोजित साँस्कृतिक कार्यक्रमको रिहर्सल पनि हाम्र्रै घरमा भएको थियो । टुँडिखेलको कार्यक्रम शान्तपूर्वक सम्पन्न भएको थियो ।

    तर राणाचोकमा भएको कार्यक्रममा चाहिँ विजुली झ्याप्प निभ्यो, होहल्ला चल्यो र भागदौड मच्चियो । त्यो बेला कक्षा ३ मा पढ्ने बालकलाई कहालिएर रुन बाहेक केही आएन ।

    त्यो कार्यक्रम व्यवस्था विरोधी थियो भन्ने कुरामा हामीमा कुनै शङ्कै थिएन, त्यसैले त्यस्ता कार्यक्रम विथोल्न दाइहरुले नाम राखिदिएका ‘मण्डले’हरु आउँछन् भन्ने पनि मनभरि शङ्का वा भय छँदै थियो । यी भय र शङ्काका बावजुद राणाचोकमा कार्यक्रम हेर्न र सुन्न आउनेहरुको सहभागिताले तिलको दाना अट्ने पनि ठाउँ थिएन, दर्शक दीर्घामा ।

    नाम थियो, प्रगतिशील लेखक कलाकार संघको पहिलो धनकुटा जिल्ला सम्मेलन । तर त्यसलाई भूमिगत माले पार्टीले आफ्नो खुला साँस्कृतिक मोर्चाका रुपमा धनकुटामा उपयोग गरिरहेको थियो । यसरी कम्युनिष्टको कार्यक्रममा प्रहरी हस्तक्षेप हुने वा मण्डलेहरुले कार्यक्रम विथोल्न सक्ने संभावना त छँदै थियो । यो कुरा कार्यक्रमका लागि रिहर्सलमा आउने कलाकार तथा अन्य भूमिगत नेताहरुलाई रुखोसुखो खाना खुवाउने मेरी आमा लगायत मलाई पनि थाहा थियो । हामी साहस बटुलेर कार्यक्रममा सहभागी भयौँ, दर्शकका रुपमा । तर साँस्कृतिक कार्यक्रममा हाम्रो परिवारका तर्फबाट दाजु डम्बरको कविता वाचनमार्फत अनि दिदी विमलाको चाहिँ गीत गायनमार्फत् प्रत्यक्ष सहभागिता थियो । त्यो सम्मेलनले डम्बर सुब्बालाई प्रलेकसंघ धनकुटाको अध्यक्ष चुन्यो, त्यसपछि उनको तत्कालिन क्षेत्रीय अदालतको विचारी पदको जागिर खोजियो ।

    गल्ती प्राविधिक झोँक अर्कोतिर

    त्यो राणाचोक अर्थात् राणा निवास तेह«थुमे नेवार खलकका डा. महेश्वरमान श्रेष्ठहरुले किनेका थिए । उनका भतिज सीएम अर्थात् चिरञ्जिवी श्रेष्ठ त्यो दरबाररुपी भवनको भित्री चोकसमेत भएको निवासको रेखरेख गर्थे । भूमिगत मालेका लागि सीएमले त्यो राणा निवासलाई समर्पण गर्नु भएको थियो ।

    सुरुमा त त्यो कार्यक्रम टाउन हल अर्थात् सामुदायिक भवनमा गर्ने प्रचार वा निधो गरिएको थियो । कार्यक्रम हेर्न हामी टाउन हल पुग्यौँ । तर मूल गेटमा चार पाँचजनाको समूह भेटियो । उनीहरुले भने,“तल राणाचोकमा कार्यक्रम छ, यताबाट उतातिर सरेको छ । तपाईंहरु उतै गइदिनु होला ।”

    हामी त्यतै पुग्यौँ । फेरि गेटमा केही व्यक्ति खटिएका थिए । उनीहरुले हेर्दै गेटबाट छिराउँदै गर्थे ।

    “दाजु तपाईंहरुले यसरी किन ठाउँ ठाउँमा गेटपालेहरु राख्नुभएको त्यो बेला ?”, तत्कालिन प्रलेकसंघका जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक रेख ब्लोनसँग यो जिज्ञासा राखेँ, हालसालै ।

    दाइले भन्नुभए अनुसार सबैभन्दा पहिले यो कार्यक्रम सामुदायिक भवनमै गर्ने तय भई आवश्यक स्वीकृति लिइएको थियो । तर अन्तिममा आएर कार्यक्रम त्यहाँ गर्न तत्कालिन प्रशासनबाट दिइएन । त्यो बेला उक्त कार्यक्रम सबैको साझा भनी आँखामा छारो हाल्ने चलाखीका साथ पञ्चायत समर्थक प्राध्यापक हेमचन्द्र पोखरेललगायतकासम्म पनि निम्तो पुगेको थियो ।

