• छिन्नलता पुरस्कार सात स्रष्टालाई प्रदान

    शीतल निवासमा शुक्रबार चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार र दीर्घ साधना सम्मान २०७४ को विजेताहरु सम्मान ग्रहणपछि प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक तस्वीरमा । तस्वीर: प्रदीपराज वन्त
  •  

    यस वर्षको छिन्नलता गीत पुरस्कार सात जना गीतकार, गायक र सङ्गीतकारलाई प्रदान गरिएको छ । सोअनुसार गीत रचनातर्फ बुद्धवीर लामा, गायनतर्फ यम बराल, विशेष सम्मानतर्फ तीर्थकुमारी थापालाई प्रदान गरियो । सम्मानका साथ जनही रु ५० हजार र सम्मानपत्र छ । यस्तै सङ्गीततर्फ बद्री खरेल र दुर्गा खरेललाई संयुक्त रुपमा रु ५० हजार र सम्मानपत्र तथा नवप्रतिभा पुरस्कारतर्फ प्रकाश सपूत र शान्तिश्री परियारलाई संयुक्त रुपमा रु ४० हजार र सम्मानपत्रले प्रदान गरियो ।

    गीतकार रमोलादेवी शाह छिन्नलताको ९७ औँ जन्मजयन्तीका अवसरमा छिन्नतला गीत पुरस्कार गुठीले आयोजना गरेको कार्यक्रममा पुरस्कृत कलाकारले कार्यक्रममा आफ्ना प्रस्तुति राख्दा दर्शकले निकै मनोरञ्जन लिए । कलाकार थापाले ‘म त खाँदिन कुवाको पानी’ बोलको गीत प्रस्तुति दिए । खरेल दाजुभाइले ‘बोलाऊँ भने तिमीलाई बात लाग्ने डर’, गायक बरालले ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’, ‘दिलमाया दिलमाया’ ‘हेर्दाहेर्दै अर्कैकी भैहाली’ बोलको गीत पस्किएका थिए । बरालले गायिका तथा राष्ट्रियसभा सदस्य कोमल ओलीसँग ‘माया बस्यो मुटुमा’ बोलको गीत गाएका थिए ।

    नवप्रतिभाबाट पुरस्कृत सपूत र परियारले ‘बोलमाया’ र ‘गलबन्दी’ बोलको गीत गाउँदा दर्शकले उत्तिकै मनोरञ्जन लिए । छैसठ्ठी वर्षीया थापाका कालजयी गीत र नयाँ पुस्ताका कलाकारको संयोजनले कार्यक्रमको महत्वलाई बढाएको थियो । सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कलाकारिता राजनीतिक क्षेत्रका अगुवालाई समेत दिशा निर्देश गर्ने पेशा भएको बताउँदै हजार भाषणभन्दा कलाकारको एउटा गीत शक्तिशाली हुने विचार व्यक्त गरे ।

    अर्काे प्रसङ्गम उनले गुठीको विकासका लागि आफ्नातर्फबाट भरपूर सहयोग रहने बताए । “म यो गुठीको सदस्यको रुपमा रहन चाहन्छु”, उनले भन्ने, “ मलाई मनैबाट यो संस्थामा जोडिन र सहयोग गर्ने इच्छा जाग्यो ।”

    सम्मानित रचनाकार लामाले गीतसङ्गीतले राजनीतिक परिवर्तन ल्याउनमा समेत भूमिका खेल्ने बताए । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठी, सचिव ठाकुरप्रसाद पराजुली र कलाकार नरेश भट्टराईले विशिष्ट योगदान गरेका कलाकारलाई प्रदान गरिने छिन्नलता गीत पुरस्कारको नेपाली गीतसङ्गीत क्षेत्रमा छुट्टै महत्व रहेको बताए ।

    -रासस

  • कमेन्ट गर्नुहोस्