    बिजुली झ्याप्प निभेपछि संयोजक रेख ब्लोनलाई क्रान्तिकारी रिस उठ्यो । उहाँले हप्काउनुभयो, ठाउँ ठाउँमा खटिएका गार्डहरुलाई, “तपाईहरुले बेलैमा खबर गर्नु पर्दैन हामीलाई ? हेर्नुस् त गाउँलेहरुले यस्तो विजोग ।”

    खासमा भीडभित्र कसैले बिजुलीको तार समात्दा उसलाई करेन्ट लागेछ र सर्ट हुँदा झ्याप्प निभ्यो । पूर्वानुमानानुसार मण्डलेले कार्यक्रम बिथोल्यो वा प्रहरी हस्तक्षेप भयो । त्यहीँ अनुसार कोलाहला मच्चियो र भागदौड भयो । म भाग्न नसक्नेलाई कहालिएर रुनु बाहेक अर्को विकल्प थिएन ।

    बाल रेडगार्डहरु
    हाम्रो घरमा रिहर्सल चल्थ्यो । तर त्योभन्दा पनि महत्वपूर्ण थियो, खुसुखुसु बोल्ने, अनि लेखिरहने मानिसको रेखदेख । उनीहरुलाई बेलाबेलामा चिया पिलाउने, दिशापिसाव गर्ने ठाउँ देखाउँने, नुहाउनका लागि जङ्गलको बाटो हुँदै एकान्तको कुवातिर लैजाने, अनि शङ्कालु मानिसको चियोचर्चा गरी दाइहरुलाई थाहा दिने मेरो सामान्य काम हुन्थ्यो ।

    त्यो बेला भर्खरै २० कटेका र अधिकांश १६–१८ मुनिकाहरुको हाम्रो घरमा जमघट हुन्थ्यो । अभिभावक पुस्ताबाट त गोपाल गुरागाईंको मात्र सहभागिता देख्थेँ, उहाँ पनि भूमिगत नेताहरुले आश्रय लिँदा मात्र हाम्रो घरमा आउनुहुन्थ्यो ।

    त्योबेला रातीराती गतिविधि हुन्थ्यो । केही दिन लगाएर लेखिएका ब्यवस्था विरोधी पर्चाहरु टाँस्न कहाँ कसलाई खटाउनु पर्ने भन्ने जिम्मेवारी बाँँडिइरहेको बेला म पनि त्यो कोठामा पुग्थेँ । जिम्मेवारी बाँडफाँड हुँदा सबैभन्दा कम उमेरका चन्द्र ब्लोनलाई देख्थेँ, उहाँ त्यतिखेर १३ वर्षको हुनुहुन्थ्यो । त्यसपछि देख्थे आफ्नै साहिला दाइलाई, उनी थिए १५ वर्षका । म पनि सँगै जान चाहन्थेँ, तर दाइहरु मलाई रोक्थे । म त्यतातिर जान नपाउँदा दुखित हुन्थेँ ।

    धनकुटा नगरको बाम आन्दोलनका सन्दर्भमा पुरानो कुरा कोट्याउँदै अग्रज पुस्तासँग जिज्ञासा वा सन्दर्भ कोट्याउँने मेरो बानी । अग्रज भक्त थापासँग एक भेटमा भनेँ,“होइन, हौ तपाईंहरु त यत्रो योगदान भएको मान्छे । हामीले धेरै सिक्नुछ ।”

    दाइले भन्नुभयो,“गोपाल सरले भन्नुभए अनुसार हामीले रेडगार्डको भूमिका पनि निभायौँ ।”

    मेरो मान्यता हो, गोपाल सर अर्थात् गोपाल गुरागाईं धनकुटाका सर्वोच्च बाम नेता हुुनुहुन्छ ।

    उहाँले नै पार्टीमा प्रवेश गराउनु भएका भक्त थापा, लोकमान शाक्य र रमेश लुइटेलहरु अशोक राई, राजेश वान्तावा, चित्र निरौला तथा गोपाल गुरागाईंहरुको भूमिगत बैठकमा सुरक्षा र व्यवस्थापनका लागि मरिहत्ते गरेर खटिनुहुन्थ्यो ।

    हाम्रो टोल देब्रेबास भोटे चौतारा (हालः स्कुल डाँडाबाट)का गोवा पाख्रिन, बलबहादुर ब्लोन, सन्तोष तामाङ, नगेन्द्र ब्लोन, दिलबहादुर बम्जन, रामप्रसाद श्रेष्ठ, कुमार उदास, विजय श्रेष्ठ, चेतनाथ वाग्ले र रामप्रसाद वाग्लेको भूमिका महत्वपूर्ण छ । तीमध्ये रामप्रसाद त भूमिगत नेताका चिठीपत्र ओसार पसारमा संगल्न हुनुहुन्थ्यो ।

    हाम्रो टोल माथिदेखि राजेन्द्र दाहाल, भक्त थापा, इन्द्र राई पुष्प राई, गणेश राई, राधा राई, लोकमान शाक्य, राजु शाक्य खटिइरहेको देखिन्थ्यो । शेरबहादुर विश्वकर्मा र कूलकेशर वाग्लेलाई यो सम्झनामा बिर्सने कुरै भएन । उहाँहरु सबैले पार्टीको लागि रेडगार्डको भूमिका निर्वाह गर्नु भएकैले त, धनकुटा लालकिल्ला बन्यो ।

    बेवास्तामा परेको रेडगार्ड

    हामी निम्न मध्यम परिवारका मानिस । बुबाको सानोतिनो पेन्सन, केही जग्गा र उहाँको सीपले आर्जन भएको तरकारी किन्न नपर्ने समस्या । तर हामी भन्दा पनि एउटा निम्न परिवार मजदुरी गरी खानुपर्ने अवस्थाको थियो, हाम्रो घरको साँधमा । रातो माटोले लिपेको, कहिल्यै बिजुली नबल्ने, टुकीको भरले उज्यालो मान्ने त्यो घर ।

    छिमेकी भएकोले हामी घरधनीलाई दाइ, उनकी श्रीमतीलाई भाउजु भन्थ्यौ । दाइ आसाम भासिए, भाउजु बितिगइन् । उनीहरुका छोरामध्ये गंगाबहादुर तमोरमा बगेर बिते । माहिलो अमृतबहादुर आर्थिक र जर्जर स्वास्थ्य समस्याको चुनौतिलाई व्यहोरेर बसिरहेका छन् भने कान्छो चाहिँ काठमाडौंमा मजदुरी गरिबसेका छन् ।

    मदन भण्डारी भूमिगतकालमा धनकुटा आउनुभयो । उहाँलाई मैले सुत्ने वा बैठक गर्ने ठाउँ हाम्रो घरको सेल्टरमा दिइएको र खानाको प्रबन्ध उनीहरुको घरमा मिलाइएको प्रत्यक्ष देखेको छु । मदन भण्डारीहरुलाई उनीहरुको सक्षम बुवा आमाले त पकाएर खुवाउँथे नै साँझको समय, तर उनीहरु मजदुरी गर्ने दिउँसोको समयमा गंगाबहादुर र अमृतबहादुरहरुले खाना पकाएर खुवाउँथे ।

    यही भएर यो गरीब परिवारको केही उद्धार हुन्छ कि भनी हाम्रो टोलदेखि अलि मास्तिर बस्ने जिम्मुवाल (पञ्चायतकालिन योगदान नभएका, बहुदल आएपछि रजगज गरेका) कमरेडलाई धेरैपटक बिन्ति बिसाएँ, “पञ्चायतकालमा यो घरको योगदान अमूल्य छ, यो घर आर्थिक रुपमा जर्जर भएको तपाईँ आफैलाई थाहा छ । लौन, यो घरको एक छोरालाई जिविसमा पियन भए पनि जागिर लगाऊँ !”

    संकटकाल थियो त्यो बेला, पार्टी पनि सङ्कटमा प¥यो । ती जिम्मुवाल कमरेडमा स्वास्थ्य समस्या आइप¥यो, पार्टीबाट राजिमाना दिए । एनजीओ छ रे ! भन्ने सुनिन्थ्यो । दुलोभित्र माछा हुँदा भित्र हात, सर्प हुँदा दुलोबाहिर हात !

    हिजो दूलोभित्र सर्प अर्थात् पञ्चायतकालिन गोमन सूर्यबहादुर थापाको जिल्ला भनिएको धनकुटामा मदन भण्डारीहरुलाई भूमिगत कालमा खाना खुवाउने अमृतबहादुर वाइबा जस्ता बाल रेडगार्डहरुलाई सम्झनु पर्दैन ?

  • कमेन्ट गर्नुहोस्